19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आगो

कथा मनोज बोगटी November 13, 2009, 9:49 am

विष्टजी, तपाईं भन्नुहोला, एक्लोपन जीवनको पीड़ादायक स्थिति हो, मान्छे यसमा साह्रै सस्तो विचार राख्दछ, वास्तवमा, मेरो मान्यता यसलाई छैन। एक्लोपन जीवन हो, यसमा मेरो सन्तुष्टि खेल्छ। जीवन बोधको एक्लोपनसित। त्यहीं सम्पूर्णता छ, केही नभएर भएको जीवन छ। जीवन बोधमय छ, जीवनको सहक्षण छ। त्यसमा बॉंच्नु जीवन, अझ बॉंचेको बोध नहुनु, बोधहीन बोध जीवन। यो भन्दा बढ्ता मान्यता एक बॉंच्दै आएको मान्छेले कसरी दिन सक्छ?

-श्रीमती थापा भन्थिन्‌।

खिर्कीका सेता पारदर्शी पर्दाहरूलाई हावाको गरम हातको गरम स्पर्शले छुन्छ। म यो हेरेर मन छाम्छु; त्यो जड़वत उभिबस्छ विचारको दैलोमा। भावशून्य जस्तो अनुहारमा हावाले तातो छर्किन्छ। खिर्कीका रडहरूलाई जोड़ले समात्छु। निधारका पातबाट शीत खस्छ; भुइँमा हराउँछ त्यो।

जीवन भुइँमा बिलाएका यी थोपाहरू जस्तै हुन्‌।

-घोसे मन बोल्छ।

म श्रीमती थापा सम्झन्छु।

सुन्नुभो विष्टजी? एक्लोपनसित खेल्नुमा जुन आनन्द छ; त्यो मात्र एक्लोपनले पाउनुपर्ने परिभाषा हो। त्यो मात्र एक्लोपनसित जिउनुको सार्थकता हो।

-एकोहोरो मेरा आँखामा राखेर उनका आँखाहरू; बोलेका।

म एकेक शब्द उचाल्छु।

मनको नाङलोमा थेचार्छु;

र एक-एकवटा टिपेर एकेकको अनुहार ठम्याउँछु।

चुपचाप बस्छु।

गम्छु।

थापाजी त बित्नु भो। तर एकान्त अझ छ। मभित्रका हरेक तन्तुमा भरिइएका छन्‌ ती एकान्तका तीखा टुक्राहरू। त्यसले घोचेको दुख्नु तर मीठा अनुभूति छन्‌। वास्तवमा थापाजी एकान्त छन्‌; यो एक्लोपनको कालो-सेतो समयको आँखामा। त्यसै र; मैले बॉंच्न सकेको छ, हॉंस्न सकेको छ। मैले उभ्नुको बलियो जमीन हो यो एकान्त। मेरो अन्धो आँखाको लागि घाम हो यो एकान्त। म यही एकान्त टेकेर मात्र उभिन सक्छु। एकान्तलाई टेकेर उभिन सक्नु जीवनमा सबैभन्दा ठूलो जीत हो। मान्छे उभिनको लागि विष्टजी, एकान्तको मात्र आवश्यकता पर्छ जीवनमा। यसरी उभिन सक्नु फेरि बॉंच्नु हो। जीवनको विनिर्माण हो। जीवनमा हार्दै हार्दै आएर, मर्दै मर्दै आएर मैले जित्न सकेको, बॉंच्न सकेको मैले जीवनमा केही पाउन सकेको भनेको नै यो एकान्त; मलाई मेरो शरीरको हरेक अङ्ग जस्तो प्रिय छ। म मान्छु; म थापाजीका यी एकान्त बलिष्ट अङ्गालोमा बॉंचेकी छु। एउटा स्वीकार मात्र त चाहिन्छ जिउनको लागि। सहाराको लागि मलाई के यो एक्लोपन प्रशस्त भएन?

-खिर्कीबाट छिरेर श्रीमती थापा पसिन्‌। मलाई छोइन्‌। तर त्यो प्रिय स्पर्शको बोध कतै छैन मलाई। म बेचैन हुन्छु। आहत्‌ हुन्छु म। यो नदेखिइने अतिक्रमणले गल्छु म। केही कुराले यो छात्तीलाई बेस्सरी थिच्छ। छट्‌पटाउँछ मेरो मान्छे। चल्मलाउँछ।

तरै पनि श्रीमती थापा, एक्लोपन आगो नै हो, एक्लोपनलाई नै जलाउने। आकांक्षा र चाहना, सपना र रहर जलाउने। छात्तीभित्र बॉंचेको अलिकति जिउँदोपन जलाउने। तपाईंलाई अन्तरमा कतै त्यो बोधले पोलिराखेको छैन र?

-म आहत्‌ पार्छु झन्‌ सोचाइलाई। श्रीमती थापालाई।

घिउ थप्छु म आगोमा। बल्छ त्यो आगो झन्‌ दन्केर। म उनको आँखामा देख्छु ती।

ज्यू विष्टजी, छ। त्यही आगोको प्रिय जलन नै जिउनुको आनन्द हो विष्टजी, परमानन्द। म त्यही बॉंच्छु, जीउभरि सल्केको आनन्द।

-भन्दा श्रीमती थापाको ओंठ कॉंप्छ।

ओंठको कम्पन; मेरो प्रत्युत्तर हो।

तरै पनि तपाईं जीवनको त्यो सम्पूर्णतामा हुनुहुन्न। जीवनमा बॉंचेको हुनुको लागि सम्पूर्णतामा उभेर हिँड़ेको हुनु अनिवार्य रहन्छ। मान्छे बॉंचे भन्नको लागि आफ्ना अनुभूत भ्र्रमहरू अघि सार्छन्‌। वास्तवमा मान्छे बॉंचेका हुँदैनन्‌, बॉंच्नुका विश्वासनीय भ्रम मात्र बॉंचेका हुन्छन्‌। ती भ्रममा परमानन्द हुन्छन्‌। ती मात्र जीउनुका आनन्द होइनन्‌, ती भ्रमका विश्वासलाग्दा अनुभूति मात्र हुन्‌। आत्मानुभूति।

-आन्तरिक प्रगार गर्छु म। उनको अवचेतनामा हिर्काइन्छु म बारम्बार शब्दका आगोहरूले। अनुहारको दयनीयता आत्मसन्तुष्टिले पर्दाले ढाकेका सन्तुष्टि जस्ता स्वीकार अभिनयमा झुकेका अनुहार/आँखाका दुइ सजल दाना बोकेर फर्केको डेरामा-त्यो दिन म।

हुरी बिनै फूल झरेन? झर्दैन? फूललाई भँवरचुम्बनको आवश्यकता छैन? के सार्थकता हो यस्तो पूलको?

-डेराको म-लाई भन्छु।

निक्कैबेर उभिबस्छिन्‌ श्रीमती थापा आँखाको संघारमा।

म उनको आँखामा नारीपन खोज्न आँखाका हातले बेस्सरी कस्छु। उनी फुत्किन्छिन्‌ मबाट। भाग्छिन्‌। भाग्दै-भाग्दै उनी कोठाको भित्तामा टॉंसेको एक कामुक सुन्दरीका तस्वीरभित्र पसेर लुक्छिन्‌। म खोज्छु उनलाई। उनी त्यता कतै हराउँछिन्‌।

खोला किनार। दूर क्षितिज। अनि उ। एउटा तस्वीर। भिजेको शरीर। पारदर्शी लुगाबाट देखिएका स्पष्ट-अस्पष्ट नारी सौन्दर्य। छल्कँदो पानी खोलाको। फिॅँजका सेतोपन। नाङ्गा फिलाहरू। आँखामा दूर आग्रह/उन्मादले छोपेका पलक। रातो ओंठ।

श्रीमती थापाको अनुहार, तस्वीरमा खिल्खिलाएर पारदर्शी हॉंस्छिन्‌।

के म छोऊँ त्यसलाई? -सोचेपछि, अन्तरबाट उठेका ग्लानिका कुइरोले चीसो अनुहार छोप्छ मेरो।

म दुवै आँखा चिम्म गर्छु र उभिन्छु ठिङ्ग।

सोमबारदेखि शनिबारसम्म मेरो मन शीर झारेर हिँड्छ। अफिसका हल्लाहरूबीच पनि चुपचाप लाग्छ। बोल्दैन त्यो। अन्तरमा एउटा रोगले चाप्दै लान्छ। पहेंलिन्छ मन। एउटा रोगी मन डेरामा, सुस्तरी ओहोर-दोहोर गरिबस्छ। मनमा श्रीमती थापा आगो भएर पोल्छ। त्यसलाई सहँदा मेरा आँखाहरू निभेका हुन्छन्‌। निभेर आँखा चीसा हुन्छन्‌। त्यसको जाड़ोले कॉंप्छु म।

-एउटा दृश्य आउँछ। त्यसले चिमोट्‌छ मलाई।

म मोहन; मोहन विष्ट।- भन्छु म।

म श्रीमती थापा। -मादक ओंठहरू हल्लिन्छन्‌ उनका।

-म मेरो साथी मनप्रसादको दशौं वार्षिकोत्सवको भोजमा छु। उसको यो दशकोत्सव दाम्पत्यको।

अतिथिहरू छन्‌। ठॉंटिएकाहरू। मातिएकाहरू।

हातमा ग्लास, अनि त्यसबाट पिइरहेको छु म जीवनको एक्लोबोधलाई। जोड़ाहरू देखेर अघिल्तिर। म एक्लो खोज्छु। उनलाई भेट्‌छु। मै जस्तो एक्लो बॉंचेकी उनलाई भेट्‌छु, श्रीमती थापा भेट्‌छु। बात बढ्छ।

तपाईंको जीवनको त्यो भाग हुनु मसित, लाग्छ।

-उनले भनिन्‌।

अरू सबै सङ्गीतमय छन्‌। उफ्रिॅँदैछन्‌। अनि म छु उनका शब्दहरूका सङ्गीत अघि।

किन श्रीमती थापा, जीवनका यस्ता भागहरू सबै जिउँछन्‌। सबैले एक-एक उमेर, एक-एक समयमा, जीवन भोगिरहेकै छन्‌। अनि तपाईं पनि...। -भन्छु म।

होइन, केही होइन, आज-मा आइपुग्दा अनाहकमा यस्तो लाग्यो मलाई कि तपाईंको जीवन उन्मुक्त छ। जे होस्‌, छोड़ौं यी कुराहरू, आउनोस्‌ चियर्स भनौं बरू।

-मेरो ग्लासमा ठोक्काइन्‌ उनले उनको ग्लास। धेरै प्रहर बित्दा समेत हामी त्यसरी बात गरिरहेका थियौं।

उनले : यसरी साथ दिनुभएकोमा धन्यवाद भनिन्‌। विदाको हात हल्लाउन अघि।

सोंच्छु : त्यो विशाल घरको एकान्तले कति पोल्दो हो उनलाई। त्यो उनका आफ्ना आमा-बाबुले उनको निमित्त छोड़ेर गएको सुन्दर घर। थापाजी बित्न अघि नै आमा र बाबु पनि बितेर उनी जस्तै एक्लो भएको त्यो घरमा थापाजीका आगो जस्ता पोल्ने सम्झनाहरू लिएर आएकी उनी। आफूभरि एकान्तको आगो सल्काएर आएकी उनी। र आज ती निर्मम एकान्तहरूसँग हॉंसिदिएकी छन्‌। हॉंसिदिएकी छन्‌ कमसेकम आफ्ना घाउहरूमा,- यी दृश्यहरू एकाएक भाग्छन्‌ मबाट। म पेरि बेचैन हुन्छु। शून्य हुन्छु आफूमा। अनि ती दृश्यहरूका चाहमा, तिर्खामा, मोहमा भाग्छु म।

******

पुगेको छु म उनको घर। ढक्‌ढकाउँछु ढोका।

खुल्लै छ विष्टजी।

-सुन्छु म। मेरो ढक्‌ढकाउनुसँग अभ्यस्त उनी ओछ्‌यानमा त्यसै लड़ेकी छिन्‌। मनैमन म श्रीमती थापालाई तस्वीरमा खोज्छु। भागेकी हुन्छिन्‌ कतिबेला त्यहॉंबाट उनी। भेटि्‌दनँ केही। सबै शान्त। ठिङ्गै उभिबस्छु म।

बस्नोस्‌, विष्टजी।

-आग्रह छ। बस्छु। मनमा ती शब्दहरू छालहरू झैं छल्किरहेका छन्‌।

खुल्लै छ विष्टजी... खुल्लै छ...।

खुल्लै छ विष्टजी... खुल्लै छ...।

खुल्लै छ विष्टजी... खुल्लै छ...।

खै कहॉं छ र खुल्ला? त्यो खुल्लापन कहॉं छ खै श्रीमती थापामा।

-सोध्छु एउटा मनलाई म।

-त्यसले आदर्शको औंला उठाएर चुप भन्छ।

अर्को मनले - सब बन्द छन्‌ चेतनाको बन्द घरमा भन्छ।

म पनि थुनिन्छु त्यसैमा।

चुपचापहरू उभिन्छन्‌ हामीमाझ। बीचको त्यो दुरत्व छोपेर।

विष्टजी। -बोल्छिन्‌ उनी।

ज्यू श्रीमती थापा।

- त्यो सजिलोमा भन्छु म।

लामो सास तान्छिन्‌ उनी र त्यसलाई सुस्तरी छोड्दै नै भन्छिन्‌ - म अब फर्किरहेछु।

नबुझेर कुराको गहिरो, म टोहोलिन्छु आफैमा।

फर्किरहेछु म अब र यो नितान्त सङ्‌कल्पित हो...।

उनका आँखाहरू राता छन्‌; फर्किएका मतिर र दृढ़।

म कुराको एक किनारमा उभिदिन्छु र गहिरोतिर बढ्छु-

के हो, फर्किरहेछु को कुरा; कता हो, श्रीमती थापा...।

त्यो घर...।

-लाग्छ त्यो उनको जीवनको सबैभन्दा अन्तिम निखार हो। अथवा अझ एउटा त्यो घर छ; जहॉं श्रीमती थापाका रहल खुशीहरू बॉंच्न सक्छन्‌।

त्यो घर? - दोहोर्‍याउँछु, प्रश्नमा म उनीतिर छु।

ज्यू विष्टजी।

उनी भन्छिन्‌- त्यो घर जहॉं मेरा खुशीका दिन शुरू भए र अन्त्य पनि त्यहीं भए। खुशीका अन्त्य भए अथवा पोल्ने आगा जस्ता दिनहरू शुरू भए। अब त्यही भस्मिभूत हुनु; अर्को अन्त्य हो। विष्टजी मान्छे हजारचोटि शुरू हुन्छन्‌ र त्यति नै पल्ट अन्त्य पनि। हुन त शुरू न छ, न अन्त्य। त्यो पनि एउटा विश्वासनीय भ्रम हो। मान्छे हजार विश्वास र हजार भ्रम हुन्‌। म पनि केही विश्वास, केही भ्रम जिउँला...।

त्यो घर, जहॉं थापाजी...

- अपूर्ण बोल्छु। किनभने म शब्दमा थापाजीको मृत्यु बोक्न असमर्थ हुन्छु उनको अघि। उनी जस्तो हालतले मभित्र, अनुभूतिहरूमा, सम्वेदनाहरूमा छिन्‌, त्यो यही थापाको मृत्युको कारणले छ। जबदेखि हाम्रो मित्रता प्रगाढ़ छ; म अध्ययनरत्‌ छु उनीमा। म एक्लो छु अविवाहित। त्यसकारण एक्लोपनमा बेग्लै अनुभूत छ जीवन। किनभने वैवाहिकता बोध र वैवाहिक बिछोड़को त्यो बोध नै छैन मसित। हामी आ-आफूमा एक्ला छौं, आ-आफूमा अनुभूत एक्लोपन नै हाम्रो मैत्रिकताको एउटा विशिष्ट आकर्षण छ। र थापाजी जो दुर्घटनाग्रस्त भइसकेका छन्‌। त्यसको रिक्तताले खेदिइएर आज यहॉं छिन्‌ श्रीमती थापा। सात-आठ वर्षको वैवाहिक अनुभवको तीतोपन बॉंचेकी छिन्‌ उनले। आफूमा एक्लो, नितान्त एक्लो। त्यो एक्लोपन खल्बलाउने कुनै सन्तानसम्मबाट वञ्चित दोषी उनी; कहिल्यै नथाकेकी, नहारेकी तर आज घाउहरूतिरै फर्किजाने सङ्‌कल्पमा छिन्‌।

हो विष्टजी,

उनी भन्छिन्‌-थापाजी अब आकाश छुने कुरा हुन्‌। एउटा यथार्थ हुन्‌। यही हातले मैले आगो झोसेकी हुँ उनको शरीरमा। वास्तवमा मैले थापाजीको शरीरमा आगो झोसिनँ, झोसेकी रहेछु आफैमा, अङ्ग-अङ्गमा, मेरै शरीरमा। हो, विष्टजी एक्लोपन आगो नै रहेछ। तपाईंले त्यो देखाइदिनुभो। आगोले जलेका घाउहरू देखाइदिनु भो। तर...।

-उनका ओंठबाट विस्फोट भइरहेछन्‌ र निस्किरहेछन्‌ त्यहॉंबाट राता-राता आगाका मुस्लाहरू।

तर, के त, श्रीमती थापा...।

-त्यसको झिल्काले मेरो सम्वेदन जलेपछि; फुट्‌छु म।

तर... त्यही आगो बोकेर फर्किरहेछु म। निभाउन कतै। कुनै सागरमा। कुनै झीलमा...।

-गल्छु म उनको शब्दको आगोमा, थाक्छु। विचारको रूखमा चट्याङ बज्रन्छ।

ओह, श्रीमती थापा...!

-अपूर्ण बोल्छु म। हेर्छु उनका आखा किनारमा। उही तस्वीर। भाग्छु म। उनको कोठाबाट। उनी पछ्‌याउँदै, दगुर्दै आउँछिन्‌ ठोकासम्म र कराउँछिन्‌-

विष्टजी...।

****

डेरा पुग्छु। भित्तामा टॉंसिएको तस्वीर हेर्छु। त्यहॉं मेरो पुरुष पानी-पानी भएर छल्किएको छ ग्लानीका किनारहरूतिर। अनि त्यो पानीले भिजेकी छिन्‌ श्रीमती थापा। मेरा हातका औंलाहरू कॉंप्छन्‌।

अनि एउटा तोड़को आवेशमा पुगेपछि च्यात्छु म त्यस तस्वीरलाई एकाएक। च्यातिबस्छु। धुजा-धुजा पार्छु।

मेरो शरीर पसीनाले भिजेर निथ्रुक्क बन्छ। अनि जति आवेगमा म तस्वीर च्यात्दै जान्छु; उति मन चिच्याउँछ मेरो-

...अब लौ, श्रीमती थापा, निभाइदिएँ आगो मैले...।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।