17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिहारको संझना

कविता नम्रता गुरागाईं October 17, 2009, 10:16 pm
नम्रता गुरागाईं
नम्रता गुरागाईं

उज्यालैमा लक्ष्मीको वास हुन्छ भनेर

धन हुनेहरु अझै थप्न चाहन्छन

धन नहुनेहरु

दुइछाक पुगोस भन्न चाहन्छन्

उत्साहले झिलीमिली मन

पंचक भित्रिएको तिहार

फूलका थुंगासंगै गांसिएको आफन्तको मायां

देउसी भैलोले रंगिएको चाड

ओ हो........

कस्तो सून्य आज टाढाको वस्तीमा

केटाकेटी बेलुन र चंगासगै उडिरहेका होलान

दिदीबहिनीहरु ढिकी जांतोमा

आफना खुशीहरु छिन्कीरहेका होलान ।

भनिन्छ

पंचक लागेपछि

यमूनाजस्ता चेलीहरु

आफ्ना माइती

शत्रुदेखि सुरक्षित राख्छन्

गलाभरी कहिल्यै नओइलाउने

मखमली फूलको माला लगाइदिन्छन र

मखमलीजस्तै दिर्घायूको कामना गर्छन्

म पनि

त्यही कामना गर्नेगर्छु सात समुद्रपारीबाट ।

समयका उकाली ओरालीमा

भौतारीरहेछु खोजेर नया आशा

जानी नजानी बोल्न खोजिरहेछु

अर्कै नागरिकको भाषा

साघुरो परिवारको परिभाषाभित्र

खै कति होला चेली माइतीको आत्मियता

मेशिन हुन या मान्छे

छुट्याउनै गाह्रो ठाउमा

खै कस्तो होला नाताभित्रको आत्मियता

मात्र

संझनामा तरंगित हुदारहेछन चाडपर्वहरु

तेल लगाएर कपाल सुम्सुम्याउन

कहा पाइदोरहेछ र दाजुभाइ परदेशमा

पंचटिकाले निधार रंगाइदिने

कहां भेटिदोरहेछ र माइती परदेशमा

मित्रताको मापदण्ड

औपचारिकताको भाषामा सिधिने ठाउमा

भाइटिकाको अर्थ बुझेर

घरीघरी हुने मेरो अबरुद्घ गलालाई

देउसी भैलोले रंगिएको घर

टपरी भरी भरीका सेल र अनर्सा

फुलमालाले झपक्क

दाजभाइको गलासंग साट्ने गर्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।