18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार मोहन सिटौलासँग साहित्यिक वार्ता

वार्ता कृष्ण बजगाईं November 8, 2009, 6:01 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

वि.सं. २००० वैशाख २ गतेका दिन तेह्रथुम आठराई चुहानडाँडामा जन्मनु भएका अंग्रेजी भाषाका प्राध्यापक, नेपाली तथा अंग्रेजी भाषाका थुप्रै पुस्तकका लेखक मोहन सिटौला राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत चिरपरिचित नाम हो । विभिन्न साहित्यिक तथा सामाजिक संस्थाको जिम्मेवार पदमा बसेर लेखनका अलावा सक्रिय समाजसेवामा लाग्नु भएका श्री सिटौलासँग समकालीन डट कमका लागि सम्पादक कृष्ण बजगाईंले इमेल मार्फत गर्नु भएको कुराकानी ।

१.तपाईंको साहित्यिक लेखनको सुरुवातको दिनको बारेमा छोटकरीमा बताई दिनुहोस्न ।

मैले सम्झेसम्मको प्रारम्भिक बाल्यकालमा त्यो नितान्त शिशु अवस्थादेखिनै राती सँगै सुत्न बोलाएर हजुरवूवाले कखरा र अंक अनि अलि पछि ‘अष्ठैसिद्धि अगलबगल बसी सदा....’ जस्ता कविता मौखिक वाचन गर्नु हुन्थ्यो र घोकाउनु हुन्थ्यो । पिताजी र गाउँले बूढापाकाहरूले पनि भाका हालेर भानुभक्तीय रामायण, महाभारत र अन्य नेपाली एवम् संस्कृत श्लोकहरू मुखाग्र वाचन गर्ने हुुदा त्यो राग र लयले मलाई ज्यादै मोहित गराउँथ्यो । पक्कै पनि तिनले मलाई निकै टिपेको हुनुपर्छ । पिताजी काठमाडौंबाट अध्ययन समाप्त गरी चाकरी गरेर जागीर नखाने बरू गाउँमै स्कुल आदि समाज सेवा गर्ने हेतुले सम्बत् २००० सालमा घर आउँदादेखि नै र पछि हाम्रो घरमा दार्जिलिङ्ग र काठमाडौंका करिब एकडेढ सय नेपाली पुस्तकहरूको संग्रह पिताजीले गर्नु भएको रहेछ र पछि वर्षेनी बढ्दै गएका थिए । ती पुस्तकहरू पछि स्थानीय शारदा हाई स्कुलको पुस्तकालयलाई प्रदान गरिए । बेलुका गाउँले इष्टमित्र खासगरी महिलाहरू बोलाएर तिनै पुस्तक मध्ये रूपमति, लक्ष्मी पूजा , मुनामदन, रामायण, महाभारत आदि आफैंले वा कसैलाई पाठ गर्न लगाएर व्याख्या गर्नु हुन्थ्यो । केही पछिदेखि त्यो पाठ गर्ने काम म पनि गर्थें ।

त्यसैबेलादेखि गाउँमा विद्यालय, आधुनिक शिक्षा र अंगे्रजी शिक्षाको अभियान पिताजीले गर्नु भयो र हामीलाई पढाउने दार्जीलिङ्गबाट एकशिक्षक हरिलाल र केही पछि कुलप्रसाद राईलाई ल्याइएको थियो । स्थानीय धरणीधर न्यौपाने गुरुले संस्कृत र गणित, हरिलालले अंग्रेजी, विज्ञान, सिएम्ले भूगोल, इतिहास अनि राई सरले अन्य विषय लगायत हामीलाई ६÷७ कक्षामा निबन्ध र संस्कृत वा नेपाली २२/२५ वटा छन्दहरू पढाएर निबन्ध, यात्रा वर्णन, कविता आदि लेख्ने अभ्यास र गृहकार्य दिनु हुन्थ्यो । हामी कविता लगायत अन्य गृहकार्य बुझाउथ्थ्यौं । यसरी सुरु भएको थियो मेरो साहित्य प्रतिको रुचि र लेखन ।

२.तपाईंलाई मन पर्ने साहित्यिक विधा कुन कुन हुन् ? किन ?

सबै विधा मन पर्छ पढ्नलाई । ती सबैमा जीवन जगत्लाई उच्चाई, गहिराई, सूक्ष्म र व्यापकता, आदर्श र यथार्थताका विविध तरेलीहरूमा, सहज, सकस र घनिभूत चहलपहलमा वहुविध किसिमले प्रस्तुत गरिएको पाइन्छ विभिन्न प्रतिभाहरूबाट । प्राचीन वा नया महाकाव्य र त्राशदीहरू ज्यादै मन पर्छ । गद्य–पद्य काव्य, निबन्ध र समालोचना लेख्छु । कविताचाहिं सायद बाल्य लय र प्रशिक्षणका कारणले होकि ! समालोचना चाहिं साहित्यमा उच्चशिक्षा र साथी सङ्गति अनि पत्रकार जगत्को सङ्गतको देन होला ।

३.तपाईंले अंग्रेजी र नेपाली साहित्यका कुन कुन विधामा कलम चलाउनु भएको छ ?

कविता, निबन्ध र समालोचना ।

४.अहिलेसम्म तपाईंका कतिवटा कृतिहरु प्रकाशित भएका छन् ?

प्रकाशित कृतिहरु –नेपालीमा

(१) केही सिर्जना, केही विवेचना – ईश्वी संन् –२०४१–१९८५

(२) गोठालाहरु (निबन्ध संग्रह) – ईश्वी संन् – २०४३ –१९८६

(३) परिभ्रमण(निबन्ध संग्रह) – ईश्वी संन् १९८७

(४) अर्को प्रहर (कविता संग्रह) – ईश्वी संन् – २०४४– १९८८

(५) नयाँ मुलुको नाद (कविता संग्रह– अमेरिका)– ईश्वी संन् – २००५

(६) करीब ३० वटा समालोचनाहरू विभिन्न विशेषांक र प्रमुख जर्नल र

दैनिकहरूमा प्रकाशित

(७) गरिमा, मधुपर्क , अन्तर्दृष्टि, कान्तिपुर, नेपाली शिक्षा, काठमाण्डौं पोष्ट, राईजिङ्ग नेपाल तथा अन्य पत्र पत्रिका र जर्नलहरुमा र स्वतन्त्र नेपाल, नेपाली पोष्ट डट कम, परदेश डट कम, चौतारी, पिस जर्नालिजम, ऐक्यबद्धता, भानु , आदि प्रिन्ट र इ–जर्नल र एफ्एम् हरूमा समालोचना, लेख, अन्तर्वार्ता, कविता, सम्बोधन र सम्बन्धित खैखबरहरू नेपाली र अग्रेजीमा प्रकाशित

(८) त्रिवि का प्रमुख जर्नलहरूमा शिक्षा, साहित्य, संस्कृति, भाषा र शिक्षण सम्बन्धी प्रशस्त लेख र रचनाहरु प्रकाशित ।

(९) प्रशस्त भूमिकाहरू

(१०) प्रशस्त सम्बोधन, मन्तव्य र अन्तवार्ताहरू

८. प्रकाशोन्मुख

(१) दार्जिलिङको यात्रा –चम्पू )

(२) जीवन बाँसुरी (गीत संग्रह)

(३) आर्तव राग

(४) सिद्धिसुधा (खण्डकाव्य)

(५) आवाजका जुलुसहरू – गद्य कविता संग्रह

(६) मेरा गद्यगीतहरू – गद्य कविता संग्रह

(७) छान्दसिक फुटकर रचनाहरूका केही खण्डकाव्य र संग्रहहरू

(८) मोहन सिटौला : कृतित्व र व्यक्तित्व : एक शोध अध्ययन (त्रि.वि केन्द्रीय

नेपाली विभागले एम्.ए. नेपालीका लागि छनौट गरेको एक ऐच्छिक पत्र), २०५२ ( ५४ को सत्रमा प्रस्तुत भएको ।

९– अंग्रेजी भाषामा प्रकाशित

क –वाण्डरिङ्ग एस्सेज – ३१५ पृष्ठको शिक्षा, साहित्य, शिक्षण जस्ता विषय र

अन्य विविध विषयमाहरूमा चिन्तन एवम् आत्मपरक निबन्धहरू र एक

कविता सहितको सँगालो – भारद्धाज प्रकाशन ( १९८५ )

ख– पाविके र रिसर्च डिभिजन लगायत त्रिविका केही जर्नल र अन्य राष्ट्रिय

प्रमुख अंग्रेजी पत्रपत्रिकाहरू तथा विविध ई–जर्नलमा साहित्यिक समालोचना,

शैक्षिक र अन्य लेखहरू प्रशस्त संख्यामा प्रकाशित

ग–अंग्रेजीमा प्रकाशोन्मुख

१– दि न्यू ब्रेथ्स् –अंग्रेजी कविता संग्रह

२– समालोचनासंग्रह

३– द आइज् अफ आइज्– खण्डकाव्य

५.तपाई आफू वा तपाईंका कुनै कृतिले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्न सकेको छ कि ?

निबन्ध प्रतियोगितामा प्रथम र स्वर्र्णपदक । काव्यदूत सम्मानपत्र – अमेरिका, ईश्वी सन् –२००६ लगायत नेपाल, सिक्किम, आसाम, अमेरिकामा विभिन्न संघसंस्थाबाट प्रशस्त सम्मानित, पदक, ताम्रपत्र र प्लाकहरू आदि ।

६.तपाईं केकति साहित्यिक संघसंस्थासित संलग्न हुनु हुन्छ र सक्रिता कसरी निर्बाहा गर्नु भएको छ ?

इन्टरनेसनल सोसाइटी अफ पोयट्स्, युएसए, लगायत नेपाल, भारत र अमेरिकाका धेरैधेर साहित्यिक संघसंस्थासित सम्बन्धित छु र सकेसम्म सहभागिता जनाइरहेको छु स्थानान्तरले गर्दा केहीसित चाहिं त्यति सघन छैन । ती मध्ये केहीको नाम यस प्रकार छः

क – भाषा विज्ञान समाज नेपाल

ख – साहित्यिक संघ नेपाल

ग – साहित्य सदन नेपाल

घ अन्तराष्टि अंग्रेजी भाषाभाषी संगठन, नेपाल शाखा– महासचिव

ङ – युद्धप्रसाद मिश्र साहित्य प्रतिष्ठान

च– अन्तराष्ट्रिय साहित्य समाज, युएस्ए

छ – रमेश विकल साहित्य प्रतिष्ठान

ज– युगकवि सिद्धिचरण प्रतिष्ठान–विसं, २०५३– देखि महासचिव

झ – सदस्यता –इन्टरनेसनल सोसाइटी अफ पोयट्स्, युएसए

ञ – साझा प्रकाशन

७.साहित्य के हो ?

जनजिब्रोको भाषामा विविध विधामा लिखित–अलिखित जीवनजगत्को घटित प्रतिबिम्ब वा सम्भावित आभाष अनि स्तरीय र सुमधुर कलात्मक आनन्दको स्रोत र विचार प्रक्षेपण । साहित्यको परिभाषा जति लम्ब्याए पनि गाँठो कुरा चांिह यो जीवनजगत्को कलात्मक प्रतिबिम्व र पूर्वाभाष अनि कलात्मक स्तरमा आनन्द र नयाँ विचार दिने साधन हो । जनजीब्रो भने पनि व्यक्ति पिछे शैली आआफ्ना हुन्छन् र तिनमा प्रशस्तै वौद्धिक शैली पनि पाइने गरिन्छ । सरल र सुवोध शैली नै सुमधुर र ग्राह्य हुन्छ ।

७.नेपाली साहित्यिले कुन दिशा पक्रेको छ ? अब कस्तो साहित्य लेखिनु पर्ला ?

यसले हालसम्म विश्वमा देखा परेका प्राय सबै वाद–विवाद, आयाम र दिशा अँगालेको छ । नेपाली साहित्यको मूल प्रवाहमा विश्वका सबै साहित्यिक प्रकार, पाटा र भाकाहरू समावेस भएका छन् । जापान , चाइना , कोरिया , दक्षिण अमेरिका, अफ्रिका, अष्ट्रेलिया, उत्तर युरोपका साहित्यहरू नेपालमा आएका छन् । ग्रिनल्याण्ड ,अलास्काका र ओक्लयाण्ड,उत्तरी र दक्षिणी धु्रवका पनि आउने छन् । सगरमाथामा पुगी लेखिएका सगरसाहित्य पनि हामीले ल्याएका र्छौं । सागर सहित्य पनि आएको छ । अब स्पेस साहित्य पनि छिटै आउँछ । डायस्पोराको गतिविधिले सर्वसाधारण नेपाली साहित्य–संस्कृति र खासगरी डायस्पोरा साहित्य पनि विश्वमा प्रचारित भै रहेको छ । यो अति राम्रो कुरा हो । तर अनुवादमा भने हामी निकै पछि छौं । यसलाई हामीले तीब्रता दिनु पर्छ । तर निकै दुःख लाग्ने कुरा के छ भने राज्यले नेपाली साहित्यलाई भने जस्तो उठान दिन सकेको छैन । सिक्किममा हेर्नोस् , भारतमा वा विश्वका अन्य देशमा ! नेपालमा निजी क्षेत्रबाट धेरै काम भएको छ तर यो क्षेत्र पनि गुटबन्दी र ग्याङगिरीले गर्दा रुग्ण र मलिन पनि हुने गर्छ । साहित्यिक र खुला पत्रकारितामा अहिले ई–जर्नल पनि आएर साहित्यमा र व्यापक नेपाली चिन्तन र लेखनधारा अनि प्रकाशनका आयाममा धेरै बढावा आएको पनि छ ।

साहित्य कस्तो लेखिनु पर्छ ? यसको सर्वसाधारण उत्तर हुन्छ राम्रो, कल्याणकारी इत्यादि । त्यही ‘ राम्रो’ मा विश्वको साहित्यिक चिन्तन प्रणाली अलमलिएको वा रुमल्लिएको छ । यसमा कैयौ वाद आए गए , जीवन चलिरहेकै छ, साहित्य लेखिई रहेकै छ । चुरो कुरा चाहिं के हो भने जनजीवनले अनायास विस्तारै वा कुनै घटनाको कारणले हठात्् कोल्टे फेर्छ र चाहना र स्वादमा नयाँ इच्छा देखा पर्छ । त्यसलाई समसामयिक धारामा चलेर सोच्ने र लेख्ने विद्वान् चिन्तक र सिर्जनशील स्रष्टाहरू लोकप्रिय हुन्छन् र उच्च साहित्य दिन सकेमा कालजयी पनि । अहिले न जहिले, साहित्य जनमुखी, स्वतन्त्रता पे्रमी, प्रगतिगामी, स्वभाविक किसिमले यथार्थ र कलात्मक, निकै अर्थमा प्रयोगधर्मी र नयाँ किसिमले चिन्तनमूलक पनि हुनु आवश्यक हुन्छ । सत्यम् , शिवम् सुन्दरम् भन्ने कुरा कहिलै पनि पुरानो हुँदैन साहित्यमा र तर त्यो सत्य, शिव र सुन्दरका रूप र रोकनहरू युगानुसार बद्लिरहन्छन् । अहिले नेपाली समाज ज्यादै चलायमान भएको छ ,क्रान्तिकारी । यस अवस्थामा वहुविध प्रयोग र प्रस्तुतिहरू हुनु आवश्यक छ , समाजविज्ञानका कारण र कार्यको जोडनले गर्दा यो स्वाभाविक र वैज्ञानिक पनि हो । नेपालमा विश्वचेत भित्रिएको छ, अनुवादबाट अझै भित्र्याउनु पर्छ । ती सबैमा परिपोख्त भएर अझै लेख्नु र प्रकाशित गर्नु पर्छ । हामीले पनि हाम्रो साहित्य अनुवादबाट वाहिर प्रचारमा लैजानु पर्छ । यस्ता व्यापक र महत्वपूर्ण कार्यहरूलाई संस्थागत किसिमले समायोजन गरेर राम्रो वाग्धारामा वहाउनु पर्छ । यस्तो कार्य भनेजस्तो गरी भैरहेको छैन । देशको कमानी अलमलिएको छ, नेपालमा नेपालीहरूले राम्रो बाटो लिन पाईरहेका छैनन् । तर नेपाली विश्व डायस्पोराबाट भने निकै काम हुन खोजेको छ , देशका अलमलले गर्दा त्यो पनि प्रभावकारी हुन सकेको छैन । तर आशावादी हुनु पनि हामीले परेकै छ ।

८.तपाई पटक पटक गरी लामो समयसम्म अमेरिकामा बस्नु भएको छ । तपाईंको नजरमा नेपाली साहित्यलाई अमेरिकनहरूले कसरी मूल्याँङकन गर्दा रहेछन् ?

म अमेरिकामा पहिले तीनवर्ष र अहिले एक वर्ष गरी जम्मा चार वर्ष मात्र भयो । पन्ध्र, वीश, तीस, चालीस वर्ष बस्नेहरू पनि छन् । वहाँहरूको तुलनामा मेरो समय केही पनि होइन । तथापि पहिलेका तीन वर्षमा जो सक्रियता म र हामीबाट हुन पुग्यो सम्बन्धित सबैको सहयोगमा जेजति काम ग¥यौं त्यसबाट हामीले राम्रो मूल्याङकन पाएका छौं र आपूmलाई पनि राम्रो आत्मसंतुष्टि भएको छ । तर गर्नु पर्ने काम भने अझै सारै धेरै देख्छु ।

यस वीचमा मैले केही अमेरिकी साहित्यिक संघसंस्थासित सहकार्य र सहभागिता पनि गरें । मेरा आफ्ना नेपाली कविता पनि पाठ गरें । देवकोटा, सम, माधव घिमिरे, भूपी शेरचन, वैरागी काईंलाहरूका कविता पनि पाठ गरेर अंग्रेजीमा भावानुवाद पनि गरेर सुनाएँ । पटकपटकका यी कार्यहरूमा अमेरिकी श्रोताहरू सारै मुग्ध भएर सुने अनि उच्च मूल्याङकन गरेको कुरा मलाई प्रत्यक्ष अनुभव भएको छ । उनीहरू त अझ अनुवादमा सहकार्य गरौं पनि भनेका थिए । मैलै हठात् नेपाल जानु प¥यो । अहिले आएर निजी र घरायसी कार्यमा व्यस्त छु टाढा । सम्पर्क छुटेको छ । तर यस्ता सहकार्य गर्नु पर्ने काम ज्यादै आवश्यक भएको छ ।

९.नेपाली साहित्य विश्व साहित्यको तुलना गर्दा कहाँ र कस्तो अवस्थामा रहेको देख्न पाईन्छ ?

सम्पत्ती भए पछि जे पनि हाई हाई ! तथापि गरिब देश भएपनि संस्कृति र प्रतिभाका धनी हामीले साहित्यिक चेत धेरै माथि र व्यापक स्तरमा पु¥याएका छौं । नेपालमा सिर्जनशील प्रतिभाको ओइरो छ । वातावरण मात्र छरल्लिएको छ, यसैले कुण्ठित । सबै समस्या समेट्दै व्यापक अनुवाद र सहकार्यमा हामी जानुपर्छ , विकल्प देख्दिन ।

१०.नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन के के गर्नुपर्ला ?

अत्यन्त उत्तम प्रश्न गर्नु भयो । संस्थागत र व्यक्तिगत स्तरमा हरतरहले नेपाली साहित्य र संस्कृतिको विश्व डायस्पोरिक गतिविधि– मञ्चन, प्रकाशन, अनुवाद, मेला भेला, स्तरीय जर्नल आदिमा दोहोरै सहकार्यात्मक कार्यक्रमहरू बढाउनु पर्छ । केही माथि र तल पनि भनेको छु । डायस्पोराका कलेजहरूमा नेपाली विभागको संख्यामा विस्तार, नेपाली संसकृतिको अध्यापन, डायस्पोरा नेपाली प्रज्ञाप्रतिष्ठान र नेपाली विश्वविद्यालय आदिको अभियानमा लाग्नु पर्छ ।

११.तपाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को निवर्तमान अध्यक्ष तथा वर्तमान कार्यसमितिको सल्लाहाकार हनुहुन्छ । यसको संरचना र यसले गर्ने मुख्य मुख्य कार्यका बारेमा बताई दिनुहोस्न ।

नयाँ नेतृत्वले पहिलेका निर्णयहरू, लेखन प्रकाशन र अन्य संस्थागत कार्यक्रम र अभिव्यक्तिहरू प्राप्त गरेर अध्ययन गर्नु आवश्यक छ । जति पृष्ठभूमी बलियो बनाइन्छ त्यत्तिनै भूईंपूmट्टा हुँईदैन । अनि जति परिकल्पना ९ खष्कष्यल० र दिग्दर्शन गरिन्छ अनि पुलकित हुईंन्छ त्यत्तिनै बोधो हुँईंदैन, मौलिक र सिर्जनशील बन्न पुगिन्छ । यसो त अहिलेको कार्यसमितिले धेरै राम्रो काम गर्दै आएको छ र गर्नु पर्ने पनि धेरै धेर छन् । तथापि भन्नुपर्दा दोहोरै (नेपालीमा र अंग्रेजी लगायत अन्य भाषामा) अनुवाद, अन्य नेपाली र अनेपाली विद्वान् एवम् संघसंस्था र समुदायसित साहित्यिक–सांस्कृतिक सहकार्य, अनेसासका पहिले निर्णय गरेका तर गर्न नभ्याएका कार्यहरू, च्याप्टर, पुरष्कार र आजीवन सदस्यहरूको विस्तार र व्यवस्थापन, नेपाली विश्व डायस्पोराका विभिन्न ठाउँमा नेपाली सामुदायिक भवनको निर्माण सहितै नेपाली पुस्तकालय, शिक्षण–प्रशिक्षण र सालिकहरूको व्यवस्थापन, नेपाली भाषा साहित्यको लागि एउटा विश्वस्तरीय छ (६) महिने नेपाली–अंगे्रजी जर्नलको प्रकाशन, बारम्बार अन्तराष्ट्रिय भेलाको आयोजना इत्यादि कार्यहरूको लामो सूची तयार हुन्छ । माथि र तल पनि निकै भनेको छु । प्रसङ्गमा कति त दोहोरिएलान् पनि ।

१२.अनेसासले हरेक वर्ष र दुई/ दुई वर्षमा बाँड्ने १३ वटा पुरस्कार नेपाली भाषी लेखकलाई मात्र दिएको देखिन्छ । यसो गर्दा नेपालकै अन्य मातृ भाषालाई उपेक्षा गरेको भएन र ?

यो एउटा गम्भीर र सकारात्मक प्रश्न हो । नेपाल जस्तो बहु भाषीय र सांस्कृतिक सम्पदा भएको सानो देशमा अखण्ड राष्ट्रिय सूत्राधार, सद्भाव र साझेदारिका लागि एउटा साझा भाषाको अनिवार्य आवश्यकता नेपाली भाषाले पूरा गर्दै आएको छ । यो सुविधा, यो प्राप्ति नेपालीहरूको सौभाग्य हो । अब यता अरू भाषा र संस्कृतिको पनि सम्मान, संरक्षण र विकाश हुनुपर्छ भन्ने हेतुले अनेसासको लक्ष्यमा प्रष्ट भनिएको छ कि यसले सबै भाषा र संस्कृतिमा पनि बल प्रदान गर्ने छ । साम्प्रदायिक भड्काउले कुनै पनि समुदायलाई राम्रो गर्दैन तर मेलमिलाबाट सबै कार्यहरू समधुर किसिमले सम्पन्न हुँदैजान्छन् । अरु भाषाका कार्यहरूलाई पनि प्रोत्साहन दिनु पर्छ । यसको लागि कुनै प्रायोजकहरूबाट विभिन्न भाषाकालागि पुरष्कारको स्थापना गर्ने प्रयासमा लाग्दै आवश्यक निति नियम आदिको तर्जुमा गरी सञ्चालन गर्नु राम्रो हुन्छ ।

१३.तपाईको विचारमा अनेसासले गर्नु पर्ने मुख्यमुख्य कार्यहरु के के हुन् ?

माथि पनि निकै भनिएको छ । ती बाहेक विश्वका ठाउँठाउँमा सामुदाकि भवन, नेपाली पुस्तकालय, अन्तराष्ट्रिय भेला, मेला र कार्यक्रमहरू च्याप्टरहको छुट्टै अन्तराष्ट्रिय भेला, विश्वमा छरिएका नेपाली भाषाविद्, संस्कृतिविद् र साहित्यकारहरूको सामूहिक सम्मान, अन्तवौर्ता र प्रवचनहरू अनि तिनको प्रकाशन, विश्वनेपाली संगीत – सांस्कृतिक महोत्सव , अनेसासको स्थायी बृहत् आर्थिक कोश र त्यसको सम्यक सञ्चालन, अनेसासद्वारा अध्ययन गराई तयार गरिएको नेपाली साहित्यको बृहत् इतिहास, साहित्यिक कोश र सारा नेपाली लेखकहरूको संक्षिप्त परिचय संग्रह, फोन र ठेगानाको निर्देशिका आदि कुरा थप्न सकिन्छन् ।

१४.तपाईंको कार्यकालमा योजना बनाईएको तर कार्यान्वयन गर्न नसकेको कुनै महत्वपूर्ण योजना भए जानकारी गराई दिनुहोस्न ।

अन्तराष्ट्रिय नेपाली भेलाको परिकल्पना र निर्णय गरेको थियो । त्यो भयो । अनुवाद पछि परेको छ । सामुदायिक भवन, भानु स्मारक र सालिकहरूको स्थापना गर्न बाँकी छ । नेपाली र नेपालका भाषा साहित्य –संस्कृति स्कुलहरू विश्वका धेरै ठाउँमा खोल्न बाँकी छ । र छ महिने उच्चस्तरीय जर्नलको कुरा माथि पनि भैसकको छ । दिवङ्गत साहित्यकारहरूको जन्म र मृत्यका मिति अनुसार वैयक्तिक विशेष जन्म जयन्ती र सामूहिक जयन्ती एवम् जीवितहरूका सम्मानहरू , अथवा चारै ऋतुकालीन( वसन्त वहार, गृष्म दीप्ति, वर्षाधारा, शरद सौरभ, हैमी हेमन्त, शिशीर सुशेली ) आदि साहित्यिक उत्सव,सम्मान र जयन्तीहरू र नवर्षोत्सव , दशैं तिहारोत्सवहरू, अनेसासबाट पुस्तक प्रकाशनमा तीब्रता र सम्पन्नता आदि इत्यादि उल्लेख गर्न सकिन्छन् । पुराना निर्णय , अन्तर्दृष्टिमा छापिएका र अन्य अभिव्यक्ति एवम् नीति निर्देशन, छलफल र वार्तालापहरू हेरिएमा अन्य पनि धेरै पाइन्छन् र नया शोचले पनि नया कार्य गर्नु पर्छ ।

१५.अनेसासको संगठन विस्तार र प्रचार प्रसार अलि कमजोर भएको छ जस्तो लाग्दैन तपाईंलाई ?

त्यस्तो लाग्दैन, कामहरू राम्रै भैरहेका छन् । सुधार र मजबूत गर्नु पर्ने ठाउँ र कामहरू जहाँ पनि हुन्छन् । माथि भनिएका लगायत आजीवन सदस्यहरू थप्नु पर्ने र ती सबैलाई प्रमाणपत्र दिनु पर्ने, अनेसासले नै लगानी गरेर प्रकाशन गर्ने नयाँ योजना बनाउनु पर्ने र सांगठनिक संरचनामा नयाँ र थप उपाध्यक्षहरू, विश्वक्षेत्रीय प्रतिनिधित्वको व्यवस्था, हाम्रा नियम विनियममा क्रमिक सुधार वा विकाश आदि काममा उप समिति बनाएर अध्ययन गर्ने गराउनु पर्ने र अन्य योजनाहरू धेरै अजमाउनु पर्छ । ती मध्ये अनेसासले विभिन्न साहित्यिक विधामा लामो समय दिएर नाटक, उपन्यास, कथा , खण्डकाव्य अथवा महाकाव्यै पनि लेखाउनु पर्छ र प्रकाशन गर्ने व्यवस्था गर्नु पर्छ । अमेरिकामा नोभेम्बर महिनाको तीस दिन भित्र ५०,००० पचास हज्जार शब्दको उपन्यास लेख्ने राष्ट्रिय उपन्यास महिना मनाइन्छ । यो कति राम्रो कुरा हो ।

१६.अनेसास डायोस्पोराको भाषा साहित्यको एकमात्र ठूलो संस्थाको रुपमा सर्वमान्य र स्थापित भएको छ । अब यसले नेपालको साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठान, त्रिवि आदिसँग मिलेर भाषा साहित्यका लागि विभिन्न कार्य गर्ने बारे सोच्ने बेला भएन र ?

यो उत्तम कुरा हो । साझासित यस्तो एउटा सन्दर्भ बढेको छ । त्यसलाई अगाडि बढाउनु पर्छ । अनेसासले विभिन्न साहित्यिक संस्था र प्रिन्ट, ई–जर्नल र डटकमहरूसित ‘आपसी सहभागी मित्रता’ (mutual partnership) को कार्य अगाडि बढाएर धेरै पत्रपत्रिका र संघ संस्थासित हितेरी–मितेरी गाँसेको छ र आपसी हितका खैखबरीहरू छाप्ने र अन्य केही क्षेत्रमा साझेदारी कार्य गर्ने उद्येश्य राखेको छ । यो कार्य पनि अगाडि बढाउनुपर्छ । विश्वनेपाली डायस्पोरामा देशकाल परिस्थितिका कानून, प्रचलन र नियमानुसार नेपाली प्रज्ञाप्रतिष्ठान, नेपाली कलेज र विवि पनि खोल्नु पर्छ ।

१७.मूलधारको साहित्य र डायोस्पोराको साहित्यमा के फरक छ ?

इतिहास , वर्तमान अवस्था, विषयवस्तु र प्रस्तुतिमा फरक छ । उद्येश्य एउटै हो : ‘विपुल चहकिलो पार्नु नेपाललाई’ । अबका दिनमा नेपालीको क्षमता र विस्तृति बढेको हुनाले उद्येश्यमा के थप्नु पर्ला भने विश्वमानवीय चिन्तन र चरित्रका संस्कृतिमा पनि नेपालीहरूले नवनव योगदान दिने लक्ष्य राख्नु पर्छ ।

१८.तपाई आफू लामोसमयसम्म प्राध्यापन गरी सेवा निवृत्त हुनु भएकोछ । नेपाली डायोस्पोराका उत्कृष्ट साहित्य नेपालको विश्व विद्यालयमा पढाउने ब्यवस्था गर्नु पर्ने होईन र ?

अति उत्तम प्रश्न गर्नु भयो समसामयिक । त्यो कुरा ३/४ वर्षदेखि प्रयाश भए अनुरुप पीएचडि र एमफिलमा व्यवस्था भइरहेको छ । अरू कक्षामा पनि गर्नु पर्छ । त्यसका लागि डायस्पोरा र नेपालमा केही अध्ययन सामाग्रि र स्रोत व्यक्तिहरू छन् तिनको पहिचान र सामाग्रीको संकलन गर्दै र अरू थप्दै पनि रहेको हुनु पर्छ । अबका नया नेतृत्वले यी सबालहरूमा पनि विशेष र व्यापक चाख राखेर व्यवस्था गर्नु पर्छ । डाइस्पोराका केही ठाउँमा नेपालीको उच्च अध्ययन फाटपूmट केही भैरहेको छ । त्यसमा विस्तार र विकाश गर्दै बढाउनु पर्छ र नेपाली विभाग र कलेज हुँदै विश्वविद्यालय खोल्नु पर्छ ।

१९. अन्तमा समकालीन साहित्य डट कम मार्फत विश्वभर रहेका नेपाली साहित्यका पाठकहरुलाई केही भन्नु छ कि ?

सगरमाथाले उठाएको उच्च प्रदेशका हामी हाम्रो चिन्तनधारा हार्दिकतामा आलोक छर्दै उच्चाइको स्तर र विश्व व्यापकतामा वहन्छ भन्ने कुरा वुद्धले सिद्ध गरि सकेका छन्, देवकोटा लगायत धेरैधेर नेपाली कवि र मनीषिहरू, वाङदेल लगायत धेरैे कलाकारहरू एवम् नारायण गोपाल लगायत धेरै अमर गायकहरूले प्रमाणित गरिसकेका छन् । विश्वमा कति महाकाव्य छन् विभिन्न भाषामा ? नेपालीमा मात्र १३० जति भैसकेका छन् । महाकाव्य महाकाव्य नै हो । यो खेलाँचि होइन र चानचुने प्रतिभाले पनि लेखिदैन । यी महिमाहरूलाई हामीले सम्मान र आत्मसात् गर्दै बँचाउनु र बढाउनु पर्छ । यसका लागि विश्वभरका हामी सबै नेपाली गुटबन्दी गरेर, फुटेर होइन वरन् जुटेर रचनात्मक काममा लागौं । डायस्पोराका सारा नेपालीले महिनाको एकएक डलर अथवा आआफू बसेको देशको एकएक इकाई नगद नेपाली अस्मिता र महिमाको श्रीवृद्धिका लागि उठाउन सहमति भएमा यथा समयमा डायस्पोरमा डायस्पोरा नेपाली विश्वविद्यालय र डायस्पोरा नेपाली प्रज्ञाप्रतिष्ठान, आफ्नै नेपाली छापाखाना खोल्न सकिन्छ ,स्तरीय जर्नल निकाल्न सकिन्छ , नेपाली पुस्तकालय र सामुदायिक भवन अनि सालिक सहितको कवि कुञ्जको वनस्थली–मनस्थली बनाउन सकिन्छ । साथसाथै वैयक्तिक किसिमले ठूलठूलो धनराशीले सहयोग गर्ने उदारमनाहरूको पनि त्यत्तिकै आवश्यकता छ । यी काम गर्न नै पनि पर्छ । त्यसैले तुरुन्तै कार्य योजना बनाऔं र अभियान शुरु गरौं । साथै विश्वका अरू शुभेच्छुकहरूलाई पनि हाम्रो काममा आकर्षित गरौं । प्रत्येक नयाँ नेतृत्वले पहिलेका राम्रा र अधुरा कार्यहरूलाई निरन्तरता दिएर सम्पन्न गर्नु पर्छ र साथसाथै नयाँ दिशाबोध गर्दै नवनव कार्यमा लाग्नु पनि पर्छ । हामी सवै डायस्पोराबासीहरू एनआर एन हौं र नेपाली भाषा साहित्य एवम् संस्कृतिको सबालमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयामलाई विस्तार गर्दै यसका उद्देश्यमूलक कार्यहरूलाई सफलता प्रदान गर्दै विकाशका नवनव कार्यमा र आआफ्ना मातृभूमिको पनि सेवामा निरन्तर लागौं । यसकोलागि देशवासी र विदेशबासी अथवा डायस्पोराबासी अथवा जन्मभूमि र कर्मभूमीका वीचमा निरन्तर सहकार्य भैरहनु पर्छ । यस्ता कार्यहरू केही भैरहेका भए पनि पर्याप्त छैनन् । तथापि निरन्तर लागिपरिरहेमा समुन्नत भविष्यको लागि आशावादी मात्र होइन विश्वस्त हुनुपर्ने लक्षणहरू प्रशस्तै छन् ।

कृष्ण जी, यति राम्रा, समसामयिक र दूरदर्शी प्रश्नहरू गरेर मेरा केही सानातिना भावना र विचारहरू झकझक्याउँदै प्रकाशमा ल्याउने राम्रो अवसर प्रदान गर्नु भएकोमा फेरि पनि हार्दिक धन्यवाद ज्ञापन गर्दै तपाईंको, अनेसासको र सारा नेपालीको उत्तरोत्तर समुन्नतिको लागि हार्दिक सद्भाव राख्दै यो प्रश्नोत्तर यहीं अन्त गर्दछु । धन्यवाद ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।