वि.सं. २००२ साल चैत २८ गते मन्थली, रामेछापमा जन्मनु भएका जगदिश घिमिरे चर्चित साहित्यकार हनुहुन्छ । नेपाल, भारत र बेलायतबाट उच्च शिक्षा प्राप्त गर्नु भएका घिमिरेले २०२० सालदेखि साहित्ययात्रा थाल्नु भएको हो । साहित्यका सबैजसो फाँटमा कलम चलाउनु भएका घिमिरेको अन्तर्मनको यात्रा पुस्तकलाई दुई प्रतिष्ठित सम्मानहरू मदन पुरस्कार र उत्तमशान्ति पुरस्कार प्राप्त भएको छ । उहाँसँग समकालीन साहित्य डट कमको लागि सम्पादक कृष्ण बजगाईंले साहित्यिक विषयमा इमेल मार्फत गर्नु भएको कुराकानी ।
१.स्थापित भैसकेको लेखक तीस बर्षको अन्तराल पछि साहित्य आकाशमा पुनः उदाउनु भयो र चर्चित हुनु भयो । त्यो बीचको समय कुन साधनामा ब्यस्त हुनुहुन्थ्यो ?
ती तीस वर्षमा पनि मैले फुटकर रचना– कथा, कविता, संस्मरण आदि लेखेको छु । बीस र तीसको दशकमा निकै लेखें र चालीस र पचासको दशकमा साहित्य कम लेखें र राजनीति टिप्पणीहरू बढी लेखें । साहित्य सिर्जनाले पेट नभर्ने हुनाले जीविकाको लागि अरु काम गर्नु पर्यो जसमा व्यस्त हुनु स्वभाविक थियो । जति दायित्व बढ्दै गयो उति व्यस्तता पनि बढ्यो । अन्तर्राष्ट्रिय जागिरमा गएपछि झनै बढ्यो ।
२.त्यो बीचमा केही नलेखिंदा पाठकहरु प्रति अन्याय गरे पो कि क्या हो जस्तो लाग्दैन ?
त्यो बिचमा पनि राम्रै लेखियो । हालै प्रकाशित भएका अग्निसूत्र (रोज्जा कविताहरू), बर्दी (रोज्जा कथाहरू) त्यसैबेलादेखि हालैसम्म लेखिएका रचनाहरूका संकलन हुन् । त्यसै बेला लेखिएका लेख, संस्मरण र अन्तर्वाताहरूका संकलनहरू—“स्थान कालपात्र” र “चेतना भया” नामक अरु दुई पुस्तकहरू छिट्टै आउदैछन् ।
३.२०६२ सालको मदन पुरस्कार प्राप्त अन्तर्मनको यात्रा कुन विधाको कस्तो पुस्तक हो ? यसको बारेमा बताई दिनु होस्न ।
यो मूलतः आत्मकथा वा संस्मरण हो तर यो परम्परागत ढाँचामा लेखिएको छैन । म बिरामी भएर महिनौसम्म अस्पतालमा र बाहिर पनि उपचाररत रहँदा लेखेका हुँ । यसमा केही मेरो जीवनी छ, केही मेरो अनुभव छ, केही मेरो अवलोकन छ, केही मेरो भावना छ, केही मेरो यथार्थ छ, केही मैले जाने–बुझे–भोगे–देखे–सोचेको केही मेरो देश र केही संसारको यथार्थ छ ।
४.तपाईंले कुन कुन विधामा कलम चलाउनु भएको छ ? तपाईंको मन पर्ने विधा कुन हो ? किन ?
मेरा कथा, कविता, निबन्ध, संस्मरण, समालोचना, राजनैतिक टिप्पणी, उपन्यास, नाटक र संस्मरण प्रकाशित भएका छन् र साहित्यिक बृत्तमा परिचित छन् । सबै विधाको आफ्नै औचित्य छ । राम्रा रचना राम्रो लाग्छन् — जुन विधाको भएपनि ।
५.तपाईंको अहिलेसम्म कुन कुन विधामा के कति पुस्तक प्रकाशित भएका छन् ?
लिलाम (उपन्यास), जगदीशका कथाहरू (कथा संग्रह), केही कथा कविता संस्मरण (मिश्रित), सन्तान (नाटक), साबिती (उपन्यास), अग्निसूत्र (रोज्जा कविताहरू), बर्दी (रोज्जा कथाहरू), अन्तर्मनको यात्रा (संस्मरण) ।
६.मदन पुरस्कारका अलावा तपाईंको कृति वा तपाईं स्वयंले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?
मदन पुरस्कार बाहेक मैले पाएका अरु प्रमुख पुरस्कारहरू हुन् — उत्तम शान्ति पुरस्कार, खिलमिका लक्ष्मी मैनाली पुरस्कार, गुरुप्रसाद मैनाली कथा पुरस्कार आदि ।
७.तपाईंले संचालन गर्नु भएको तामाकोशी सेवा समिति कस्तो खालको संस्था हो ?
तामाकोशी सेवा समिति जिल्ला केन्द्रित सामुदायिक विकास संस्था हो । यसको मिसन “असक्तलाई सशक्त बन्न टेवा दिने” । यसको कार्यविधि निम्नलिखित हो —
दस यक्ष प्रश्न
दसोटा प्रश्न छन् जसमा मतैक्य चाहिन्छ कार्यमा ।
क ? किन ? कसले गर्ने ? कहिले ? कसरी ? कहाँ ?
ककस्को हितका लागि ? ककस्को कति लागतमा ?
कसो गर्दा दिगो हुन्छ ? सधैं धानिन्छ स्वतागतमा ?
तामाकोशी सेवा समितिका कामहरूको बारे मैले “अन्तर्मनको यात्रा”मा लेखेको छु ।
८.तपाईंलाई साहित्यकारको रुपमा चिन्नेहरुले साहित्यिक संस्था खोलेर साहित्य सम्बन्धी कार्य गरिदिए हुन्थ्यो भन्छन् । तपाईं उहाँहरुलाई के जवाफ दिन चाहानु हुन्छ ?
उहाँहरूको सल्लाहलाई धन्यवाद दिन्छु । मैले सामाजिक, साहित्यीक संस्थाहरूका माध्यमबाट जे सकेको गरेको छु । साहित्यिक संस्थाहरू धेरै छन् । बढी आवश्यकता छ स्तरीय साहित्य सिर्जनाको । त्यो गर्ने प्रयास गरेको छु ।
९.तपाईंको विचारमा साहित्य के हो ?
साहित्य समाजको जीवन हो । सहित्यलाई समाजको ऐना भन्छन् । साहित्य ऐना जस्तो निर्जीव हुदैन । जीवन जस्तो सजीव हुन्छ । अतः साहित्य समाजको जीवन हो ।
१०.साहित्य र राजनीतिको बिचमा कस्तो सम्बन्ध हुनुपर्दछ ?
साहित्य विचार हो । राजनीति सत्ताको खेल हो ।
११.एकताका तपाईं पत्रिकामा राजनैतिक स्तम्भ लेख्ने गर्नु हुन्थ्यो । पछि त्यो छाडेर फेरी साहित्य तिरै रमाउन थाल्नु भयो । यसको कारण के होला ?
खासै कारण छैन । औचित्य अनुसार राजनीतिक टिप्पणीहरू लेखें । राजनीतिक टिप्पणीहरूको आफ्नै औचित्य हुन्छ । त्यसैले लेखिन्छ, छापिन्छ, पढिन्छ । साहित्यको पनि आफ्नै औचित्य हुन्छ । जसले जतिबेला जे उचित ठान्दछ र परिस्थितीले दिन्छ त्यो इमान्दारीपूर्वक गरे हुन्छ ।
१२.आजका पाठकहरुले कस्तो साहित्य माग गरिरहेका छन् ?
हालैका वर्षहरूमा कर्ण शाक्यको “सोच” र मेरो “अन्तर्मनको यात्रा”को औसतभन्दा निकै बढी विक्री भयो । अरु किताबहरू पनि विकेका छन् । स्तरीय पाठकको रुचिले कुन किसिमका स्तरीय पुस्तकहरूको माग छ भन्ने कुरा बताउँछ ।
१३.नेपाली साहित्यको बजार र पाठकको अवस्था के छ ?
स्तरीय कृतिहरूको माग छ । स्तरीय कृतिहरूले स्तरीय पाठकहरू जन्माउँछन् । स्तरीय पाठकहरूले स्तरीय लेखकहरू जन्माउँछन् । यो दोहरै हुन्छ ।
१४.प्रसंग बदलौं, पारिजातसँग तपाईंको विशेष सानिध्यता थियो । उहाँसँग सम्बन्धीत तपाईंका केही अविस्मरणिय क्षणहरुका बारेमा बताईं दिनुहोस्न् ।
मेरा लिलाम उपन्यास २०२७ सालमा प्रकाशित भएको थियो । त्यो पढेर उहाँलाई राम्रो लागेछ । त्यसबेला म पटना विश्वविद्यालयको विद्यार्थी थिएँ । उहाँले मलाई चिट्ठी लेख्नुभयो । अनि हाम्रो पत्राचार सुरु भयो । हाल मसँग उहाँका सातवटा पत्रहरू रहेछन् । ती पत्रहरू २०६६ साल बैशाखदेखि “अभिव्यक्ति” दुई महिने साहित्यि पत्रिका (www.geocities.com/a472637) मा छापिरहेका छन् । हरेक पत्रका बारे मैले खुलासा गरेको छु । ती पत्रबारे मेरो खुलासाले मेरो पारिजातसँगको सम्बन्ध बताउँछ ।
१५.उहाँको साहित्यिक ब्यक्तित्व र साहित्यिक योगदानका बारेमा बताई दिनुहोस्न ।
यस छोटो अन्तर्वातामा त्यो बताउन सम्भव छैन । उहाँबारे सयकडौं विद्वानले हजारौं पेज लेखिसकेका छन् । छोटकरीमा उहाँ हाम्रो साहित्यको एक अत्यन्त उल्लेखनीय व्यक्तित्व हुनुहुन्छ ।
१६. अन्तमा समकालीन साहित्य डट कम मार्फत विश्वभर रहेका नेपाली साहित्यका पाठकहरुलाई केही भन्नु छ कि ?
विश्वभरि छरिएका नेपाली लेखकहरूलाई स्तरीयसाहित्य सिर्र्जना गर्न वाध्य पार्नुहोस् । तपाईहरूको स्तरीय रुचीले मात्र त्यो संभव हुनेछ ।
६ नोभेम्बर ०९