19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हलगोरू

कविता मनोज बोगटी October 21, 2009, 7:19 pm

प्रत्येक रात

पहरा दिएर

खेतको सुरक्षा गर्ने

हलगोरूको जुरोबाट उदाउँछ घाम।

हलगोरूको जुरोबाट अस्ताउँछ घाम।

पहरामा बस्दा

रातभरि हलगोरूको खुरले

लेखेको खेतका नीलडामहरूको अनुहार

देशको मानचित्रजस्तो देखिन्छ।

हलगोरू छैन भने

कसले जोत्छ देश?

नजोतेको देशमा

संविधान उम्रँदैन

संविधान नै नउम्रेपछि

गणतन्त्र फुल्ने कुरा आउँदैन।

हलगोरूले रातभरि देखेको

खड़ेरी नलागेको त्यो हरियो सपना

किन देखाउँदैन टीभीले?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।