19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फ्युजन् प्रतिबिम्व !

कविता अशोक पार्थिव तामाङ December 8, 2009, 12:49 pm

अचेल

जुलुस गर्न खोज्छ

मेरो सिरानीनेर

एउटा

फ्युजन् प्रतिबिम्व !

बस्ती-बस्तिका इट्टाहरु ,

चोइटिएर भिख माँगीरहेछ ,

खै कस्ले उठाउँनेर ?

बिजुलीका खम्बाहरु !

सावाखोला र ब्वाँजरखोलाहरु

मसानघाट फैलाउने अठोटमा ,

कात्तिकेको भिरहरु बगाँउछ ।

अनि

जुलुस गर्न खोज्छ

मेरो सिरानी नेर

एउटा

फ्युजन् प्रतिबिम्व !

युगका हातहरु

छर्लप्पै हत्केलामा गिँडिंन्दा

आकाशले आगो निल्छु भन्दै

बादललाई बटुलेर

चट्याँङ हिर्काउँछ ।

त्यस पछि

बस्ती बल्छ ,बस्ती बग्छ , बस्ती रुँन्छ

अनि

सहन नसकेर

जुलुस गर्न खोज्छ ।

मेरो सिरानी नेर

एउटा

फ्युजन् प्रतिबिम्व !

बिचारको मझधारमा उभिएर

पुलको सिमा नाँप्नु खोज्दा ,

यथार्थले बगाइ किनारामा तैरिँन्दा

एउटा सानो बाँसको

दाउराले पनि सम्मान माँग्छ ।

अनि

फेरि

मेरो सिरानीनेर

जुलुस गर्न खोज्छ

एउटा

फ्युजन् प्रतिबिम्व !

समयको बाछिट्टाहरूले चुटेर

निथ्रुँक्क पार्दा

पिडाँलु र मानेको झ्याँङहरूमा

ओतिन्छु भन्यो

हरेउ र सिरिष साँपहरू ,

स्वागत गर्न तम्सिन्छन् ,

अनि

त्यहि बेला

मेरो सिरानीनेर

जुलुस गर्न खोज्छ

एउटा

फ्युजन् प्रतिबिम्व !

गुफाहरू भित्र

सानो घाम बोकेर गयो

हुरी बतास हुँइकिन्छ

त्यहिंबेला निभाउँछ

मेरो टिनको

मट्टीतेलले बल्ने लालटेन ,

अनि

प्रत्युत्तरमा

जुलुस गर्नखोज्छ

मेरो सिरानीनेर

एउटा

फ्युजन् प्रतिबिम्व !

जब नयाँ लुगा र चस्माहरू नै

पुराना जंगली दिनको यादमा

मानव सभ्यताको ब्याख्या गर्छन्

मन भित्रका तितेसो वाक् गर्दै

अनि

संभावनामा

जुलुस गर्नखोज्छ

मेरो सिरानी नेर

एउटा

फ्युजन् प्रतिबिम्व !

बर्तमान कठघरामा

दोषी भएर उभिनुपर्दा ,

चील र गीद्दहरूले

परेवालाइ नै लखेट्दै मार्दा ,

भाग्य पिट्ने ह्याम्मरले

दलिंन भत्काउँन मन लाग्छ ।

अतः

भावावेषमा

जुलुस गर्न खोज्छ

मेरो सिरानी नेर

एउटा

फ्युजन् प्रतिबिम्व !

तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।