17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार डा. मधु माधुर्यसँग साहित्यिक अन्तरङ्ग

वार्ता कृष्ण बजगाईं November 17, 2009, 5:53 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

अगष्ट ७ तारिखका दिन भीमेश्वर नगरपालिका २ दोलखामा जन्मनु भएका डा. मधुकृष्ष्ण श्रेष्ठ 'माधुर्य' साहित्य, कला, संस्कृति र दैनिक समाचारको वेव पत्रिका फ्रि नेपाल डट कमको प्रधान सम्पादक तथा प्रकाशक हुनुहुन्छ । राम्रो कवि तथा गीतकारको छवि बनाउनु भएका माधुर्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एनआरएन लगायतको संस्थाको जिम्मेवार पद सम्हाल्नु भएको छ । सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्नु भएका माधुर्यसँग समकालीन डट कमको लागि सम्पादक कृष्ण बजगाईंले साहित्यको सेरोफेरोमा रहेर इमेलबाट गर्नु भएको कुराकानी ।

१. परदेशको ब्यस्त समयमा भाषा, साहित्य अनि पत्रकारिताको लागि कसरी समय मिलाउनु हुन्छ ?

जीवनको ब्यस्त परिवेशमा पनि मेरो लागि साहित्य साधना ‘अम्मल’ जस्तो भएको छ । कहिले काँहि नपुगेको समय समेत पैँचो माग्नु पर्ने अबस्था आइलाग्छ । एउटै समयमा धेरै कुरा भ्याउने चाहना हुन्छ, तर त्यो सहज हुँदैन ।

२. तपाईं एक कुशल सम्पादक तथा सशक्त कवि हुनुहुन्छ । आफूलाई के भनेर चिनाउन रुचाउनु हुन्छ ?

कविता, कथा, गीत, संगीत, कला–संस्कृति, दर्शन, विज्ञान–प्रविधी, मनोविज्ञान, खेलकुद जस्ता महत्वपूर्ण विषयहरुमा आफूलाई रुची भए पनि मूलतः म आफूलाई साहित्यानुरागी भनेर चिनाउँदा अन्याय नभएको ठान्दछु । र मेरो भावनामा म भित्रको कवि हरहमेशा डुलिरहेको हुन्छ ।

३. तपाईंका प्रकाशित तथा प्रकाशोन्मुख कृतिहरु के के छन ?

साहित्य तर्फ ‘मैले खोजेको आकाश धर्ती’(कविता संग्रह),प्रकाशित भइसकेको छ भने सांगितिक फाँटमा ‘माधुर्य’(गीती संगालो) को लोकार्पण भइसकेको छ । लेख्दै थन्क्याउदै गरिएका केहि अप्रकाशित साहित्यिक कृतिहरु अझै पनि परिमार्जनको प्रतिक्षामा छन् ।

४. नेपाली साहित्यको बजारमा आफ्नो कृति सहित आफूलाई पुर्याउँदा कस्तो पाउनु भयो ?

साहित्यप्रेमी भए पनि आफूले अध्ययन गरेको मूल विषयको दृष्टिकोणले हेर्दा म एक सिभिल इन्जिनियर हँु । आधा दशक अघि मेरो पहिलो कृति प्रकाशन गर्ने रहरको पछि लाग्दा विचित्रका अनुभवहरु बटुल्ने सौभाग्य प्राप्त भएको थियो । ‘दुबै हातमा लड्डु राख्न खोजेको ......’ भन्दै साहित्यिक गौडाँहरुमा हतोत्साहित पार्न खोज्नेहरुलाई ‘साहित्यिक माफिया’ को संज्ञा दिएर मैले मौन प्रतिरोध गर्नु नपरेको पनि होइन, तर शुभचिन्तकहरुको रुपमा झुल्केका मित्रहरु र गुुरुज्यूहरुको सहयोगको कारणले कुनै पनि खालको पीडा बोध हुन पाएन । समयले मानिसलाई निको पार्दै जाने क्रममा परिवेश पनि वदलिँदै जाँदा रहेछन् । हिजोआज हरेक ठाँउहरुमा प्रेरणा र हौसला दिने लब्धप्रतिष्ठित स्रष्टाहरु सँग अन्तरङ्ग भेटघाटका अबसरहरु जुटिनै रहेका छन् – यो भिन्न अनुभव हो ।

५. नेपालको सरकारी तथा चल्तापूर्जा पत्रपत्रिकाहरुले नेपाली डायस्पोरिक साहित्यकारहरुलाई कतिको अवसर र प्रोत्साहन दिएको पाउनु भएको छ ?

डायस्पोरिक साहित्यको आधारभूत संप्रेषण–माध्याम इन्टरनेट भएको हुँदा गरिमादेखि मधुपर्क सम्म रमाईरहेका पुराना पुस्ताका अधिकांस स्रष्टाहरुका लागि छापामा उपलब्ध नभएसम्म नेपाल बाहिरका नेपाली साहित्यक गतिविधी र जर्मकाहरुको ठोस अस्तित्वबोध नहुन पनि सक्ला । यसको प्रभाव सरकारी र गैरसरकारी प्रकाशनहरुमा नपरेको पनि होइन । तर पछिल्ला बर्षहरुमा नेपालबाट भइरहेका डायस्पोरा साहित्यको अध्ययन–अनुसन्धानले आगामी वर्षहरुमा सकरात्मक परिणाम ल्याउने ठूलो संभावना र संकेतहरु देखापरेका छन् । यसको प्रभाव नेपाली प्रकाशनहरुमा झल्कने छ ।

नेपाली डायस्पोरा साहित्य आफैमा विश्व साहित्यको अभिन्न भाग हो । वर्तमान परिप्रेक्षमा नेपाली डायस्पोरा साहित्यलाई चटक्क बिर्सेर सिङ्गो नेपाली साहित्यको कल्पना संभव छ्रैन् ।

६. तपाईं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निर्वतमान उपाध्यक्ष हुनुहुन्छ । नेपाली भाषा साहित्यको उत्थानको लागि अनेसासले तपाईंहरुको कार्यकालमा गर्न नभ्याएका तर गर्नै पर्ने कार्यहरुको बारेमा बताई दिनुहोस्न ?

हिजोको तुलानामा आज अनेसास एउटा प्रभावकारी विश्वब्यापी साहित्यिक संगठनमा परिणत हुँदै गइरहेको छ । उक्त संस्थामा केन्द्रिय महासचिव एवं उपाध्यक्षको कार्यभार मैले बहन गरिरहेको बेला हामीले तय गरेका अधिकांश योजनाहरुको आज कार्यान्वयन भइसकेका छन् भने डायस्पोरा साहित्यिक अभिलेख तयार गर्ने र अनुवाद साहित्यको ब्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण चुनौतीहरु हाम्रा सामु तेर्सिएका छन् जस्तो लाग्छ ।

७. नेपाली भाषा साहित्यको उत्थानका लागि तपाईको ब्यक्तिगत वा फ्रि नेपाल डट कमका तर्फबाट केहि कार्य भएका छन् वा हुनेवाला छन् कि ?

नेपाली भाषा साहित्यको उत्थानको लागि भइरहेको मेरा ब्यक्तिगत जर्मकाहरु र हाम्रा सामुहिक योगदानहरु फ्रि नेपाल डट कम मार्फत पाठक समक्ष आइनै रहेका छन् । विविध ब्यबधानहरुको सामना गर्दै अघि बढ्ने क्रममा हाम्रा कार्यक्रम संख्यात्मक रुपमा न्युन देखिएता पनि केहि एतिहासिक महत्वका अर्विसनीय कामहरु सम्पन्न गर्ने मौका पायौ ः नेपाली मुक्तक लेखनका प्रणेता एवं मूर्धन्य कवि भीमदर्शन रोका र प्रतिभाशाली कवि नरेश शाक्यको सम्मान, गीती संगालो ‘तारा नउदाएको आकाश’ र ‘माधुर्य’को प्रकाशन, ‘नेपाल बाहिर नेपाली साहित्य’ नामक ग्रन्थको प्रकाशन । अनेसास रुस शाखाको तत्वावधानमा ‘नेपाल बाहिर नेपाली साहित्य’(यूरोप बिशेषाङ्क) को प्रकाशन गर्ने तयारी पनि हुँदैछ ।

८.फ्रि नेपाल डट कम पहिले साहित्यिक वेभ पत्रिकाको रुपमा स्थापित भएको थियो । अहिले समाचारमुलक अनलाईन पत्रिकाको रुपमा अग्र पङ्तिमा रहेको छ । साहित्यिकबाट समाचारमुलक बनाउनु पर्ने कुनै कारण छ कि ?

नेपाली अनलाईन साहित्यको पृष्ठभूमीमा झुल्केको फ्रि नेपाल डट कम् लाई समाचार प्रधान बनाउनुको मूल कारण यसलाई सघन अनलाईन मिडियाको रुपमा विकसित भएको हेर्न चाहने हाम्रो महत्वकांक्षा हो, जसमा हाम्रा युवा पत्रकारहरुको अथक योगदानले आजसम्म पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ । केहि नौला आयामहरु थप्दै साहित्यिक खण्डलाई पनि सशक्त रुपमा अघि बढाउने हाम्रो योजना छ ।

९. तपाईंको जीवनको महत्वाकांक्षी योजना के हो ?

खाईलाग्दा महत्वाकांक्षी योजनाहरु त खासै छैनन् मेरा । तर अन्तर चाहनाका आँधीहरु छन् म भित्र पनि । उत्तरहरुको खोजीमा भौतारिरहेको छु –‘म को हुँ ?’ र ‘मेरो उपस्थिति के का लागि ?’ पोजिट्रोन र इलेक्ट्रोन छेउको भ्याकुमबाट फर्केर म आफू भित्र आफैलाई खोज्दैछु । यो आयाम कविता विधामा नौलौ अस्तित्वको खोजीको रुपमा पनि बामे सर्दैछ ।

१०. तपाईंको बुझाईमा साहित्य के हो र कविता के हो ?

मानवीय भाव, सशक्त शब्द संयोजन र कलात्मक शैलीको प्रिज्ममा प्रतिविम्वित अनुभूतिहरुको अभिब्यक्ति नै साहित्य हो । दर्शनको गहिराई नै त्यो प्रिज्मको उचाई हो, अभिब्यक्तिहरु त्यहाँ समय र जीवन सापेक्ष हुन्छन्, त्यो प्रिज्मबाट निस्किरहेको काब्यतत्वहरुको सुवास नै कविता हो ।

११. नेपाली साहित्यमा तपाईंले पु¥याउनु भएको योगदानको कदर स्वरुप अस्विकृत बिचार साहित्य पुरस्कारबाट तपाई सम्मानित हुनु भयो, कस्तो अनु्भूति भईरहेको छ ?

निस्वार्थ भावले स्वत्–स्फूर्त हामीबाट भइरहेका कामहरुको कतै न कतैबाट मूल्यांकन हुनु आफैमा एउटा प्रेरणादायी कुरा हो । यो पुरस्कार ब्यक्तिगत रुपमा दिइएता पनि मैले यसलाई फ्रि नेपाल डट कमको साझा उपलब्धीको रुपमा ग्रहण गरेको छु । अब एउटा गहन जिम्ेवारी बहन गर्नु पर्ने नौलो कर्तब्यबोध भइरहेको छ । मेरो साहित्यिक यात्रामा यो पुरस्कार र सम्मानले ‘सिनर्जी’ को काम गर्नेछ । हामी जस्ता प्राविधिक फाँटबाट निस्केर अनलाईन साहित्यमा बामे सरिरहेका डायस्पोरेली स्रष्टाहरुको योगदानलाई कदर गर्ने अस्विकृत बिचार साहित्य पुरस्कार गुठीलाई सफलताको कामना गर्दै हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

१२. हालसालै गीती संगालो ‘माधुर्य’ मार्फत तपाईंको सांगितिक क्षेत्रमा भईरहेको प्रवेश बारे पाठकलाई केहि जानकारी दिनु हुन्थ्यो कि ?

गीत पनि कविता कै मधुर रुप हो जस्तो लाग्छ । स्वर र धुनको प्रभावले गर्दा गीतको गुरुत्वाकर्षणले मानिसको मनलाई आफूतिर आकर्षित गराई रहेको हुन्छ । त्यसमा अत्याधुनिक प्रविधिले थप बल पु¥याइरहेको हुन्छ, जुन कवितामा हुँदैन । सांगितिक क्षेत्रमा प्रवेश गर्दाको अचम्मका अनुभूतिहरु आफैमा प्रेरणादायी छन् । वरिष्ठ संगीतकार शक्ति बलल्भज्यूको नेतृत्वमा उहाँको सक्रिय सांगीतिक समूहले दुई हप्ता मै नेपालको रेकर्डिङ रेकर्ड तोडेर म नेपाल हुँदै लोकार्पण हुने गरि तयार पारिएको उक्त सिडीमा जगदिश समाल, आनन्द कार्की, सुमित खड्का, अञ्जु पन्त, शिशिर योगी, स्वरुपराज आचार्य, माण्डवी त्रिपाठी, यम बराल जस्ता लोकप्रिय गायक–गायिकाहरुको स्वरहरु समेटिएका छन् । यो प्रकाशन कस्तो भयो, त्यसको रस्वादान गर्ने जिम्मवारी स्रोता वर्गलाई नै सुम्पेको छु । हजारौँ स्रोता समक्ष यसलाई समर्पण गर्नका लागि इमेज एफ एमले गरेको ब्यबस्थापनको लागि मित्र भरत शाक्यज्यूप्रति आभार प्रकट गर्न चाहन्छु ।

१३. वर्तमान सभ्यताको विडम्बना के हो ?

हत्या, हिंसा, युद्ध, कलह, असहिष्णुता, घृणा र विविध कुकर्म आदिले हामीले ओढेको मानव–रुपको धञ्जी उडाई रहेका छन् । मानवीय मूल्य र जीवनका आदर्शहरुको अस्तित्व लेखन र भाषाबाट ब्यबहारमा अवतरण हुन नसक्दा विकासको पूर्वाधार मानिएको शान्ति समेत बिथोलिएको छ आज................।

१४. विसंगतीहरुले गुज्रेको आजको संसारलाई के सकरात्मक दिशामा लैजान सम्भव छ ?

यो संसार नै सम्भावनाहरुको योग हो । असम्भव भन्ने भाव पनि हाम्रो मस्तिस्कको

संकुचित धारणा मात्र हो । कोदो रोपेर धान उम्रदैन । जस्तो विचार र भावनाको दिमागमा खेतीपाती हुन्छ,– त्यस्को परिणाम पनि उस्तै निस्कन्छ । राम्रो कुरालाई

असम्भव छ भनेर दिमागमा प्रवेश निषेध गरिसकेपछि राम्रो कुरा उम्रन, फस्टाउन र फुल्न पाउँदैन । नराम्रो कुरा र सन्त्राशको दिमागमा हुने सहज प्रवेशका कारण त्यसको नतिजा हेर्न धेरै कुर्नुु पर्दैन । विवेकले प्रयोग गर्न नसकेको ज्ञान कि त निकम्मा हुन्छ कि त विध्वंसकारी हुन्छ । हाम्रो चेतना र विवेक ब्युँझि सकेपछि मात्र ज्ञान, विज्ञान र जीवनको सदुपयोग संभव छ, हरेक परिवर्तन सम्भव छ । तर हामीभित्र हुनुपर्ने परिवर्तन बिना यो संसारको परिवर्तन सम्भव छ्र्रैन ।

१५. अन्तमा समकालीन साहित्य डट कम् मार्फत विश्वभरका नेपाली साहित्यका पाठकहरुलाई केही भन्नु छ कि ?

पठनयोग्य र मननयोग्य रचनाहरु प्रकाशित गर्दै नेपालभित्र र नेपाल बाहिरका लाखौं पाठक एवं स्रष्टाबीच सेतुको भूमिका निर्वाह गरिरहेको ‘समकालीन साहित्य डट कम’ को जति प्रशंसा गरे पनि कमै हुन्छ । यस योजनामा संलग्न संपूर्ण महानुभावहरुलाई मुक्तकण्ठले साधुवाद दिँदै म उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।