18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वासिङ्टन

कविता ॠतु आसीक October 23, 2009, 4:07 pm
ॠतु आसीक
ॠतु आसीक

वासिङ्टन आफूभित्र ज्वालामुखी घोप्ट्याएर

स्वतन्त्रताको सपना बुनी रहेको थियो

किल्ला किल्लामा बैरीहरुलाई सोत्तर पार्दै,

स्वतन्त्रताको गीत गाउदै

वासिङ्टन उठयो |

जताततै मुक्तिका धुनहरु बजे

अमेरिकाले आफूलाई दासता चुडाल्दै

स्वतन्त्रताको घोषणा गर्‍यो

मेरील्यान्ड,डेलावेर र न्यूजर्सी कानेखुशी गरेर

वासिङ्टनलाई सधैं सधैं फुर्काएर

आफ्नो दुनो सोझ्याउछन् |

वासिङ्टन आफूमा बैभव रोपेर

न्यूयोर्कको चाकडी गर्न थालेको छ |

आकाश छुने होड गर्ने न्यूयोर्क

नुन खाएको कुखुरा जस्तो भएको छ |

पराधिनताको बिरुद्ध स्वतन्त्रता उठ्यो

स्वतन्त्रता सधैं पराधिनता हुँदैन

स्वाधिनता वासिङ्टनमा पोखिएको छ |

स्वतन्त्रताका फूलहरु यसबेला फक्रिएका छन्,

वासिङ्टनको सातो गएको छ

संवृद्धी र बैभवको

स्वतन्त्रताकी प्रतिमुर्ती तर्फ

एकटक लाएर दिनैपिच्छे हेरिरहन्छ |

वासिङ्टन मन थाम्न नसकेर

भालेको डाँकमा हिंडेर

श्रद्धाका फूल चढाएर

साँझमा आफ्नै थालोमा फर्किन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।