16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार कृष्ण धरावासीसँग कुराकानी

वार्ता कृष्ण बजगाईं November 20, 2009, 6:01 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

वि.सं.२०१७ साल साउन २ गते अमरपुर गाउँ पाँचथरमा जन्मनु भएका कृष्णप्रसाद भट्टराई कृष्ण धरावासीको नामले नेपाली साहित्यमा चर्चित हुनुहुन्छ । थुप्रै कृतिका स्रष्टा धरावासी मदन पुरस्कार लगायत थुप्रै पुरस्कार र सम्मानद्धारा सम्मानित हुनुभएको छ । हाल लिला लेखन र त्यसको सैद्धान्तिक ब्याख्यमा लाग्नु भएका धरावासीसँग समकालीन डट कमको लागि सम्पादक कृष्ण बजगाईंले साहित्यको सेरोफेरोमा रहेर इमेलबाट गर्नु भएको कुराकानी ।

१.तपाईं अहिले के लेख्दै हुनुहुन्छ ?

अहिले म लीलालेखनको सैद्धान्तिक पक्षलाई स्पष्ट पार्ने कृति लीलालेखन धारणा र प्रयोग भन्ने करिब ४०० पृष्ठको पुस्तक तयार गर्दैछु । यो अन्तिम अवस्थामा पगेको छ । संभवत यो २०६६ सालभित्रै प्रकाशित हुनेछ ।

२. साहित्यमा किन र कसरी लाग्नु भयो ?

यस्तो प्रश्नको त मसँग उत्तर नै छैन । आजसम्म पनि म किन साहित्यमा लागें होला भन्ने कुरा मलाई थाह छैन । कुनै खास उद्देश्य र लक्ष्य निर्धारण गरी म लागेकै होइन । विद्यालयमा हुने अतिरिक्त कृयाकलाप अन्तर्गतका गोष्ठीहरुमा रहरले सुनाउँदासुनाउँदै भइएछ । थाहै भएन मलाई साहित्य लत बनेछ पछि बुझ्दा ।

३. नेपाली साहित्यमा हाल भइरहेका प्रयोग र आन्दोलनलाई कसरी लिनु भएको छ ?

नेपाली साहित्यमा विभिन्न समयमा प्रयोगहरु हुँदै आएका छन् । प्रयोगहरु भनेका कुनै खास समयमा देखा पर्ने, केही नयाँ प्रस्तावहरु लिएर आउने, त्यसले साहित्यको मूलधारलाई एउटा नयाँ दिशानिर्देश गर्ने र पछि स्वयं मूलधारमा मिसिएर अघि बढ्ने गर्दछ । नयाँनयाँ प्रयोग र आन्दोलनहरुले नै साहित्यको यात्रालाई उर्जा प्रदान गर्दछ । मोती मण्डलीदेखि विलयनसम्म आइपुग्दा नेपाली साहित्य अत्यन्त धनी भएको छ ।

२०१७ सालदेखि प्रयोगवादी यात्रा थाल्यो नेपाली साहित्यले । २०२० सालको तेस्रो आयाम, ०२३ सालको राल्फा आन्दोलन, त्यसैगरी बीसकै दशकका अस्वीकृत जमात, बुट पालिस, यङ राइटर्स क्लब आदिहरु । त्यस्तै तीसको दशकका सडक कविता क्रान्ति, सडक नाटक, चालिसको दशकका तरलवाद, भोक कविता आदिहरुको छुट्टै सामाजिक तथा राजनीतिक महत्व समेत छ । २०४६ सालको परिवर्तन पछि नयाँ पुस्तामा नयाँ प्रकारकै चेतहरु पलाउन थाले । पचासको दशकका कविताहरु २०४६ साल अघिका कविताका तुलनामा एकदम नै भिन्दै देखा पर्न थाले । गद्य तथा पद्य दुबै क्षेत्रमा नयाँ सोचहरु आउन थाले ।

नेपाली साहित्यमा हाल थुप्रै सानातिना प्रयोगहरु देखा परिरहेका छन्, ती मध्ये केहीले राम्रै कृतिहरु दिइरहेका छन् । आन्दोलन र प्रयोग उभिने भनेका कृतिले हो । समसामयिक यी प्रयोगहरुको भविष्य बारे तुरुन्तै केही भनी हाल्न त सकिंदैन तर सम्भावना कमजोर छैन ।

४. अहिलेसम्म तपाईंका कुन कुन विधाका के कति पुस्तक प्रकाशित भएका छन् ?

अहिलेसम्म कथा–१,उपन्यास–५, समालोचना–३, कविता–२,निबन्ध–३,साहित्यिक बहस–१,गरि १६ कृति प्रकाशित छन् ।

५.प्रकाशोन्मुख पनि छन् कि ?

विभिन्न विधाका १६ वटा कृति प्रकाशोन्मुख छन् ।

६.तपाईंको राधा उपन्यासले वि.सं. २०६२ को मदन पुरस्का प्राप्त गरेको थियो । यो कस्तो विषयमा आधारित उपन्यास हो ?

यो उपन्यास पुराणको आधार लिएर पुर्वीय दर्शनमा आधुनिक जीवनलाई हेर्ने प्रयत्न गरिएको छ । लीलाको धारणालाई सिर्जनात्मक ढङ्गमा प्रयोग गरिएको छ ।

७.तपाईंले साहित्यको विविध विधामा कलम चलाउनु भयो । तपाईंको मन पर्ने विधा कुन हो ? किन ?

मलाई मनपर्ने विधा निबन्ध र आख्यान हो । यी दुई विधामा म आफ्नो कुरालाई राम्ररी भन्न सक्छु जस्तो लाग्छ ।

८.तपाईं मोफसलबाटै स्थापित हुनु भएको राष्ट्रियस्तरको लेखक हुनुहुन्छ । राजधानीवादको विरोध गर्दा गर्दै आफैं राजधानीमै भाँसिनु भयो नि ?

म राजधानीमा जागिर खान आएको हुँ । जागिर सकिएपछि म फर्किएर जिल्लामै पुग्छु । चालिस बर्ष विताएको ठाउँले पनि मलाई कसरी बिर्सला र ? मैले पनि कसरी बिर्सुँला र ! राजधानीवादको बिरोध गरेको होइन । राजधानीमा बसि यहाँको सुबिधाको उपयोग गरी मोफसलको अवमुल्यन गर्ने प्रवृतिको बिरोध गरेको हुँ ।

९.के राजधानीवादको विरोध गर्नै पर्ने हो मोफसलका लेखकहरुले ?

हेइन,मोफसलले राजधानीको बिरोध गरिरहनु पर्दैन । राजधानीलाई उपयोग गर्न सक्नु पर्छ । जुनसुकै देशको राजधनीले पनि सुविधालाई केन्द्रीकृत गरेकै हुन्छ । त्यो केन्द्रिकृत सुबिधाको एकल उपभोगपक्षको भने आलोचना हुनै पर्छ ।

१०.प्रसंग बदलौं, एकताका तपाईं लिला लेखनको खुब वकालत गरेर हिँड्नु हुन्थ्यो । तर आजकल सेलाउनु भए जस्तो छ नि ?

म लीला लेखनलाई सिर्जनात्मक रुपमा कृतिमा प्रयोग गरिरहेको छु । सिद्धान्त पक्षमा पनि प्रशस्त काम भइरहेको छ । रत्नमणि नेपाल, कृष्ण बराल, संजीव उप्रेती, शिव रेग्मी प्रणत, नारायण चालिसे, डा. दीनबन्ध’ शर्मा, मिश्र बैजयन्ती,आदि थुप्रै साथीहरु यसको सिद्धान्त पक्षमा काम गरिरहेका छन् ।

११. लिला लेखन भनेको के हो ?

परिभाषा विना कुनै वस्तुसँग संगत गर्नै गाह्रो पर्छ । परिचय बेगरको सम्बन्ध अप्ठ्यारो र अविश्वसनीय बन्दछ । परिचय र परिभाषाहरुकै माध्यमबाट जीवन बाँच्न सहज बनी आएको छ । सबै कुराहरुसँग परिचय मागिएजस्तै लीलालेखनसँग पनि परिचय मागिएको धेरै भइसकेको छ । के हो यो लीला भनेको ? यसलाई लेखन कसरी गर्ने आदि । तर हामीलाई पनि ठूलै संकट छ । कुनै पनि कुराको परिभाषा त्यो कहिलै आफैंमा पूर्ण हुँदैन । त्यसको पूर्ण परिभाषा बनाउन सकिंदैन । आज बनेको परिभाषा भरे नै अपूर्ण र अधुरो भइसकेको हुन्छ । त्यसैले पनि लीला भनेको यही हो, यत्ति हो । यसो भनेपछि लीला भइहाल्छ भनेर भन्न सक्ने अवस्थामा हामी छैनौं । तथापि यो वस्तुको आप्mनै केही चिन्ह त हुन्छ नै वा त्यसलाई चिन्न केही नाम त दिइन्छ नै । त्यस्तै केही कुरा त यसमा हामीले देखेकै छौं ।

पूर्वीय परम्परा र जीवनमा लामो यात्रा गरी आइरहेको छ एउटा शब्द । यो शब्द पूर्वीय साहित्यको अनेकौं महाख्यानहरुसँग जोडिएको छ । यसले अर्थलाई गति र शक्ति प्रदान गरिरहन्छ । हरेकछिन प्रत्येक वस्तु र घटनालाई अत्यन्तै गतिशील बनाउने काम गर्दछ । एकप्रकारले यस शब्दले पूर्वीय जीवनदर्शनको शक्तिशाली संयन्त्रको भूमिका निर्वाह गरी आइरहेको छ ।

छोटोमा भन्नुपर्दा– लीला शब्दले ‘खेल’ को अर्थ ग्रहण गरेको छ । कुनै पनि विषय वा घटनालाई रमाइलोको रुपमा, सरलता, सहजता र स्वभाविक रुपमा देख्ने र बुभ्mने कोसिस गर्दछ यस दृष्टिले । जीवनमा आइरहने सबै कुराहरु केही समय र कालका लागि विशेष प्रभावी भएर देखा पर्ने, मानसिक तथा भौतिक रुपमै असर गर्ने तर फेरि विस्तारै सहज बन्दै जाने र पछिल्लो त्यस्तै विषयमा प्रवेश गरिसक्दा अघिल्लो विषय वा घटना सहज र सामान्य लागिसक्ने हुन्छ । जीवन बचाइको यस व्यावहारिक सत्यतामा विषयले पार्ने क्षणिक प्रभावको तात्कालिक अनुभूति र केही कालपछि त्यसैले बोध गराउने सामान्यतालाई हेर्ने दृष्टिकोण लीला हो ।

आपूmसँग सरोकार रहेको कुनै पनि कुरालाई तत्काल हामी अत्यन्त गम्भिरताका साथ ग्रहण गर्दछौं । त्यसमा हाम्रो प्रतिष्ठा जोडिएको हुन्छ, त्यसै बेलाका लागि त्यो हाम्रो सबैभन्दा पछिल्लो र महान उत्तरदायित्व बनेको हुन्छ । सबै कुरा विर्सिएर त्यागेर त्यसकै निम्ति सम्पूर्ण समय दिइरहेका हुन्छौं । तर त्यसको पनि त निश्चित समय हुन्छ, अवधि हुन्छ । त्यसैभित्र त्यस कुराले आप्mनो प्रभाव ग्रहण गर्ने वा गुमाउने गरिसक्छ । केही कालपछि त्यो विस्तारै प्रभावहीन र निस्कृय हुँदै जान्छ र त्यसलाई हेर्ने र बोध गर्ने हाम्रै दृष्टिकोण पनि पहिलाको भन्दा भिन्न हुनथाल्छ । नयाँ विषयले हाम्रो दिनचर्यामा प्रवेश गरिसक्दा पुरानो विषय सामान्य लाग्ने र तात्कालिक नयाँ विषयले प्रतिष्ठाको रुप धारण गरिसकेको हुन्छ । स्थिति र समय अनुसार वस्तुले पाउने मूल्य र गुमाउने मूल्यको अवस्थालाई लीला मानिएको छ । कत्रो महत्वले बुझेको कुरा त केही पो होइन रहेछ भन्ने आफैंलाई थाह लागेको दिन बितेको त्यो स्वचेतना एउटा क्षणीक आवेग र उत्तेजनाको रहेछ भन्ने ज्ञान बोध हुँदा त्यो वस्तुप्रति हिजोको आप्mनो विश्वास र आजको आप्mनो दृष्टिका बीचको भेदको स्थिति लीला हो । अर्थात कुनै काल विशेषमा कुनै वस्तु वा विषयलाई हामीले प्रदान गरेको शक्ति त्यो अवधिपछि आफैंलाई मिथ्या लाग्नु, बेकार लाग्नुको चेतलाई लीला भनिएको छ । उदाहरणका लागि फुटबल खेललाई लिन सकिन्छ ।

एउटा निश्चित लम्बाई चौडाईको मैदानमा केही मानिसहरु खेल्न व्यस्त छन् । दुबैतिर गरी बाइस जना खेलाडी छन् । एकजना अम्पाएर छन् । बीचमा एउटा हावा भरिएको डल्लो छ । जसलाई एक पक्षले अर्को पक्षको गोलपोष्ट भित्र छिराउनु पर्छ । त्यहाँ खेलको कडा नियम छ । कसैले दाँयातिरबाट मात्र खेल्न पाउने, कसैले बाँयातिरबाट, कसैले बीचमा मात्र खेल्नुपर्छ । कोही जता पनि पुग्न पाउँछ । कसैले आप्mनो निश्चित घेराभन्दा पर गएर गोल हाल्न पाउँदैन । कसैले हातले समात्न पनि पाउने, जे गर्न पाउने । कसैको हातले छोएमा प्यानेल्टी हुने र विपक्षीले कुनै बाधा विरोध बेगर नै सिधै पोष्टमा गोल हाल्न पाउने । किनारतिर लाइन्समेनहरु त्यत्तिकै तीखा आँखाले हेर्दै हुन्छन्, अलिकति तलमाथि हुनासाथ राता झण्डा उठाउँछन् । अम्पायरले नदेखेका फल्टहरु तिनीहरुले देखाइदिन्छन् । अम्पाएर अन्तिम निर्णायक हुन्छ–शासक । मैदान बाहिर हजारौं लाखौं दर्शकहरु एउटाएउटा पक्ष बनाई अत्यन्त लगन र जोशका साथ खेल हेरिरहेका हुन्छन् । त्यसबीच उनीहरुले आप्mनो व्यक्तिगत जीवन र कर्मलाई सम्पूर्ण रुपमा भुलेर जीवनको सबैभन्दा महत्वपूर्ण र अन्तिम काम नै त्यो खेल हेर्नु र आप्mनो पक्षले जितेको हुनु हो सोचिरहेका हुन्छन् । खेल्नेहरुको पनि यथार्थ र सबैभन्दा वास्तविक जीवन त्यही नै हुन्छ ।

खेल खेलिरहेका बेला एक अर्काप्रति खेलाडीहरु बीच दुश्मनीय भावले काम गरिरहेको हुन्छ । द्रष्टाहरुका बीच पनि एक आपसमा पक्षधरताका कारण विरोधी भाव उत्पन्न भई विवाद र रिसारिस पनि भइरहेको हुन्छ । एकप्रकारको उत्तेजनाको स्थिति हुन्छ त्यो, तर जब नब्बे मिनट पछि खेल सकिन्छ– मर्किएका खुट्टाहरु दुख्न थाल्छन्, अघिको जीत हारको भावना विस्तारै शान्त बन्दै जान्छ– दर्शकहरुले पनि आ–आप्mना घर व्यवहार र कामहरु सम्झन थाल्छन् । अनि आफैं मूल्याङ्कन गर्दै हुन्छन्– त्यो त एउटा खेल पो थियो । निश्चित समय र नियमभित्र खेलिएको । त्यो नै सबैथोक कहाँ थियो । खेलको कुरालाई हामीले जीवनमा किन दोहो¥याएर लिने आदि ।

अर्थात ः– स्थान र समयबाट टाडिएपछि त्यसको प्रभाव स्वतः कम हुँदै जान्छ र केही कालपछि त्यो सहज र स्वभाविक हुन्छ । अघिल्लो विषय सहज र स्वभाविक भइरहँदा पछिल्लो विषयले फेरि उसैगरि प्रभावित गरिरहेको हुन्छ । जीवनको यस गतिशीलतामा निकटताको प्रभावले हामी सदा ग्रस्त छौं । यो क्षणिक निकटताको क्षणिक प्रभावलाई त्यस क्षणबाट मुक्त भइ हेर्दा देखिने मिथ्यात्व नै लीला हो । घटना छ, प्रभाव छ तर त्यो अब निस्प्रभावी भएर रहेको हुन्छ — खालि स्मृतिमा र विचारमा मात्र । वस्तुको तात्कालिक महत्व केही कालपछि आफैं शिथिल हुँदै जानु र त्यसले काम गर्न छोड्नुको चेतनालाई लीला बुझियो । अथवा – देख्दा अत्यन्त गम्भिरतम कुरा छ तर ज्यादै क्षणिक र भ्रमित छ । अन्तिमता मान्यो—हुँदैन । टुङ्गियो भन्यो–हुँदैन । समय सँगसँगै विषय मर्दै जानु र त्यसको प्रभाव स्वतः निष्कृय हुनु तर, त्यसको सक्रियकालमा त्यसमाथि हामीले राखेको अन्तिमता, त्यो होइन रहेछ भनी आज बोध हुनु लीला चेतना खुल्नु हो । विश्वासहरु मर्दै, भत्किँदै जानु, फेरि नयाँ विश्वासहरु पलाउँदै जानुको यो स्थितिलाई लीला मानियो ।

पूर्वीय जीवन र दर्शनको “लीला” शब्द अत्यन्त सरल र व्यावहारिक छ । साधारणभन्दा साधारण मानिसले पनि यसको अर्थलाई बुझ्दछ । एउटै वस्तुका अनेकौं रुप, गुण र विशेषताहरुलाई लीलाको अर्थले हेर्ने गरिन्छ । रुढताको विरुद्धको चेतना पनि हो लीला भनेको । तर पनि परिभाषा नै दिनुपर्दा लीलाको परिभाषा नै स्वयं रुढ बन्न जाने हुनाले यसलाई परिभाषाले भन्दा विशेषताले बुझ्नु सजिलो होला भन्ने ठान्छौं ।

१३) लीला लेखन र उत्तर आधुनिकतावादी लेखन कहाँबाट छुट्टिन्छ ?

उत्तरआधुनिकता भन्ने अलग्गै बेग्लै कुनै विषय होइन । यो त सन् १९६० पछि पश्चिममा चलेका विभिन्न प्रयोगहरुको एउटा सामूहिक नाम हो । यो नाम पनि विभिन्न ठाउँमा विभिन्न ढङ्गले प्रयोग भइरहेको छ । साहित्यमा मात्र नभई अन्य क्षेत्रमा पनि यसको प्रभाव छ । राजनीति, कला, व्यापार, आदि हरेक क्षेत्रमा यो पसेको छ । साहित्यमा यसले अनेकौं प्रस्तुतिका ढङ्गहरु र चिन्तनशैलीहरु लिएर आएको छ । खासगरी वस्तुलाई हेर्ने कुनै रुढ दृष्टिकोणका विरुद्ध यो छ । यसले कुनै कुरालाई पनि यथास्थितिका रुपमा स्वीकार गर्दैन । त्यसको संरचनापक्षमै के स्थिति छ– त्यहीँबाट शुरु गर्दछ – सोच्न । खास गरी उत्तर आधुनिकता प्रभावित छ— पश्चिमी जीवन दर्शनबाट, पश्चिमी सभ्यता र संस्कृतिबाट ।

लीलालेखन पनि त्यही कोटीको चिन्तनप्रविधि हो । उत्तरआधुनिकताले बोलेका, भनेका र संकेत गरेका कैयौं कुराहरुसँग यो मिल्दछ । उत्तरआधुनिकताका संकेतहरु यसले पनि ग्रहण गरेको छ तर त्यसका अतिरिक्त पूर्वीय जीवनपद्धती, जीवनदर्शन र इतिहासलाई विशेष ढंगले हेर्न थालेपछि यसले आप्mनै नयाँ नाम पाएको छ र उतापट्टि चलेको भन्दा केही भिन्दै पारा यसमा विकसित भएको छ ।

आज पश्चिमीहरुले विकास गरेको शैली र प्रविधिहरु हामीसँग यस अघि थिए–थिएनन् ? हाम्रो सभ्यताको धरातल कुन हो ? हाम्रो चिन्तनको प्रस्थानविन्दु हाम्रै इतिहासको आधार बन्न सक्छ–सक्दैन भनी खोजी गर्न थाल्दा पश्चिमीहरुले आज भन्दै गरेको कुरा र प्रविधि हाम्रामा हजारौं वर्ष पहिलेदेखि नै विद्यमान रहेछ । उनीहरुको आजको प्रयोगसँग तुलना गर्दै हाम्रो हिजोबाट झन्–झन् रमाइला तरिकाहरु हेरिरहेका छौं । नितान्त नयाँ आविष्कार यो होइन । यो त सभ्यताको निरन्तरता र पुनरुक्ति पनि हो । उत्तर आधुनिकता र लीलालेखनमा हेर्दै देखिने अलग्गै रङ्ग छैन तर, विस्तारै यसभित्र पस्दै गएपछि ठूलै अन्तर अनुभूत हुन्छ । शब्दाङ्कुर वर्ष ५, अंक २ मा प्रा. राजेन्द्र सुवेदीद्वारा लिखित “उत्तरआधुनिक बिम्बहरुमा आभासः पूर्वीय समीक्षाशास्त्रका सन्भर्दमा” लेखले धेरै कुरालाई प्रष्ट पारेको छ ।

१४) स्थानिक, सामाजिक र सांस्कृतिक विशिष्टताहरुमाथि विश्वव्यापीकरणका प्रभावहरुको दबाबका सम्बन्धमा लीलालेखनको कुनै खास सरोकार छ कि छैन ?

विश्वव्यापीकरण प्रविधिमूलक छ । विज्ञानले विकास गरेका सरलतासँग यो जोडिएको छ । साधारणभन्दा साधारण मान्छेले पनि जीवनलाई सजिलो ढङ्गले चलाउन पश्चिमी वैज्ञानिक प्रविधिबाट प्राप्त गरेको छ । आदर्शमा, कल्पनामा र आद्यविश्वासमा बाँची आएको हाम्रो सभ्यतामा एकाएक पश्चिमले विकास गरेका सरल प्रविधिहरु प्रवेश हुने वित्तिकै हाम्रा कैयौं सांस्कृतिक, सामाजिक जीवनशैलीहरु नै परिवर्तन हुन पुगेका छन् । जीवन बाँच्ने सजिलो तरिकाबाट प्रभावित नहुने कुरै आउँदैन । संसारभरि नै एकै खाले बृहत् प्राविधिक संस्कृति स्थापित हुन पुगेको छ । तर पनि त्यसले पूर्ण सन्तुष्टि दिन सकेको छ्रैन । अर्काको जति राम्रो, चम्किलो र सफा भए पनि आप्mनैपनको खोजी जसलाई पनि भइरहन्छ । त्यसै भएर विश्वव्यापीकरणको यो मेलभित्रै कतै आप्mनै मौलिक र सांस्कृतिक ठुटाठुटीतिर समाज अल्झेर नबग्न खोजिरहन्छ ।

विश्वव्यापीकरणको यो लोकप्रिय शब्दसँगै डरलाग्दो शोषणको बीउ पनि लुकेको छ । पश्चिमी मुलुकहरुले विभिन्न समयमा विभिन्न नामले शासन गरी आइरहेकै छन् । वैज्ञानिक उपलब्धिबाट प्राप्त सम्पन्नताद्वारा अन्य पिछडिएका मुलुकहरुमा शासन गर्न खोज्नु उनीहरुको प्रयत्न पनि अनैतिक होइन ।

लीलालेखनले प्रत्येक व्यक्ति र वस्तुको स्वतन्त्र अस्तित्वको अध्ययन गर्दछ । कुनै खास विशिष्टताद्वारा छोपिनु, बाँधिनु वा उसको आप्mनै अर्थहरु उत्पन्न हुने माध्यमको समाप्ति स्वीकार गर्दैन । प्रत्येक व्यक्ति वा वस्तु आफैंमा वस्तुतायुक्त छ, त्यसले कहिले के अर्थ पाउँछ, कहिले के ! तर उसको आप्mनै अलग्गै वस्तुतापन भने सदा कायम नै रहेको हुन्छ । प्रत्येक व्यक्तिको वैयक्तिक स्वतन्त्रता जस्तै समाज, संस्कृति र स्थानीयताको पनि आफ्नै धरातल हुन्छ । त्यसलाई नै नबुझी विश्व बुझ्न खोज्नु आफैं हाँस उठ्दो हुन जान्छ । सबैको आ–आफ्नै अर्थ र स्थापना “स्वतन्त्र” हुने भएकाले बाहिरबाट प्रभावी भई आएको कुराको मात्र पूर्ण शासन हुन सक्दैन । अलग्गै देखिने, चिनिने कुराहरु त अलग्गै नै त हुन्छन् । आप्mनै सांस्कृतिक, सामाजिक, विशिष्टताले अरुभन्दा भिन्दै भइरहेको हुन्छ समाज । जातीय नश्ल र सचेतनाले समेत अलग भइरहेकै हुन्छ । त्यसलाई अन्तर्राष्ट्रियवाद र विश्वव्यापीकरणले छोप्छ वा छोप्छु भन्नु पनि कुनै भावुक र रुढ अभिव्यक्ति नै मान्छौं हामी । प्रत्येक वस्तु वा व्यक्तिको स्वतन्त्र अस्तित्वको अध्ययन गर्ने लीलालेखनले कुनै पनि प्रकारको रुढता स्वीकार गर्दैन ।

ठूला देशहरुले सम्पन्नताको अहम्का साथ आप्mनै कुरा मान्न संसारलाई बाध्य पार्ने यो मनोवैज्ञानिक शैली त्यति व्यावहारिक छैन पनि । विश्वव्यापीकरणले आप्mनो विचार मात्र अर्कोमा थोपर्ने तर उसको चाहीँ स्वीकार नगर्ने जुन रणनीति अख्तियार गरेको छ, त्यसैले गर्दा त्यो असफल हुन्छ । उसले बेचेकै प्रविधिलाई आप्mनो अनुकुल बनाउँदै स्थानीयता उठिरहेको छ । लीलालेखन– क्षेत्रीय, जातीय, राष्ट्रिय वा यस्तै अनेकौं सीमाहरुको चौकिदार होइन तर ती सबैको अस्तित्वको मौलिक उभ्याई हुँदै बाँचिरहेको हुन्छ भन्ने मान्यता बोक्दछ ।

१६) तपाईंहरु सामु रहेका चुनौतीहरुबारे संक्षिप्तमा बताइदिनु हुन्छ कि ?

हामीलाई त्यस्ता खासै चुनौतीहरु केही पनि छैनन् । किनभने हामीले भनिरहेको कुरा हाम्रो मात्र, हामीले आविष्कार गरेको, हाम्रै पेटेन्ट राइट हुनुपर्ने भन्ने छैन । यो त मानवसभ्यता सँगसँगै विकसित हुँदै आएको कुरा हो । यसलाई हामीले सजिलोको लागि एउटा नाम मात्र दिएका हौं । यसमा पूर्व र पश्चिमले विकास गरेका कैयौं चिन्तनहरु व्यावहारिक रुपमा समाविष्ट छन् । संसारमा एकदम नै नयाँ, मौलिक र हुँदै नभएको भन्ने वस्तु नै हुँदैन, यदि कुनै वस्तु अस्तित्वमा छ भने यो अरु कैयौैं कुराहरुको समावेशीताबाट उभिएको हुन्छ । लीलालेखन पनि मानवसभ्यता र परम्पराकै एक निरन्तर यात्रा हो । यसले आज भनिरहेको कुरा भनेको हिजो अस्ति नै अरु कत्तिले कत्तिपल्ट, कत्ति ठाउँमा भनिसकेकै कुरा हुन् । हामी मौलिकतालाई अस्वीकार गर्छौं । एक्लै स्वतन्त्र र मौलिक भन्नु केही हुँदैन । हामीले आज पहिलोपल्ट त्यसलाई देखी आश्चर्य प्रकट गर्दै नयाँ, नौलो र मौलिक ठाने पनि तर त्यो विगतमा कैयौंपल्ट, अरुअरु पात्र, घटना र स्थानहरुमा उपस्थित भइसकेको हुन्छ । एकछिन नयाँ लाग्नु र उपयोगितामा सुगम अनुभूत हुनु हामीलाई क्षणिक सन्तुष्टि मात्र हो ।

तर पनि केही निकै नै तीखा आलोचना र तिरस्कारहरु पत्रपत्रिकाहरुमा पढ्न पाइन्छ । कतै “खुइते लीला” कतै “लीलाको लंगौटी” कतै “उत्तरआधुनिकता र विनिर्माणवादको नेपाली संस्करण” जस्ता शब्दावली र वाक्यहरु सगौरव उपस्थित हुन्छन् ।

सदा अर्काले पस्किदिएको परिकार खाई सन्तुष्ट हुने बानी परेको बौद्धिकतालाई यस्ता शब्दावलीहरु प्रयोग गर्नु सुहाएकै देख्छौं । आफैं केही सोचौं, गरौं– आफैंभित्र पनि केही छ कि खोजौं भन्ने अनुसन्धानीय चेत नै नहुने र अरुकै तयारी मालबाट चित्त बुझाउने बौद्धिकतालाई दया गर्नु हामीले कर्तव्य सम्झेकाछौं ।

१८) साहित्यमा मोफसलको मान्यतालाई मान्नु हुन्छ ? राजधानी बाहिर रहेर लेख्नुको चुनौती र अवसरहरुबारे बताइदिनु हुन्छ कि ?

मोफसलमा उभिएर राजधानीतिर हे¥यौं भने यस्तो स्थिति छ । तर यो कुरा हाम्रो देशमा मात्र होइन संसारभरि नै रहेको छ । साधन र सुविधाको उपस्थितिसँग यो जोडिएको छ । जति नै विकसित मुलुकमा पनि राजधानीले नै बढी सुविधा उपभोग गरेकै हुन्छ तर हाम्रो जस्तो मुलुकमा चाहीँ राजधानीको ज्यादती अलिक बढी नै देख्छौं । सामान्य सम्भावना भएका अधिकांश मानिसहरु गाउँ छोडेर राजधानी पुुगेका छन् । राजधानीमा अत्याधिक चाप परेकाले देशभरी पु¥याउनु पर्ने सुविधा राजधानीमै खपत हुने गर्छ, जसले गर्दा देशको अरु भाग सदा नाङ्गो छ । विकासका सबै खाले सम्भावनाहरु राजधानीमुखी छन् । विश्वको आधुनिकतम सुविधा भोगिरहेको राजधानीको बाँकी भाग आदिम बरबरताको शिकार भइरहेकै छ ।

राजधानीबादले सबै क्षेत्रमा असर गरे जस्तै साहित्यमा पनि गरेकै छ । राजधानीभित्र पनि राजधानीका आदिबासीहरु मोफसलको स्थितिमै छन् । मोफसलबाट राजधानी पुगेकाहरुले त्यहीँका आदिबासीहरुलाई समेत उठ्न दिएका छैनन् । पत्रपत्रिका, रेडियो, टेलिभिजन, कम्प्यूटर, प्रकाशन, पुरस्कार, सम्मान, आदि कुराहरु अधिकांश राजधानीमै खपत भएको हुन्छ । बाहिरबाट त्यहाँ प्रतिनिधित्व गर्ने अवसर एकदम नै कम हुन्छ । बाहिरबाटै राजधानी पुगेकाहरुले राजधानीलाई राजधानी बाहिर हेर्न दिँदैनन् ।

राजधानी बाहिर बसेर लेख्न सबैभन्दा सुगम छ तर अध्ययनका लागि आपूmले चाहेको बेला, चाहेका पुस्तकहरु पढ्न पाइँदैन । ठीक समयमा प्रकाशन हुनुपर्ने सामग्री प्रकाशन गर्न पाइँदैन । प्रकाशित भएका कति सामग्री पढ्न पाइँदैन । मोफसलका कत्रा ठूलाठूला समाचारहरु राजधानीले थाहै पाउँदैन, राजधानीको कुनै कविको डेरामा भएको सानो भेटघाटले पनि आवरण पृष्ठमा तस्वीर सहित प्रकाशित हुन पाउँछ । राम्रै लेखकलाई पनि राजधानीले जिल्लास्तरीय मानक प्रमाण जीवनभरि दिइरहन्छ जस्तै ः विराटनगरका कवि भानुभक्त पोखरेल, कृष्णभूषण बल, पोखराका कवि तीर्थ श्रेष्ठ, पाल्पाका निबन्धकार चोलेश्वर शर्मा, झापाका साहित्यकार चूडामणि रेग्मी आदि । तर कीर्तिपुरका समालोचक मोहनराज शर्मा, ललितपुरका साहित्यकार कमलमणि दीक्षित, भक्तपुरका कथाकार ध्रुव मधिकर्मी, चुनदेवीका उपन्यासकार ध्रुवचन्द्र गौतम, धुम्बाराहीका कवि बैरागी काइँला, बबरमहलका कवि ईश्वरबल्लभ भनेको कहिलै सुनिंदैन ।

१९) वर्तमान नेपाली साहित्यको सबल र कमजोर पक्षहरु के–के हुन् ?

नयाँ पुस्तामा चेतनाको उर्जा प्रवाहित भएको देख्छु । केही नयाँ गर्न जुर्मुराउने ठूलो पल्टन देखिन्छ । देशभरि नै यो लहर चलेको छ । व्यवसायका अरु क्षेत्रमा झैं साहित्यिक क्षेत्रमा पनि उत्साह र प्रतिष्पर्धा जागेको छ । यसले निश्चय नै राम्रो फल देला नै । दुर्बल पक्ष भन्नु – अस्वस्थ्य प्रतिष्पर्धा, गाली गलौज, नक्कल र अप्राकृतिक अहम्बोध देख्छु । सिर्जनात्मक प्रतिष्पर्धाको यात्रामाभन्दा होहल्लाद्वारा स्थापित हुने प्रयत्न देखिन्छ । कालान्तरसम्म नपुग्ने बाटोतिर पनि हामी पसिरहेछौं, कुनै अप्ठ्यारो भित्तोमा ठोकिएर पंmसिरहेछौं । सबैभन्दा कमजोर पक्ष भनेको रुढबोधन वा रुढ चिन्तन रहेको छ । परम्परादेखि चलेर र मानेर आएको विश्वासलाई अकरिलो गरी समातेर भए पनि झुण्डिरहेको नेपाली प्राज्ञिकता शत्तामा लेउझैं टाँसिएकाले यो स्थिति कायम छ तर समयले सबै धारको पाइन खान्छ ।

२०) लोकतन्त्र स्थापनाहेतु साहित्यकारहरुको वर्तमान भूमिकालाई यहाँले कसरी लिनु भएको छ ?

असल साहित्यको सिर्जना मुक्तलेखनबाट मात्र सम्भव छ । मुक्तलेखन गर्न मुक्त वातावरण चाहिन्छ । लोकतन्त्र बेगर मुक्तता सम्भव छैन । व्यक्तिगत प्रशंसा र भाटगिरी साहित्यमा परम्परागत शैली हो । आज पनि कति सम्पादकहरु व्यक्तिप्रशंसाका अंकहरु प्रकाशन गर्दै समय बिताइरहेका छन् । हिजो उग्र प्रजातन्त्रवादी भई देखापरेकाहरु आज दरबार नजिकका शक्तिको खोजीमा लागिरहेका पनि छन् । साहित्यकारहरु नै बिन्तीपत्र पनि चढाइरहेका छन् । यस्तो बेलामा नै हो यथार्थता दृष्टिगत हुने ।

नेपाली प्रजातान्त्रिक आन्दोलनमा साहित्यकारहरुको योगदान ऐतिहासिक नै छ । कृष्णलाल अधिकारी साहित्यिक सहीद हुन् । लक्ष्मीनन्दन चालिसेले विचार प्रस्तुतिकै दण्ड वापत ज्यान गुमाएको हो । २००७ सालपछि त झन् ज्यादा लडाईं साहित्यकारहरुले लडेकै छन् । २००८ सालमा स्थापित नेपाली लेखक संघ र प्रगतिशील लेखक संघहरुले संस्थागत रुपमा संघर्ष गरी आइरहेकै छन् । साहित्यिक आन्दोलनका रुपमा मात्र होइन खुलेर राजनैतिक आन्दोलनमै कविहरु हिंडेकै हुन् । २०३६ सालमा सडक कविता क्रान्ति, २०३८ सालमा सडक नाटक, २०४० सालमा भोक कविता, २०४६ सालमा कालोपट्टी, धर्ना, जुलुस आदिहरु गरिएकै हो । अहिले पनि लोकतान्त्रिक स्रष्टाहरुको साझा मञ्च स्थापना गरी राजधानीबाटै यो अभियान प्रारम्भ भएको छ । गाउँगाउँमा पनि साहित्यकारहरु संगठित भइरहेका छन् ।

यस्तो बेलामा कुनै पनि लेखक यदि ऊ कसैद्वारा उभ्याइएको बुख्याँचा होइन भने हातमा टोपी लिएर सडकमा पुगिसक्नु पर्छ ।

२१. तपाईंका कुन कुन कृतिहरुमा लिला लेखनको प्रभाव पाईन्छ ?

मेरा शरणार्थी, राधा, तपाइँ, टुँडाल, झोला, र निबन्धहरुमा लीलाको प्रभाव भेटिन्छ ।

२२.तपाईंको दृष्टिमा साहित्य के हो ?

जीवनको कलात्मक अभिव्यक्ति हो ।

२३.लेखकहरु किन र केका लागि साहित्य सिर्जना गर्दछन् ?

उत्तर अनेक हुनसक्छन्, मलाई लाग्छ–उनीहरु आफू भित्रको मानसिक कब्जीयतबाट मुक्तिका लागि लेख्ने गर्छन् ।

२४.अहिलेको बदलिंदो राष्ट्रिय परिवेशमा कस्तो खालको साहित्य सिर्जना गर्नु पर्ला ?

दिनप्रतिदिन मानिसमा बढिरहेको जातीय र संकुचित क्षेत्रीय भावनाबाट विश्व मानवचेतनाको बोध गराउन सक्ने साहित्यको खाँचो देख्छु ।

२५.अहिले नेपाली साहित्यको पाठक र बजार कतिको बढेको छ ?

हो, नेपाली साहित्यका पाठकहरु प्रशस्त बढेका छन् । बजारमा देखिएको पुस्तकको बिक्रीबाट यो अनुभव भइरहेको छ । सरदरमा सबै खाले पुस्तकको बजार राम्रो हुँदै गएको देखिन्छ ।

२६.तपाईं अहिले केही समय अघि गठन भएको नेपाल साहित्य रोयल्टी समाज को संयोजक हुनुहुन्छ । यो संस्थाको मुख्य उद्येश्य के हो ?

नेपालमा लेखकहरुले पाउने रोयल्टीको कुनै राम्रो व्यवस्था छैन ।लेखकको स्वीकृति बेगर नै कृतिका अंशहरु जथाभावी पुनर्मूद्रित भइरहेका हुन्छन् । त्यस अव्यवस्थाको व्यवस्थिकृत गर्नकका लागि यो संस्थाको स्थापना गरिएको छ ।

२७.नेपालमा प्रतिलिपि संरक्षणको प्रभावकारी कानून र त्यसको कार्यान्वयन पक्ष दह्रो नभएको अवस्थामा त्यस संस्थाले के गर्ला ?

त्यसै कानुनलाई कार्यान्वयन गराउनकै लागि यो संस्थाको परिकल्पना गरिएको हो ।

२८.नेपाली साहित्यमा पनि अन्तर्राष्ट्रिय स्तरका लेखिएका छन् ?

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय भाषामा अनुवाद गरेर विदेशी पाठकहरु माझ पु¥याउनसक्नु हाम्रो कमजोरी हो । भाषान्तर भएर जान नसके पनि यसले आफ्नो स्तरलाई विश्व साहित्यको दाँजोमा उभ्याउन सकेको छ ।

२९.नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान के गर्नु पर्ला ?

पहिला त आजसम्म लेखिएका कृतिहरुलाई अन’वाद गरेर संसारका पाठकहरुका आँखामा पु¥याउनु पर्छ । साहित्यलाई पनि व्यवसायिक र जीविकाको साधन बनाउन सक्नु पर्छ । पठन संस्कृतिको बिकास गर्नुपर्छ । लेखेर पनि जीविका हुने विश्वास भएमा लेखकहरुले अझ मेहनत गर्नेछन् र हाम्रो साहित्य पनि अन्तर्राष्ट्रिय मार्गमा यात्रा गर्न थाल्ने छ ।

३०.अन्तमा समकालीन साहित्य डट कम मार्फत विश्वभर रहेका नेपाली साहित्यका पाठकहरुलाई केही भन्नु छ कि ?

विश्वभरि छरिएका नेपाली साहित्यका पाठकहरुसंग नेपाली लेखकहरुले दुइटा कुराको आशा गरेका छन् । एउटा– लेखिएका नेपाली कृतिहरु पढिदिनु हुनेछ । दोस्रो– नेपाली साहित्यका उत्कृष्ठ कृतिहरुलाई अन्य भाषामा अनुवाद गरि विश्व बजारमा पु¥याउन मद्दत गरिदिनु हुनेछ । त्यति भए पाठकको इच्छा अनुसार नेपाली लेखकहरुले यथेष्ट लेखन गर्न सक्ने छन् । के यो वातावरण मिलाउन समकालीन साहित्य डट कमले मद्दत गर्न सक्ला ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।