14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आकस्मिक प्रेम

कथा संविदा राजभण्डारी 'श्रेष्ठ' November 5, 2009, 5:35 am

एउटा असाधारण अनुभवले आज दिनभरि नै गिजोलिरह्यो मलाई । म मेरो श्रीमान्को बहुपासमा गम्ल्याङ्ग अङ्गालो हालेर रुँदै भन्दै थिए, “बाबा, टिटु उड्यो, गयो मलाई छाडेर ।” सायद म अलि बढि नै भावुक भएको थिए ।

भल्नेरेवल । अंग्रेजीमा जसलाई भल्नेरेवल भनिन्छ । घरका अन्य सदस्यहरू अनौठो मानेर हेरिरहेका थिए मलाई । भन्दैथिए, “एउटा जाबो चराको लागि पनि कति इमोस्नल भएको...” आदि–इत्यादि । म चाहिँ आफै भित्र सम्पूर्णता खोज्नमा ब्यस्त थिए । फ्रेडरिक नित्से, एक प्रसिद्ध अंग्रेजी दार्शनीकले भनेको जस्तो– सम्पूर्णता जहाँ संसारका हरेक चिजसँग एक हुनुको अनुभव, जुन मान्छेले कमै अनुभव गर्न सक्दछ । उनले यसको उदाहरण रुखका पातहरूसँग जोडेका छन् । उनले भनेको जस्तो संसारका सबै पातहरूलाई जसरी एकै साथ प्रस्तुत गर्न गाह्रो छ, त्यस्तै संसारका हरेक ठाउँको, चिजको अवस्था बुझ्न गाह्रो छ । समय अनि अवस्था, यी दुई चिजबाट मान्छे, सामान्य अवस्थामा पार पाउन सक्दैन । म यही असाधारण अनुभवलाई महसुस गर्न खोज्दै थिए । टिटुको दृष्टिकोणबाट संसार हेर्दै थिए...

***

बाटो सुनसान थिएन । यती चहलपहल थियो कि, मानौं सबैजना दौड प्रतियोगितामा भागलिन सामेल भएका छन् । म पनि एक प्रतिद्वन्दी जस्तै । सधैं हतारिएको, आतुर हामी । खै के खोज्छौं हामी जीवनभर ।

केही पाइला अगाडि हिंडे पछि म टक्क अडिए । देखे एउटा परेवा उधोमुन्टो परेर एउटा पसलको अगाडि पखेटा फडफडाउँदै छट्पटिरहेको । दर्जनौं मोटरसाइकलहरू पसल अगाडि लाइनै तेर्साइएका थिए । केही मानिसहरू पसलको अगाडि क्यारमबोर्ड खेल्न व्यस्त देखिन्थे । म मानिसको भिडमा मान्छे खोजिरहेको थिए–कति समय अगाडि देखि यो निरिह प्राणी यसरी छट्पटिरहेको थियो होला । अनि कति मानिसको लागि यो चासोको बिषय बनेको थियो होला ।

हठात् गएर मैले त्यो चरोलाई हातमा राख्न समेत सकिन । किन हो एक किसिमको डर लाग्यो मनमा । यो उसँग कम मृत्युसँग ज्यादा हो की, अझै पनि त्यो बिशाल आवेगलाई म यही हो भनि भन्न सक्दिन । म बिस्तारै गए अनि त्यो टाउँको तल, खुट्टा माथि पारेर बिचल्लीमा परेको चरालाई मैले सोझो उभ्याए । उ सोझो त भयो, तर सकि नसकि मबाट भागेर अलि पर एउटा मोटरसाइकलको कुनामा लुक्न खोज्यो । त्यतीखेर त्यो परेवा भन्दा म बाध्य देखिन्थे–कसरी बुझाउँथे म तिम्रो मृत्यु होइन, जीवन हुँ भनेर ! मैले हेर्दाहेर्दै फेरि पनि त्यो उधोमुन्टो प¥यो । मैले उसलाई त्यही हालतमा हातमा लिएर दायाँ बायाँ कहि पनि नहेरिकन घरतिर लागे । मेरो हातमा आउनासाथ त्यो अलि

ब्युतियो । उसको मुटुको धड्कन एकदम तेज थियो । ओहो, मेरो पनि त मुटुको धड्कन त्यती नै तेज थियो । मैले मेरो अनि उसको मुटुको धड्कनको तेज एकैनासले बढेको महसुस गरे ।

***

घर पुग्नासाथ मैले उसलाई पानी ख्वाए । पानी खाएपछि उसमा केही ताकत आए जस्तो देखिन्थ्यो । मैले कम उचाईबाट उसलाई उडाउन खोजे तर उ उड्न सकेन । उ लर्बराउँदै बल्ल बल्ल भुँइमा अवतरण भयो । त्यो चरा साच्चै नै बिरामी थियो । कुनै नाङ्गो तारमा पो करेन्ट लागेको हो की, कसैको गुलेलीको प्रहारले पो उसलाई घाइते बनाएको हो की...म गम खान थाले । बिचरा, कति अभागि जीवन यसको ! मैले उसको अगाडी चामल छरिदिए । ऊ केही दुरी हिंडन त सक्थ्यो तर हिंडेर कुनातिर बस्थ्यो । घण्टौं–घण्टौंसम्म एउटै कुनामा केही नखाई, केही नपिई । ऊ त्यही नै बसिरह्यो ।

अर्को दिन बिहान उठ्ने बित्तिकै मेरो पहिलो प्रश्न यही थियो–टिटु के गर्दैछ ? हत्तपत्त गएर हेरे । टाढैबाट देखे ऊ पहिलाजस्तै उधोमुण्टो परेर हलचल नै नगरि बसेको । म चिच्याउँदै रुन थाले,“बाबा, परेवा म¥यो !” महेश, अर्थात् मेरा श्रीमान् आत्तिंदै, कुद्दै मेरो सामु आए । म छाद हालेर रुन थाले । मेरो हालत देखेर महेश छक्क पर्दैथियो । उ केही नबोली परेवा भएतिर लम्क्यो । उ हाँस्दै परेवालाई सोझ्याउँन थाल्यो,“काँ, सम्बी परेवा मरेको छैन, हेर त ।” साच्चै नै, परेवा मरेको हैन रहेछ, ऊ त पहिले जस्तैै जीउ थाम्न नसकेर उधोमुण्टो परेर लडेको पो रहेछ । हत्तपत्त मैले त्यसलाई समाएर एउटा कार्टनको बट्टाभित्र हिफाजतका साथ राखे । मेरा आँखामा आँसु अझै टलपल हुँदै बग्दै थिए । तर अनुहार भने हाँसोले थोरै खुम्चिएको थियो ।

त्यसपछि, मैले उसको नाम ‘टिटु’ राखिदिए ।

***

तेश्रो दिन टिटुले अनौठो ग¥यो । दुई दिनसम्म लगातार त्यही कार्टनको बट्टामा एक तपस्वी भिक्षुजस्तो समय बिताए पछि सायद उसलाई पट्यार लागेर होला, उ बट्टाबाट निस्कनसम्म सक्ने भयो । भुर्रर उडेर बट्टाबाट निस्कदै टिटु, टुकुटुकु कोठैको जताततै हिड्न थाल्यो । मैले गालि गरेर च्याप्प समाएर फेरि बट्टामा नै थचारिदिए । टिटु अब के मान्थ्यो । उ पटक्कै बट्टामा बस्न माने पो ! कहिले बाथरुम, कहिले बैठक त कहिले बेडरुम, टिटुको भ्रमण शुरु हुन थाल्यो । तर टिटु उड्न भने सक्दैनथ्यो । जति भ्रमण गरे पनि एउटा कुनामा गएर ऊ घण्टौंसम्म भुक्क परेर फुलेर बसिराख्थ्यो ।

घरका मान्छेले बर्डफ्लु होला, नराख भने । घरपटि आमैले परेवाको मासुले रोग निको हुन्छ, काटी खानुपर्छ भने । सायद हामी मानिस जातीको स्वभाव भनौं या कमजोरी भनौं ऊ आफूलाई संसारकै केन्द्र र बुझक्कि ठान्दछ । आफ्नो मात्र एक्लो सासन चलाएर अन्य प्राणीलाई विकेन्द्रमा पार्नु हाम्रो बानी भैसकेको छ । बर्डफ्लु, माहामारी फैलिएको ताका सम्झिए– करोडौं कुखुरा र पक्षीहरूलाई जिउँदै ग्यास च्याम्वरमा भुटिदिने, जिउँदै गाडिदिने जस्ता कामहरू विश्वका अति सभ्य मानिने देश जस्तैः ताइवान, जापान, आदि देशमा गरिएका थिए । धन्य उनीहरूले बर्डफ्लु फैलने डरले मान्छेहरूलाई नै ग्यास च्याम्वरमा जिउँदै भुटेनन्, जिउँदै गाडेनन् ! त्यसो हुँदो हो त संसारमा क्रान्ति नै हुने थियो होला नि...

कम्तिमा म टिटुलाई बर्डफ्लूको नाममा आहुति दिने कुरामा सहमत थिइन । र थियो घरपेटी आमाको प्रस्तावको कुरा, त्यो त मेरो दिमागमै थिएन ।

टिटुमा समय अन्तरालमा धेरै परिवर्तन आइसकेको थियो । मानौं हरेक दिन उसको एउटा नयाँ चर्तिकला हेर्न पाइने दिन हुन्थ्यो । पाँचौं दिन टिटुले आफ्नो उडान भ¥यो । ऊ कोठैभरि उड्न थाल्यो । त्यो दिन मेरो मन पनि खुशिले टिटुजस्तै उडेको थियो । टिटु कहिले उडेर कोठाको ट्युवलाइटमा, त कहिले झ्यालको ग्रिलमा बस्न थाल्यो । तर उसको मनपर्ने ठाउँ चाहिँ ढोकाको माथिल्लो खापा थियो । कोठा भरि उडान भरेपछि ऊ बिस्राम गर्न त्यही ढोका माथिको डिलमा बस्थ्यो । उ त्यहाँ घण्टौंसम्म डेग पनि नचलाई बस्थ्यो र पिच्च–पिच्च तलतिर बिस्टाउँथ्यो । दिउँसोको खाजा खाने बेला भएको थियो । महेश र म दालमोठ खान थाल्यौं । दालमोठमा सानो–सानो केराउका दाना थिए । मैले ला आइज भनेर केही केराउका दानाहरू भुँइमा गुडाइदिए । त्यसपछि त टिटुले झन् चकित पा¥यो । उ साच्चै नै ढोकाको डिलबाट भुर्रर तल झरेर ती केराउका दानाहरू भकाभक टिप्नथाल्यो । धेरैदिन पछि आज बल्ल टिटुले अन्नको दाना टिप्यो । हामी दुई बुढाबुढीलाई सबैभन्दा अनौंठो त्यतीखेर लाग्यो जब टिटु दाना टिप्न त्यहाँबाट ओल्र्यो र कपाकप केराउका दानाहरू खायो । हामी बुढाबुढी एकर्काको अनुहार हेर्दै ट्वाल्ल प¥यौं र टिटुतिर हे¥यौं ।

***

प्राय महेश नभएको बेला पारेर ऊ त्यहाँबाट ओर्लन्थ्यो । ऊ ओर्लने बित्तिकै म हतार–हतार भातका सिताहरू

छरिदिन्थे । परेवालाई के मनपर्छ, परेवाले के खान्छ मलाई थाहा थिएन, तर म प्राय भात नै दिने गर्दथे ।

टिटुलाई अरु कोठाहरू भन्दा भान्सा कोठा नै मनपथ्र्यो । त्यही ढोका माथिको डिल उसलाई संसार भरिको प्यारो ठाउँ लाग्दो हो । कोठाको झ्यालढोका प्राय सधैं खुल्ला रहन्थे । तर अचम्म टिटु त्यो कोठाबाट कहिल्यै बाहिर गएन । उ आफै भागेर जान खोज्ने भए धेरै टाढा पुगिसक्थ्यो । तर खै किन हो, उसले कहिल्यै त्यो प्रयास नै गरेन...

त्यो दिन टिटुको बिशेष दिन । बिहानै देखि मैले र महेशले सल्लाह गरिसकेका थियौं । हामीले पानी मनतातो हुनेगरि ततायौं । महेशले टिटुलाई च्याप्प समात्यो । अनि मैले टिटुलाई नुहाईदिए । हेर्दाहेर्दै टिटु सफा र सुकिलो देखियो । सुकेपछि त टिटुको शरिरको सेतो रंग अनि घाँटिनेरको छिर्विरे खैरो रंग अझै प्रस्ट देखियो । अब भने उ ठाटिलो देखियो ।

घण्टौंसम्म एकैठाउँमा बस्ने, झ्याल–ढोका खुल्लै देखेर पनि भागेर जान नखोज्ने टिटुको प्रवृति देखेर म दङ्ग थिए । एक मनले सोच्थे, टिटु अब हामीसँगै बसिदिए हुन्थ्यो । सधै यसरी नै । परिवारको एक अर्को सदस्य जस्तै । तर ऊ घण्टौंसम्म एकै ठाउँमा घोत्लिएर दिनभरि खै के खोचेर बस्थ्यो, सायद उ परिवारको बारे सम्झन्थ्यो कि ! सायद ऊ आफ्नो बिगतको दिन र आफ्नो घर पो सम्झन्थ्यो कि ! म टिटुलाई एउटा मनोरञ्जनको साधन बनाएर आफूसँग राखेर स्वार्थी हुन सक्दिन थिए । मैले निश्चय गरिसकेको थिए, अब मेरो एउटै मात्र इच्छा थियो, टिटु अब आफ्नै गाउँ फर्कियोस् ।

सधैं झैं महेश आफ्नो काममा गए । धेरैबेरपछि टिटु दाना टिप्न भुँइमा ओर्लियो । आज मैले टिटुको भात बाहिर निस्कन मिल्ने ठाउँमा लगेर छरिदिए । म त्यहाँ भइन्जेल टिटु दाना टिप्न आएन । म ढोका पछाडि लुकेर टिटुलाई हेरिरहे । ऊ विस्तारै तल ओर्लिएर, दाना टिप्दै ढोकाबाट बाहिर निस्क्यो ।

बहिरी संसार देखेर उ हठात् उडी हालेन । उ एउटा बिचारी मान्छेले जस्तो धेरैबेर त्यही उभीएर बाहिर नै हेरिरह्यो । खै के सोच्दै थियो ऊ । बिस्तारै उ त्यहाँबाट निस्क्यो । म उसलाई देखेर उसको पछि पछि गए । मेरो मन सिरिङ्ग

भयो । मनमा चिसो पस्यो । एकछिन त ऊ नगैदिए हुन्थ्यो जस्तैं लाग्यो मलाई । तर अब टिटुले जानैपथ्र्यो । उ भुर्रर उडेर नजिकैको घरको छतमा बस्यो । उसले त्यहाँबाट मलाई पुलुक्क हे¥यो । मानौं ऊ मेरो स्वीकृतिको पर्खाइमा

थियो । मैले शव्दमै बोले, “टिटु, जा ल ! राम्रोसँग बस् है ।” मैले त्यती भने पछि साच्चै नै टिटु उड्ने तर्खर गर्न थाल्यो । उसले एकदुई पाइला हिंडेर यताउता हे¥यो ।

‘भुर्ररररर्’ । टिटु त्यहाँबाट उड्यो । एउटा घरको पछाडि...अर्को घरको पछाडि...धेरै घरहरूको पछाडि...टाढा ! धेरै

टाढा !

टिटु उडेको दिन मलाई रातभर निद्रा लागेन । सोच्न थाले टिटुले आफ्नो परिवार, गाउँ र आफ्ना साथी–सँगी भेट्यो होला । कि कहिँ कतै उसरी नै उधोमुण्टो पो परिराछ कि !.............

***

के तपाईंहरूले कही, कतै मेरो टिटुलाई देख्नु भएको छ ?!

२०६६ असोज २७ गते, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।