वि.सं. २००५, मङ्सीर ७ धरान, विजयपुरमा जन्मनु भएका बरिष्ठ समालोचक तथा भाषा वैज्ञानिक प्रा. डा. माधव प्रसाद पोख्रेल साहित्यका धेरै जसो विधामा कलम चलाउनु हुन्छ । थुप्रै पुस्तकका लेखक डा. पोख्रेलले तामाङ, गुरmङ, मगर, लिम्बू, मेवाहाङ राई, पहरी, कुसुन्डा, सुनुवार, भुजेल, खाम तथा घले भाषाको वर्णनिर्धारण र वर्णमालाको विकासको कार्य गर्नु भएको छ । उहाँ नेपाली, अङ्ग्रेजी, हिन्दी, संस्कृत, पालि, प्राकृत, जापानी, चिनिया, कुसुन्डा र मराठी भाषामा भाषिक सामर्थ्य राख्नु हुन्छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. पोख्रेल हाल जापानको कोवे विश्वविद्यालयमा प्राध्यापन गर्नु हुन्छ । उहाँसँग समकालीन डट कमको लागि सम्पादक कृष्ण बजगाईंले भाषा तथा साहित्यको सेरोफेरोमा रहेर गर्नु भएको कुराकानी ।
१. भाषा वैज्ञानिकको नजरमा नेपाली भाषा कतिको सजिलो र व्यावहारिक भाषा हो ?
भाषा वैज्ञानिक दृष्टिले कुनै पनि भाषा अप्ठ्यारो हुँदैन, त्यसैले नेपाली भाषामा कुनै पनि नकारात्मक लक्षण छैनन् ।
२. नेपाली भाषाको उत्पत्तीदेखि अहिलेसम्मको विकाशको बारेमा संक्षिप्त जानकारी गराईदिनु होस्न ।
इसाको १० औँ शताब्दीमा नेपाली भाषा भारतीय उपमहाद्वीपको उत्तर-पश्चिममा प्रचलित मध्यकालीन आर्य भाषाबाट विकसित भएको अड्कल गरिएको छ । आधारभूत रूपमा ‘व्युत्पत्तिमूलक नेपाली शब्द कोश’ लेख्ने बेलाइती विद्वान् टर्नरले यस्तो धारणा राखेका छन् । टर्नर (१९३१ इ) ले अड्कल गरेको नेपाली भाषा समेतको उत्पत्ति स्थलमा प्रचलित मध्यकालीन आर्य भाषाको रूपलाई सुनीति कुमार चटर्जी (१९२६ इ) ले ‘खस प्राकृत’ र त्यसको पछिल्लो रूपलाई ‘खस अपभ्रंश’ भन्ने नाम दिएका छन् । खसहरूले बोल्ने गढवाली, कुमाउनी र नेपाली भाषा खस अपभ्रंशबाट विकसित भएको मान्न सकिन्छ ।
मुसल्मानहरूका आक्रमणले कन्नौजको पतन भए पछि गुजरात र राजस्थानका गुर्जर प्रतिहारवंशी राजाहरू नेपालको पश्चिम हिमालयमा शरण लिन पुगे । हाम्रो राजवंशमा गुर्जर प्रतिहारवंशी राजाहरूको रगत मिसिएको छ । ग्रियर्सन (१९१६ इ) ले गुर्जरहरूलाई अफगानिस्तानबाट पाँचौँ शताब्दीमा भारतीय उपमहाद्वीपमा पसेको अड्कल गरेका छन् । टर्नरको नेपाली शब्द कोशको परिशिष्टमा दिइएका नेपालीसित मिल्ने अरू आर्य भाषाका शब्दहरूमा खस भाषा मध्ये गढवाली, कुमाउनी र काश्मीरी र गुर्जर भाषाका शब्दमा राजस्थानी, गुजराती र सिन्धी भाषाका शब्द धेरै पर्छन् । खस र गुर्जर दुवै भाषामा ओकारान्त शब्द धेरै पाइन्छन् ।
पश्चिम तिब्बतको ङरी प्रदेशदेखि कर्णाली प्रदेश सम्म राज्य गर्ने खस राजाहरूले आफ्ना सुरुदेखिकै अभिलेखमा देवनागरी लिपिमा नेपाली भाषा प्रयोग गरेको पाइन्छ । भारतीय उपमहाद्वीप र तिब्बतमा प्रयोग हुने सबै लिपिहरू आधारभूत रूपमा ब्राह्मी लिपिबाटै विकसित भएका हुन् । सम्राट् अशोकले जारी गरेका अभिलेख नै ब्राह्मी लिपिका सबै भन्दा पुराना नमुना हुन् । यसै आधारमा बुद्धको जन्म भूमि लुम्बिनीको अशोक स्तम्भमा लेखिएको लिपिलाई नै भारतीय उपमहाद्वीपको सबै भन्दा पुरानो लिपि मान्न पनि सकिन्छ ।
खस राजाहरूले नै नेपाली भाषालाई राजभाषा र अभिलेखीय भाषाको दर्जा दिएको पाइन्छ । कर्णाली प्रदेशको खस राज्य पृथ्वी मल्लको पाला पछि अनेक टुक्रे राज्यमा विभाजित भयो । धेरै जसो बाइसी-चौबीसी राज्यमा मलय बम (१४ औँ- १५ औँ शताब्दी) का सन्तानले राज्य गरेको पाइन्छ । सुरुमा काठमाडौँ उपत्यका बाहिरका अभिलेखमा नेपाली भाषा प्रयोग गरेको पाइन्छ, तर पछि त काठमाडौँबाट जारी भएका अभिलेखमा समेत नेपाली भाषा प्रयोग भएको देखिन्छ । बाइसी-चौबीसी राज्यका अभिलेख र चिठी पत्र तथा वंशावलीमा समेत नेपाली भाषा प्रयोग गरेको पाइन्छ । नेपाल राज्यको एकीकरण पछि नेपाली भाषा नेपाल अधिराज्यको राष्ट्र भाषा भएको देखिन्छ ।
सिक्किमको प्रयासले १९९२ इस्वीमा भारतीय संविधानको आठौँ अनुसूचीमा गाभिए पछि नेपाली भाषा अन्तरराष्ट्रिय भाषा भएको छ ।
४. साहित्यको दृष्टिले विश्वका अन्य भाषाको तुलनामा नेपाली भाषा कतिको समृद्ध छ ?
राणा कालमै भाषानुवाद परिषदले विश्व साहित्यका आदर्श कृतिहरूको नेपाली भाषामा अनुवाद गर्ने जुन परिपाटि बसालेको थियो नेपालमा त्यसको दुर्भाग्यवश अन्त्य भएको छ । त्यसले गर्दा नेपाली भाषाका पाठकहरूले विश्व साहित्यका आदर्श कृतिको रसास्वादन गर्न पाएका छैनन् । विश्व साहित्यका आदर्श कृतिहरूको अध्ययन नगरी साहित्यको स्तर बढ्दैन । यसैले नेपाली लेखकहरूले धेरै राम्रा कृति लेखेका भए पनि, अनुवाद साहित्यको कमीले गर्दा न अङ्ग्रेजी पढ्न नसक्ने नेपाली लेखकले विश्व साहित्यमा आएको प्रविधि र शिल्पसँग परिचय पाएर आफ्नो स्तर बढाउन पाउँछन्, न नेपाली साहित्यमा लेखिएका उत्कृष्ट कृतिको अनुवाद भएर विश्व साहित्यका पाठकले नेपाली साहित्यको रसास्वादन गर्न पाएका छन् । अनुवादको यस्तो समस्याले नेपाली साहित्यलाई अपाङ्ग बनाए जस्तो लाग्छ ।
५. नेपाली भाषाका कारण देशभित्रका अन्य भाषा तथा भाषिका मासियो भन्ने भनाई एकातिर छ । भाषा विज्ञानको सिद्धान्त अनुसार यस्ता कुरामा कतिको सत्यता पाईन्छ ?
प्राय: आफ्नो परिवारमा पुर्ख्यौली भाषा बोलचालमा पटक्कै नल्याउने र नेपाली भाषा बाहेक आफूले मातृभाषा भनेर दाबी गरेको भाषा बोल्नै नजान्ने भरसक पुर्ख्यौली थलो पनि बस्न छोडेर काठमाडौँ जस्ता ठूला सहरमा बसेर राजनीतिक भाग खोज्नेहरू नेपाली भाषाको विरोध गर्ने राजनीतिमा लागेका देखिन्छन् । उनीहरूको ऊर्जा र उन्नति आफ्नो पुर्ख्यौली भाषाको उन्नति र विकास गर्ने काममा भन्दा नेपाली बाहेक अर्को भाषा नजान्ने र जाने पनि नेपाली बाहेक अर्को भाषा परिवारमा र बाहिर पनि प्रयोग नगर्ने तर नेपाली भाषाकै खुट्टामा बन्चरो हान्ने काममा लागेको देखिन्छ । नेपाली भाषाको विरोध गर्ने यस्ता नाराहरू अङ्ग्रेजी भाषालाई ‘किलर लेङ्ग्वेज’ भनेको चाल पाएर त्यसको नेपाली अनुवाद खोज्ने क्रममा बनेका हुन् ।
६. वि.स.२०५८ को जनगणनामा नेपाली भाषा मातृभाषा हुनेको संख्या अघिल्लो पटकको जनगणनाको बेलामा भन्दा घट्यो नि ? यसको कारण के हुनसक्छ ?
प्रसिद्ध समाज भाषा वैज्ञानि डा खुब्छन्दानी के भन्छन् भने, भाषा आन्दोलनमा लाग्नेहरूले सबै भन्दा पहिले सम्पर्क भाषामा आक्रमण गर्छन् । नेपालमा त्यही भएको छ । भाषा विज्ञानको सिद्धान्त अनुसार जुनसुकै बालखले पहिले सिकेकै भाषा उसको मातृभाषा हो, त्यस अनुसार नेपाली बाहेक अर्को भाषा नजान्ने भाषा आन्दोलनमा लागेका नेपाली भाषाका विरोधीहरू आफ्नै मातृभाषाका विरोधी हुन् । रमाइलो कुरो के देखिन्छ भने नेपाली भाषाका विरोधीहरूले नेपाली भाषा प्रयोग नगरी नेपाली भाषाको विरोधै गर्न सक्तैनन् । यसैबाट नेपाली भाषाको महत्त्व र अनिवार्यता प्रमाणित हुन्छ ।
पञ्चायती व्यवस्थामा लिइएको पछिल्लो जनगणना (२०३८) मा नेपाली मातृभाषा हुनेहरूको सङ्ख्या झन्डै ५८% पुगेको थियो, तर छयालीस सालको परिवर्तन पछाडिको पहिलो जनगणना (२०४८) मा नेपाली भाषा मातृभाषा हुनेहरूको सङ्ख्या ह्वात्तै घटेर झन्डै ४८% पुग्यो । यस बीचमा हामी आफ्नै घर गाउँ र छरछिमेकमा पनि नेपाली भाषा बोल्न कम भएको होइन झन झन बढेको देखिरहेका छौँ, तर छयालीस साल पछिको राजनीतिक सचेतताले गर्दा पञ्चायती व्यवस्थामा जसजसले आफ्नो मातृभाषा नेपाली भनेर टिपाए, नेपाली भाषाको विरोध र आफ्नो पुर्ख्यौली भाषा प्रतिको सचेतताले गर्दा तिनै मानिसहरू मध्ये अनेकले आफ्नो मातृभाषा नेपाली नटिपाएर आफ्नो पुर्ख्यौली भाषाको नाम टिपाएर तथ्याङ्क यसरी मिथ्याङ्क भएको हुन सक्छ । यो कुरो त राष्ट्रिय जनगणनामा नेपाली भाषाको तथ्याङ्क ह्वात्तै घट्ता जुन जुन भाषाको तथ्याङ्क ह्वात्तै बढ्यो, ती भाषाको ३८ साल र ४८ सालको पारिवारिक लगतको तुलनात्मक अनुसन्धान गर्दा त प्रस्ट भइहाल्छ ।
७. तपाईंसँग भएको तथ्यांकको आधारमा अहिलेसम्म नेपाल भित्र कतिवटा भाषा छन् ?
अहिले राष्ट्रिय योजना आयोगले नेपालका भाषाहरूको समाज भाषा वैज्ञानिक सर्वेक्षण गर्ने जिम्मा त्रिभुवन विश्व विद्यालय, भाषा विज्ञान केन्द्रीय विभागलाई दिएको छ र सर्वेक्षणको कार्य अघि बढिरहेको छ । त्यसको नतिजा ५-७ वर्षमा आए पछि मात्र नेपालमा मातृभाषाहरू यति ओटा र यस्ता यस्ता अवस्थामा छन् भन्न सकिएला । अहिले चाहिँ जापानी भाषा वैज्ञानिक सुएयोसी तोबाले नेपालका भाषाहरू ७० ओटा भएको अड्कल गरेका छन्, अमेरिकाका भाषा वैज्ञानिक स्वर्गीय माइकल नुननले चाहिँ नेपालमा १४० ओटा मातृभाषा भएको अड्कल गरेका छन् । समाज भाषा वैज्ञानि सर्वेक्षणको नतिजा नआउन्जेल मैले चाहिँ १०० ओटा मातृभाषा भएको अड्कल गरेको छु ।
८. लोपोन्मुख भाषाहरु कुन कुन हुन ? यसलाई कसरी जोगाउनु पर्ला ?
लोपोन्मुख भाषाहरू त धेरै छन्, तर एउटै वक्ता पनि भेट्न गारो हुने भाषामा दुरा भाषा देखिन्छ । केदार नागिलाले तान्द्राङकी एउटी गुरुङनीले बोलेको भाषालाई दुरा भाषा भनेर चिनाएका छन् । दुराहरू कोही पनि दुरा भाषा बोल्न सक्तैनन् । तान्द्राङकी ती गुरुङनी पनि परलोक भइसकिन् । ऊ चाहिँ, आफ्नो मातृभाषालाई दुरा भाषा होइन भन्थिन् । नर बहादुर दुराले उनले बोलेको भाषालाई दुरा भाषा भनेर दाबी गरेका भरमा नागिलाले अनुसन्धान गरेका भाषाको नाम दुरा राखिएको हो । नर बहादुर दुराले दुरा भाषा बिर्सिसके । दुई वर्ष अगाडि नेपाली सञ्चार माध्यममा सोम माया दुरालाई दुरा भाषाकी अन्तिम वक्ता भनेर चिनाइयो, तर उनले बोलेको बोली त नेपाली भाषाकै एउटा पाल्सी कुरा जस्तो देखिन्छ, दुरा भाषा होइन ।
९. अब बन्ने संविधान निर्माणको क्रममा भाषाको किचलो हुने स्पष्ट देखिएको छ । तपाईंको विचारमा यसलाई कसरी व्यवस्थापन गर्नु पर्ला ?
अहिले विकास भइरहेको राजनीतिक स्थिति हेर्दा संविधानमा नेपाली भाषाको विरोधका आवाजहरू एकातिर उठिरहेका छन् भने, अर्कातिर भने हिन्दी भाषाले पनि नेपाली भाषाले जत्तिकै संवैधानिक मान पाउनुपर्छ भन्ने आवाज सबै भन्दा चर्को र टड्कारो भएर आएको देखिन्छ । जनगणनाको कुरो गरौँ भने हिन्दी मातृभाषीहरूको सङ्ख्या जनगणनाले १% भन्दा कम देखाउँछ अनि मधेसमा हिन्दी भाषाको राजनीतिक माग गर्नेहरू सबै भन्दा धेरै मैथिली भाषा र त्यस पछि अवधी र भोजपुरी बोल्नेहरू छन् । राजनीति गर्नेहरूले संविधान मिचेर उपराष्ट्रपतिको शपथ पनि हिन्दी भाषामा खाए, सांसदहरूको शपथ पनि हिन्दी भाषामा खाए, तर केही पढेलेखेका र टाठाबाठाहरूदेखि बाहेक हिन्दी भाषामा दोहोरो कुरा गर्न सक्ने नेपालीहरू त न मिथिला क्षेत्रमा, न भोजपुरा, न अवधमा कतै पनि पाइँदैनन् । नेताहरूको हिन्दी भाषा प्रतिको यस मोहले गर्दा पहिले धनुषा जिल्ला विकासमा र राजविराज नगरपालिकामा मैथिली भाषाको माग गर्ने आवाजलाई दुब्लो बनाएको छ । नेपालमा मातृभाषाका रुपमा बोलिने मैथिली, भोजपुरी र अवधी भाषाको भाषिक अधिकार खोसेर हिन्दी भाषालाई दिनु न्यायसङ्गत हुँदैन । तर प्रचलित राजनीतिले चाहिँ हिन्दी भाषालाई बलियो बनाएरै छोड्छ जस्तो देखिन्छ । केही गरी हिन्दीले एक पल्ट नेपाली भाषा बराबरको ठाउँ पायो भने, आज हिन्दीको समर्थनमै मरेर लाग्ने नेताहरूले नै संयुक्त मोर्चा बनाएर हिन्दीका ठाउँमा मैथिली, भोजपुरी र अवधीलाई ल्याउन खोजे भने पनि भविष्यमा सक्तैनन् जस्तो लाग्छ ।
१०. तपाईं भाषा वैज्ञानिक मात्र नभएर एक कुशल लेखक, समालोचक, निवन्धकार आदि हुनुहुन्छ । तपाईंको मन पर्ने विधा कुन हो ? किन ?
निबन्ध नै मलाई सबै भन्दा मन पर्ने विधा हो, किन भने निबन्धमा सत्यको आविष्कार गर्न सकिन्छ, अर्थहरूलाई बन्दी बनाउन सकिन्छ, अर्थहरू खाँद्न र कुँद्न सकिन्छ, आफूलाई लुकाउन सकिन्छ, आफूलाई फुकाउन सकिन्छ र आफूलाई पोका पोका पारेर सजाउन सकिन्छ । म निबन्धमा कवि पनि हुन पाउँछु, दार्शनिक पनि हुन पाउँछु, शिक्षक पनि हुन पाउँछु । जीवनमा व्यक्त गर्न नसकेर लुकाउनुपरेका केही त्यस्ता कुरा छैनन्, जसलाई निबन्धमा व्यक्त गर्न मलाई गारो परोस्! समालोचना, भाषा विज्ञान र व्याकरण जस्ता अरू विधा पनि मेरा भाग लागेका छन्, तर ती विधामा म आफ्नो होइन अरूको प्रतिवेदन मात्र लेख्छु; निबन्धमा चाहिँ म मेरै मनका र जीवनका कुनाकाप्चाका कुरा लेख्छु । त्यसैले निबन्ध मेरो बेडरुममा हुन्छ, अरू विधाहरू विश्व विद्यालयमा हुन्छन् ।
११. तपाईंका अहिलेसम्म कतिवटा कृतिहरु प्रकाशित भएका छन् ? ति के के हुन् ?
प्रकाशोन्मुख कुनै कृतिहरु छन् कि ?
विद्यावाचस्पति शोधप्रबन्ध (Experimental Analysis of Nepali Sound System) नेपाली ध्वनि–व्यवस्थाको प्रयोगात्मक विश्लेषण
प्रकाशित पुस्तकः
१.व्याकरण
(२०५३)क्याम्पसस्तरीय नेपाली वाक्यव्याकरण, काठमाडौं : नवीन प्रकाशन ।
(२०५४) नेपाली वाक्यव्याकरण, काठमाडौं ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (दोस्रो संस्करण, २०५६, काठमाडौँ: एकता बुक्स) ।
(२०५७) ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनिपरिचय, काठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (दोस्रो संस्करण, २०६१, काठमाडौँ : भुँडीपुराण प्रकाशन)।
(प्रकाशोन्मुख)
व्युत्पत्तिमूलक नेपाली शब्दव्याकरण ।
२. निबन्धसंग्रह
(२०५४) मेरो मान्छे, काठमाडौं : साझा प्रकाशन ।
(२०५९) नागदहको थिति, काठमाडौं : साझा प्रकाशन ।
(२०६२) गार्गीको गाँठो, काठमाडौँ : साझा प्रकाशन ।
३. अनुवाद
(२०४४क) हिरोशि इशिई : नेपाली संस्कृति : एक पक्ष, काठमाडौं, साझा प्रकाशन ।
(२०४४ख) शिगेरु इइजिमा र योशिकाजु थाकाया ः थकाली र नेपालको खेतीपाती, काठमाडौं : च्वसापासा
४. सम्पादन
(२०४४)तादाशिई फुकुताके : आजको जापानी समाज.(अनु. भुवनलाल प्रधान) काठमाडौं : साझा प्रकाशन
(२०५१) निर्मलादास : ड्रयागनको देश. काठमाडौं : साहित्य गुथी
(२०५३) मास्टर मित्रसेन थापा : बुद्धवाणी. धर्मशाला : मित्रसेन प्रतिष्ठान
(२०५५) नेपाली साहित्य कोष, काठमाडौ, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान
(२०५८) जनकलाल शर्माका प्रबन्ध. काठमाडौ, बगर फाउन्डेसन.
(२०५९क) लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोष, काठमाडौ“, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान
(२०५९ख) गोरखापत्रका एक सय एक निबन्ध. गोरखापत्र संस्थान
(२०६१)जनकलाल शर्माका संस्मरण. काठमाडौ, साझा प्रकाशन
(प्रकाशोन्मुख)
नेपाल लघु—विश्वकोश. काठमाडौ, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान.
Experimental Analysis of Nepali Sound System
१२.तपाईंको कृति वा तपाईं स्वयंले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?
सम्मान, पुरस्कार तथा पदक
महेन्द्रविद्याभूषण विशिष्ट श्रेणी (२०५४)
गोपालप्रसाद रिमाल सम्मान (२०५४)
डा.गणेश भण्डारी पुरस्कार (२०५६)
Japan Foundation Fellowship Award (1994)
Sakai Lions' Club and Imanishi Memorial Fellowship Award (1999)
वाणी पुरस्कार, २०६१
१३.के नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरका पनि लेखिएका छन् ?
धेरै छन्, तर जब सम्म अनुवाद गर्ने स्थायी निकायले काम गर्दैनन्, तब सम्म विश्व साहित्यका अमूल्य सम्पदालाई नेपालमा लत्याउने र बेवास्ता गर्ने परिपाटि कायमै रहन्छ ।
१४.नेपाली साहित्यलार्र्ई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन के गर्नु पर्ला ?
नेपाली साहित्यका अमूल्य रचनालाई अनुवाद गर्नुपर्छ । नेपालमा किताब नबिक्ने समस्या छ । अहिले विश्वका अनेक कुनामा छरिएका नेपालीहरू नेपाली साहित्यका किताब पढ्न खोजिरहेका छन् । त्यहीँ मेची पारि दार्जिलिङ, सिक्किम र भारतको उत्तरपूर्वका अनेक राज्यमा छरिएका नेपालीहरू नेपाली किताब पढ्न खोजिरहेका छन्, तर किन कुनै पनि किताब व्यवसायीले संसारका विभिन्न कुनामा भएका नेपालीहरूका एक ठाउँमा प्रकाशित भएका किताब अर्को ठाउँमा भएका पाठकहरूकहाँ पुर्याउने व्यवसाय रोज्दैन, मैले त्यो बुझ्न सकेको छैन । नेपाली साहित्यलाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउन बजार र वितरणको ठूलो हात हुन्छ ।
नेपाली साहित्यलाई अरू भाषामा अनुवाद गरेर मात्र हुँदैन; विश्व साहित्यका आदर्श कृति पढ्न पाइने एउटै पनि अद्यावधिक पुस्तकालय नेपालमा छैन । अनलाइन पुस्तक पढ्न पाउने व्यवस्था पनि विश्व साहित्यका नेपाली पाठकलाई दुर्लभ छ ।
विश्व विद्यालयको पढाइ र समसामयिक नेपाली साहित्यकारका बीचमा पुल र ओहोरदोहोर हुनुपर्ने ठाउँमा खोल्सो छ । त्यहाँ पुल कसरी बनाउने भन्ने बारेमा विमर्श हुनु आवश्यक छ ।
१५. अन्तर्राष्ट्रिय स्तरमा पनि संथागतरुपमा भाषा साहित्यकालागि थुप्रै काम भएका छन् । डायोस्पोराका ति संघसंस्थाहरुलाई के सुझाव दिन चाहानुहुन्छ ?
परदेशी नेपालीहरूले नेपाली साहित्यमा नौलो आयाम थपेका छन् । विश्व विद्यालयका पाठ्यक्रममा तिनीहरूलाई कसरी ठाउँ दिने भन्ने पक्षमा अन्तरसंवाद हुनु एकातिर आवश्यक छ भने, अर्का तिर परदेशी नेपाली साहित्य अलिक व्यवस्थित कसरी बनाउने भन्ने विषयमा पनि सम्बन्धित पक्षले ध्यान पुर्य’उनुपर्छ । सबै उत्पादनमा एकनासको स्तर पनि छैन; कुनै एकदम राम्रा छन्, कुनै त्यसै पैसा र प्रचारका बलले ठेलेर ल्याए जस्ता छन् । स्तरीयताको यो प्रश्न परदेशी नेपाली साहित्यको एउटा गम्भीर पक्ष हो ।
१६. मूलधारको साहित्य र डायोस्पोरिक साहित्यमा के फरक छ ?
परदेशमा पुगेर विचलित भएको नेपाली मनले परदेशी साहित्य उत्पादन गरेको हो भने, स्वदेशमै बसेर भोगेका पीडा र उच्छ्वासहरू देशीय साहित्यका विशेषता हुन्छन् । अरू कति फरकका कुरा त माथि पनि परे जस्तो लाग्छ ।
१७. अन्तमा समकालीन साहित्य डट कम मार्फत विश्वभर रहेका नेपाली साहित्यका पाठकहरुलाई केही भन्नु छ कि ?
नेपाली जहाँ पुगे पनि साहित्य लेख्ता उपमान चाहिँ नेपालकै खोज्दो रहेछ । उपमानको त्यसै नेपाली पनले विश्वभरमा छरिएका नेपालीहरूलाई भावनात्मक एकता दिन्छ भन्ने मलाई लाग्छ ।