19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राजमार्गका खतहरु

कविता नवराज पराजुली December 19, 2009, 9:59 pm

मेरो देश

साँचो अर्थमा

एउटा राजमार्ग,

एउटा सत्ता

एउटा बिध्वंस अगांल्छ ।

यो ‘मार्ग’,

किन ‘राजमार्ग’ भनियो,

मलाई थाहा छैन,

तपाईलाई थाहा छैन,

शायद

कसैलाई थाहा छैन;

नामाकरण सिद्धान्तका आधारहरु ।

रोडा टुक्रयाउने हर्कबहादुर,

अलकत्रा पगाल्ने रामलखन,

धुलो नुहाउने लछ्मनिया,

नक्सा कोर्ने पिटरसन

आदि–आदि

अनेक–अनेक नाम;

कुनै कोशे ढुंगामा छैन,

शिलालेखमा छैन,

सरकारि अभिलेखमा छैन ।

आखिर

दैनिक ज्यालादारहरु ।

राखिन्छ नाम ‘राजमार्ग’।

कस्तो राम्रो,

देशभक्तिपूर्ण अनि मिठो ।

होशियार!

हर्केको छोरो भर्खरको छ ठिटो ।

‘राजमार्ग’

मधेंसको छातिमा;

परेड खेल्छ,

चिरा पार्छ

सत्ता बोकिल्याउँछ ।

पूर्ब–पश्चिम,

उत्तर–दक्षिण,

बाहिर–भित्र,

तल–माथि,

जताबाट हेरे पनि,

जसरि हेरे पनि,

‘राजमार्ग’

कालो छ,

लमतन्न सुतेको छ,

खडेरिमा छ,

अर्थहिन छ,

उदासिन छ

र पनि क्रियाशील छ,

भारि बोक्न होईन, सत्ता बोक्न ।

राजधानि,

तराई,

पहाड

अनि

सेता–काला,

चुच्चे–थेप्चे,

होचा–अग्ला,

स्त्री–पुरुष,

साना–ठूला

सबै–सबै अधिकार, समानता र अंश माग्छन्,

राजमार्गसंग ।

राजमार्ग पोलिन्छ,

राजमार्ग टुक्रयाइन्छ,

राजमार्ग रोकिन्छ

र पनि

राजमार्ग शान्त छ,

निर्दोष छ ।

बर्षा लाग्छ,

पानी पर्छ,

अलकत्रा गन्हाउँछ राजमार्ग;

खडेरि लाग्छ,

सुख्खा हुन्छ,

पग्लन्छ राजमार्ग;

हिउँदसंगै,

हुस्सु लाग्छ,

झ्याप्पै हुसिन्छ राजमार्ग ।

राजमार्ग चोईटिएको छ,

टुक्रिएको छ,

लाखौं पाइला थिचिएको छ,

हजारौं पांग्रा गुडिएको छ ।

पोलेका दागहरु,

टुक्रयाइएका खण्डहरु

अनि

पुरिएका केहि खतहरु,

राजमार्गका खतहरु ।

देश

पट्टि लाउँछ,

खत मेटाउन,

खत छोप्न,

खत लुकाउन ।

पट्टिमा झन् स्पष्ट देखिन्छ खत ।

स्पष्ट पहिचानको छ खत;

लुक्दैन खत;

छाति फुकाएर बस्छ खत;

चिनिएको छ;

यात्रामा अबरोध गरिरहन्छ;

खड्यागं–खुडुगं,

गड्यागं–गुडुगं,

घ्याच्च–घुच्च ।

देश अभ्यस्त छ यो नियति,

यात्रु वाक्क छन् यो दुर्गति ।

कथा बोल्छ

पहाडको

तराईको

सम्पूर्ण देशको

खत राजमार्गको ।

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।