19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बयस्क इच्छाहरु

कविता बलदेव भट्ट 'बिहानी' November 30, 2009, 8:21 pm

मान्छेमाथि मान्छेका पर्खालहरु

यत्र-तत्र साइनाइडको घैंटो बोकेर

सामुहिक आत्महत्याको बिजारोपण गर्दैछन,

मैदानमा निथ्रुक्क भिज्दै मृतकहरुका घरसम्म

छाता माग्न दौडिदैछन एकहुल कालभैरवहरु !

बयस्क इच्छाहरु कामातुर फूलका मैदानहरूमा

आफ्ना भत्केका अनुहारहरु खोज्दैछन

उपसर्ग र प्रत्ययहरुका ऐनाभित्र

आफ्ना इच्छाहरु नियाल्दैछन,

दुर्घटनाका आँखाहरु निला सपनाहरु बोकी

लोभ्याउदैछन सृष्टिका चलायमान पाइलाहरु !

आकारको निम्ति धरातल चाहिन्छ

धरातलबिहिन दाँतको कडापन क्षय हुँदै

ओठका परिधिभित्रै आफ्नो चिहान खोज्दैछ

बिचारहरुको निरीह सहिछाप लगाएर

पूर्णबन्न सक्दैन आकारको धुमिल साम्राज्य!

म एम्बुसका मैदानहरुमाथि

एकहुल मानिसहरुका पदचाप बोकेर दौडिदैछु

मेरो किनारका बालुवाका घरहरुमा

नदिका छालहरुलाई आमन्त्रित गर्छु,

यस बस्तिको नालायक पात्र म

विष्फोटक तर्कहरुसँगै नयाँ बस्तिखोज्दै छु!

तमोरका छालहरूसँग पानीको रंग नियाल्दै

स्वप्निल आँखाहरु सूदुर समयसँग

एकाकार गर्जनहरुको पैंचो मग्दैछ्न,

सुखद दुर्घटनाहरुको घडी पर्खिदै

पुष्पगुच्छाहरुमा लहराउँदो छ

मेरो देशको स्वर्णिम साहित्य !

सिंगापुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।