17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार मोहन दुवालसँग साहित्यिक कुराकानी

वार्ता कृष्ण बजगाईं November 6, 2009, 5:43 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

वि.सं. २००६ जेठ २० का दिन बनेपा–७, भोलाखाटोल, काभ्रेमा जन्मनु भएका मोहन दुवाल नेपाली साहित्य तथा नेपाल भाषा साहित्यमा चिरपरिचित नाम हो । उहाँले १८ वटा कृतिहरुको लेखन तथा थुप्रै पत्रिका, स्मारिका तथा स्मृति ग्रन्थहरुको सम्पादन गर्नु भएको छ । उहाँले शिक्षण पेशा र पत्रकारिता दुवैलाई निरन्तरता दिंदै आउनु भएकोमा हाल जनमत साहित्यिक पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै विभिन्न सामाजिक संस्था मार्फत समाजसेवामा पनि सक्रिय हुनुहुन्छ । उहाँसँग समकालीन साहित्य डट कमको लागि सम्पादक कृष्ण बजगाईंले साहित्यिक विषयमा इमेल मार्फत गर्नु भएको कुराकानी ।

१. जनमत पत्रिका नियमित रूपमा १४५ अङ्क सम्म प्रकाशित भएर नेपाली साहित्यको इतिहासमा नाम लेखाउन सफल भएको छ । यसको सुरुवातदेखि अहिलेसम्मको स्थितिको बारेमा संक्षिप्त जानकारी गराई दिनुहोस् न ।

२०४५ सालदेखि नियमित रूपमा मासिक साहित्यिक पत्रिकाको रूपमा प्रकाशित जनमत साहित्यकारमाझ परिचय बाँड्न सफल पत्रिकाका रूपमा परिचित छन् । हालसम्म पूर्णाङ्क १४५ वटा प्रकाशित छन् । सुरुकालमा निकै कठिन प्रयास गर्दै प्रकाशनमा आइरहेको यस पत्रिकाले हालसम्ममा निकै ख्याति कमाउन सफल छन् । सूचना विभागबाट भएको वर्गीकरणमा मासिक पत्रिकामा क मा पर्न र धेरै ठाउँबाट पत्रिकाका लागि सम्मान प्राप्त हुनुले पनि यस पत्रिकाको मूल्यांकन गर्न सकिन्छ ।

२. जनमत मासिकले बेला बेलामा संग्रहनीय विशेषाङ्क निकाल्ने गर्दछ । अहिलेसम्म प्रकाशित विशेष अङकको बारेमा छोटकरीमा बताई दिनुहोस् न ।

जनमत मासिकले प्रकाशित गरेका विशेष अङ्कहरूमा १. भीमनिधि तिवारी स्मृति अङ्क, २. पारिजात अङ्क, ३. पारिजात स्मृति अङ्क, ४. कविता अङ्क, ५. काभ्रेली प्रतिभा अङ्क १, ६. काभ्रेली प्रतिभा अङ्क २, ७. चूडामणि रेग्मी अङ्क, ८. धुस्वां सायमि अङ्क, ९. लैनसिंह बाङदेल अङ्क, १०. केवलपुरे किसान अङ्क, ११. जनमत शताङ्क, १२. नेपालभाषा विशेष अङ्क, १३. जनमत विशेष, १४. केही भारतीय – नेपाली लेखक विषय अङ्कका साथै अन्य थुप्रै साहित्यकारहरूको विशेष सामग्रीहरू भएको अङ्क ४० वटा जनमत पत्रिका प्रकाशित छन् ।

३. साहित्यिक पत्रिका टिकाउन गाह्रो हुन्छ । तपाईंले अहिलेसम्म कसरी नियमित दिन सक्नु भएको छ ?

त्याग, समर्पण र सेवाकै भावनाले यो पत्रिका प्रकाशित हुँदै आएको सबैले थाहा पाएकै विषय हो । पत्रिका निकाल्ने रहरकै कारणले यो पत्रिका प्रकाशित छ ।

४. साहित्यिक पत्रकारिताले अखवारी पत्रकारिता जत्तिकै समान सरकारी सुविधा प्राप्त गर्ने गर्दछ ?

राज्यले कहिले पनि साहित्यिक पत्रकारितालाई अखबारी पत्रकारिताको कोटीमा राखेर मूल्याङ्कन गरेको छैन । वाङ्मय सेवाको दृष्टिले उत्कृष्ट साहित्यिक पत्रकारिता रहेर पनि साहित्यिक पत्रकारितालाई सुविधा र अवसर प्रदान गर्ने कुरामा जुनसुकै सरकारले पनि कञ्जुस्याईं देखाइरहेका छन् । यही त हो यहाँको विडम्वना ।

५. साहित्यिक पत्रकार र पत्रिकालाई राज्यले के सुविधा र अवसर प्रदान गरोस् भन्ने चाहनु हुन्छ ?

राज्यले दिनसक्ने न्यूनतम सुविधाहरू हुलाक दर्ता, कागज सुविधा, टेलिफोन र अन्य सञ्चार सुविधा मात्रै दिए पनि पुग्थ्यो – त्यो सम्म पनि प्राप्त गर्न सकेका छैनन् साहित्यिक पत्रिकाहरूले ।

६. तपाई नेपाल साहित्यिक पत्रकार संघको महासचिव पनि हुनुहुन्छ । यो संघले स्थापनादेखि अहिलेसम्म गरेको मुख्य मुख्य काम बताई दिनुहोस् न ।

साहित्यिक पत्रकारिताको हक, हितका सम्बन्धमा जानकारी गराउने, सरकारले पु¥याउनुपर्ने दायित्वबारे दवाव दिँदै विचार सम्प्रेषण गर्ने, ठाउँ ठाउँमा पुगेर साहित्यिक पत्रकारहरूलाई संगठित गरी चेतना बाँड्ने काममा आफूसक्दो ढङ्गले क्रियाशील छन् ।

७. यसले संगठन विस्तारको काम चाहीं अलि गर्न सकेको छैन जस्तो छ हो ?

प्रयास जारी छ, सेवामुलक संस्था भएकै कारणले आकर्षण त्यति प्रभावकारी नहुनु आश्चर्यको विषय होइन ।

८. तपाईंको अहिलेसम्म कुन कुन विधामा के कति पुस्तक प्रकाशित भएका छन् ?

कविता मुक्तकमा (नेपाली र नेपालभाषा) ९ वटा, निबन्ध÷प्रबन्धमा ५ वटा, आलोचनामा १ वटा, नियात्रामा १ वटा, अन्तर्वार्तामा १ वटा, सम्पादकीय लेख १ वटा गरी जम्मा १८ वटा प्रकाशित छन् ।

९. प्रकाशोन्मुख कुनै कृतिहरू छन कि ?

विभिन्न विधाका १८ वटा पुस्तकहरू प्रकाशोन्मुख कृतिका रूपमा फाइलमा थन्किएका छन् ।

१०. तपाईंको कृति वा तपाईं स्वयंले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?

मानवीय संवेदनाहरू कवितासङ्ग्रहका लागि रु. १० हजारसहितको कृष्णकुमारी स्मृति पुरस्कार र व्यक्तिगत रूपमा मैले थुप्रै संघ संस्थाबाट करीब ६५ वटा पुरस्कार, अभिनन्दन, सम्मान, कदरपत्रहरू प्राप्त भएको छ ।

११. साहित्य के हो ?

साहित्य जीवन हो, साहित्य जगत् हो । साहित्य भनेकै मानवीय भावनामा सुललित चेतना भर्न सिर्जित चेतनाका हरफहरू हुन् ।

१२. बदलिँदो परिस्थितिमा अबको साहित्यले कस्तो बाटो लिएर हिँड्नु पर्दछ ?

जुनसुकै युगमा, परिवेशमा साहित्यको उच्चतम भूमिका हुन्छ । साहित्य भनेको मानवीय भावनाका सर्वोपरी मान्यता भएकोले मानवीयतालाई सुन्दर, सौन्दर्यमुखी तुल्याउने खालको साहित्य सिर्जना हुनुपर्दछ भन्ने मेरो मान्यता छ ।

१३. अब बन्ने संविधानमा भाषाको खिचलो हुने प्रष्ट देखिएको छ । संविधानमा विभिन्न भाषाको व्यवस्थापन कसरी गर्नुपर्ला ?

राष्ट्रिय भाषा र राष्ट्रभाषाको मान्यता खिँचेर सक्दो संरक्षण र विकासका लागि समानुपातिक व्यवहार भएको खण्डमा भाषामा खिचलो निस्कने सम्भावना कम हुन्छ । बोली र व्यवहारमा भिन्नता रहेकै कारणले त्यस्तो स्थिति देखापरेको हो ।

१४. नेपाली भाषाको कारण अन्य भाषाहरूको विकाश हुन सकेन र लोपोन्मुख अवस्थामा पुग्यो भन्ने एउटा जमात पनि छ । यसमा तपाईंको के भनाई छ ?

कुनै भाषाको कारणले अरु भाषा लोपोन्मुख अवस्थामा पुग्छ भन्ने मान्यता गलत छ । सरकारबाट उचित संरक्षण र सम्बद्र्धन नभएपछि भाषामाथि सङ्कट थपिँदै जानेछ । यही स्थितिले अरु भाषाहरू झाङ्गिन नपाएको कारण दुरुस्त छ ।

१५. तपाईंको विचारमा राष्ट्रभाषाको संरक्षण कसरी गर्नुपर्ला ?

सरकारबाट सबै किसिमको कानून, ऐन संरक्षित गरी राष्ट्रभाषाको विकासका लागि क्रियाशीलता देखाइ दिनुपर्छ – यही कमीले नै अरुथोकको संकट थपिँदै गएजस्तो छ ।

१६. नेपाली भाषालाई अन्तराष्ट्रियस्तरमा पु¥याउन के गर्नुपर्ला ?

सरकारले थुप्रै बजेट छुट्याएर, अन्तर्राष्ट्रिय जगत्मा क्रियाशील व्यक्तिहरूसँग सहकार्य गरेर, अत्यन्त चर्चित र आवश्यक कृतिहरूको अनुवाद गरेर प्रयत्न गरेको खण्डमा नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सकिन्छ । तर त्यस्तो प्रयास भएको र गरेको देखिँदैन ।

१७. अन्तमा समकालीन साहित्य डट कम मार्फत् विश्वभर रहेका नेपाली साहित्यका पाठकहरूलाई केही भन्नु छ कि ?

साहित्यलाई कम प्रयोग गर्ने व्यक्ति, साहित्यलाई अनावश्यक वस्तु ठान्ने राष्ट्र, साहित्यलाई प्रतिबन्ध गर्न खोज्ने शासकहरूको कुरा सुनेर साहित्य अनावश्यक भनी सोच्नेहरूको भविष्य अँध्यारो नै हुन्छ भन्ने मान्यता राख्ने भएकोले म त भन्छु – सबै पक्षका, क्षेत्रका विचारका, लिङ्गका सन्सारभरका जनताहरूले साहित्य लेख्नुपर्छ, हेर्नुपर्छ र सधैं अध्ययन गर्नुपर्छ भन्छु । त्यसैले तपाईं पाठकहरूलाई नम्रतापूर्वक म भन्न रुचाइरहेछु – साहित्य पढेर, साहित्यमा परेर र साहित्य सिर्जना गरेर घाटा हुँदैन । त्यसैले साहित्यलाई माया गर्न सिक्नुपर्छ ।

६ नोभेम्बर, ०९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।