19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नारी

कविता साबित्रा काफ्ले November 29, 2009, 3:29 pm

ऊ एउटा सपना बाँच्छे

दिनभरि जीवन बुन्छे

बाँझो खेतहरुमा

रातभर बेदनाको खेती गर्छे

सम्झौताको आलीहरुमा

र बिहानसँग पुकार गर्छे

भरेको साँझ त

जून उदाओस आँगनीमा ।

ऊ एउटा सभ्यता बाँच्छे

र समर्पणमा मौनता हाँस्छे

अन्जान परिधीहरुमा

ऊ आफू हुनुको अर्थ जान्दिन

जिउनुको सार्थकता भेट्दिन

र धिक्कार्छे हरेक सन्ध्यामा

एकजोर बत्तीको निरीह उज्यालोमा

पलायन जिन्दगी ।

ऊ मनुस्मृती जान्दिन

तर जान्दछे लुकाउन आफूलाई

आफ्नै ब्यथाहरुको चौतारीमा

उकाली चड्छे अनुरागहरुको

एउटा उत्कण्ठा बोक्छे

तर बदलामा

उभिन्छन कहालिलाग्दा आगमनहरु

भन्झ्याङमा ।

अष्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।