14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अनविज्ञ

कथा कोप बहादुर थापा December 19, 2009, 3:53 pm

ऊ सँग गत हप्ता कुरा भएको थियो ।

दुई दिन भयो , उस्को फोन नआएको । अन लाइनमा पनि देखा परेकी थिइन । मैले फोन गर्दा पनि उठाइन । हिजो बेलुकीसम्म पनि उस्को फोनको प्रतिक्षामा बसेँ । अह देखा परिन कतै । मन हुँडली रह्यो । अस्तिदेखी मनमा क्रोधले शासन जमाई रहेको थियो, उस्ले गर्दा । एस एम एस पठाएको थिएँ । एस एम एस खै कता पुग्यो फर्केन ।

विहानदेखी फोनमा संपर्क गर्ने कोशीस गरेँ । नेट्वोर्कले काम गरिरहेको थिएन । कमजोर नेट्वोर्कलाई गाली गरेँ । मन भत भती पोलिरह्यो । हिजो अफिसमा पनि कामै नगरि त्यसै फर्किएको थिएँ । काम गर्ने जाँगर नै मरेको थियो । के गर्नु अफिस त जानै पर्‍यो । उस्को किन एत्रो सम्झना ? म निरुत्तरित थिएँ । गाडीले होर्न बजाइ सकेको थियो गेटमा । मन नलाग्दा नलाग्दै पनि हिंड्नु परेको थियो ।

गाडीमा वसें । अरुहरु पनि थिए । गाडी हुइकिन थाल्यो । गाडीले बिस्तारै तिव्र गती मापन गर्दै थियो । मेरो मनमा पनि अनेकौ कुराहरुले तिब्र वेगमा छलाङ मार्दै थियो । ग्लानी , मोह , क्रोध आदि के के ले मनमा भुइचालो ल्यैइरहेको थियो । " आ मैले गल्ती गरेँ कि क्या हो ? " आँफैले आँफैलाई सोधें । " बिहे गर्ने बित्तिकै घर छोडेर हिंड्नु नपर्ने ।" अर्को मनले भन्दै थियो । आफ्नै भाग्य देखेर दु:ख लाग्यो । घ्रिणा जाग्यो आँफैदेखी । असह्य भयो थुक्न मन लाग्यो आँफैलाई । " थू " गरेर थुकें ।

" बाहिर थुक्नु पर्दैन ?" ड्राइभरले उच्च स्वरमा सात्तो जाला जस्तो गरेर बोल्दा म झल्याँस भएँ । तुरुन्तै " सरी सरी " भन्दै गोडाले लत पत बनाएर सुकाउने प्रयत्न गरेँ । ङिच्च हाँस्दै सबै तिर नजर डुलाएँ । अरुहरुले मलाई तीखो तिरस्कृत दृष्‍टि लगाए । म अलिक खुम्चिएँ । " पागल एस्तो पनि तेरो दिन ।" आँफैले आँफैलाई गाली गरेँ ।

गाडी बेगवान थियो । मेरो मन पनि बेगवान थियो ।

" यो कुदृष्टी लगाउने समाज नै ठीक छैन ।" मन एका एक पुग्यो समाजतिर ।

" छिमेकी हरु पनि ठीक छैन । शत्रु हरु ! अर्काको बारीमा राम्रो फूल देख्यो भने गिद्दे दृष्‍टि लगाउने ? सालाहरुलाई च्वाट्ट च्वाट्ट पार्नु पर्ने । " एक चोटि छिमेकहरु प्रति क्रोधित बन्यो मन । " गिद्देहरुको ललाई फकाइमा लाग्यो होला अनि आँखा पारीको माया छाया बराबर । कताबाट मेरो सम्झना ' आउनु त्यस्लाई ?" म मन मनै मुर मुरिरहेँ । " म चाँही उस्को लागि बिदेसिएर मरी मेट्ने । ऊ चाँही मेरो वस्ता नगर्ने । भेट्टाएं भने च्वाट्टै ।" म अपराधिक बन्दै थिएँ । अब मेरो हृदयलाई पनि पत्थर जस्तो कडा बनाउनु पर्छ । तर बिर्सु भन्छु सक्दिन । होइन , उस्ले बिर्सें पछी सम्झन निरर्थक छ । मैले बिर्सनै पर्छ । म सम्झन्न । जहाँ सुकै जावोस। अब टन्न पैसा कमाउने घर जाने अर्को बिहे गर्ने । त्यो मात्र छ र केटी ? अब त एक दुई तीन सम्झन्न । पापिनी निस्ठुरीलाई ।" मेरो मन द्रिढ हुँदा नहुँदै गाडी अफिसको ढोकामा रोकियो ।

म बनवटी हुन खोज्थें । तर भई रहेको थिएन ।

म रुझेको बिरालो जस्तो लुसुक्क अफिस भित्र छिरेँ । अनि थुचुक्क कुर्सिमा बसें । पानी पिएँ । अलिकती शान्त अनुभव गरेँ । एकै छिनमा चिया अैपुग्यो । मन लागि नलागी कम्प्युटर खोलेँ । डेस्कटपमा उस्कै फोटो थियो । एक चोटि हेरें । पीडा भयो । रीसले हत्त पत हटाएं । फेरि एक चोटि खोलेर हेरें । अनी दृढ भएर हटाएं ।

चियाको चुस्की सुरुप्प पारें । काम थाल्नु भन्दा अगाडि थकित अनुभव गर्दै थिएँ । त्यति नै बेला फोनको घन्टी बज्यो ।

"टी नि नि नि.... "

उस्को नम्बर थियो । फोन उठाएँ ।

" हेल्लो बा बा । " उस्को मधुर स्वर कानमा गुन्जन अैपुग्यो । मेरो क्रोधको ज्वाला दन्किरहेको थियो । तर आँफैलाई सम्हालें । न उस्को मृदु ध्वनीले सम्हालिन वाध्य भएको थिएँ थाहा भएन । तर मनमा उर्लेको आंधि थामिएको भने थिएन । म क्रोधमा केही बोल्न सक्दिन थेँ । म एकदम चुप रहें । उस्लाई थाहा थियो । उस्ले फेरी भनी " बा बा रिसाउनु भा को ? कोही बेलामा दिन कै फोन गर्न सम्भव हुँदैन नि । हजुर नबुझिकन त्यस्सै रिसाउनु हुन्छ ? " उस्ले मलाई सम्झाउदै थी ।

" चेपारे नघस । कस्तो ब्यस्तता अैपर्‍यो तलाई फोन उठाउन नभ्याउने ! मेसेज लेख्न नभ्याउने ! कहाँ मुन्ट्याको थिइस हँ ? " म कुर्लिदै ब्रुलुक्क उफ्रिएं रिसले कुर्सिमा ।

"शान्त शान्त ।" चिया ल्याउने भाईको उदघोसले म सामान्य भएँ । मैले पुलुक्क त्यो भाईलाई हेरें । उस्ले मलाई आस्चर्य दृष्‍टि लगाइ रहेको रहेछ । म आँफैमा केन्द्रित भएँ । .

" हरे के भन्नु भा होला है ? " सविनाको कुरा नसकिदै त्यती नै बेला बुवाले फोन हैज्यक गरेर कुरा गर्न थालनु भो ।

" भुवने ! तैले बुहारी लाई गाली गर्दै छस कि क्या हो ?" बुवाले सोध्नु भयो ।

मैले " दर्शन बुवा । " भने अनी लगत्तै

"होइन " भन्दै म पानी माथि ओभानो हुन खोज्दै थिएँ ।

" तेरै दिर्घायूको कामना गर्दै अस्ती तीजको व्रत बसेकी थी । हिजो पञ्चमिको पूजा थियो । अनी फुर्सद छैन बुहारी लाई सधैं तंलाई फोन गर्नु पर्छ त ?" बुवाले स्पष्ट पार्दै मलाई सोध्नु भयो । म अकमकाएँ । मेरो मनको कालो बादल हट्दै थियो । मनमा अब खुशीको लहर लहराउन थालेको थियो ।

मलाई थाहा थिएन । अस्ती तीज भन्ने कुरा । मेरो हृदयमा उसप्रति अगाध प्रेम उर्लन थाल्यो । आँफैलाई धिक्कारेँ एक चोटि । बेकारमा नचहिने कुरा कल्पेर मन बिगारेँ भन्दै पस्चताप गरेँ ।

मुमा सँग कुरा गरेँ । मुमाले धेरै बेर सम्म सम्झाउनु भो ।

अनी सविनासँग मीठो कुराहरु भयो । मनमा उत्साह थपियो । खुशीले मन पुलकित हुन थाल्यो । मैले फेरि डेस्कटपमा सविनाको फोटो राखेँ। मन मनै अठोट गरेँ कि अबदेखी कहिले हटाउने छैन उस्को फोटो डेस्कटपबाट । मनको हार्ड डिस्कबाट ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।