19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दुःखको वर्णमाला

कविता केशव सिलवाल December 3, 2009, 2:49 pm

वर्षौंदेखि घोकिरहेका छौँ

जोसुकैले पढ्न नसक्ने

यो दुःखको वर्णमाला

त्यति सहज हुँदैन

दुःखका अक्षरहरु पढ्न

बाहिरजस्तो देखिए पिन

अर्कै हुन्छन् भित्रका अक्षरहरु

हिमाल र पहाडका अक्षरहरु पढ्न

आफैँ हिमाल र पहाड बन्नुपर्छ

बगर र नदीका अक्षरहरु पढ्न

आफैँ बगर र नदी बन्नुपर्छ

के भन्छन् हँ

घामका यी अक्षरहरु

के अर्थ बोक्छन् हँ

पानीका यी बूँदहरु

कसको स्वतन्त्रताले आत्महत्या गरेको छ

आकाशको विशाल अक्षरको हाँगामा

कस्ता अक्षरहरु खोपिएका छन्

भरियाको ढाडमा

कस्ता अक्षरहरु लेखिएका छन्

आमाको छातीमा

युगौँयुगदेखि पढिरहेका छौँ

हिमालको चिसोले

गालामा खोपिएका चिसा अक्षरहरु

मधेसको समथर फाँटमा

रगत र पसिना एक गरेर

निरन्तर पढिरहेका छौँ

बाढीले थुपारेका घामका काला अक्षरहरु

नाक ठोकिने भीरहरुमा

वर्षौंदेखि पढिरहेका छौँ

अभावका आकाश छुने अक्षरहरु

यी यसरी वर्षौंदेखि पढिरहेका छौँ

भोक र तिर्खाका अक्षरहरु

कसरी अनपढ भयौँ हामी ?

वर्षौंदेखि घोकिरहेका छौँ

जोसुकैले पढ्न नसक्ने

यो दुःखको वर्णमाला

के एक निमेषमा पढ्न सकिन्छ देश ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।