14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

साहित्यकार विमल भौकाजीसँग एक क्षण

वार्ता कृष्ण बजगाईं November 10, 2009, 3:34 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

२०२० माघ १० साँघुटार बजार, रामेछापमा जन्मनु भएर हाल वानेश्वर काठमाण्डौंमा बसोवास गर्नु हुने विमल भौकाजी युवा पुस्ताका चर्चित साहित्यकार हुनुहुन्छ । २०३९ सालमा 'रमिते' नामक कथा पहिलो पटक प्रकाशित भएदेखि निरन्तर साहित्य साधनामा लाग्नु भएका श्री भौकाजी हाल ऐतिहासिक साहित्यिक पत्रिका शारदाको कार्यकारी सम्पादक हुनुहुन्छ । उहाँसँग समकालीन डट कमका लागि सम्पादक कृष्ण बजगाईंले इमेल मार्फत गर्नु भएको कुराकानी ।

१.साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?

साहित्य मानव जीवनको महत्वपूर्ण पक्ष हो भन्ने मेरो मान्यता रहिआएको छ ।

२.तपाईको मन पर्ने साहित्यका विधाहरु कुन कुन हुन् ?

विधागत रुपमा लेखिने साहित्यको धारप्रति मेरो अलिक भिन्न दृष्टिकोण छ । विधा जुनसुकै होस् यदि त्यहाँ कविता बोल्छ भने त्यो साँचो साहित्य लाग्छ मलाई ।

३.आफूलाई कुन विधामा सफल र सशक्त ठान्नुहुन्छ ?

माथिल्लो जवाफबाटै यस प्रश्नको जवाफ प्रष्टिसकेको जस्तो लाग्छ । मुलतः म कविता नै लेख्न रुचाउँछु । त्यसो त लघुकथा, कथा, एकांकी एवंम् बालसाहित्यका साथ संख्यात्मक रुपले व्यंग्यहरु मैले बढि लेखेको छु । तर मेरो अभिव्यक्ति आजसम्मको लेखन–अभ्यासमा सम्भवतः कवितामा जति अन्यत्र भएको छैन जस्तो लाग्छ ।

४.तपाईका कृतिहरु बताईदिनुस् न ?

१.तीन आँखाको मान्छे(संयुक्त कवितासंग्रह,२०४५)

२.जिन्दावाद मूर्दावाद(संयुक्त कवितासंग्रह,२०४७)

३.यात्रापछि यात्रा(संयुक्त साहित्यसंग्रह,२०४९)

४.असिना भूत(बालकथा संग्रह,२०६२) दोश्रो संस्करण,२०६४,

५.जसको जोत उसको पोत व्यंग्यसंग्रह,२०६४) दोश्रो संस्करण,२०६६

५.सम्पादित पुस्तकहरु..

१.उपन्याससम्राट धुस्वां सायमिः जीवन–यात्रा,२०६१

२.मरो आँखामा जनआन्दोलन २०६३(डा.अरुण सायमी)

३.नीलम कार्की निहारीकाका कविता –कवितासंग्रह,२०६२)

४.नेपाली यौन कथा भाग–३ (कथासंग्रह,वाणी प्रकाशन,२०६४)

५.कागजमा दस्तखत (कथासंग्रह,निलम कार्की निहारीका,२०६४)

६.दुई ब्यालेटः चौतर्फी आक्रमण (लेखसंग्रह,डा.अरुण सायमी,२०६५)

७.साँझ ढलेपछि( कवितासंग्रह,गीता पन्थ,२०६६)

८.Across The Ocean (समसामयिक कवितासंग्रह,२००९)

९.तिमीलाई मनपर्ने कथा –बालकथा, संग्रह, रत्न पुस्तक भण्डार २०६६)

१०.धोर्जे (उपन्यास,कृष्णबहादुर गुरुङ, अमेरीका,२०६६)

११.प्रतिनिधी नारी यौनकथा –कथासंग्रह, रत्नपुस्तक भण्डार,२०६६)

६.तपाई आफै वा तपाईका कुनै कृतिहरु पुरस्कृत भएका छन् कि ?

वि.स. २०५२ मा तत्कालीन ने.रा.प्र.प्र.ले आयोजना गरेको अधिराज्यव्यापी राष्ट्रिय कविता महोत्सवमा मेरो कविता ‘शाश्वत सत्य’ले प्रथम पुरस्कारसहित स्वर्णपदक प्राप्त गरेको थियो त्यसभन्दा अघि कलेज पढ्दा अधिराज्यव्यापी अन्तर क्याम्पस निबन्ध प्रतियोगिता,२०३९ मा मेरो निवन्धले प्रथम पुरस्कार पाएको थियो । यसरी नै व्यत्तिको रुपमा २०५९ सालको ‘युवाबर्ष मोती पुरस्कार’ मैले प्राप्त गरेको पहिलो साहित्यिक सम्मान थियो । र, हालै अन्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरीकाले प्रदान गरेको २००९ को सर्वोत्कृष्ठ पुस्तक पुरस्कारद्धारा मेरो पुस्तक ‘जसको जोत उसको पोत’ विभूषित भएको छ ।

७.‘जसोको जोत उसको पोत’ सर्वोत्कृष्ठ पुस्तकपुरस्कारका लागि चयन भएको सुन्दा तपाईलाई कस्तो लाग्यो ?

अनौपचारिक रुपमा कोही शुभचिन्तकले यो कुरो सुनाउँदा पहिले त मलाई खुशी भन्दा बढी आश्चर्य लाग्यो । किनकि आजकल यो पुरस्कार–सम्मान लेनदेनमा चलिरहेको यथार्थबाट अनभिज्ञ छुइनँ म । तर झ्वाट्ट याद आयो मलाई, यो पुरस्कार मलाई नभएर मेरो पुस्तकलाई दिएको छ । एक त पुरस्कार दिने संस्था यहाँ नभई अमेरीकामा छ, र अमेरीकामा मेरो पुस्तक चयन गर्नेहरुमाझँ सात दर्जनभन्दा बढी पुस्तकहरु प्रतिस्पर्धामा रहेछन् । मजस्तो एक स्वाभिमानी लेखकका लागि विदेशमा रहेको साहित्यिक संस्थाद्धारा मेरो पुस्तक पनि छानिनु देशमा रहेका राज्यद्धारा संञ्चालित भरौटे संस्था वा व्यक्तिगत दलाल संस्थाहरुका लागि ठूलो पाठ हो ।

८.प्रसंग बदलौं,‘शारदा’ मासिक पुनः प्रकाशित भई निरन्तरता पाइरहेछ । यो पुनः प्रकाशन गर्ने इच्छा, जाँगर र हिम्मत कसरी आयो ?

नजानिदो पाराले साहित्यिक कर्म नै जीवनको आधारशीला बनिसकेको रहेछ, थाहै पाइएन । ०१७ सालमा हस्तलिखित रुपमा प्रकाशित हुने ‘घुयत्रो’लाई २०५५ सालदेखि द्धैमासिक रुपमा सम्पादन गर्न थालें । सात अकसम्मको निरन्तर प्रकाशन पछि त्यसलाई विविध कारणबस बन्द गर्न बाध्य भएँ । तर त्यसको विकल्पको रुपमा मेरो मानसपटलमा केही खोज चलिरहेको अवस्थामा संयोगवस, ‘शारदा’ मेरो सामु उपस्थित भयो । र, करिव तीन वर्षको आन्तरिक पहलमा मैले महत्वकांक्षी निर्णय गरेर यसको सम्पादन–कार्य सम्हालें । जुन दिन यसको प्रथम पुनः प्रकाशन थालियो त्यसै दिन मैले प्रतिज्ञा गरेको छु, जस्तोसुकै अवस्था आईपरे पनि मेरो जीवनभर मात्रै होइन कालान्तरसम्म ‘शारदा’लाई जीवित राखिराख्ने वातावरण बनाउनेछु ।

९.पहिलेको ‘शारदा’ र अहिलेको ‘शारदा’मा पाठकहरुले के फरक पाएको अनुभव गर्नुभएको छ ?

साँच्चो साहित्य नै जीवन्त रहन्छ । यस अर्थमा, साहित्यको मूल्य समाजमा सदैव उत्तिकै रहिरहन्छ । जहाँसम्म शारदाको प्रंसग छ, छपाईको हिसावले पहिलेको शारदाभन्दा आजको शारदाले गुणात्मक फड्को मारेको महसूस स्वभावतः पाठकहरुले गर्न सक्छन् । यसका अलावा साहित्यिक सिर्जनाको दृष्टिकोणले हेर्नै हो भने त्यसमा पनि ठूलो परिवर्तन पाठकहरुले पाउन सक्छन् । तत्कालिन समयमा लेखिएका तत्कालिन महत्वका लेख रचनाहरु त्यसवेलाको शारदामा पाइन्थ्यो भने आजको समाजका लागि उपयुक्त सिर्जनाहरु आजको पुनप्रकाशित ‘शारदा’मा पाइन्छ ।

१०.‘शारदा’लाई नेपाली डायस्पोरामाझँ पु¥याउने कुनै योजना छैन ?

नयाँ नयाँ प्रविधिको विकाससंगै इन्टरनेटको माध्यमबाट त विश्वभर शारदालाई पु¥याउन कुनै गा¥यो छैन् । तर नेपाली साहित्यका अनुरागीहरुको हात–हातमै सिंगो शारदाको पुस्तक नै पुगोस् भन्ने हाम्रो चाहना रहिआएको छ । तर यसको प्रकाशनलाई सर्वप्र्रथम निरन्तरता कसरी दिन सकिन्छ भन्नेमा हाम्रो प्रयास जारी छ । यो प्रयासलाई हामीले सार्थकता दिन सक्ने उपयुक्त वातावरणका लागि तपाईजस्ता विदेशमा बसोबास गर्ने हाम्रा शुभचिन्तकको सहयोगले ठूलो भूमिका खेलेको छ ।

११.विभिन्न परिस्थिति र कारणले विदेशिएका सर्जकहरुको नेपाली भाषा तथा साहित्यप्रति कस्तो लगाव पाउँनु भएको छ ?

मातृभूमि सवैका लागि प्रिय हुन्छ । यो सत्यलाई कसैले पनि नकार्न सक्दैन । त्यसमाथि, संवेदनशील ह्ृदय बोक्ने खास गरेर लेखक कविहरुको सन्दर्भमा त मातृभूमिको विषयले अझ वढि महत्व राखेको हुन्छ । यस तथ्यलाई विदेशमा बस्ने नेपाली लेखकहरुद्धारा छापामा भइरहने साहित्यिक अभिव्यक्तिहरुले प्रष्ट पार्ने गरेकै छ । यदि उनीहरुसंग भाषा प्रेम, साहित्यप्रेम नहुँदो हो त विदेशमा रहेर पनि नेपाली साहित्यका लागि अन्तराष्ट्रिय साहित्यिक संस्थाहरु खुल्ने थिएनन्, र ती संस्थाहरुले नेपाली भाषामा लेख्ने लेखकहरुलाई पुरस्कार–सम्मान दिएर लेख्नका लागि प्रोत्साहन दिने थिएनन् । यसका वावजूद विदेशमै रहेर नेपाली भाषामा स्वयम् उनीहरुले उत्कृष्ठ सिर्जना गरिरहेका छन् । जस्तो कि, अमेरीकामा बसोबास गर्ने युवा नारी हस्ताक्षर नीलम कार्की निहारीका, अर्का लेखक होमनाथ सुवेदी, त्यस्तै राजव, रुसका कृष्णप्रसाद श्रेष्ठ, बेल्जियमका कृष्ण बजगाईँ, जापानका दुवसु क्षेत्री उल्येखनीय नाम हुन् ।

१२.नेपाली भाषा र साहित्यका लागि नेपाली डायस्पोराहरुबाट के कस्तो कार्यको अपेक्षा गर्नूहुन्छ ?

विदेश जानुको अर्थ सम्पत्ति आर्जन गर्नु मात्रै हो भन्ने हाम्रो समाजको भ्रमपूर्ण दृष्टिकोणलाई यहि साहित्यकै माध्यमबाट नेपाली डायस्पोराहरुले बदल्न जरुरी छ । त्यसका लागि आज लेख्दै गरिएको सीमित लेखाईबाट त्यो सम्भव छैन । त्यसैले धेरै भन्दा धेरै र गुणात्मक किसिमका सिर्जनाहरुको अपेक्षा मैले लगायत सम्पूर्ण साहित्यप्र्रेमीले गर्नु अस्वभाविक होइन् ।

१३.अन्तमा ‘समकालीन साहित्य डट कम’ मार्फत विश्वभरका साहित्यप्रेमीहरुलाई केही भन्नु छ कि ?

विद्यतीय सञ्चार माध्यमतर्फ अझै पनि हाम्रो समाज त्यत्ति आकृष्ट हुन सकको देखिदैन । यस्तो स्थितिमा हाम्रो समाजको सन्दर्भमा यसको प्रतिस्थापन गर्नू निकै चुनौतीपूर्ण कार्य हो । तथापि साहित्य भनेको कुनै समाज वा देशको भौगोलिक रेखाभित्र सीमित रहन्न, जसले जहाँ जसरी सुविधा पाउँछ उसले त्यहि आधारमा त्यसको उपभोग गर्छ । यस अर्थमा जति नेपालीले नेपालमा बसेर ‘समकालीन साहित्य डट कम’ को उपयोग गर्छन् । थोरै मात्रामा भएपनि त्यसले निकै ठुलो अर्थ राख्दछ । रह्यो ,विश्वको कुरा । विश्वमा रहेका साहित्य प्रेमी, यदि साहित्यको मुल्य अाँक्न सक्छन् भने तिनले साहित्यलाई जीवनको सारको रुपमा मान्नुपर्छ, जसको कुनै मूल्य छैन, अनमोल छ । साँच्चै, ब्यक्तिगत रुपमा सोध्नु हुन्छ भने, साहित्य नलेखी–नपढी बाँच्नै सकिन्न जस्तो लाग्छ मलाई । म त भन्ने गर्छु, कसैले के का लागि साहित्य लेख्नुहुन्छ ? भनेर सोधेभने म भन्छु– साहित्य नलेखेको दिन मेरो मृत्यु हुन्छ ।

१० नोवेम्बर ०९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।