18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रोबोट

लघुकथा कृष्ण बजगाईं November 12, 2009, 8:46 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

–“ध्वस्त पार्नुपर्दछ यसलाई ।” यति आदेश पाउनासाथ त्यसलाई खण्डहर बनाईदिए । पुरातत्वविदले पनि त्यसको प्राचिनता थाहा पाउनै नसक्ने बनाईदिए ।

“जलाऔं साथीहरु हो ।” आदेश सकिन भ्याएको थिएन आगो लगाई सकेका थिए । दनदनी बलेको आगो ताप्न थाले ।

“घुँडा खुस्काऔ, घाँटी रेटेर मार ।” यो आदेश शिरोपर के गरे, दृष्य देखेर कसाहीको आँखामा आँशु आयो ।

“पाता कसेर लडाऔ जवानहरु हो ।” पाता फर्काएर यातना दिँदा आततायी मध्येका एकले डरले आँखा चिम्लियो ।

“ठोक सालेलाई गोलीले ।” आदेश भन्दा पनि छिटो बन्दुकबाट गोली निस्कियो । अचुक निशाना देखेर मसहुर शिकारी पनि छक्क पर्यो ।

० ० ०

ति आदेशकर्ताहरु कालान्तारमा सारा जगतलाई आदेश दिने सर्वोच्च निकायमा पुगे । अब पहिले जस्तो ध्वंसात्मक तथा आततायी कार्य गर्न मिल्दैनथ्यो । तर ति आज्ञाकारीहरुले पहिलेकै आदेशलाई गुरुमन्त्र ठानी निरन्तरता दिईरहे ।

पछिल्लो पटक आफ्नो सकारात्मक आदेशलाई नमानेकोमा आदेशकर्ताहरु चिन्तित बने । त्यसपछि त्यसको कारणका बारेमा अनुसन्धान गरियो । लामो रिपोर्ट पछि थाहा भयो ति आज्ञाकारीहरु ध्वंसात्मक तथा नकारात्मक कार्य मात्र गर्नसक्ने गरि बनाईएका रोबोट रहेछन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।