होमनाथ सुवेदी अनेसासका संस्थापक तथा Board of Trustees का अध्यक्ष हुनुहुन्छ । उहाँ ताकम, म्याग्दीमा जन्मेर हाल बुडब्रिज, अमेरिकामा बस्नुहुन्छ । नेपाली डायास्पोरामा बसेर सबभन्दा बढी २० वटा कृति लेख्ने, लेखकहरुमध्ये सबभन्दा बढी वर्ष डायास्पोरामा बस्ने उहाँ उमेरले ६२ वर्षको हुनुहुन्छ ।
उहाँसँग समकालीन साहित्य डटकमका लागि इमेल मार्फत सम्पादक कृष्ण बजगाईंद्वारा गरिएको परिसम्वाद ।
१. विदेशको ब्यस्त समयमा सांगठनिक तथा सिर्जनात्मक कार्यहरुमा कसरी समय मिलाई रहनु भएको छ ?
सेवा–भाव हो, यस्तो गर्ने आदत हो । खाने मुखलाई जुँगाले छेक्दैन ।
२.कति वर्षदेखि तपाईं अमेरिकामा हुनुहुन्छ ?
२८ वर्ष भो । म आएको १९८१ मा हो ।
३.अमेरिकाको बसाईको क्रममा सिर्जित र प्रकशित तपाईंका कतिवटा कुन कुन कृतिहरु छन् ?
१७ वटा कृति प्रकाशित छन् । ती यी हुन् : उपन्यासमा– न्याउली –बि.सं.२०४३, नजर– बि.सं.२०४४, त्रिमूर्ति– बि.सं.२०४४, वीणा– बि.सं.२०४५, रत्ना– बि.सं.२०४३, द्यौराली– बि.सं.२०५१ र अंकुर– वि.सं.२०५३, यमपुरीको महल वि.सं.२०६४, कविता संग्रह– प्रबासी स्वर– वि.सं. २०५४, आप्रवासका सुसेली वि.सं. २०६३ । अनि गजल संग्रह हो ‘सेतो गाजल’ वि.सं. २०६४, त्यस्तै खण्डकाव्य—छयासीको छवि—२०६४, ग्रहग्रस्त दिवाकर–२००८ दुईवटा छन् । कथामा –चिरिएको मुटु– कथा संग्रह २००७ र समालोचनामा — नवछायावादको छवि—२००८, समुद्रपारका समालोचना (समालोचना संग्रह) २००९, असन अनेसास पुरस्कृति समालोचना (२००५) सहसंपादन गरी जम्मा सत्रवटा कृति डायास्पोरामा लेखी डायास्पोराबाटै प्रकाशित भएका छन् ।
४. तपाईंका जम्मा कतिवटा कृतिहरु प्रकाशित छन् ?
बीसवटा
५. नेपालमा लेखिएका कति हुन् र कुन कुन प्रकाशित छन् ?
तीनवटा नेपालमा लेखिएका प्रकाशित छन् । ती हुन् : कथा–नेपाली लोक कथा– (छन्त्यालको छेउछाउबाट) वि.सं२०५२, छन्त्याल लोक कथा –सड्ढलन (वि.सं.२०६६)—होमनाथ सुवेदी । विविध—‘ताकम दर्पण’ सहलेखन वि.सं. २०५५
६.प्रकाशोन्मुख कृतिहरु पनि छन् कि ?
छन् । अन्तर्दाह, वेलकम टु अमेरिका उपन्यास, नेपाली लोकथाको परम्परामा छन्त्याल लोककथाको अध्ययन (अनुशीलन), यो समाज! महाकाव्य, हवाई–पत्र पत्रसाहित्य प्रेसमा छन् ।
७.डायोस्पोरामा सिर्जित र स्वदेशमा सिर्जित कृतिहरुमा कुनै भिन्नता हुन्छ कि ?
डायास्पोरा स्रष्टाको लेखनमा अझ डायास्पोरिक छ भने त्यसमा यी सातवटा विशेषता हुन्छन् ः
१. नयाँ घर अजीव लाग्नु, २. पुरानो घरको यादले सताउनु । ३. एम्बिभ्वालेन्स (Ambivalence) र अनिश्चितता (uncertainty) मा वाँधिनु । ४. मातृभूमिमा फर्किने चाह, विस्थापित भएको ठाउँको पुनप्राप्तिको चाहना । ५. अपेक्षया नयाँ ठाउँमा स्थायी काम र मूल थलो एम्बिभ्वालेन्सका निरन्तरता । ६. नयाँ राष्ट्रमा बसेपनि मूल राष्ट्रबाट अस्त हुन न चाहनुको पीडा । ७. Transnationalism कम्युनिटी । यिनै हुन् डायास्पोरिक साहित्यका मेरुडण्ड भनौ वा भावाभिव्यक्तिहरु पनि । गति अनुसार तिनको स्थान फरक फरक हुनु स्वाभाविक कुरा हो ।
८.त्यसो भए मूलधारको साहित्य र डायोस्पोरिक साहित्यमा फरक हुन्छ ?
हो । फरक छ ।
९.के फरक हुन्छ त ?
म यौटा उदाहरण दिन्छु । यमपुरीको महलमा भएको पितृदेशको अभाव र तद्प्राप्तिको कामनामा तड्पिएको अमेरिकामा जिएको एक नेपालीको दर्दनाक कहानीको अनुलेप नै डायास्पोरिक साहित्यको एक अभिलक्षण हो । डायास्पोराको धारणा पुरानै पनि हो तर ऐले मैले नयाँ परिवेशमा नयाँ कलेवर दिएर यो सिर्जना पाठक समक्ष राखेको छु । यो यसको नवप्रवृत्ति हो । यस्ता फरक, तपाई डायास्पोरिक साहित्य र नेपालको परम्परित साहित्यको मूलधारको बीचमा धेरै पाउनुहुन्छ । मूलधार सीधा नेपालबाट जीवन र जीवनको गहनतातिर बहकिन्छ भने डायास्पोरिक साहित्य मूलथलो र नयाँ थलोको ठिमाहा संस्कृतिको बाटो भएर जीवनको गहनतम विन्दुलाई स्पर्श गर्न पुग्दछ । भाषामा अंग्रेजी मिश्रित नयाँ शब्द प्रयोग र शैली वैचित्र्य हुनु संचेतना प्रविधिले बढी प्रश्रय पाउनु पनि डायास्पोरा साहित्यको आफ्नै विशेषता हो ।
१०. तपाईंको कृति वा तपाईं स्वयंले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?
मैले मेरा कृति र योगदानको लागि पाएका पुरस्कार र सम्मान यी हुन् ः “अड्ढुर” वि.सं.२०५३, उपन्यासका लागि रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार २०५४, सूर्यनारायण पुरस्कार गुठी, म्याग्दीबाट भाषा र साहित्यमा गरेको योगदानको लागि २०६२ को ‘सूर्य नारायण पुरस्कार’, ”आप्रबासका सुसेली” कविता संग्रहका लागि अनेसास रोहिणी शर्मा धवलागिरि उत्कृष्ट पुस्तक पुरस्कार २००७, डायास्पोरा नृपध्वज कार्की नेपाली साहित्य प्रथम पुरस्कार—२००७, विभिन्न संस्थाद्वारार अभिनन्दित, एएन्एबाट १९९७मा कदरपत्र, Poet of the Merit Award Medal" and "Outstanding Achievement in Poetry Silver Award Cup" awarded by The International Society of Poets (ISP) 2003 , २००४मा एएन्ए तथा कविता महोत्सव समिति अरिजुनाबाट नेपाली साहित्यको निमित्त आप्रवासमा संस्थागत विकासका लागि "Pioneer of Nepali Literature in the Nepali Diaspora" (आप्रवासका नेपाली साहित्यका अग्रज) को उपाधि प्रदान ।
११.डायोस्पोरिक साहित्य पनि मूलधारको साहित्य भन्दा कम छैन । डायोस्पोरिक साहित्यलाई पनि विद्यालय वा विश्वविद्यालयमा पढाउनु पर्छ जस्तो लाग्दैन तपाईंलाई ?
अरु देशमा यो काम पुरानो हुन थाल्यो हामीकहाँ अझ प्रश्न उठाइदै छ तापनि केही वर्ष यता त्रियुले पनि यसमा चासो देखाएको छ र यसको अध्ययन अध्यापनको लागि विशेष व्यवस्था गर्न ढिलो भएको महसुस गरी काम हुन थालेको पनि मैले पाएको छु । यसलाई त्रियु मात्र हैन नेपालका सबै विद्यापीठले प्राथमिकतासाथ पाठ्यक्रममा समावेश गर्नुपर्दछ र मात्र नेपाल र नेपालीको साहित्यले अन्तर्राष्ट्रिय स्तरको साहित्यसित भिडिन सक्दछ ।
१२.नेपाली डायोस्पोरिक साहित्यको बेग्लै इतिहास लेख्ने बेला आएन ?
किन न हुने ? यसमा कसैको कलम चलेको न देखेर त मैले स्वयम् ‘समुद्रपारको समालोचना’ लेखें र छापें । मैले नै लेखेको हुनाले मेरै साहित्यको बारेमा मैले नै बखान गर्न पनि मिलेन । त्यसैले नेपाली डायास्पोराबाट लेखिएका अमूल्य औपन्यासिक कृतिहरु त्यसमा छुटेका छन् । मेरै त छुटे भने अरुको कति छुटेका होलान् । तै पनि ताना शर्माको भनाइमा यो कृति एक महत्वपूर्ण ऐतिहासिक दस्ताबेज हो । अझै विस्तृत रुपले नेपाली डायास्पोरिक साहित्यको इतिहास लेखन अत्यन्त खाँचोको विषय हो ।
१३.तपाईं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को संस्थापक अध्यक्ष हुनुहुन्छ । यो संस्थाको स्थापनादेखि अहिलेसम्मको गतिविधि संक्षिप्तरुपमा बताइदिनु होस्न ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सन् १९९०मा खोलिएको भए पनि १९९१मा वाशिङ्गटन डिसीमा दर्ता भयो । म संस्थापक अध्यक्ष भए पनि म मात्र यसको संस्थापक हैन । यसका संस्थापक मसित २० जना थियौं । ती संस्थापकहरु हुनुहुन्थ्यो जसमा शिवप्रसाद सत्याल ‘पीठ’, पुरुषोत्तम सुवेदी, डा. विष्णुप्रसाद पौडेल, डा.अमर गिरी, अच्युत श्रेष्ठ, डा.हरिहरप्रसाद भट्टराई, नन्दादेवी सुवेदी, डि.बी तामाङ्ग, राम मालाकार, लव ‘गाउँले’, प्रकाश सुवेदी, धनमान थापा, कल्पना सुवेदी, राजु श्रेष्ठ, बासु सत्याल, कल्पना सत्याल, रिषिनाथ सुवेदी, माधव शर्मा र पुरु घिमिरे । हामी जतिजना संस्थापक भए पनि हामीले मात्र अनेसासको श्रेय लिन मिल्दैन । अनेसासमा संस्थापक बाहैक पनि नेपाली डायास्पोराका असंख्य नरनारीको सेवाले अनेसास आजको यो उचाइमा पुगेको छ । यसको श्रेय हामी सबैमा समान रुपले जान्छ ।
नेपाली डायास्पोराको विकासका साथ अनेसासले विश्वग्राममा नेपाली परिचयलाई दिगो राख्न च्याप्टर व्यवस्थालाई अगाडि ल्यायो । ऐलेसम्म ५७ केन्द खुलेका छन् । नेपाली भाषालाई वालबालिकामा स्थानान्तरण गर्ने, विश्व नेपाली भाषा शिक्षा कार्यक्रम बनाएर ‘नेपाली भाषा तथा संस्कृति विद्यालय’ चलाइरहेको छ । हाल १७वटा पुरस्कार चलेका छन् । १०० भन्दा बढीले पुरस्कार र सम्मान अनेसासबाट पाइसकेका छन् । पुस्तक प्रकाशन ४५भन्दा बढी भैसके र तीमध्ये कतिपयले पुरस्कार विजय पनि गरेका छन् । ‘अन्तर्दृष्टि’ अनेसासको दर्शन हो । यसका विशेषाङ्कहरुले प्रशस्त ख्याती पाएका छन् ।साहित्यिक सभा सम्मेलन पनि कोठा र पार्कबाट उठेर भवनहरुमा एक ठाउबाट फैलिएर विश्वभर हुन थालेका छन् । अनेसासको १८ वर्षको यात्राको ठुलो उपलब्धी गत आषाढमा न्युयोर्कमा भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पनि हो । यस्ता महत्वपूर्ण धेरै सेवाको परिणाम अनेसासले डिल्लीराम तिमसिना स्मृति पुरसस्कार र गत वर्ष "गोपाल पाँडे असीम पुरस्कार" पुरस्कार ससम्मान प्राप्त गरेको छ । यसका कार्यकर्ताहरुको पनि नेपाल वा नेपालबाहिर डायास्पोराबाट मूल्याङ्कनको परिपाटी बसेको छ । हालै मात्र अनेसासका बिओटी अध्यक्ष–होमनाथ सुवेदी, अनेसास काकासकी उपाध्यक्ष–भारती गौतम, महासचिव–कृष्ण बजगाईँ, सचिव–पशन तमू, वर्तमान काकासका सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ, अनेसास केन्द्रका भूपू अध्यक्ष तथा सल्लाहकार, अन्तर्दष्टिका विशिष्ठ संपादक डा. दुबसु क्षेत्री लगायतका साहित्यकारलाई देवकोटा जन्म–शताब्दी महोत्सव, काठमाडौंले ‘महाकवि देवकोटा जन्म–शताब्दी सम्मान’ बाट पुरस्कृत गर्ने निर्णय भएको समाचार प्रसारित भएका छन् । नेपाल राष्ट्रबाट सम्मानित हुने यी मूर्धन्य साहित्यकारहरु पनि सबै अनेसासको माध्यमबाट नेपाली भाषा र साहित्यको सेवामा समर्पित रहेछन् र यो अझ व्यापक र विस्तारित हुदै जानेछ भन्ने कुरा स्पष्ट छ । यी सबै अनेसासका इतिहास र विकासमा प्राप्ति हुन् ।
१४.अहिलेको बदलिदों परिवेशमा कस्तो कार्यहरु अनेसासले गर्नुपर्ला ?
विश्व–ग्राममा नेपाली डायास्पोराको भाषा र साहित्यको सर्वाङ्गीण विकासमा ध्यान दिने । डायास्पोरिक सिर्जना र समालोचनामा प्राथमिकता दिदै विभिन्न भाषामा अनुवाद गर्ने । पुस्तक किनेर पढ्ने बानीको विकास गराउने र पुस्तक सर्वसुलभ गराउन पुस्तक विक्री केन्द्रहरुको व्यवस्था गर्ने । नेपाली बसेका हरएक कुनामा अनेसासका च्याप्टर विस्तार गरी नेपाली भाषा शिक्षण र साहित्यको पठनपाठन, सिर्जन र समीक्षाको बिस्तारित कार्यक्रमहरु गर्ने । साना सिटीका कविगोष्ठीदेखि लिएर व्यापक ठूला अन्तर्राष्ट्रिय सम्मेलनहरुको आयोजना गर्ने । डायास्पोरा साहित्यका अध्येतालाई प्रोत्साहित गर्ने । यिनै कुरालाई ध्यान दिएर पनि अनेसासले आगामी दुई वर्षको लागि कार्यनीति तय गरी गत अनेसासम्मेलनमा न्युयोर्कमा प्रस्तुत गरेको थियो । सोही अनुसार अनेसासको कदम अगाडि छ र यसलाई तदारुकतासाथ लागु गर्दै जानुपर्छ ।
१५.संस्थाको नामले त यो नेपाली भाषामा मात्र समर्पित संस्था जस्तो लाग्छ । के यसले नेपाली भाषाका लागि मात्र कार्य गर्ने हो ?
यसको उत्तर ऐले अनेसासको कार्य–नीतिमा यसरी स्पष्ट भनिएको छ – ‘नेपाली भाषा त हाम्रो साझा (Link) भाषा हुदैहो । यसबाट हामी विचलित हुनुहुन्न तर नेपाली भन्नाले हाम्रो नेपालका सबै भाषा नेपाली हुन् र नेपाली बाहेक अरु नेपाली भाषाको विकासमा पनि योगदान गर्ने सर्व–भाषा–नीतिलाई अख्तियार गरेर नेपाली जाति मात्रमा प्रेम, सद्भावको विकास गर्ने नेतृत्वको विकास गर्ने र नेपालका जनजातीय भाषाको उत्थानको लागि पुरस्कार राख्ने, पुस्तक प्रकाशन गर्ने र लोक भाषा र लोक साहित्यको अध्ययन र अनुशीलनबाट नेपालका भाषाको सर्वाङ्गीण विकासको लागि अनेसासको यो आह्वानमा नेपालका सबै भाषाविद्हरुलाई सहयोग पुराएर नेतृत्व लिन लगाएर यो सर्व–भाषा नीतिलाई कार्यान्वयन गरी अनेसासको विधानमा लेखिएको उद्देश्यलाई कार्यगत रुपमा विकास गर्ने ।’ भाषाबारे हाम्रो नीति यही हो ।
१६.अन्य राष्ट्र भाषाको विकाशका लागि यसले के कस्ता कार्य गर्नु पर्ला ?
भाषा शिक्षण, लेखन, पुरस्कार तथा अनुशीलनहरु गर्ने गराउनुपर्छ ।
१७.अनेसासले हरेक दुइ वर्षमा १३ वटा बुक एवार्ड वितरण गर्दछ । यसको छनौटको प्रक्रिया र एवार्डका बारेमा संक्षिप्तरुपमा बताई दिनुहोस्न ।
अनेसास एवार्ड कमिटीले तीतीन जनाको दुई तहका मूल्याङ्कन कमिटीको चयन गर्दछ । पहिलो तहका तीन जनाले प्रत्येक दुदुईवर्ष जनवरी १५ भन्दा पहिले नै दर्ता हुन आएका सबै पुस्तकमध्येबाट सर्वोत्तम १०देखि २५ थानसम्म पुस्तक छान्दछ र दोश्रो तहका तीन जना निर्णाकहरुले प्राथमिक तहका मूल्याङ्कन कर्ताबाट छानिएर आएका उत्कृष्ट कृतिको मात्र मूल्याङ्कन गरी प्रथम, द्वितीय, तृतीय आदि स्थान निधारण गर्दछन् । ती मूल्याङ्कनकर्ताहरु एकै वर्ण, एकै लिङ्ग र एकै देशका राख्न न पाइने प्रावधान छ । निश्पक्षताको लागि यसो गरिएको हो । मूल्याङ्कनकर्ताहरुलाई मूल्याङ्कन फाराम र पुस्तक प्रत्येकलाई, गोपनीयतासाथ अलग अलगै अनेसासको एवार्ड कमिटीले पुराउने व्यवस्था छ । अनेसासको एवार्ड कमिटीमा भएका पदाधिकारीले एवार्डका भाग लिन पाउँदैन । एवार्ड कमिटीमा पदाधिकारी न भएको अनेसासको हरएक सदस्य र पदाधिकारीले एवार्ड सहभागिता गर्न पाउँछ र अनेसासदेखि बाहिरकाले पनि सहभागिता गर्न पाउँछ । मूल्याङ्कनकर्ताहरु अनेसासका सदस्य हुनैपर्छ भन्ने कुनै त्यस्तो प्रावधान छैन तर मूल्याङ्कनकर्ताहरुको योग्यता उच्च भने हुनुपर्छ भन्ने नियम छ ।
१८. डायास्पोरा एवार्ड कतिवटा र के के छन् ?
डायास्पोरा एवार्डमा तीनवटा एवार्ड छन् । लेखकको लागि डायास्पोरा नृपध्वज कार्की पुरस्कार नगद, डायास्पोरा फुलकुमारी महतो डायास्पोरिक नेपाली साहित्य अनुसनधान छात्रवृत्ति र डायास्पोरा खेमलाल हरिकला लामिछाने डायास्पोरिक नेपाली साहित्य अनुसन्धान छात्रवृत्ति यी तीनवटा छन् । यिनमा जम्मा नगद १५०० डलर पुरस्कार दिइन्छ ।
१९. अनेसासका अरु पुरस्कार पनि छन् कि ?
साना पुरस्कार त असंख्य नै छन् विभिन्न स्थान र समयमा दिइने तर एन् एन्ड जे वेभ साहित्यिक पत्रकारिता पुरस्कार भने अन्तर्राष्ट्रिय स्तरमा नै प्रति वर्ष प्रदान गरिन्छ । सन्दर्भले भन्नुपर्दा यस वर्षको यो पुरस्कारको विजेता पनि ‘समकालीन नेपाली साहित्य डटकम’ नै हो जसका प्रधान सम्पादक कृष्ण बजगाईं नै हुनुहुन्छ । उहाँ नै यो पुरस्कारबाट पुरस्कृत भैसक्नुभएको छ । यस अघि यो पुरस्कार रुसमा डा.मधु माधुर्य र जापानका डा.कुमार बस्नेत तथा युकेका विस्वासदीप तिगेलाले प्राप्त गरिसक्नुभएको छ ।
२०. तपाईको बिचारमा साहित्य के हो ?
कलात्मक भाषामा पीडाको प्रवाह नै साहित्य हो ।
२१. डायोस्पोरामा सिर्जनारत साहित्यकारहरुले कस्तो साहित्य लेख्नु पर्ला ?
परम्परागत भाषा, भाव र शैलीको बन्धनबाट मुक्त भएर डायास्पोरिक नेपाली साहित्य लेख्ने, समालोचनामा डायास्पोरिक साहित्यको सिद्धान्त र व्याख्या लेख्नुपर्छ । डायास्पोराका लेखकले आआफ्नो नयाँ थलोको जनजीवनको प्रतिबिम्ब उतार्नुपर्छ । त्यसले स्वतः डायास्पोरिक साहित्यको पथ–प्रदशृन गर्दछ ।
२२. नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन के गर्नु पर्ला ?
नेपाली भाषाबाट अंग्रेजी भाषा र अन्य भाषामा हाम्रो साहित्यको अनुवाद गर्न प्रोत्साहित गर्ने ।
जहाँ जहाँ नेपाली बसेका छन् त्यो त्यो देशका भाषा, कला र साहित्यमा नेपालीको भाषा, कला, साहित्य र दर्शनलाई जुनसुकै प्रकारले पनि रुपान्तरण गर्न प्रोत्साहित गर्ने । अनुवाद, सिर्जना, समालोचना र पुरस्कार, शिक्षण समेत समानान्तर रुपमा अगाडि बढाउनाले नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मदत गर्दछ ।
२३. नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन अनेसास ठूलो सहयोगी हुनसक्छ । यसको लागि अनेसासको कुनै योजना छ कि ?
आगामी दुई वर्षको लागि भनेर घोषणा गरिएको अनेसासको कार्यनीति नै यसको लागि चालिएको कदम हो । जसमा विविध प्रकारका अनुवाद र डायास्पोरिक साहित्यको उजागर गर्ने कुरामा जोड दिइएको छ । अनेसासको योजना यही हो ।
२४. हामीलाई तपाईले दिनुभएको अमूल्य समयको निमित्त धन्यवाद । अन्तमा समकालीन साहित्य डट कम मार्फत विश्वभर रहेका नेपाली साहित्यका पाठकहरुलाई केही भन्नु छ कि ?
समकालीन साहित्य डट कमले नेपाली डायास्पोराका पाठकहरुलाई दिएको पाठ्य सामग्री र सिर्जनाको मञ्च सराहनीय छ । निरन्तर यो सेवा दिइरह्यो भने समकालीन साहित्य डट कम एक दिन नेपाली डायास्पोरा साहित्यका पाठकहरुको बीच आफ्नो छुट्टै प्रतिमान कायम राख्न सक्नेछ । समकालीनको यो सेवालाई हामी सबैले धन्यवाद दिनुपर्छ ।
११ नोवेम्वर ०९