18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खै कुन्नि ?

कविता पुष्पा खनाल November 13, 2009, 5:56 pm

सँगसँगै चालेथ्यौं पाइलाहरु हामीले,

खै ! हिंड्दा हिंड्दै कहाँनिर ठेस लागेछ कि कुन्नि ?

म वैशाखी खोज्न थालें

तर तिमीले त नेटो काटिसकेछौ

एउटै ओढेथ्यौं च्यादर दुवैले

खै ! चिसो पस्न थाल्यो कताबाट च्यातिएछ कि कुन्नि ?

म जोडेर सिउन थालें

तर तिमीले त बर्की साटिसकेछौ

विश्वासको दियो जलाएका थियौं हामीले

खै ! दियो बल्न छाड्यो किन हो, तेल सकिएछ कि कुन्नि ?

म तेल खोज्न थालें

तर तिमीले त दियो नै फाँकिसकेछौं

प्रेमले सिञ्चित गरेथ्यौं जीवन दुवैले

खै ! सुख्खा देखिन्छ माया विश्वासमा खडेरी परेछ कि कुन्नि ?

म पानी खोज्न थालें

तर तिमीले त मुहान नै छेकिदिएछौ

काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।