18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

निबन्धकार युवराज नयाँघरेसँग एक क्षण

वार्ता कृष्ण बजगाईं November 15, 2009, 5:45 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

वि.सं.२०२६ सालमा इलाममा जन्मनु भएका युवराज नयाँघरे नेपाली निबन्ध क्षेत्रमा चर्चित र स्थापित लेखक हुनुहुन्छ । थुप्रै निबन्ध तथा नियात्रा पुस्तकका लेखक नयाँघरेले २०६५ को मदन पुरस्कारका अतिरिक्त राष्ट्रियस्तरका थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ । उहाँसँग समकालीन डट कमको लागि सम्पादक कृष्ण बजगाईंले इमेलबाट गर्नु भएको कुराकानी ।

१.वि.सं.२०६५ सालको मदन पुरस्कार तपाईंको निबन्ध संग्रह एक हातको तालीलाई प्रदान गरियो । अघिल्ला निबन्ध संग्रहहरु भन्दा के नयाँ छ यसमा ?

एक हातको ताली निबन्ध संग्रह मेरो योजना हो । यो पाँच वर्षको मिहिनेतबाट तयार भएको संग्रह हो । यो संग्रहले मदन पुरस्कार पाएपछि नेपाली निबन्ध लेखनबारे चर्चा र चासो व्यक्त भएको छ । राजनीतिले उपेक्षा गरेको नेपाल र नेपालीका अन्तर्मन उतारेको छु मैले यस संग्रहमा । ठेट, झर्रा शब्द, मौलिक लेखनको कलात्मक प्रस्तुति त मेरा लेखकीय चरित्र नै भए । समग्र नेपालको ग्रामीण र द्वन्द्वग्रस्त चेतना छाम्ने प्रयत्न एक हातको तालीमा भएको छ । नपढिने विधामाथि बल्ल न्याय भएको छ ।

२.मदन पुरस्कारका अलावा अहिलेसम्म कुन कुन पुरस्कार वा सम्मानबाट सम्मानित हुनु भएको छ ?

मैले राष्ट्यि स्तरका लगभग सबै पुरस्कारहरु प्राप्त गरेको छु । राष्ट्रिय प्रतिभा पुरस्कार (२०५६), उत्तम शान्ति पुरस्कार(२०५८), युवा वर्ष मोती पुरस्कार (२०६१), अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार (सन् २००७), भूपालमानसिंह कार्की युवा साहित्य पुरस्कार (२०६१), शंकर लामिछाने युवा निबन्ध पुरस्कार (२०६५) लगायत थुप्रै पुरस्कार र सम्मानबाट मेरो लेखकीय आदर भएको छ । २०६५ सालको मदन पुरस्कार प्राप्त गरेपछि मेरो रचनाकारिताले अरु मानक र सामाजिक स्वीकृति प्राप्त गरेको छ ।

३.अहिलेसम्म तपाईंका कतिवटा, कुन कुन विधाका कृतिहरु प्रकाशित भएका छन् ?

मेरा सातवटा निबन्धका कृति प्रकाशित छन् । संवेदनाका स्वरहरु (निबन्ध संग्रह–२०५४), मुहूर्तको वरिपरि (निबन्ध संग्रह–२०५५), मखुण्डाको मन (निबन्ध संग्रह–२०५५), काठमाण्डौलाई कोर्रा (निबन्ध संग्रह–२०५८), नीलडाम (निबन्ध संग्रह–२०६१), अनाम पहाडमा फनफनी (नियात्रा संग्रह–२०६२), र एक हातको ताली (निबन्ध संग्रह–२०६५) कृति आएका छन् । सम्पादन गरी छापे अरु समीक्षा र कविताका ३–४ कृति आउन सक्छन् । तर त्यतातिर मन गरिनँ मैले ।

४.प्रकाशोन्मुख पनि छन् कि ?

मेरा लगत्तै दुईवटा नियात्राका कृति आउँदैछन् । तिनमा एक पूर्णतः नेपाली माटो घुमेका प्रसंग र अर्को अमेरिकी संसार डुलाइका अनुभव समेटिएका छन् ।

५.साहित्यका अन्य विधाहरु हुँदाहुँदै आफ्नो लेखन निबन्ध विधा नै किन रोज्नु भयो ?

निबन्धमा समग्र रुपमा आफ्ना कुरा व्यक्तिने हुनाले म यतातिर लागेको हुँ । निबन्धमा स्वतन्त्र लेखकीय विचरण गर्न पाइन्छ । आफ्नो सिर्जनात्मक उच्चतम् कला र क्षमता प्रदर्शन गर्न सकिन्छ निबन्धमा । आफूलाई सर्लक्क उतार्न पाइने हुनाले निबन्ध प्रिय भएको हो मेरा निम्ति ।

६.निबन्ध भनेको के हो ?

निर्बन्ध उडान नै निबन्धको पहिचान दिने रचना हो । यसभित्र समग्रता ओर्लिन्छ र पाठक समक्ष उपस्थिति जनाउँछ । निबन्धमा अन्य विधाका अंंश पनि कुनेै न कुनै रुपमा आउन सक्छन् । निबन्ध अन्य विधाको निम्ति अगुवा विधा समेत हो । भाषाको शालीनता हेर्नु परे निबन्ध आवश्यक हुन जान्छ ।

७.एउटा पूर्ण निबन्ध हुन के के हुनु पर्दछ ?

पूर्ण निबन्ध हुनका लागि धेरै कुराको अपेक्षा राख्छ यसले । विचारसँगै कला, शैली, प्रस्तुति र सम्प्रेष्यता अन्य मुख्य अंग हुन् । आवश्यकता अनुसार चिन्तनको रमरमी र काव्यिक–प्राज्ञिक सघनतालाई सँधै माग गरिरहेकै हुन्छ निबन्धले । निबन्ध गद्यको उच्चतम् नमूना पनि हो । गद्यको शालीन चरित्र यसमा नदिए अन्याय हुन्छ । निबन्धकारमा यो साबधानी र सचेतता नहुने कुरै भएन ।

८.तपाईंका निबन्ध मीठा र सरस हुँदाहुँदै पनि कुनै कुनै निबन्ध पढ्दै जाँदा कथा या नियात्रा जस्ता पनि लाग्छन् । निबन्ध लेखनको परम्परागत शैली र नियममुक्त भएका हुन् त तपाईंका निबन्धहरु ?

परम्पराको थाड्नाबाट बिस्तारै सबै विधा मुक्त हुँदै छन् । म पनि निरन्तर विधाभञ्जनतर्फ उन्मुख छु । तर सत्य र इतिहासलाई सम्मान गर्न तर्फ पनि सचेत छु । नियात्रा र कथा चैं सन्दर्भले मागेका पक्ष हुन् । ती अप्रासाड्गिक भने होओइनन् । निबन्धका पेटबोलीकै रुपमा आएका हुन् ती ।

९.अबका दिनमा कस्तो शैली, धार र विषयवस्तु पक्रेर निबन्ध लेख्नु पर्ला ?

हरेक स्रष्टाको लेखकीय खुबी र पन आ–आफ्नै हुन्छ । विषय, धार वा शैली पनि त्यही पक्षकै कुरा हो । पूरातन शैलीबाट अबको निबन्ध मुक्त नभै सुख्खै छैन । विश्व रुपान्तरणसँगै हामी चल्नु पर्ने त छँदै छ नि ! यो समकालीन पाठक र मीमासंकहरुको चाहना समेत हो ।

१०.साहित्यको अन्य विधाको तुलनामा निबन्ध लेख्नेहरु निकै कम छन् । किन होला ?

कृष्णजी निकै गम्भीर प्रश्न गर्नु भो, धन्यवाद छ । वास्तवमा निकै सघन र ओजपूर्ण लेखकीय आधार र तहमा प्रवेश नगर्ने स्रष्टा निबन्धशिल्पी हुन मुस्किल पर्छ । त्यसैले कविता र गीत, उपन्यास र नाटक जस्ता मन पक्षमै रहन सकिने विधामा धेरै लेखकहरु जुटेका छन् । तर बुद्घि पक्ष बढी अपेक्षा गरिने निबन्धमा जुट्नेहरु कम हुन्छन् । हामीकहाँ सजिलो र सरल बाटो हिँड्न रुचाउनेहरु अधिक छन् । यो एउटा असन्तोषपूर्ण अवस्था मान्छु म ।

११.दुई वर्षअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट तपाईंको नियात्रा संग्रह पुरस्कृत भएको थियो । सो पुरस्कार ग्रहण गर्न अमेरिका जानु भएको थियो । अमेरिकाको बसाइको क्रममा भाषा साहित्यका लागि भएका कार्यहरु नजिकबाट हेर्ने अवसर प्राप्त गर्नृ भयो । के कस्ता कार्य हुँदा रहेछन् त विदेशमा ?

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसीलाई धन्यवाद दिन चाहान्छु । किनभने अनेसासकै निम्तोमा अमेरिका गएँ म । अमेरिकाली समाज र विकासलाई नजिकबाट हेर्न सकें । त्यहाँ रहेका थुप्रै नेपाली स्रष्टा, पत्रकार, कलाकार र साधकहरुको सिर्जना अनि गतिविधि थाहा हुन सक्यो । अत्यन्त व्यस्तताका बीच पनि उहाँहरुले गरेको नेपाली भाषासाहित्य प्रतिको लगाव र कार्यलाई मेरो सम्मान छ । थुप्रै लेखक र पत्रकारहरुको रचनात्मक गतिविधि निकै स्मरणीय छ । नेपाली साहित्यका निम्ति अमेरिकामा गरिने क्रियाकलाप निकै भावपूर्ण र जातीयप्रेमका नमूनाका रुपमा पाएँ मैले ।

१२.डायोस्परामा भाषा साहित्यका गतिविधि संचालन गर्ने संघसंस्थाहरुलाई तपाईंको सल्लाह र सुझाब केही छ कि ?

शरीर एकातिर र मन अर्कातिर पारेर बस्छन्–विदेशमा बस्नेहरु । यसैले डायोस्परामा साहित्यिक गतिविधि भइरहेका छन्–देशको सम्झनाले, भूगोल, जाति, संस्कृति र पहिचानको मायाले । डायोस्परा र नेपाली लेखकहरु –बीचको सम्बन्ध पूर्णतः पातलो छ–नजिक्याउन मिल्ने प््रकाशन र सूचनाको अभावलाई हटाउनु जरुरी छ । अर्थात् सम्वादको वातावरण बढी बनोस् भन्ने चाहना हो मेरो ।

१३.अमेरिका गएका अधिकांश साहित्यकार हन्, पत्रकार वा कलाकार गएपछि हत्तपत्त फर्केर आउँदैनन् । तपाईं चाहि टिक्न सक्नु भएन नि ?

म अनुभव गर्न चाहन्थें विदेशको । जति बसियो, अनुभव भयो रामैसँग । फेरि लेखेरै म पुरस्कार लिन अमेरिका गएको हुनाले लेखनसँग सम्झौता गर्न मन लागेन । किनभने अमेरिकामा सबै सुखी देखें तर खुशी देखिनँ कसैलाई । सुखी र खुशी दुई अलग कुरा हुन् मेरा निम्ति ।

१४.मूल धारको साहित्य र डायोस्परिक साहित्यमा के फरक छ ?

धेरै धेरै फरक छ । मूल धारको साहित्य समग्र विषयको प्रस्तुति भएको छ तर डायोस्परिक साहित्यमा बढी राष्ट्रिय अस्मिताको प्रतिबिम्बन देखिन्छ । विषय, शैली, प्रस्तुति वा प्रयोग धेरै हिसाबले यी दुईमा फरक देख्छु म । निश्चय नै भूगोल, परिवेश र संस्कृतिबाट प्रभावित हुन्छ लेखन पनि । त्यही आँखाले हेरिनु पर्छ यी दुईलाई । विधागत रुपमा शक्तिशाली कृतिहरु बहिरबाट आउन सकेका छैनन् ।

१५.अन्त्यमा, समकालीन साहित्य डट कम मार्फत् विश्वभर रहेका नेपाली साहित्यका पाठकहरुलाई केही भन्नु छ कि ?

यो विश्व भूतलमा छरिएका नेपालीहरुमा मेरो हार्दिक नमस्कार छ । जो जहाँ रहे पनि नेपाल, नेपाली भाषा, जाति र संस्कृतिमाथि हाम्रो आदरभाउ छ नै । नेपाली भाषासाहित्यमा बाहिरबाट विभिन्न ढंगले कार्य र गतिविधि भइरहेका छन् । एकातिर जीवन धान्ने प्रतिस्पर्धा, अर्कातिर पहिचानको आवश्यकता छ । यी दुवैलाई आफ्नै जिम्मेवारी सम्झेर विदेशमा रहँदा समेत तपाईंहरुले जे जस्ता प्रयत्न र रचनात्मक गतिविधि गरिरहनु भएको छ–त्यो निश्चय नै स्मरणीय र वन्दनीय कार्यका रुपमा लिन्छु म । कामले, पेशाले वा जिन्दगीको डुंगा खियाउन जो जता पुगे पनि नेपाल र नेपाली संसारलाई छातीमा छपक्क राखौ सँधै । नेपाली भाषाको प्रचारमा बोलेर, लेखेर आआफ्नो क्षेत्रबाट चेष्टा गरौँ । चोखो भावनाले पनि देश सेवा हुन्छ । धन्यवाद !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।