18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईसँग कुराकानी

वार्ता कृष्ण बजगाईं December 20, 2009, 6:55 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

वि.सं. २०१० चैत्र ४ गते मेची अंचलमा जन्मनु भएका बरिष्ठ साहित्यकार, समालोचक र उत्तरआधुनिकताका ब्याख्याता प्रा.डा. गोविन्दराज भट्टराई नेपाली डायोस्पोरा साहित्यको इतिहास लेखन तथा समालोचनाका आधिकारिक तथा सम्मानित लेखक हुनुहुन्छ । भाषाविज्ञान अन्र्तगतको अनुवाद साहित्यमा विद्यावारिधि गर्नु भएका डा. भट्टराईलाई डायोस्पोरा लेखनमा उहाँ गर्नुभएको योगदानको कदरस्वरुप डायोस्पोराबाट पुरस्कृत र सम्मानित पनि हुनु भएको छ । त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विषयका प्राध्यापक डा. भट्टराईसँग उत्तरआधुनिकता र डायोस्पोरा साहित्यमा केन्द्रीत रहेर समकालीन डट कमका लागि सम्पादक कृष्ण बजगाईंले इमेलबाट गर्नु भएको कुराकानी ।

१. तपाईं केही वर्ष यतादेखि उत्तरआधुनिकताको वकालत गर्दै आउनु भएको छ । वास्तवमा उत्तरआधुनिकता भनेको के हो ?

मैले उत्तरआधुनिकतावाद बारेमा लेख्न बोल्न थालको ता २०४८ सालदेखि हो । यताको एक दशक मलाई उत्तरआधुनिकतावादले निलिरहेछ । अनगिन्ति लेख रचना प्रकाशित भए, त्यति नै भाषण गरँे, आधा दर्जन पुस्तक यसै विषयमा लेखेँ— देशमा सबैभन्दा बृहत् आकारको सिद्धान्त र समालोचनाको पुस्तक भर्खरै बजारमा पुग्यो— उत्तरआधुनिक विमर्श (२०६४) तर पनि नेपाली पाठकलाई यो पद, यसको अर्थ र विशेषता राम्ररी बुझाउन मुश्किल परिरहेको छ । यो भाषाको कमजोरी हो कि, मैले चलाएको भाषा भुत्ते भएर हो कि ? पाठकले यसप्रति रुची नदेखाएर हो कि ? तर म सधैँ बुझाउने प्रयत्न गरिरहेकै छु ।

यतिखेर सबैलाई उत्तरआधुनिक पदको परिभाषा, व्याख्या र विश्लेषणको आवश्यकता परेको बेला छ । सबैमा यो जिज्ञासा तीब्र छ । स्वाभाविकै हो, नवीन सिद्धान्त वा विषयवस्तुको बारेमा थाहा पाउनु आवश्यक हुनजान्छ ।

धेरैको लागि उत्तरआधुनिकता भन्ने शब्दले उनीहरूको सोचमा तत्कालै भञ्जिकरण, अपखण्डन, अनिधार्यता र बहुलताको अवधारणा ल्याइदिन्छ । यी कुरा नै उत्तरआधुनिकताका प्रमुख विशेषता हुन् । तर यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन, उत्तरआधुनिकता एउटा यस्तो सङ्कथन हो, जो भञ्जित र खण्डित नै हुन्छ, जो वहुलतापूर्ण, विविधतापूर्ण र भिन्न विश्वको निर्माणमा समर्पित छ ।

सन् १९५०–०६० को दशकदेखि उत्पन्न भएका धेरै साहित्यिक, सांस्कृतिक र कला आन्दोलनहरू उत्तरआधुनिक कहलिन्छन् । १९८०–९० मा आइपुगेपछि पाश्चात्य जगतभरि यो पद अत्यन्तै विस्तृत र व्यापक हुन गयो । त्यसपछिको तीन दशकको अवधिमा ता हिजोआज नेपालमा भए झैँ गरी प्रत्येक नवीन कर्म, घटना र आविष्कार उत्तरआधुनिक कहलिन्थ्यो । अखबारहरूले दैनिक रूपमा, अरू पाक्षिक प्रकाशनले पनि प्रशस्तै यो पदको प्रयोग गर्थे । अनेक पुस्तक निस्किए; रचना छापिए । सांस्कृतिक जीवनका हरेक कुरा उत्तरआधुनिक कहलिए । अहिले पाश्चात्य जगतमा यो त्यस्तो फेशनको रूपमा छैन, तर पनि समकालीन संस्कृतिको व्याख्या र विश्लेषण गर्दा उत्तरआधुनिकता र योसँग जोडिएका कति पद अनि अवधारणा अनिवार्य नै मानिन्छन् ।

उत्तरआधुनिकतावादले नारीवादी सिद्धान्त, सन्दिग्धता सिद्धान्त, उत्तरऔपनिवेशित सिद्धान्त, ग्लोबलतासँग जोडिएका आइटीजस्ता सिद्धान्तका साथै वातावरणीय अध्ययन, इतिहास, दर्शन, साहित्य सिद्धान्त— सबैतिर यसले छुन्छ । सबै यस्ता विषयको पुनरव्याख्यामा उत्तरआधुनिक दृष्टिकोण चाहिन्छ ।

उतातिर मिडियामा मात्र होइन विश्वविद्यालयको पठनपाठन, बौद्धिक समुदायदेखि साधारण जनमानसमा पनि यस पदको व्यापक प्रयोग हुने गरेकोले, यसको विश्लेषण र व्याख्या पनि विविध प्रकारले हुने गरेको छ, यो खास विषयभित्र अथवा चिन्तन प्रणालीसँग मात्र सम्बद्ध छैन । वास्तवमा उत्तरआधुनिकताको एउटा विशेष चरित्र के रहेको छ भने यसले पठनपाठन–अध्ययनको विविध विधा र शाखाबीचमा स्थापित विभाजन रेखालाई अस्वीकार गर्दछ, तिनीहरूलाई भत्काइदिन्छ र तिनीहरूको बीचमा एउटा नयाँ सम्बन्धको पुनस्र्थापन गर्दछ । नयाँ आपसी सहयोग र द्वन्द्वको स्थापना गर्दछ । मानविकीदेखि लिएर विज्ञान, इतिहास, समाजशास्त्र, सूचना प्रविधि— सबै विधाभित्र, ज्ञानका सबै हाँगामा यो एउटा अत्यावश्यक सङ्ककथनको रूपमा स्थापित छ ।

त्यसो भएता पनि प्रत्येक विधा÷विषयभित्र उत्तरआधुनिकताको व्याख्या र प्रयोगमा केही भिन्नता अवश्य हुन्छ । उदाहरणको लागि साहित्यको विद्यार्थीका निमित्त यसको अर्थ एक प्रकारको हुन्छ, धर्मविज्ञानीको निमित्त अर्को, त्यसैगरी दार्शनिक, राजनीतिशास्त्री, इतिहासकार र समाजशास्त्री— प्रत्येक विषयले उत्तरआधुनिकताबाट आफूलाई मिल्ने अर्थ लिने गर्छ । साहित्यमा विधासिमाको कठोर बन्धन अस्वीकार गरिएझैँ, त्यसलाई भत्काएर अर्को प्रकारको सिर्जना गर्न खोजिएझैँ, त्यसलाई स्वीकृति प्रदान गरिएझैँ, सांस्कृतिक जीवनमा पनि संस्कारसीमा, प्रचलनसीमा, अन्धविश्वास सीमा तोडेर मानिस नयाँ काम र कुरा गर्न थालेका छन् । लैङ्गिक, जातीय, भाषिक, धार्मिक सीमा पुर्नपरिभाषित गर्ने प्रयत्न र साहित्यमा विधासीमा तोड्ने नयाँ बनाउने प्रयत्न उस्तै–उस्तै हुन् । त्यसैगरी विज्ञानको विद्यार्थीले अथवा दर्शनको अध्येताले कुनै कुरा पूर्ण छैन, कुनै सत्य अन्तिम छैन भन्ने तथ्य स्वीकार्दछ र आफूले बुझेका कुरामा अपूर्णता देख्तछ; ऊ नयाँ विचार जन्माउने प्रयत्न गर्दछ, नयाँ प्रयोग गर्नपट्टि लाग्दछ । यसरी जुन विधामा पस्यो उत्तरआधुनिकता सोही आकारमा परिणत हुन्छ । आ–आफ्ना विषयभित्र यसका आकार र व्याख्या अलिक फरक फरक हुन्छन् । यस प्रकारले विचार र आन्दोलनहरूको एउटा जटील घुलन वा मिश्रण जस्तो उत्पन्न हुन्छ । पश्चिममा १९९० को दशक पश्चात उत्तरआधुनिकतालाई लिएर मिडिया जगतमा त्यत्रो उन्माद छैन, तर पनि अनेक विधामा उत्पन्न हुने विमर्शहरूले अर्कै विशेषप्रकारको उत्तरआधुनिकता र उत्तरआधुनिकतावादको प्रारूप विकसित भएको छ ।

तर विचार र अवधारणाको जटिल स्वरूप विकसित हुँदै गएकाले अनेक समालोचकहरूका बीचमा एकमत स्थापित गर्न कठिन छ, उत्तरआधुनिकता यो मात्रै हो भनेर ठोकुवा गर्न मुश्किल छ, अन्तिम परिभाषा दिन मुश्किल छ । त्यसो हुँदाहुँदै पनि एउटा कुरा निश्चित छ—यो पदलाई जसरी प्रयोग गरिए तापनि आज हामी कसरी, कुन प्रकारले केमा लागेका छौँ, हाम्रा अवधारणालाई केले आकार दिन्छन् र हाम्रो सांस्कृतिक परिवेशले कसरी हामीलाई प्रभावित गर्दैछ भन्ने सम्बन्धमा एउटा धारणा बनाउन समीक्षकहरूलाई गाह्रो छैन ।

समकालीन विश्वबारे सोच्ने/बुझ्ने माध्यमको रूपमा ‘उत्तरआधुनिक’ शब्दलाई अनेकौँ विविध धारबाट परिभाषा र विश्लेषण गर्ने कार्य भएको छ । अनेक परिभाषकमध्ये इहाब हसन, फ्रास्वाँ ल्योतार, ड्याभिड हार्भे, फ्रेडरिक जेमसन, लिन्डा हचन, जिग्मन्ट बाउम्यान, जाँ बोद्रियार, फ्रान्सिस फुकुयामा, मतिलो गियानी, अर्नेष्टो ल्याक्लाउ, टेरी इगल्टन, अलेक्स क्यालिनिकोस्, क्रिष्टोफर नोरिस जस्ता विश्वविख्यात चिन्तक, दार्शनिक सिद्धान्तकार पर्दछन् । यी सबै सिद्धान्तकारले १९९० देखि यता लेख्तै बोल्दै गर्दै आएका परिभाषाका एक–एक पद सुन्दा पनि उत्तरआधुनिकताबारेका धारणा र परिभाषा प्रष्ट हुनेछन् । उदाहरणको लागि इहाब हसनको द डिस्मेन्बर्मेन्ट अव् अर्फिअस: टुवार्ड अ पोस्टमोडर्न् लिटरेचर (१९८२) शीर्षक कृतिलाई एउटा प्रामाणिक कार्य ठानिन्छ । त्यसमा हसनले उत्तरआधुनिकतालाई एउटा ‘नवीन सौन्दर्यपरक चेतना’ (अ न्यू इस्थेटिक फर्मेसन) भनेका छन् । त्यसैगरी ल्योतारको निमित्त यो एक ‘अवस्था÷परिस्थिति’ हो, व्रmोनरको लागि ‘संस्कृति’, जेमसनको लागि ‘सांस्कृतिक प्रभाविता’, हचनको लागि ‘सचेतरूपले गरिएको प्यारोडिक शैलीको कलात्मक आन्दोलन’, बाउम्यानको लागि ‘एउटा नैतिक वा राजनीतिक अनिवार्यता’, बोद्रियार र फुकुयामाको लागि ‘यस्तो समय जब हामी इतिहासको अन्त्यमा पुगेका छौँ’, ल्याक्लाउको लागि ‘हाम्रा सांस्कृतिक, दार्शनिक एवम् राजनीतिक अनुभूतिका नवीन क्षितिज’, टेरि इगल्टनको लागि ‘एउटा भ्रान्ति’, क्यालिअनिकोस्को लागि ‘एउटा प्रतिक्रियावादी राजनीतिक संरचना’, नोरिसको लागि एउटा ‘दुर्भाग्यपूर्ण त्रुटी’ । यसरी यति विविधतापूर्ण अर्थधारक दर्शन र सिद्धान्त कहिल्यै आएको थिएन । यसले व्यङ्ग्यचेतना उत्पन्न गर्छ, एकप्रकारको विच्छिन्नता भाव, फरकता, विच्छेदन, अनिरन्तरता, खेलाँचीपन, प्यारोडी, अतियाथार्थिकता, र सादृश्यीकरण भाव उत्पन्न गर्दछ । कतिको निमित्त यो आधुनिक कलाको चरम स्थिति हो, कतिको लागि यो सांस्कृतिक अध्ययनको प्रजातान्त्रिकरण हो । अझै अरूका लागि उत्तरआधुनिक कला र संस्कृति सतही कुरा हुन्, तर यिनीहरू दूरगामी परिणाम भएका राजनीतिक, दार्शनिक, सामाजिक रूपान्तरणका इच्छा र ती प्राप्त गर्ने प्रक्रियाले गर्दा उत्पन्न भएका परिणाम हुन् ।

अमेरिकी समालोचक इहाब हसनले उत्तरआधुनिकतालाई राम्ररी चिनाउने प्रयत्न गरेका छन् । आफ्नो कृति डिस्मेम्बर्मेन्ट अव् अर्फियस १९८२ मा प्रस्तावित गरेका विशेषतालाई धेरैले नमूनाको रूपमा लिने गरेका छन् । मैले पश्चिमी बलेँसीका बाछिटा २०६१ मा तीमध्ये केही विशेषताको उल्लेख गरेको थिएँ । हालै प्रकाशित कृष्ण गौतमको उत्तरआधुनिकता जिज्ञासामा पनि यिनै कुरा प्रस्तुत छन् । धेरै समीक्षकले हसनका ३३ जोडी विशेषता हेरेर आधुनिकतावाद र उत्तरआधुनिकतावादको बिचमा सैद्धान्तिक भेद स्थापित गर्न सिकेका छन् यद्यपि झण्डै तीन दशक अघिका यी कुरामा आज धेरै थपघट भएका छन् । यी ता केवल एक समीक्षकका विचार हुन् । तर यी अन्तरले आधुनिकतावाद के थियो, उत्तरआधुनिकतावाद के हो भन्ने कुरा प्रस्तुत गर्दछन् । कति कुरा निकै विवादास्पद भए तापनि म यहाँ हसनको वर्गीकरण सूची प्रस्तुत गर्दछु । तीमध्ये अप्रासङ्गिक/अप्ठ्यारा केही पद छोडेको छु ।

आधुनिकतावाद ------उत्तरआधुनिकतावाद

रूप (बद्धता)------ अरूप (मुक्तता)

उद्देश्य----------- खेल

उद्देश्यपूर्ण रचना------संयोग

श्रेणीवद्धता----------विशृङ्खलता

वाक् -------------मौनता

कलाको पूर्णरूप-------कलाको प्रक्रिया

असम्पृक्तता --------सहभागिता

निर्माण -----------विनिर्माण

उपस्थिति ----------अनुपस्थिति

केन्द्रीकरण ----------विकेन्द्रीकरण

विधा/सीमा ---------पाठक/अन्तरपाठीयता

रूपकीयता ----------लाक्षणिकता

रोजाइ -------------संयोग

जरो/गहिराइ ---------आँख्ला/सतह

सङ्केतित -----------सङ्केतक

पाठ्यान्तरणीय -------लिप्यान्तरणीय

आख्यान -----------प्रतिआख्यान

उत्पति -------------भेद

निर्धार्यता ------------अनिर्धार्यता

यति बुझेपछि उत्तरआधुनिकता बुझ्न सजिलो पर्दछ । उदाहरणको लागि पहिलो जोडा हेरौँ— आधुनिकतावादीले भन्थ्यो कला, संगीत, साहित्य, विचार, संस्कृति, दर्शन सबै कुराको निश्चित आधार हुन्छ । यसको सीमा हुन्छ । रूप हुन्छ, संरचना हुन्छ । त्यो संरचनाको अनुशासन मान्नै पर्छ,, किनभने त्यो संरचना हामीले बनाएका हाँै र त्यो फाइनल हो । त्यसैकारण शास्त्रीयताले भन्छ— काव्य यस्तो हुनुपर्छ, कथा यस्तो, उपन्यास यस्तो, नाटक र निबन्ध यस्तो । सबै सीमावद्ध पारिएका हुन्छन् । अर्कातिर उत्तरआधुनिकताले भन्छ— हामी हरेक बद्धताको विरोध गर्छौँ । कुनैकुरो बद्ध छैन, अन्तिम छैन यो मुक्त हुनुपर्छ, ओपन । यो अरूप हुनुपर्छ । कविता यस्तो मात्र हुन्छ भनी त्यसलाई बद्ध बनाउने को हो ? उपन्यास यस्तोमात्र हुनुपर्छ, यस्ता पात्र र घटना, यस्ता विचार र मान्यता भनेर अन्तिम टुङ्गो गर्ने को हो ?

यसैगरी माथिका प्रत्येक युग्ममा द्विचरता छ । त्यो केलाएर आधुनिकतावद र उत्तरआधुनिकतावादबीचको फरक छुट्याउनु पर्छ । अहिलेको कला, साहित्य संस्कृति यसैगरी छुट्टिन्छ ।

माथिको सूचीका कतिपय युग्म–पदसँग कति पाठक अपरिचित हुन सक्छन्, सबै पद उत्तरआधुनिकतावादको परिचयमा त्यत्तिकै महत्वका नहुन पनि सक्तछन्, प्रत्येक सिद्धान्तकारको भिन्न बुझाइ हुन सक्छन् । यो लामो सूची आफैँमा पूर्ण छैन, यसका अरू परिभाषा र विश्लेषण आउन, थपिन सक्छन् । त्यसैले होला हसन आफैँले भनेका छन्— मेरो सूची असुरक्षित हुनसक्छ । सन्दिग्ध र अनेकार्थक पनि । किनभने यस्ता भेदहरू बदलिरहन्छन्, चिप्लिरहन्छन्, फरक पर्छन, रोकिन्छन्, अर्थस्थगनता आइरहन्छन्, कहिलेकाहीँ एकअर्कामा जुधेर समाप्त पनि हुन्छन् । आधुनिकता, उत्तरआधुनिकता दुवैमा प्रतिलोम र अपवाद आइरहन्छन् । त्यसो भए तापनि यी दुई स्तम्भका बीचमा बद्धता–मुक्तताको दृष्टिले अन्तर हुन्छ भन्ने बुझ्नु पर्दछ । यसरी सिधै रूप र अरूपता, श्रेणी र विशृङ्खलता जस्ता पदले सिधै विपरीतता जनाउन खोज्दा अलिक आप्ठ्यारो पर्दछ । के आधुनिकताका मूल्यहरू उत्तरआधुनिक कला साहित्यमा ठ्याम्मै हुँदैनन्, त्यो विपरीतताकै कुरा हो त ? प्रश्न र सन्देह एकै चोटि उठ्तछन् । किनभने आधुनिककालमा पनि उत्तरआधुनिकताका बीजहरू अवश्य थिए भने उत्तरआधुनिकतामा पनि आधुनिकताका । जे भए पनि यसले एउटा नवीनयात्राको प्रस्थानविन्दु देखाउँछ, एकप्रकारको आत्यन्तिक र आमूल परिवर्तनबोध, एउटा ठूलो यू टर्न । तर माथिको सूचीले के देखाउँछ भने हाम्रा शैलीगत, साहित्यिक र दार्शनिक संवर्ग मिश्रित छन्— आधुनिकता र उत्तरआधुनिकताका परिभाषाभित्रै ती पसेका छन् । हसनले ता साहित्यको मात्रै विशेषता बताउन खोजेका थिए तर सूचीले के देखाउँछ भने अब कला, दर्शन, राजनीति, मनोविज्ञान र सामाजिक विश्लेषणहरू एक्लै उभिन सक्तैनन्; तिनीहरूमा अनयोन्याश्रितता छ । एउटाको परिभाषा गर्दा आंशिकरूपले अर्को पनि परिभाषित हुन्छ ।

यसरी हेर्दा बीसौँ शताव्दीको उत्तराद्र्धसँगै सुरु भएको उत्तरआधुनिकतावादी परिस्थितिले आजको बौद्धिक चर्चा र चिन्तनका सबै क्षेत्रमा प्रधानता प्राप्त गरिसकेको छ ।

एउटा मननीय कुरा छ, ‘उत्तरआधुनिकवाद’ को विषयमा चर्चा गर्ने कि ‘उत्तरआधुनिक’ को ? यो प्रस्ट हुनुपर्छ । यिनमा टड्कारो भेद छ । एउटाले यसलाई ‘वाद’ को रूपमा चिनाउँछ, अर्कोमा यसका विशेषताको कुरा आउँछ ।

‘उत्तरआधुनिकतावाद’ एउटा शैली अथवा विधा हो; ‘उत्तरआधुनिकता’ एउटा युग अथवा काल । रूस्दीको मिडनाइट्स चिल्ड्रेनमा नवीन शैली छ त्यसलाई ‘वाद’ ले बुझाउँछ; जबकि फ्रास्वाँ ल्योतारको द पोस्टमोडर्न कन्डिसनले प्रकृतिमा आएको रूपान्तरणीयता, ज्ञानको स्वरूप र नयाँ प्राविधिक आविष्कारको राजनीतिबारे चर्चा गर्दछ— यो उत्तरआधुनिकता हो । यसले एउटा युगको चरित्र वर्णन गर्दछ । यो भेद थाहा पाउनु आवश्यक छ । त्यसो भनेर एक र अर्को पूरै भिन्न हुन् भन्ने चाहिँ होइन ।

उत्तरआधुनिकतावादी शैलीले अघिको र अहिलेको साहित्य छुट्याउँछ, वास्तुकला छुट्याउँछ, सङ्गीत, ललितकला र ज्ञानविज्ञानका सबै कुरामा भेद गर्दछ ।

भन्दछन्— आधुनिक कालकाबारेमा भन्दा उत्तरआधुनिककाल, यसका शैली वा प्रवृत्तिबारे बढी पुस्तक लेखिएका छन् । तर पनि सोचमा विविधता र स्वतन्त्रता भएकोले अझै यसको व्याप्ति बुझाउन सजिलो छैन । तर अप्ठ्यारै भए पनि यो बुझ्नु पर्ने बेला भएको छ । यसबारे अहिले सम्ममा डेढ दर्जन कृति नेपालीमा आइसकेका छन् (हेर्नूः उत्तरआधुनिक विमर्श); अरू आउने क्रममा छन् । हामी यो अन्तर्राष्ट्रिय परिवेशसँग जोडिएका छौँ । उत्तरआधुनिकताले सर्जकलाई अकल्पनीय स्वतन्त्रता दिन्छ । यसले तिमी स्वतन्त्र बाँच्न सिक भन्दछ । सारा पुराना विचार, धारणा र कर्मलाई यान्त्रिकता साक्षी राखेर पुनरपरिभाषित गर्दछ । यसको निम्ति नयाँ लेखन, पुनरलेखन, आविष्कार र नयाँ सोचले ठूलो महत्व राख्तछन्; यसले पुरानो भत्काएर फ्याँक्न खोज्छ । महाख्यानिकताको एकाधिपत्य पल्टाएर त्यसको सट्टा अनेक केन्द्रीयतामा विश्वास गर्दछ । यसबेला उठेका जातीय, जनजातीय, भाषिक, धार्मिक, लैङ्गिक र अनेक प्रकारका बहुलस्वरको जन्म हुनुको पछि यही उत्तरआधुनिक सोचले गर्दा हो । नेपाली साहित्यिक–साँस्कृतिक जीवनमा नयाँ सोच ल्याउन र त्यसलाई संस्थागत गर्न उत्तरआधुनिकताले ठूलो भूमिका खेलेको छ । हाम्रो सिर्जना जगत्का नवीनलाई यसले प्रोत्साहित गर्दछ ।

अहिलेको समयले, अघिका सारा कर्म उल्टाउने, सामन्ती अथवा एकलकेन्द्री सोचबाट पाखा आउने, सिर्जनामा नवीन प्रयोगतिर लाग्ने, नयाँ चिन्तन र आविष्कारकहरूलाई अघि ल्याउने गर्दछ । त्यसैले यो सम्पूर्ण मुक्तिको अनन्त पथ हो ।

नेपाली साहित्यमा उत्तरआधुनिकपथका बाधकहरू पनि उपस्थित छन् । पुराना रुढीगत विचार लिएर तिनीहरू अनेक कठघरामा उभिएका छन् । नयाँलाई छेक्न बल गर्दछन्, रोक्न बल गर्दछन् । यो हामीलाई अफापसिद्ध छ भन्दछन् । आफ्नो पुरातन विचार अथवा रुढीगत संरचनात्मकता विस्थापित होला भन्ने भयले त्यसो गर्दछन् । राजनीति नै साहित्य हो भनेर सर्जकको स्वतन्त्रलाई त्यही साङ्लामा कस्न खोज्दछन् । पुरानो अधिनायकवादी समाजको स्थापनामा समर्पित तिनीहरू नयाँ आकासलाई छेक्ने प्रयत्न गर्दछन् । तर यो उदात्त आकासले सबैलाई स्वागत गर्दछ; वहुलतालाई, विविधतालाई, नवीनतालाई यसले आफ्नो गन्तव्य बनाउँछ ।

उत्तरआधुनिकताले छोप्यो भन्दैमा परम्परित लेखक÷सर्जकले त्यसलाई छोड्नु आवश्यक छैन, नयाँ तालिम लिनु आवश्यक छैन । तर नयाँ कुरा आएपछि सजग हुनु आवश्यक छ । नवीनताको विरोध गर्नेको दुरासय बुझ्नु आवश्यक छ । अब लेख्नेले, बोल्नेले, सोच्नेले यी नयाँ परिस्थितिलाई हृदयङ्गम गर्नु पर्दछ नत्र सारा प्रयत्न खेर जानेछ ।

२.यो उत्तरआधुनिकता साहित्यमा मात्र प्रयोग हुन्छ कि अन्य पक्षमा पनि ?

यो वास्तवमा अन्यत्र पनि हुन्छ, एकप्रकार सर्वत्र हुन्छ, त्यसैले साहित्यमा पनि हुन्छ । यो एउटा निश्चित सिद्धान्त नभएर अनेक सिद्धान्तको पुञ्ज हो । अनेक विषयहरूको योग हो । एक अविभाज्य अवधारणा हो, उत्तरआधुनिक परिस्थिति भनौ पोस्टमोडर्न कन्डिसन हो । यसले विश्वसंस्कृतिमा सबै प्रकारको र उस्तै प्रभाव पारेकाले अनेक विषय र विधामा यसको प्रभाव छ, उपस्थिति छ ।

आधुनिक कालको जसरी विश्वभरि एउटै अर्थबोध हुन्छ, उत्तरआधुनिकले पनि त्यसैगरी सम्पूर्ण विश्वभरि व्याप्त भएको अभिलक्षणलाई बताउँछ । तर विश्वसभ्यतामा आधुनिककालको उदय सबै देशमा सबैतिर एकै समयमा भएन, एकै समयमा अस्तय पनि भएन । उत्तरआधुनिक काल पनि प्रत्येक साहित्यमा, संस्कृतिमा, सङ्गीतमा, कलामा, शिक्षामा, धर्ममा— सबैरित बेग्लाबेग्लै समयमा भएको छ ।

तर यसलाई यान्त्रिकताले, ग्लोबलताले व्यापक र सर्वव्यापी बनाउँदै लाने भएकाले, अझ इलेक्ट्रोनिक आश्चर्यले तीब्रता दिने भएकाले ती तरंगहरू जहाँ जुन गतिमा पुग्दछन् उत्तरआधुनिकताका अभिलक्षणहरू त्यहाँ त्यतिमात्रामा घना हुँदै जान्छन् । यतिखेर पोस्टमोडर्न आर्किटेक्चर, पोस्टमोडर्न कल्चर, पोस्टमोडर्न आर्ट, पोस्टमोडर्न एजुकेसन, पोस्टमोडर्न म्युजिक... अनन्त विषय र विधा छन् । प्रत्येक विषयले संरचनावादी सोच भत्काएर यता पसेको बेला छ, प्रत्येकले आधुनिकतावादलाई इतिहासमा थन्क्याएर अघि बढेको समय छ, त्यसैले हाम्रा पठनपाठनका, प्राज्ञिक विमर्शका, विनिमियका, जीवन पद्धतिका सारा क्षेत्रमा उत्तरआधुनिकता छ ।

३.वामपन्थी लेखकहरू उत्तरआधुनिकतालाई पश्चिमा नक्कल वा नवसाम्राज्यवादको अर्को रूप हो भन्छन् । के वास्तविकता यही हो त ?

सर्वप्रथम ता नक्कल हुनु नराम्रो होइन । सबैको जीवनपद्धति वा सभ्यताहरू एक अर्काका नक्कल र प्रभावका परिणाम हुन् । त्यसमाथि पश्चिमको नक्कल नराम्रो हुनु पर्ने कुनै कारण छैन । नवसाम्राज्यवादको नक्कल पनि झन् राम्रो कुरा । मानव सभ्यताको प्रारम्भदेखि एउटा साम्राज्यवाद समाप्त भएपछि अर्को नवसाम्राज्यवाद आएको छ । त्यसको मिति पुगेपछि अर्को नवसाम्राज्यवाद छ । प्रत्येक नयाँ विचार एकप्रकारको साम्राज्य हो । त्यसले जितिन्जेल रहन्छ, हारेपछि ‘नव’ आउँछ । उत्तरबाट आएका पनि ‘नव’ साम्राज्यवादै थिए; तिनले हारेपछि पश्चिमबाट आउनेलाई ‘नव’ भनिएको हुन सक्छ, तर यतिखेर साम्राज्यवाद के हो र त्यो कताबाट आउँछ भन्ने कुरा पुरानो परिभाषामा छैन । यी कुरा स्वयम् बद्लिएका छन् । यसरी महाख्यानहरू ओइलिँदै पलाउँदै गर्छन् । हामी तिनैभित्र हुन्छौँ । राम्रो नराम्रो सोचाइको कुरा हो तर शाश्वतता हाम्रो वशमा छैन ।

दोस्रो कुरा, त्यस्तो प्रकारको भ्रान्ति भिरेर हिँड्नेको लागि त्यो यथार्थ नै एक सत्य हो । तर त्यस्तो भ्रान्तिमुक्तको लागि यो असत्य हो । त्यो भनाई एक प्रकारको प्रलाप हो । धेरैको निम्ति प्रलाप पनि प्रिय हुन्छ ।

त्यसमाथि उत्तरी नक्कल मात्र राम्रो र पश्चिमी नराम्रो म देख्तिन । हाम्रो त उत्तर हो, न दक्षिण, न पश्चिम । कति मित्रहरूले साइबेरियाका चिसा मूढा बोकेर निकै हिँडे तर बर्लिनको पर्खाल ढलेपछि पूर्व पश्चिमको सिमाना भत्किएको देखे, साथै पूर्वी यूरोप स्वतन्त्र भएपछि ठूलो विखण्डन देखे र यतिखेर त्यो अधिनायकवादी जगत् समाप्त भएपछि पनि केही नयाँ कुरा भन्नै पर्ने हुँदा हरेक नवीनतालाई, प्रयोगलाई, गतिशीलतालाई पश्चिमी र पूँजीवादी भन्दछन् । हाम्रो नीजि मौलिक केही छैन भने, उत्तरको जडता भिर्नु भन्दा पश्चिमको नक्कल धेरै राम्रो छ, पुरानो अधिनायकवादी चिन्तनमा आधारित उत्तरी साम्राज्यवादभन्दा उदारवादी पश्चिमी नवसाम्राज्यवाद धेरै राम्रो छ । किनभने त्यहाँ वैचारिक स्वतन्त्रता छ, त्यहाँ अधिनायकवादी संरचनाको सट्टा एक व्यक्तिसत्ता आफैँ उभिन सक्तछ ।

त्यसैले म ठान्दछु उनीहरूले सही अर्थमा बुझेर भनेका छन्, नयाँ समयको सही मूल्याङ्कन गरेका छन् । हरेक नवीनतामा संशोधनवाद देख्ने कट्टर विचारकको मनमा उदार समाजप्रति अनास्था उत्पन्न हुनुमा आश्चर्य छैन, अधिनायकवाद पूजकको निम्ति व्यक्तिगत स्वतन्त्रता अस्वीकृत हुनु आश्चर्य हुँदैन । यो एक यथास्थितिको सोच हो, फन्डामेन्टलिस्टको दर्शन हो । यथास्थिति पनि एकप्रकारको मनोरोग हो । सम्पूर्ण यथास्थितिलाई फ्याँकेर र नवपथमा लाग्नुपर्नेमा पश्चिमी विश्वले गरेको प्रगति र स्वतन्त्र चेतना मन नपराउनेहरूले उत्ररआधुनिकतालाई मन नपराउनुमा कुनै आश्चर्य छैन । उनीहरूको जीवन एकरूपताको खोजीमा छ, सधैँ जीवन भने बहुलता खोजिरहन्छ, उनीहरू जीवनलाई स्थिरताले बाँध्न चाहन्छन्, तर जीवनले सधैँ निरन्तरता खोजेको छ, उनीहरू कठोर वाममार्गी विचारले जीवन तृप्त पार्न सकिन्छ भन्ने विश्वासमा छन्, जीवन सधैँ त्यो बन्धनबाट भाग्न मात्रै खोजेको छ, सधैँ मुक्ति खोजको छ । त्यो कठोरताको दीक्षा लिएपछि सारा नवीनतालाई गाली गर्नु वाञ्छनयि भएकाले उनीहरू सम्पूर्ण शक्ति खर्च गरेर त्यसो गरिहेर्छन् तर स्थिर विचारका साङ्लाले कसिएको जीवनले उदारको विरोध गर्नु, बहुलता र विविधताको विरोध गर्नु स्वयम् हास्यास्पद कुरा हो । तर यसमा एउटा कुरा उल्लेख्य छ— अधिकांश वाममार्गी उदार छन्, उदारविश्वतिरर फर्केका छन्, तिनीहरू यस्तो सङ्कीर्णताबाट मुक्त छन्, विश्वसभ्यता कता विचरण गर्दैछ, त्यो बुझ्दछन्, तर थोरै कट्टर र अपरिवर्तनीयहरू आदिम मनोविकारबाट मुक्त हुन सकेका छैनन् । तिनीहरू जब्बरचिन्तनमा आनन्द लिने गर्दछन् ।

४.के यसले प्रगतिशिल लेखनमाथि प्रहार गर्दछ ? यसैको कारण वामपन्थी लेखकहरूले यसको विरोध गरेका हुन त ?

यसले कुनै लेखनमाथि प्रहार गर्दैन, कुनै लेखकको विरोध गर्दैन, किनभने यो सिद्धान्त नै प्रगतिशीलतामा विश्वास गर्दछ; हिजोभन्दा आज फरक हुनु, भिन्न हुनु, सुध्रिनु, नौलिनु, काम नलाग्ने विचार छोड्दै नयाँ पक्रिनु प्रगतिशीलता हो । तर कोही प्रगतिशील शब्द भिर्दछन् यद्यपि जड सिद्धान्त बाकेर हिँड्दछन् । त्यसबाट छुट्टिन चाँहदैनन् । कट्टर वाममार्गीहरुले भिरेको विमार यही छ । उनीहरू एउटा सिद्धान्तले जगत् चल्दछ भन्ठान्दछन्, एकपल्टको विचार सदाको लागि अमर हुन्छ भन्ठान्दछन्, एउटा संरचनालाई सर्वकालीन सत्य भन्ठान्छन् त्यसैले हरेक नवीनताको विरोधमा उठ्नु उनीहरूको धर्म हो । धर्म पालन गर्दा उनीहरू कहिलेकहीँ असल कुराको पनि विरोध गर्दछन्, शाश्वत सत्यको पनि विरोध गर्दछन् । तर उत्तरआधुनिकताले उनीहरूको विरोध गर्दैन, विरोध गर्नु पर्ने कुनै कारण छैन । यसले भन्छ, कुनै विचार, धर्म, दर्शन, सिद्धान्त, दृष्टिकोण वा व्याख्या पूर्ण छैन त्यो अधूरो र आंशिक नै छ । अर्को अनि अर्को, त्यसको परिपूरक हुन्छ । त्यो पनि बदलिन्छ त्यो पनि अस्थिर छ । त्यसकारणले दक्षिणपन्थी होस् या वामपन्थी सबै कुरामा आंशिक सत्यता छ, त्यसको पूर्ण विरोधको अर्थ छैन, समर्थनको नै आवश्यकता । सबै विचार समान छन् । सबै विचार उत्पन्न हुने अधिकार छ, तर अन्य विचारको वर्जना र आफ्नो विचारको श्रेष्ठता सावीत गर्नेलाई समयले बारम्बार पछारेको छ । त्यसैले उत्तरआधुनिकता कसैको वर्जना गर्दैन । कुनै व्यक्तिको, विचारको । बरु यसले विरोध गर्नुलाई आवश्यक ठान्छ । विद्यमानको विरोधको तात्पर्य नयाँको खोजी हो । पुरानो टिक्न सके बस्छ, नसके फ्याकिन्छ । समयले त्यसै गर्दै आएको छ । तर विरोध गर्न पाउने अधिकार र सम्भावनालाई अन्त्य गरिदिने हो भने मानव सभ्यता रोकिन्छ, जडत्वमा परिणत हुन्छ, अरू नयाँ सत्य टालिन्छन् । त्यसकारणले उत्तरआधुनिकताले विरोधको प्रशंसा गर्छ, त्यो आवश्यक छ भन्छ । परन्तु उग्र वाममार्गीले विरोध गर्ने मार्ग टालेर वर्जनाको सिद्धान्त भिर्ने आकाङ्क्षा गर्दछन्, जसले गर्दा स्वतन्त्र मार्ग अवरूद्ध हुन्छ, सहअस्तित्वको पथ भत्किन्छ । अरुको मार्ग निषेध गर्नेले आफ्नो पनि बर्जित हुन सक्छ भन्ने बुझ्नु पर्छ ।

५.उत्तर आधुनिकताको निशाना र प्रहार के हो त ?

उत्तरआधुनिकताले निशाना ताक्नु पर्ने कुनै व्यक्ति छैन, वस्तु छैन । नवचेतना र समयको आह्वान भिरेर आएको विचारले कसैको प्रहार गर्नुपर्ने आवश्यकता छैन । अरूमाथि प्रहार गर्ने विचार वा दर्शन कसैलाई आवश्यक छैन । आवश्यक छ त अरूको विचारलाई पनि प्रेमले हेर्ने र त्यसकै सापेक्षतामा आफ्नो हुर्काउने ।

यसले मानिसको अवस्थिति मात्र बताउँछ— समय यता छ, तिमी त्यता छौ मात्र भन्छ । यो अन्तिम सिद्धान्त हो र तिमीले यता लाग्नू भन्दैन, यो खराव छ र त्यता किन लाग्यौ भन्दैन । जीवन दृष्टिकोणहरूको बजार हो । तिम्रो दृष्टिकोण बेठीक छ भन्दैमा मैले अँगालेको ठीक भन्ने पनि छैन । सापेक्षतामा छ सबै दृष्टिकोणमा छ । तिमीले लिएको विचार वा सिद्धान्त धारणा वा दृष्टिकोण ठीक छैन भन्ने म को हुँ ।

यसरी उत्तरआधुनिकतावादले प्रहार गुर्नपर्ने कोही छैन, केही छैन । यसले यसप्रकारले उदारवादी पथ लिने हुनाले सर्वसमन्वयात्मक दृष्टिकोण अङ्गाल्ने हुनाले मानिसलाई यति उदारता चाहिन्न, उसलाई निर्णय गर्ने हुन दिनुहुन्न भन्नेहरू आफै यस विचारको प्रतिरोधमा उभिन खोज्छन् र लड्दै गर्छन् । तर विरोध गर्न नपाइने र नदिने स्थिति अधिनायकतावादमा मात्रै हुन्छ; लिवरल सोसाइटीमा विरोध व्याख्या आलोचना खुला नै हुन्छन् । हुनुपर्छ । कुनै विचार अन्तिम हुन सक्तैन भन्ने ठान्दा प्रत्येक विद्यमान विचार राम्रो वा नराम्रो हुनसक्छ, बीचको पनि हुनसक्छ तर उग्रवाममार्गीहरू भने आफ्नो सिद्धान्तलाई अपरिवर्तनीय ठानेर अरूले ल्याएका परिवर्तनशील विचारको विरोधमा तृप्ति लिन्छन्, आफूले रुचाएको धारणालाई वैज्ञानिक ठानेर अरू सारा नयाँ आउनेलाई अवैज्ञानिक ठान्दछन् । यो हास्यास्पद कुरा हो ।

यही हास्यास्पद स्थितिबाट उम्किन बदलिँदो विश्वपरिस्थिति बुझ्ने नयाँ लेखक, कलाकार सबैसबै उत्ररआधुनिक सोचको अनुयायी छन् किनभने वर्गहीनतामा सबै अटाउँदैनन्, ती अनेक वर्गमा विभाजित छन् ।

मानिसका इच्छाले, क्षमताले, चाहनाले उसलाई अनेक वर्गहरूको अनन्त श्रेणीमा राख्दछ । ऊ कुनै श्रेणीमा पर्दछ ।

६. विश्वमा उत्तरआधुनिकताको सुरुवात कहिलेदेखि भएको हो ? यसका अभियानकर्ताहरू को को हुन् ?

सन् १९६७ लाई यसको आधिकारिक आरम्भसम्म मानिन्छ । जब त्यसबेला ज्याक डेरिडाले अमेरिकाको जोन हप्किन्ज विश्वविद्यालयमा स्ट्रक्चर साइन एन्ड प्ले शीर्षक कार्यपत्र प्रस्तुत गरे । अरू उत्तरआधुनिकतावादीको सङ्ख्या ठूलो छ, त्यो निरन्तर छ ।

उत्तरआधुनिक दर्शतका अभियन्ता र अग्रणी धेरै छन् । तीमध्ये एक हुन् ज्याक डेरिडा (ज्याक डेरिडाको जीवनी र कृतिकर्मबारे मैले उत्तरआधुनिक ऐना २०६२ मा तीनवटा रचना समावेश गरेको छु । त्यसपछि मिसेल फुकोको नाम आउँछ । आजका अनेक अध्ययन फुकोल्डिअन विचारले प्रभावित छन् । अरू निरन्तर लिइने नाममा जाँ–फ्राँस्वाँ ल्योतार, गाइल्ज डिल्यूडा, फ्रेडरिक जेमिसन, लुस इरिग्यारी, जिमन्ट बाउम्यान, जाँ–बोद्रियार आदि छन् । यीमध्ये कति उत्तरआधुनिकताको समर्थनमा छन्, कति यसका आलोचक–समर्थक छन्, कति नारीवादी दृष्टिकोणले हेर्छन्, कति माक्र्सवादी, अझ कति उत्तरआधुनिक परिवेशमा साइबर जगत सामू मानिसलाई हेर्छन्, कति ग्लोबलताले ढाकेको विश्वमा मानवको नियतिको व्याख्या गर्दछन् । सबैका परिचय र प्रत्येकले पछ्याएको दार्शनिक अन्तरपाठ हेर्दा उत्तरआधुनिकता पनि एक होइन अनेक पाठहरूको महापाठझैँ लाग्दछ ।

७. नेपालमा चाहिँ निक्कैपछि मात्र यसको बारेमा चर्चा र चासो राख्न थालियो । यसको मूल कारण के होला ?

अन्यत्र चलेको तीस वर्षपछिदेखि यहाँ यसको चर्चा आरम्भ भयो । टाढादेखि हावा चल्दै आउँदा बल्ल त्यो यहाँ पुग्छ । फेरि हाम्रो शिक्षाको स्तर तल छ, उच्च शिक्षाको आरम्भ धेरैपछि भयो । त्यसकारणले हाम्रोमा नवविचारका सम्वाहक स्रोत कम्ती छन् । त्यसैले उताका कुरा यहाँ पुग्न त्यति लाग्नु स्वभाविकै हो । फेरि हिजोसम्म पनि हामीलाई संरचनावादी सोचले छोपेको थियो । हाम्रो पठनपाठन लेखन चिन्तन र विश्वविद्यालय बृत्त त्यसैमा थिए । सारा बौद्धिक विमर्शहरू त्यसैले सञ्चालित थिए । त्यसबाट छुटकारा पाउन धेरै समय लाग्छ । अरू प्रकारका सत्यमार्ग छन् होला भन्ने पत्ता लगाउन धेरै समय लाग्छ । एउटा विचार सिद्धान्त वा दर्शनको बादल लागेपछि धेरै कालसम्म परिवेशमा त्यसैले छाउँछ ।

हरेक विचार वा दर्शन एकपल्ट लाग्ने बादल हो । हरेक धर्म संस्कृति वा परम्परा लामो समयसम्म जगत् ढाक्ने बादल हुन् । राजनीतिक प्रणाली पनि त्यस्तै हुन् । तर सबै सूर्य अस्ताउछन्, फेरि अर्को नयाँ उदाउँछ । ब्रह्माण्ड स्वयम् पनि सृष्टि र प्रलयका चक्रमा छ । मानिसले सोचेर सिर्जना गरेका विचार, धर्म र दर्शनको कति पो आयु हुन्छ र ? त्यो घाम हो । कुनै लामो दिनभरि चम्के झैँ लाग्छ, कुनै वादल लागेकाले छोटो दिनमै अस्ताएझैँ । ती छोटा लामा प्रकारका महाख्यान हुन् । एक अस्ताउँछ, अर्कोले प्रतिस्थापित गर्छ । ती विचार दर्शन मरेर जाने होइनन् । छोपिने मात्र हुन् । कुनै निस्तेज हुन्छन् । सयौँ वर्षपछि फेरि चम्केलान् । सबै कुरा अघि भइसकेको छ, सबै कर्म पुनरावृत्ति छ, सबै लेखिएकै छ, बोलिएकै छ । फेरि पनि नयाँ आउँछ । सृष्टिको निरन्तरता झैँ विचारको पनि चक्र हुन्छ । त्यो नबुझ्दा रुढ भै हामी एउटैमा पिङ खेल्छौँ, झुन्डिन्छौँ, त्यसलाई जोगाउँन बल गर्छौं, जुन व्यर्थ हुन्छ ।

नेपालमा तीसको दशक ओझेल पर्न थालेदेखि उत्तरआधुनिक ‘पद’ हरू आउन थाले, चालीसदेखि पदावली स्थापना भयो, रचना लेखिन थाले । पचास लागेदेखि कृति आउन थाले । आज डेढदशक व्यतीत हुँदा प्रत्यक्ष वा परोक्षरूपले उत्तरआधुनिकतासँग जोडिएका २४ वटा कृति प्रकाशित भए । अबको त्यो प्रकाशन प्रक्रिया तीव्र हुँदैछ, किनकि हाम्रा सबै विश्वविद्यालयमा सबै उच्च तहका पाठ्यक्रममा त्यो लागू भएको छ । नेपाली सङ्गीतमा, कलामा, साहित्यमा यसबारे कृति लेखिए चर्चा हुन थालेका छन् । विस्तारै यसको क्षेत्र विस्तर हुँदैछ । समाजशास्त्रमा त्यो पुगेको छ; राजनीतिलाई पनि ।

८.तपाईंको ‘उत्तरआधुनिक ऐना’ (२०६२ ) र ‘उत्तरआधुनिक विमर्श’ (२०६४) पुस्तक प्रकाशित भए । ती पुस्तक चर्चित र पुरस्कृत पनि भए । के छ ती पुस्तकमा ? तपाईंको अहिलेसम्म कतिवटा पुस्तक प्रकाशित भएका छन् ? कुनै प्रकाशोन्मुख पनि छन् कि ?

ती पुस्तक चर्चित र पुरस्कृत पनि भए भन्ने कुरालाई अलिकति प्रष्ट पार्न चाहन्छु ।

उत्तरआधुनिक ऐना (२०६२) सिद्धान्त र समालोचनाको सङ्ग्रह हो । यसले “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” को २००५–२००६ को सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्राप्त ग¥यो । त्यसैगरी उत्तरआधुनिक विमर्श (२०६६) पनि सिद्धान्त र समालोचनाको कृति हो । यसको प्रकाशनपश्चात् मैले एकैचोटि दुइवटा पुरस्कार प्राप्त गरेँ— रुसको अनेसास शाखाबाट जयपृथ्वी मिनायेभ–पुरस्कार प्राप्त गरेँ तीन महिनापछि अनेसास केन्द्रीय समितिको न्युयोर्कबाट डायास्पोरा पुरस्कार प्राप्त गरेँ ।

यी पुस्तकले नेपाली साहित्यमा उत्तरआधुनिक सोच र सिद्धान्तलाई प्रयोगमा देखाउने प्रयत्न गरेको छ । दुवै कृतिमा आधि सिद्धान्त र आधि प्रयोग छन् । उत्तरआधुनिक ऐना हाल परिवद्र्धित (तेस्रो) संस्करण आएको छ भने विमर्श नेपाली समालोचनाको सबैभन्दा ठूलो (६७५ पृष्ठको) कृति हो ।

अहिलेसम्म प्रकाशित मेरो पुस्तकको सङ्ख्याले दुई दर्जन नाघ्यो होला । तर ती विभिन्न खालका भएकाले एकै ठाउँ जोड्न नमिल्ने लाग्दछ । मेरा तीनवटा उपन्यास, चारवटा निबन्धसङ्ग्रह, पाँचवटा समीक्षा समालोचनाका सङ्ग्रह छन् । सम्पादित, सह–सम्पादित गरी सातवटा, अङ्ग्रेजीबाट नेपालीमा र नेपालीबाट अङ्ग्रेजीमा अनूदित पाँचवटा । अरू भाषाविज्ञान, अनुसन्धान र भाषाशिक्षणमा पनि छन् । अलिकति भाषविज्ञानमा, अलिकति साहित्यमा, अलिकति भाषाशिक्षणमा, अलिकति अनुवादमा, अलिकति सम्पादनमा हुँदा म अलिक छरिएको छु । म सङ्गगठित भएर केवल सिर्जनामा लागौँ भन्दछु तर जीवन सोजेजस्तो नहुँदो रहेछ । एकबाटो नहुँदो रहेछ । अब त ह्वाट इज डन क्यान्नट बी अन्डन । नरोजेको बाटोको चिन्ता गरेर फाइदा छैन । रै पनि मलाई चिन्ता लाग्छ— यो सम्पूर्ण जविन सिर्जनात्मक लेखनमा मात्रै बिताउन पाएको भए हुन्थ्यो । तर सबैका इच्छा अधूरा छन्, मेरा मात्रै कहाँ पूरा हुन्छन् ? मेरा प्रकाशित कृतिहरु:

उपन्यास

मुगलान, २०३१ (लेखक स्वयम्)

मणिपुरको चिठ्ठी, २०३४ (साझा प्रकाशन)

सुकरातका पाइला, २०६३ (मोडर्न बुक्स)

निबन्ध

एक्लै एक्लै एक्लै, २०६० (रत्न पुस्तक भण्डार)

विश्वविद्यालयमा अग्निपूजा, २०६१ (रत्न पुस्तक भण्डार)

सङ्गै बसौँ यो रात, २०६४ (साझा प्रकाशन)

गोधूलिमा दस पाइला, २०६६ (ओरिएन्टल पब्लिकेसन)

सिद्धान्त/समालोचना

काव्यिक आन्दोलनको परिचय, २०४९ (नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान)आख्यानको उत्तरआधुनिक पर्यावलोकन, २०६१ (रत्न पुस्तक भण्डार)

पश्चिमी बलेँसीका बाछिटा, २०६१ (नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान)

उत्तरआधुनिक ऐना, २०६३ (रत्न पुस्तक भण्डार)

उत्तरआधुनिक विमर्श, २०६४ (मोर्डन बुक्स)

उत्तरआधुनिक समालोचनाको स्वरूप (प्रकाशोन्मुख)

सम्पादन

द्वन्द्व र युद्धका कथा, २०६३ विष्णुविभु घिमिरेसँग (नेल्टा)

वियोन्ड द फ्रन्टियर्स : विमिन्ज स्टोरिज फ्रम नेपाल, २०६३ (गुञ्जन)

आरम्भअघिका शब्दहरू, २०६४

कृष्णचन्द्रसिंह प्रधानका भूमिका (रत्न पुस्तक भण्डार)

सिमसारका राजदूत, २०६५

मोहन कोइरालाको काव्य (रत्न पुस्तक भण्डार)

निबन्धमा उत्तरवर्ती कालखण्ड, २०६५

अभि सुवेदीका निबन्ध (रत्न पुस्तक भण्डार)लेखक, २०६६

मोहन कोइराला विशेषाङ्क (नेपाली लेखक सङ्घ)

पूर्वीय चिन्तन परम्परा, २०६६ सङ्कलन (विद्यार्थी पुस्तक भण्डार)

अनुवाद

सेलेक्टेड नेपाली एसेज, २०६०

पच्चीस नेपाली निबन्ध (जीवा लामिछाने)

सेलेक्टेड स्टोरिज फ्रम नेपाल, २०६१

पच्चीस नेपाली कथा (साझा प्रकाशन)

डिक्लेरसन अफ न्यू गड, २०६१ गोपाल पराजुलीको काव्य (नेपाली साहित्य परिषद् यू.के.)

स्टोरिज अफ कन्फ्लिक्ट एन्ड वार, २०६४

पच्चीस नेपाली द्वन्द्वकथा (नेल्टा)

गान्धी, २०६६ गान्धीका वाणीहरूको सङ्ग्रह (बिपिकेएफ)

यतिखेर म दुईवटा कृतिमा लागको छु— एउटा उपन्यास आधि पुगेको छ । यो वर्षभरिमा पूरा होला कि भन्ने आशामा छु । एउटा समालोचना को कृति छ— उत्तरआधुनिक समालोचनाको स्वरूप । त्यो पनि २०६६ साल भरिमा पूरा गर्नेछु । अरू तीन चार सङ्ग्रह हुने निबन्ध छन्, समेट्न फुर्सद छैन । हालै अङ्ग्रेजीबाट नेपालीमा अनूदित गान्धीको विमोचन भयो भने मेरो तेस्रो उपन्यास सुकरातको पाइलाको अङ्ग्रेजी अनुवाद प्रकाशोन्मुख छ । बलराम अधिकारीले त्यो गरिसकेका छन् । अङ्ग्रेजी र नेपालीमा गरी २०० रचना पुगे होलान् ।

९. तपाईंको कृति वा तपाईं स्वयंले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?

मलाई पुरस्कार दिलाउने दुईवटा कृतिको माथि नाम लिइसकेँ । तेस्रो कृति सुकरातका पाइला (२०६३) । यसको लागि मैले दुईवटा पुरस्कार प्राप्त गरेको छु ।

मैले प्राप्त गरेका सम्मान पुरस्कार यसप्रकारका छन् :

सम्मान पुरस्कार

दीप–गोविन्द स्मृतिसम्मान पुरस्कार, २०६३ काठमाडाँै, नेपाल

महाकवि देवकोटा व्याख्यान पुरस्कार, २०६३ कलैया, बारा (नेपाल)

रामराज पन्त स्मृतिसम्मान पुरस्कार, २०६४ काठमाडौँ (नेपाल)

“उत्तरआधुनिक ऐना” को लागि सर्बोत्त्कृष्ट पुस्तक पुरस्कार २००६, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डीसी, अमेरिका

मातृभूमि साहित्य समाज, हेटौँडा, मकवानपुरद्वारा मातृभूमि साहित्य सम्मान २०६५

श्री आदर्श विद्यामन्दिर उच्च माध्यमिक विद्यालय, घैलाडुब्बा झापाद्वारा विद्यालय रत्न सम्मान २०६५

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, रुस शाखाद्वारा प्रथम जयपृथ्वी इभान–मिनाएभ स्रष्टा सम्मान तथा पुरस्कार, रुस, मस्को २००९

चेतन प्रतिभा उन्नयन तथा संरक्षण प्रतिष्ठान विराटनगर नेपालद्वारा सम्मानपत्र, १७ साउन २०६६

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टनद्वारा डायास्पोरा खेमलाल हरिकला लामिछाने पुरस्कार, २००९

१०. तपाईं अङ्ग्रेजी साहित्यको विद्वान । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउनु भएको छ । तपाईंलाई मन पर्ने विधा कुन हो ? किन ?

मलाई मनपर्ने विधा उपन्यास । पढ्न मन पर्ने अङ्ग्रेजी उपन्यास, लेख्न मन पर्ने नेपाली उपन्यास । मलाई उपन्यासकारको रूपमा आफूलाई चिनाउन मन छ । तर मलाई मानिसले समालोचक भनिदिँदा म धेरै दुःखित हुन्छु । किनभने सिर्जनाभन्दा ठूलो केही छैन । अरू सारा कुरा बद्लिन्छन् सिर्जना आफ्नो मूल्य बोकेर बसिरहेको हुन्छ । त्यसैले म उपन्यास रोज्दछु किनभने एक त मैले आफ्नो लेखक जीवन उपन्यासबाटै आरम्भ गरेँ— मुगलान (२०३१) बाट । त्यसमाथि उपन्यास आजको महाकाव्य हो । यसमा सिङ्गो जीवन लेख्न सकिन्छ, समाज उतार्न पाइन्छ । यसमा अनेक प्रयोग सम्भव छन् ।

विश्वसाहित्यको पचास प्रतिशत पाठक उपन्यासकै छ । पचास प्रतिशत पुरस्कार उपन्यासबाटै । सिर्जनाको अपार क्षमता प्रयोग गर्न सकिने क्षेत्र उपन्यासले ठूलो सम्मान पाएको छ, वितरण भएको छ । पाठकलाई सरल कल्पनाभित्र जटील जीवन बुझाउने सकिने क्यान्भास उपन्यास हो । कविता उचाइमा पुगेपछि दुर्वोध्य हुन्छ, पाठक घट्तै जान्छन् । कथा सानो उपन्यास हो । निबन्ध र अरू नन्फिक्सन विधाको लेखन अन्यधिक भएको कृतिले साहित्यिक अनुशासन छोडेर सामान्यतिर ओर्लेका छन् ।

११.तपाईं अहिले डायास्पोरिक साहित्यको अनुसन्धान र लेखनमा लाग्नु भएको छ । के हो डायास्पोरिक साहित्य भनेको ?

हो, म विगतका दश वर्षदेखि विश्वसाहित्यमा अर्थात् साहित्य सिद्धान्तमा आएका नवीन विधा र हाँगा नेपालीलाई बुझाउनमा लागको छु । तीमध्ये डायास्पोरा सिद्धान्त, इको (परिवृत्तीय) सिद्धान्त, अभिघात सिद्धान्त, विभिन्न प्रकारका फेमिनिजम्हरू (जस्तै— सन्दिग्ध सिद्धान्त), विनिर्माणवाद, साइबर समालोचना ... अनेक प्रकारका नयाँ साहित्यिक सिद्धान्तबारे नेपालीमा चर्चा पु¥याएँ, परिचय राखेँ, आज ती स्थापित हुँदा छन्, प्रयोग हुँदोछ । ती सबै उदारवादी सोचका र जीवनपद्धतिका पक्ष हुन् । ती सबै उत्तरआधुनिकताभित्र पर्दछन् ।

वास्तवमा मैले डायस्पोरा साहित्य र समालोचनाको निमित्त गरेको प्रयत्नको फलस्वरूप त्रिविको पाठ्यक्रममा यसको प्रवेश भएको छ । यसपालिदेखि एनआरएन, अनेसास र त्रिविको संयुक्त प्रयत्नले अबदेखि एमए, एमफिल र पीएचडी तहसम्मका डायास्पोरा विषयका निश्चित शोधार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको छ । डायास्पोरा स्टडी सेन्टर खोल्ने कुरा भएको छ । यो ऐतिहासिक कदम हो ।

मैले उत्तरआधुनिक ऐना (२०६२) र उत्तरआधुनिक विमर्श (२०६४) मा डायास्पोरा साहित्य र समालोचनाको विस्तृत चर्चा गरेको छु । नेपाली साहित्यको उउटा हाँगो त्यता ढल्केको प्रमाण प्रस्तुत गरेको छु ।

यो चेतना देशभित्र बाहिर व्यापक भएको छ । हाम्रा परिभाषा र दृष्टिकोण बदलिएका छन् ।

गत अगस्त महिनामा अमेरिकाको न्युयोर्कमा प्रथम अन्तर्राष्ट्रिय डायास्पोरिक साहित्य सम्मेलनको आयोजना भयो । त्यहाँ यस विषयका कार्यपत्र प्रस्तुत भयो । यो ऐतिहासिक दिशा परिवर्तन हो ।

त्यस महासम्मेलनको अध्यक्षता गर्न पाउने अवसर र डायास्पोरिक पुरस्कार प्राप्त गर्दाको क्षणलाई मैले आफ्नो जीवनमा एक विशेष उपलब्धी मानेको छु । अझ नेपाली सहित्यमा एक ऐतिहासिक दिन, किनभने यस दिनले हामी सबैलाई डायास्पोरा सिर्जना र समालोचनातिर दृष्टि दिन सिकायो, ती साहित्यको मूल्याङ्कन गर्न सिकाउँदै छ ।

नोट १. विलियम साफ्रान ‘डायास्पोराज इन द मोर्डन सोसाइटिज्ः मिथ्स् अव् होमल्यान्ड एन्ड रिटर्न्’ डायास्पोरा १:१

(उल्फ्रेज २००७, १—३४ मा सन्दर्भमिति)

१२. मूलधारको साहित्य र डायास्पोरिक साहित्यमा के फरक छ ?

निकै अन्तर छ । डायास्पोरिक साहित्यको बारेमा माथिको आलेखले पनि धेरै कुरा प्रस्ट पारेको छ । डायास्पोरिक साहित्य दुइवटा गरामा जरा टेकेर पलाएको रूख हो, त्यसबाट फलेको फल । आधिजरा खोलमा वारी आधि पारी हुन्छन् । आजको विश्वसाहित्यको ठूलो भाग यस्तै परिस्थितिमा लेखएिको छ— होमकन्ट्री र होस्टकन्ट्रिका सम्झना र यथार्थ मिसिएका छन् । अरू साहित्यको तुलनामा नेपालीको डायास्पोरिकता निकै कलिलो छ तर यसले प्रस्ट आकार लिइसकेको छ ।

यो तेस्रो स्वादको फल हो । दुवैतिरको धर्म संस्कृति, चेतना र जीवनशैली मिसिएको, प्रेम र घृणा जोडिएको, सम्झिने र विर्सने क्रमले सधैँ छुत्ति खेलाएको ।

मूलधारको साहित्य यस्तो हुन्न, अलि फरक छ । यसको जरो पनि लामो हाँगा पात धेरै हुन्छन् ।

डायास्पोरिक नयाँ फल हो । यसमा एकप्रकारको फ्युजन हुन्छ, मिश्रितता । अरू पुराना साहित्यमा ता बोट हुर्किसकेको छ, हाम्रोमा भर्खर फल लाग्न थालेको विरुवा । यसमा बसेर लेख्नेलाई परिचयको समस्या हुँदैन, अस्तित्वको समस्या हुँदैन, भाषिक सांस्कृति अझ कानुनी, राजनीतिक अधिकार अधूरा हुन्छन् । जीवन सधैँ अपरिभाषित द्वन्द्वमा हुन्छ । त्यो मनस्थितिको लेखन ठीक त्यस्तै हुन्छ ।

एउटा स्मरणीय कुरा के छ भने कतिले मूलधार साहित्य गतिलो, पूर्ण र अलग हो भनी आफू भिन्न देखिने गर्दछन् । पूर्ण त हो तर अरू अनेक भेद र प्रकृति मिसिएर पूर्ण लागेको हो ।

तर आज परिभाषा बदलेको छ । एक देशको साहित्य मात्र पूर्ण बन्दैन, त्यो मूलधार पनि होइन । विभिन्न भाषामा लेखिएका, देशभित्र र बाहिर लेखिएका, विभिन्न लिपिका, संस्कृतिका, विभिन्न समुदाय र वर्गले अभिव्यक्त गरेका समग्रता मिलेर मात्रै मूलधार साहित्य बन्दछ । डायास्पोरिक साहित्य मूलधारको मुटुमै हुन्छ । अनेक भेदले मूलधार बन्दछ, यो एक भेद मात्र हो ।

१३. डायास्पोरिक साहित्य पनि मूलधारको साहित्य भन्दा कम छैन । डायास्पोरिक साहित्यलाई पनि विद्यालय वा विश्वविद्यालयमा पढाउनु पर्छ जस्तो लाग्दैन तपाईंलाई ?

यसको कुरा माथि भनिसकेँ । विश्वविद्यालयमा मात्र नभै प्रज्ञाप्रतिष्ठानमा, प्रमुख पुस्तकालयमा, साहित्य समालोचनामा, इतिहास लेखनमा, नारी साहित्य, बाल साहित्य, प्रौढ साहित्य, दोस्रोभाषीले रचेको साहित्य, अन्य भाषामा रचित नेपाली साहित्य जस्ता विभिन्न खण्ड र सेक्सन हुनु आवश्यक भएझैँ सर्वत्र डायास्पोरिक साहित्यको उपस्थिति आवश्यक छ ।

देशभित्रका प्रतियोगिता, पुरस्कार, सम्मान टाढाटाढासम्म पुग्नु पर्दछ । बाहिरले पनि देशभित्रकोलाई हेर्नुपर्छ, हेर्दैछ पनि । यी भिन्न हुन् तर केवल सहअस्तित्वले चलेका अन्योन्याश्रित । अमेरिका, बेलायत वा हङकङ आदि ठाउँमा नेपाली साहित्यको सेवामा जीवन बिताउनेलाई नेपालले नहेरे कसले हेर्छ ? यसतर्फ देशको सिमाना काटेर मदन पुरस्कार गुठीले चाहिँ प्रशंसनीय काम गर्दैछ तर त्यसले पुग्दैन । यसमा सरकारकै नीति हुनुपर्छ, विश्वविद्यालयकै । तर यहाँ बुझाउन कठिन छ । अघि गोपाल पराजुलीका पालामा गरिमा मासिकमा डायास्पोरा शीर्षकमा प्रत्येक महिना एक रचना निस्कन्थ्यो । हाल आएर त्यसलाई हटाइयो । मानिस बुझ्दैनन र संवेदना छैन र रुढताले गाँजेका हामी एउटा निश्चित संरचनाभन्दा बाहिर निस्कनु गलती ठान्दछौँ । यसरी मात्रै डायास्पोरिकताले स्थापित हुन धेरै वर्ष लाग्ने हो कि भन्ने पीर लाग्दछ । कतिबेला त्यो प्रतिगमन जता पनि हुँदोरहेछ ।

१४. डायास्पोरामा सिर्जनारत लेखकहरूलाई तपाईंको कुनै सुझाव वा सल्लाह छ कि ?

त्रिवि र अनेसासको सोच आदर्श छन् । एनआरएनले पनि सघाउने छ । पुरस्कार स्थापित छन् । एउटा डायास्पोरा लाइब्रेरीको स्थापना प्रथम कर्म हो । यसलाई मूर्तरूप नदिई कति कृति रचिए, कति कहाँ बिलाए त्यसको अलग्गै अभिलेख नराखी डायास्पोरा सिर्जना अँध्यारोमा विलीन भएर जान्छ । यसतर्फका लेखकले पनि प्रत्येक देशमा नसके महादेशमा यस्ता पुस्तकालय स्थापना गरी आर्काइव खडा गर्नु पर्छ । त्यसले अघि बढ्ने बाटो लिन्छ ।

डायास्पोरा लेखकले होमल्यान्डको चिन्ता मात्र लेख्ने होइन, होस्ट कन्ट्रिको यथार्थता बढी लेख्नु पर्छ । त्यो कलमी विरुवा त्यही माटोमा फलाउनु पर्छ । त्यहीँ कथा कविता नाटक काव्य कुन विधा पुगेन त्यता लाग्नु पर्छ । त्यहाँ आफ्नो समालोचक इतिहासकार जन्माउनु पर्छ । आआफ्नो डायास्पोरा केन्द्रका आफ्ना पुरस्कार, सम्मान प्रकाशन अभिलेखको विस्तार गर्दै लानुपर्छ । ती मानिस फर्किने छैनन्, विस्तारै आफ्ना साहित्यिक सांस्कृतिक अविकार सम्पन्न गर्दै लानेछन् फर्के पनि फेरि नयाँ पुस्ताले ती ठाउँ भरिने छन् । ग्लोवलताले छरेका हामी भविष्यका विश्वमा यसैगरी चलिरहने छौँ ।

डायास्पोरिक लेखक त्यहाँको चेतना सूत्र हो । ती ठाउँमा कलासाहित्यको सूत्रधार र दीपक पनि । तर अब मूल देशको जस्तो चाहनु हुँदैन, त्यो सम्भव छैन । एक प्रकारको, मिश्रित अनुकुलित र हाइब्रिड संस्कृति, त्यहाँको र यहाँको दुवैतिरको सुगन्ध आउने हुर्किरहन्छ । तिनीहरूले त्यसैलाई हुर्काउन् ।

१५. अहिलको बदलिँदो राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा कस्तो साहित्य लेखिनु पर्ला ?

नेपाली साहित्यका पाठकको निमित्त अत्यन्तै राम्रो समय आएको छ । अघि पाँच दशवटा राम्रा उपन्यास पढेपछि भण्डार रित्तो हुन्थ्यो । दश थान यात्रासङ्ग्रह थिएनन्, त्यति कथासङ्ग्रह पनि थिएनन् । अन्तर्वार्ता, जीवनी, आत्मसंस्मरण विधाका कृति नमुना दवाइ मात्र हुने गर्थे । छ महिना पढ्दा प्राय सबै लेखक चिनिने र भण्डार रित्तिने समय थियो ।

तर आजको स्थिति भिन्न छ । सयौँ उपन्यास छन्, त्यतिकै कथा छन्, नाटक, निबन्ध र अन्य विधाका मौलिक र अनुदित थरिथरिका पढिनसक्नु कृति छन् । साहित्यका पाठकले नेपाली छोडेर अन्यत्र जानै नपर्ने स्थिति छ । सबै विधा, उपविधा पूर्ण विकसित छन् । प्रत्येक दिन कतै न कतै कृति विमोचन हुँदा छन् । कम्तिमा पनि वर्षको एक हजार शीर्षक सिर्जना हुन्छ यतिखेर । स्तरीय छापाखाना छन्, अत्याधुनिक प्रविधि छन्, सुन्दर पुस्तक निस्कन्छन्, प्रकाशक छन्, पाठक छन् । व्यापक वितारण पनि हुन थालेको छ । नयाँ संस्करण वर्षको दुई हजारसम्म बिक्न थालेको छ । यतिबेला विद्यालय कलेजसमेत गरी दुई हजार जति सानाठूला पुस्तकालय छन्, पाँचसय जति सार्वजनिक पुस्तकालय छन्, रुम टु रिड, रिड नेपाल— अनेक प्रकारले पुस्तकालय संस्कृति बढ्दो छ, पठन संस्कृति हुर्किंदो छ । यो अत्यन्तै सकारात्मक र आशलाग्दो स्थिति हो । उता लेखकले पनि धेरथोर पारिश्रमिक पाउँदछन् । रोयल्टी पाउँछन् । कपिराइट आउँदै छ ।

एकातिर यस्तो सकारात्मक चित्र देखिन्छ परन्तु अर्कातिर आजका नेपाली पाठक सन्तुष्ट छैनन् । उनीहरूको तीर्खा मेटाउने कृति आएन, युगान्तकारी कृति आउन नसक्ने हो कि किन सधैँ सफल लेखनको अभाव अनुभव हुन्छ । यतिखेर नाम चले भनेका कृतिले पनि युवापुस्तालाई हल्लाउन सकेको छैन । के कारण यस्तो हुँदैछ होला, उनीहरू प्रश्न गर्न थालेका छन् ।

नेपाली साहित्यको केन्द्रीय भुमरीमा खेल्न थालेको निकै भयो । आज गम्भीर पाठकले सोधेका प्रश्नले मलाई सोच्न बाध्य गरायो । मैले त्यो बेला भी एस नइपललाई सम्झेँ— उनको द उन्डेड सिभिलाइजेसन । यस कृतिमा भनेका छन्— भारतवर्षको प्राचीनता, यसको महानता, हजारौँ वर्षको निरन्तरताले गर्दा आज एक विशाल अतीत छ, यसको व्यापक पृष्ठभूमी छ । एउटा महान् लेखक जन्माउने सभ्यता पनि त्यतिकै महान्, प्राचीन, गम्भीर हुनुपर्छ । त्यसको संस्कृति त्यतिकै सम्पन्न विकसित र निरन्तर हुनुपर्छ । हो पनि त्यही प्राचीनताको ज्ञान र आध्यात्मिक उज्यालोलाई जोड्दा रवीन्द्रनाथ ठाकुरले नोबेल पुरस्कार प्राप्त गरे । यो प्राचीन उज्यालो संस्कृतमा लुकेको छ, उता अरवी, फारसी, चिनिया, जापानी, रुसी भाषामा महान् कृति लेखिनु, पढिनुको कारण त्यही हो । ती भाषाले अतीत गौरब बोकेर ल्याएका हुन्छन । तिनैमा नयाँ समय जोडेर उनीहरू लेख्तछन् । त्यसमा अमर विचार, व्यापक संवेदना, गहिरा चिन्तन र लामो जीवन मार्ग हिँड्ने परदेशीको झैँ परिपक्वता हुन्छ ।

नेपाली साहित्यमा त्यस्तो प्राचीनताको गौरव छैन । फेरि प्राचीनतातिर मात्र फर्केर पुग्दैन । अबको जगत् अत्यन्तै ग्लोबल संस्कृतिले ढाकेको, एकप्रकारको हाइब्रिड चेतनायुक्त, हाइटेकले छोपेको र एक भिन्न जगत् जस्तो भएको छ । हाम्रो साहित्यको आत्मा अतीत हुनुपर्छ र शरीर वर्तमानको अत्याधुनिक विश्वसंस्कृति । त्यसको ज्ञान र प्रयोग । प्रेमका, विछोडका, द्वन्द्वका, त्यागका, बलीदानका, युद्धका गाथा सधैँ तिनै हुन्, सत्यका, ईश्वरका, सृष्टिका, प्रकृतिका कुरा पनि तिनै हुन् तर तिनमा समयले ल्याएका नवीनता भएन भने, कलाको निखार र दुवैको संयोजन चेतना हुन आवश्यक छ । विश्वका अन्य सम्पन्न साहित्यबाट आएका कालजयी कृति पढ्नेहरूका लागि नेपालीमा त्यस्ता कृतिको अभाव खड्किनु स्वाभाविक लाग्दछ ।

नेपाली सिर्जनाले सिर्जनाको यो शाश्वत गहिराइतिर ध्यान दिएको छैन । अधिकांश लेखन अत्यन्तै सतही छन् । गम्भीरता रहित छन् । नेपाली भाषा र संस्कृतिले छोएको जीवनका तात्कालिक झलक मात्र छन् । तिनमा विचार र चेतनाको दार्शनिक धरातलको अभाव छ अर्कातिर ती वर्तमान विश्वपरिस्थितिको परिवर्तन र प्रभावदेखि त्यतिकै टाढा छन् । हाम्रा लेखकमा दुवै कुराको ज्ञान र अनुभव नभएकाले ती खोक्रा लेख्छन्, जीवनलाई नछुने लेख्छन्, दर्शनलाई छुन नसकी लेख्छन् विश्वलाई नबुझी त्यता नहेरी लेख्छन् । ती तात्कालिक फास्टफुड हुन्छन् तर गम्भीर पाठकको तृष्णा मेट्न ती असमर्थ छन् । ती प्रचारले हल्लाले एकछिन अडिएर फुट्ने पानीका फोका छन् । आफैँतिर फर्किने र विश्वतिर फर्किने आवश्यकतालाई हृदयङ्गम नगरेसम्म त्यसतिर अभ्यास नगरेसम्म, नेपाली साहित्यमा यस्ता अधूरा ‘मिडिओकर’ कृति आइरहने छन् । मिडिओकर कृतिमा सदा अमर रहने शक्तिको अभाव हुन्छ । त्यसैले होला यतिखेर नेपाली साहित्यले युगान्तकारी सिर्जनाको प्रतीक्षा गरिरहेको छ ।

त्यतिमात्र होइन आज सिर्जनाका क्षेत्र र विधा बदलिएका छन् । मूल्याङ्कनका पनि सिद्धान्त पुरै भिन्न भएका छन् । विश्वपरिवेश भिन्न छ । त्यो भिन्नताले गर्दा आजको साहित्य साइबरले प्रभावित छ, ग्लोबलताले प्रभावित छ । यी तत्वले साइबर साहित्य, डायास्पोरिक साहित्यका हाँगा छुटेका छन् । प्रकृतितिर लेखक फर्केको छ; पाठकले त्यसको अपेक्षा गर्दछन् । त्यसैगरी नारी लेखनको दिशा परिवर्तित छ । पुराना परिभाषा बदलिएका छन्, लिङ्ग विभाजन एक अपरिभाषित निरन्तरतामा पुगेको छ । यो साहित्य र समालोचनामा पुगेको छ । लेज्बिअन र गे, ट्रान्सजेन्डर र क्विअर हिजो सिर्जनामा थिएनन् आज छन् । अरू अभिघातका सिद्धान्त छन्, शान्ति लेखन छ, परादेशीय र परासांस्कृतिक छ, देशज र दूरस्थ बेग्लाबेग्लै ध्रूब छन् । यिनको ज्ञान भएन भने, यी हाम्रो लेखनमा आएनन् भने हामी अलग्गिने छौँ, अनभिज्ञ हुने छौँ ।

१६. अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्दा नेपाली साहित्यको स्तर र अवस्था कस्तो देखिन्छ ?

नेपाली साहित्य लुकेको छ, एक प्रकारले कहीँ छैन, कतै देखिँदैन भन्दा हुन्छ । माध्यम नपाएर यो अवरुद्ध छ, पोखरीको पानी झैँ । फेरि नेपाली साहित्यको प्राचीनता विहीन छ । प्राचीन साहित्य भण्डार भारतभूमीको (मात्र) हो भन्ने प्रभाव छ । वेद, पुराण, गीता, रामायण, महाभारत कहाँ लेखिए— यो विशाल आर्यभूमिमा अझ उत्तरतिरै लेखिए हुन् । हामीले त्यही आर्य सभ्यता पालन गर्दै आए तापनि, त्यसैको उपासना गर्दै आए तापनि पश्चिमलाई एउटा गलत ज्ञान पुगेको छ— कालीदास भारतीय थिए, ठूलाठूला ज्ञान र साहित्यका ग्रन्थ भारतीय थिए । वास्तवमा ३०० वर्षसम्म पाश्चात्य साम्राज्यभूमिमा परिणत भएको बेला उनीहरू ती रत्नहरू भारतमै फेला पारे । नेपाल अन्धकारमा थियो र हामी छेलियौँ । प्राचीन ऋषिमुनी तपस्वीदेखि लिएर आधुनिक समयसम्म परम्परा थामेर आउने आर्यसभ्यताबाट नेपाल एक्लियो । भूगोलसँगै संस्कृति र सभ्यता दुई थरी भए । नेपाल छेलियो । अङ्ग्रेजीको प्रभावले भारत सर्वत्र प्रचारित र प्रकाशित हुँदै गयो । परन्तु नेपाल झन् गहिरो अँध्यारोमा प¥यो । भारत स्वतन्त्र हुने बेलासम्ममा ठूलाठूला विद्वान चिन्तकले त्यस भूमिको ज्ञानलाई विश्वभरि पु¥याए । अघिनै नोबेल पुरस्कार पाइसकेको थियो । तर नेपाल स्वतन्त्र हुँदा विश्वविद्यालयको स्थापना भएकै थिएन । त्यसरी हामी धेरै पछि प¥यौँ, पारियौँ । त्यसैले हामीले आफ्नो अतीतलाई जोगाउन त्यसलाई प्रकाशित गर्न नसकेकाले, नजानेकाले नेपाली साहित्य अतीतबेगरको भयो । भानुभक्तबाट हिजैमात्र सुरु भएको साहित्यले अन्धकारबाट मुक्ति खोज्दै दुईसय वर्ष बितेका छन् । त्यसैले अन्तर्राष्ट्रिय साहित्यिक इतिहासमा नेपालीको नाम शून्य छ । पचासवर्ष अघि महाकवि देवकोटाले रुसमा पुगेर कार्यपत्र प्रस्तुत गर्दा आफ्नो अतीतको कुनै चर्चा गरेका छैनन् बरु हामी ‘शैशवकाल’ मा छौँ भनी दोहो¥याएका छन् ।

विश्वसाहित्यमा हाम्रो स्थानको कुरा गर्दा मैले यति बोलेँ । अब ‘स्तर’ सँग जोडिएको अर्को प्रश्न छ । त्यसबारे अलिकति बोल्न चाहन्छु । स्तरको कुरा गर्दा विगत पचास वर्षको नेपाली साहित्य विश्वपरिवेशबाट निकै प्रभावित छ । यो नयाँ विरुवा ज्यादै राम्ररी हुर्के–बढेको छ । यो सबै विधामा विकसित छ । आजको नेपाली साहित्यमा विश्वसँग तुलनीय अनेक विधा छन्— कविता, उपन्यास, नाटक, यात्रा, समालोचना । अन्य साहित्यमा जेजस्तो चेतना, शिल्प र प्रयोग छ, त्यो हाम्रोमा पनि छ तर यसलाई अन्यत्र देखाउन, पु¥याउन नसक्नु हाम्रै कमजोरी हो ।

१७ .अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यलाई पुर्याउन के गर्नुपर्ला ?

यो प्रश्न अघिल्लोसँग पनि जोडिएको छ । अघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मस्को, रुसले गरेको सप्ताहव्यापी साहित्य कार्यक्रममा यही प्रश्न राखिएको थियो । विश्वभरि छरिएका नेपालीलाई यो प्रश्नको महत्व छ । त्यसमा जिज्ञासा पनि रहन्छ— हामी कहाँ पुगेछौँ, अरु समक्ष कसरी प्रस्तुत हुने, अरूलाई के भन्ने, अरूले कहाँ देख्ता हुन् ? यस्ता कुरा आइरहन्छन् । अहिले नयाँ समयले छोपेर ल्यएकाले नेपाली वाङ्मयमाथि धेरै जिम्मेदारी एकैचोटि थपिएको छ । यसको सङ्ख्यात्मक एवं गुणात्मक संवद्र्धनको कुरा छ, यसलाई विश्वसाहित्यमा टेकाउनु छ, लेखाउनु छ ।

नेपाली भाषाको जीवन झन्डै हजार वर्ष लामो भए तापनि यसको साहित्यिक स्वरूपले आकार लिन थालेको भर्खरै हो । यसका कथा, निवन्ध, उपन्यास, नाटक सबै विधाले यतिखेर शतवार्षिकी मनाउ“दै छन् भने महाकाव्य, समालोचना जस्ता कति हा“गाले अझ पछि आकार लिएका हुन्; तिनीहरूको पालो आएकै छैन ।

आज हामी नेपाली साहित्यलाई विश्वको मानचित्रमा कसरी, कहा“नेर देखाउन सकिएला भन्ने चिन्तामा छौ“ ।

यति नया“, यति कलिलो, भर्खरै थिगिरी गर्न थालेको नानी । अङ्ग्रेजी, फ्रेन्च, जर्मन, रसियन, चिनिया“, अरबी जस्ता भाषाका साहित्यले झन्डै सहस्राब्दी लामो जीवन भोगिसके । ती झन्झन् दीर्घजीवनको यात्रामा छन् । जर्मनीमा गुटेन्बर्गको प्रिन्टिङ प्रेस आउनुभन्दा सयौ“ वर्षअघि अङ्ग्रेजी साहित्यले मानक पथ पक्रिसकेको थियो । हाम्रो भने एक सयौँ वर्ष कान्छो र कलिलो । कसरी भर्खर थिगिरी गर्न थालेकी नानीलाई उता विश्वदौड प्रतियोगितामा पठाउनु, कसरी तिमीले ओलम्पिकमा भाग लेऊ भन्नु, आज हामी धर्मसङ्कटमा छौ“ ।

अब नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय आ“गनमा पु¥याउन ढिला हुन थालिसकेको छ । परिणामस्वरूप विश्वको समकालीन लेखन (कन्टेम्पोररि राइटिङ) को चर्चा गर्दा अनेक भाषा र साहित्यको नाम आउ“छ, नेपाल र नेपालीको आउ“दैन ।

विश्वसमक्ष हामी परिचयहीन छौ“, अपरिचयमै आफै“भित्र रमाएर बा“चेका छौ“; कसैले नसुनी, नदेखी, नमानी; यो ठूलो दुखको कुरा हो । शरमलाग्दो पनि ।

वर्तमान नेपाली साहित्यले अकल्पनीय फडका मारेको छ । यसले अनेक प्रयोगमा भाग लिएको छ, आविष्कार गरेको छ, टड्कारो मौलिक मार्ग खनिसकेको छ । हामीस“ग विचारमा, शैलीमा, सिर्जनाको शक्तिमा खारिएका आख्यान छन्, निबन्ध, काव्य, कविता, नाटक र समालोचना छन्् ।

ती कुनै पनि उन्नत साहित्यका स्वरूपस“ग, शैली र विषयवस्तुस“ग तुलनीय छन्, अब सिर्जनाका सबै विधा र उपविधा सम्पन्न भइसकेका छन् । साहित्यलाई सम्बलित गर्ने साहित्येतर लेखनका विधा र प्रकृतिका लेखनहरू पर्याप्त छन् । भाषा, संस्कृति, समाजशास्त्र, अर्थशास्त्र, मनोविज्ञान, इतिहास जस्ता विषयमा नेपाली माध्यम नै प्रवल भएको छ; दर्शन, भाषाविज्ञान जस्ता विषय लेख्न पनि नेपालीकै प्रयोग हुन थालेको छ ।

त्यहा“ पुग्नको लागि केवल चारवटा प्रवेशमार्ग छन् ।

(क) नया“ माध्यमको प्रयोगले साहित्य परिचय,

(ख) अनुवादले आदान प्रदान,

(ग) भिन्न मूलधारको सम्वद्र्धन, र

(घ) अन्तर्सञ्जालले व्यापक विस्तार ।

(क) नया“ माध्यमको प्रयोगले साहित्य परिचय

नया“ माध्यम भन्नाले भाषिक माध्यम— शब्दान्तरले मैले अङ्ग्रेजीलाई सङ्केत गरेको हु“ । हाम्रोमा खालिद हुसेनीजस्तो अफगानिस्तान चिनाउने, बाप्सी सिध्वाजस्तो पाकिस्तान चिनाउने; सल्मान रुस्दी, अनिता देसाइ, अभिताभ घोष, विक्रम सेठ, वा अरबिन्द अडिगाजस्ता भारत चिनाउने, भिएस नइपलजस्तो क्यारिबिया चिनाउने, नदिन गोर्डिमर वा कोत्सीजस्तो दक्षिण अफ्रिका चिनाउने, ओले सोइङ्का अथाव चिनुवा आकेबीजस्तो पश्चिमी अफ्रिका चिनाउने, माइक्याल ओन्दाजेजस्तो श्रीलङ्का चिनाउने नेपाली लेखक जन्मिएको छैन । ती सबैका मातृभाषा फरक छन् तर अङ्ग्रेजीको प्रयोगले गर्दा आज यी लेखक विश्वसात्यिको धुरीमा पुगेका छन् । यसरी तेस्रो विश्वले मातृभाषा र अङ्ग्रेजी दुवैलाई समानान्तर रूपले अघि बढाइरहेकोले ऊ विश्वमा चिनि“दैछ; गीताञ्जलीको अनुवादले नोबेल पुरस्कार जित्यो; त्यस यताको भारत अङ्ग्रेजीको प्रयोगमा झन्झन् उत्साहित छ । हाम्रोमा महाकविकै पालादेखि अङ्ग्रेजी लेखन सुरु भयो । उनको शकुन्तला (अङ्ग्रेजी) र बापु एन्ड अदर सनेट्सले हामीलाई यो नया“ दिशातिर लाग्ने सङ्केत गरिरहेका छन् । आज त्यतातिरको साधना गर्नेको सङ्ख्या धेरै पुगेको छ । तिनीहरूको सिर्जनालाई सङ्गठित व्यवस्थित गरेर विश्वतिर चिनिने एक माध्यम बनाउनु पर्दछ ।

यो वैकल्पिक समय हो । आफ्नो भाषाले मात्र नपुग्ने भएकाले, अन्यको भाषालाई पनि स्वीकारे त्यसलाई प्रयोग गर्नुपर्ने दिन आएको छ । फेरि हामीले रसियाली, जर्मन, फ्रेन्च, जापानी, चिनियाँ जति पनि विश्वसाहित्यका भण्डार छन्, तिनको ज्ञान अङ्ग्रेजी भाषाबाटै ग्रहण गरेका छौँ । लोलिता होस् या अन्ना करेनिना, ब्रदर कार्माजोभ होस् या चेरी अचड अङ्ग्रेजीमै भेट्यौँ । यो साँघु (अङ्ग्रजी) नचढी यतिखेर कोही पारी पुग्न सकेन । त्यसैले हामी यो नया“ माध्यमतिर लागौँ भन्ने सङ्केत गरेको हु“ ।

दोस्रो कुरा विश्वसाहित्यको अध्ययन अनुसन्धान गर्नेले, यसको अभिलेखन, र इतिहास निर्माण गर्नेले अङ्ग्रेजी माध्यमकै सामग्रीको प्रयोग गरेका छन् । हाम्रोमा धेरै अघि लेखिएको प्रा. अभि सुबेदीको अ सर्ट हिस्ट्रि अब नेपाली लिटरेचर, बाहेक अङ्ग्रेजीभाषीले बुझ्नसक्ने कुनै पुस्तक छैन, नेपाली कविताको इतिहास छैन, कथाको छैन, उपन्यासको छैन, निबन्धको छैन— एकसय वर्षको सशक्त र शक्तिशाली नेपाली साहित्यबारे लेखिएको एउटा पनि समीक्षाको कृति छैन । त्यसैले हाम्रो अनुहार प्रतिबिम्बित हुने कुनै दर्पण छैन; त्यसको निर्माण नगरी हामी कतै देखिएनौ भन्नु पनि नसुहाउने कुरा हुन जान्छ । त्यसो त माइकल हटजस्ता विद्वान्ले नेपाली भाषा साहित्यको अध्ययन गरी हिमालयन भोइसेजजस्तो कृति प्रकाशित गरेका छन्, त्यसले पुग्दैन । त्यस्ता अनेक चािहएका छन् ।

यस परिप्रेक्ष्यमा सबैभन्दा महŒवपूर्ण कुरा नेपाली भाषाको समग्र इतिहास, नेपाली साहित्यको विधागत इतिहास, अझ यसको समालोचना र साहित्येत्तर लेखनको समेत इतिहासको खा“चो छ । ठूलो परियोजना बनाएर धेरै वर्ष लगाएर धेरै अर्थ लगाएर यो काम नगरेसम्म हामी कही“ देखिने छैनौं । वर्तमान विश्वपरिवेशले हाम्रो सामू यस्तो परिस्थिति उत्पन्न गरेको छ । त्यसका साथै अव प्रतीकजस्तो, नेप्लिज क्लेजस्तो, नेप्लिज लिटरेचरजस्तो, हिमालयन हेराल्डजस्तो अङ्ग्रेजीमा नेपाली साहित्यबारे छापिने एउटा स्तरीय, केन्द्रीय र उच्चकोटिको जर्नलको प्रकाशन सुरु हुनु आवश्यक छ जसले नेपाली लेखन र अङ्ग्रेजी लेखन दुवै कुरालाई अघि बढाओस्, जसले विश्वपाठकलाई नेपाली साहित्यबारे जानकारी दिइरहोस् । यसको प्रगतिको र दिशाबोधको निरन्तर जानकारी गराइरहोस् ।

(ख) अनुवादले आदानप्रदान

अनुवादद्वारा अन्य साहित्यलाई नेपालीमा ल्याउने र यताको अङ्ग्रेजीमा लाने दोहोरो कामको मात्रा बढाएर त्यस्ता कर्मको व्यवस्थापन सुदृढ गर्नु पर्दछ ।

विश्वसाहित्यबाट हालसम्म एक हजारजति शीर्षक नेपालीमा आएका छन् भने दुइसयजति शीर्षक अङ्ग्रेजीमा गएका छन् । संस्थागत अनुवादको सङ्ख्या भने अत्यन्तै न्यून छ ।

यसको लागि पनि एउटा केन्द्रीय “सेन्टर फर ट्रान्सलेसन” को स्थापना हुनुपर्दछ जसले प्रज्ञाप्रतिष्ठान अथवा त्रिभुवन विश्वविद्यालयको निर्देशनमा कार्य गरोस् । साथै एउटा जर्नल अब् ट्रान्सलेसनको प्रकाशन आरम्भ हुनुपर्छ जसले अनुवादवारे जानकारी निरन्तर प्रवाहित गर्नसकोस् ।

त्योभन्दा पनि महत्वपूर्ण कुरा यतिखेर नेपाली साहित्यमा चुनिएका केही मास्टरपिसको व्यवस्थित अनुवाद थाल्नु परेको छ । यतिखेर दशवटा कथासङ्ग्रह, दशवटा उपन्यास, दशवटा कविताकाव्यसङ्ग्रह, दश नाटक र केही समालोचनाका नमुना, केही बालसाहित्यका, यात्रासाहित्यका, नारी सिर्जनाका विशेष सङ्ग्रह छानेर अङ्ग्रेजीमा लाने बेला भएको छ । त्यस्ता प्रतिनिधि सिर्जनालाई रुसी, चिनियाँ, जर्मन, फ्रान्सेली, हिन्दीजस्ता भाषामा पनि लानुपर्ने दिन आएको छ । नया“ लेखनका, क्लासिकल मास्टरपिसका, अन्य मातृभाषीका, डायास्पोरिक लेखनका विविध स्वरूप र शक्तिका करीव १०० शीर्षक कृति अङ्ग्रेजीमा लाने योजना थाल्नु पर्दछ । यो दशवर्षे योजना हुनसक्छ तर यो कुरा उच्च प्राथमिकताको लक्ष्य हुनुपर्छ । यसप्रकार नेपाली लेखनको सिर्जना साथसाथै मूल्याङ्कन र अभिलेखनका कुरा पनि निरन्तररूपले अङ्ग्रेजीमा समेत प्रवाहित भइरहनु पर्दछ । नत्र हाम्रो अनुहार कही“ देखिने छैन । अव नेपाली अङ्ग्रेजीमा समानान्तरताका दिन आएका छन् हाम्रो नयॉ पुस्तामा द्वैभाषिक र द्वैसांस्कृतिक संसारमा अवतरण गर्दैछ ।

अन्यत्रका प्रवृत्ति र प्रयत्नबारे पनि हामीलाई जानकारी निरन्तर भइरहनु आवश्यक छ । लेखनका शैली बदलिए, विषवस्तु बदलिए, आन्दोलन, प्रवृत्ति र थिम निरन्तर परिवर्तित भइरहन्छन् । त्यस्ता प्रवृत्ति, सिद्धान्त र प्रयोगबारे हामीलाई निरन्तर जानकारी हुनु जरुरी छ । भाषिक व्यवधानले गर्दा ओर्हान पामुकको क्षमता थाहा पाइ“दैन, पाउलो कोलोको, सिमस हेनीको, डोरिस लेसिङको, आर्थर गोल्डेनको, जेलेनिकको, भीएस नइपलको । कति अन्यभाषी छन्, जस्तो यसैपालिका नोबेल पुरस्कार बिजेता गुस्ताफ क्लेजिओ । तर चम्किलो लेखाइ हुनेहरू तुरुन्तै अङ्ग्रेजीमा पुगेका छन्— अङ्ग्रेजी र अन्य भाषामा । आश्चर्य लाग्छ पाउलो कोलोको द आल्केमिष्ट, डोमिनिक लपिअरको द सिटि अव् ज्वाइ, आर्थर गोल्डेनको गेइसा, झुम्पा लाहिरीको नेमसेक एक दशक नपुग्दै तीसौ“ भाषामा पुगेका छन् । त्यस्ता मास्टरपिस र बेस्टसेलर सयौ“ छन्, जुन हाम्रा लेखक पाठकको पहु“चदेखि टाढा छन् । तिनमा विश्वस्तरमै उत्कृष्ट शैली, विषयवस्तु, सन्देश हुनसक्छन् । यस्ता अन्तर्राष्ट्रियस्तरका मास्टरपिसलाई निरन्तररूपले नेपालीमा भिœयाउने वा तीबारे जानकारी प्रवाहित गर्ने एउटा संयन्त्रको स्थापना अति आवश्यक छ ।

सिर्जनाको मात्र कुरा होइन, मूल्याङ्कनले पनि नौलो पथ पक्रेको छ । यो दशकको प्रारम्भदेखि ट्वेन्टिफस्र्ट सेन्चुरी क्रिटिसिजम् आउन थालेका छन्, ती परम्पराभन्दा अलग छन् । त्यहा“ साइबर क्रिटिसिजम्, डायास्पोरा क्रिटिसिजम्, इकोक्रिटिसिजम्, ट्रान्स्जेन्डर क्रिटिसिजम, इथिकल क्रिटिसिजम्जस्ता सर्वथा नया“ सिद्धान्त चल्दैछन् । अहिलेको ग्लोबल विश्वमा ती हाम्रो निम्ति होइनन् भन्ने कुनै आधार छैन । सिर्जना र मूल्याङ्कनका नया“ धार नबुझ्दा हामी आफै“ लेख्छौ“, आफै“ रमाउ“छौ“; गोप्य आनन्दजस्तो; अरूलाई बुझ्न नसकी, आपूmलाई बुझाउन नसकी अरूले देख्ता एक हास्यास्पद स्थितिको कर्म लाग्न सक्छ ।

आज हामी आपूmमात्र लेखि“दैनौं, आफ्नो मात्र लेख्तै छैनौ“ । वर्तमान विश्वपरिवेशले हाम्रो सामू यस्तो परिस्थिति उत्पन्न गरेको छ । सम्पूर्ण विश्वपरिवेश सालखोल भएको बेला, विश्वनागरिकको चेतना बोकेर विश्वतिर हेर्दै लेखिरहेका छौ“ । हाम्रो लेखाइमा ग्लोबलताको आभा र यो लोकलताको रङ्ग दुवै कुरा मिसिएका हुन्छन् । आजको पाठक पनि लेखकभन्दा बढी सुसूचित हुने भएकोले हामीले यो पुरानो दियो जलाएर नया“ ज्ञान सल्काइरहनु पर्दछ । यो पुरानो दियो हो अनुवाद त्यतिखेर लेखक पाठक दुवैलाई आफ्नो छेउमा राख्नु आवश्यक छ ।

त्यसरी यता हाम्रो चिन्तन र सो अनुसारको सिर्जना फराकिलो हु“दै जान्छ, जानुपर्छ । म भन्छु— यस्ता कुराहरू पढ्न नसक्नेले, नभ्याउनेले, पढ्न छोड्नेले, लेख्न पनि छोड्दा हुन्छ । विश्वपरिवेश नबुझी लेखिरहनु भनेको शक्तिबर्धक घा“सपराल र कु“डो खान नदिई, खुला चउरमा चराउन नलगी एउटै किलामा बा“धेर गाई दुहिरहनुजस्तो हो; दुब्लाएका भोका गोरु लौराका भरमा जोतिरहनुजस्तै हो ।

(ग) भिन्न मूलधारको सम्बद्र्धन

विश्वसाहित्यमा हाम्रो स्थानको चिन्तन गरिरहेको बेलामा हामीले नेपाली साहित्यको परिवर्तित स्वरूपबारे पनि जानकारी राख्नु आवश्यक छ । आज नेपाली साहित्य एक मात्र छैन, अनेक छन् । बेलायतमा लेखिएको छ, अमेरिकामा, हङ्कङ्मा, रसियामा, जापानमा, भारतवर्षमा, विश्वका अनेक भागमा । ग्लोबलताले हामीलाई चारैतिर छरे पनि, सूचनाप्रविधिले सधै“ जोडेको छ, हामी स“गस“गै छौ“, तर भिन्न छौ“ । यी प्रत्येक जलवायुले, भूगोलले, संस्कृतिले, मनोजगत्ले उत्पन्न गरेका नेपाली साहित्यहरू स्वादमा, रङ्गमा, गहिराइमा, विचारमा केही भिन्न पनि छन् । यस्ता अनेक डायास्पोरिक लेखन मिलेर नेपाली साहित्यको मूलधार बन्दछ । यसभित्र पनि क्षेत्र, जाति, लिङ्ग, वर्ण, धर्म, भूगोल अनेक पत्र छन्, त्यहा“ पसेर बेग्लाबेग्लै रङ्ग हेर्नु पर्छ फेरि यी सबै कुरा जोडिएको एक समग्रता पनि ।

अनेक डायास्पोरिक केन्द्रका लेखकले नेपाली साहित्यलाई विश्वबजारमा लान सहयोग पु¥याइरहेका छन् । ती ठाउ“मा भएका गोष्ठी, सम्मेलन, पुरस्कार, सम्मान, प्रकाशनजस्ता कार्यले नेपाली साहित्यलाई विस्तारै चिनाइरहेकाछन् । यतिबेला यता जापानदेखि उता अमेरिकासम्ममा खोलिएका नेपाली साहित्यका अनेकौ“ संस्था र सङ्गठन जोडदा एक हजार पुग्छ होला । त्यहा“ नेपालमा मनाइने सबै पर्व उत्सव जयन्ती मनाइन्छन् । नेपाली पुस्तक प्रेमले पढिन्छन्, त्यहा“ पनि नया“ सिर्जना भइरहन्छ; लेखिन्छ, छापिन्छ, यता आउ“छन्, उता जान्छन् । यो व्यापक ग्लोबल परिवेशले नेपाली साहित्यको गहिराइ र उचाइको विस्तार गर्दैछ । यी सबै कुरा नसमेटी नेपाली साहित्यको समग्रता आउ“दैन । यी सारा परिस्थिति नबुझी कति सिर्जना बुझ्न पनि सकि“दैन ।

यतिखेर नेपाली साहित्यको सबैभन्दा व्यापक र प्रभावकारी संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) विश्वमै परिचय कायम गर्दैछ । एनआरएन समेत संलग्न यो संस्थाका अनेक पुरस्कार, सम्मान, प्रकाशन र अन्य क्रियाकलापले नेपाली साहित्यलाई टाढाटाढास“ग जोडिइरहेको छ । यसले राखेको डायास्पोरा पुरस्कार नेपाली साहित्यको एक भिन्न हा“गाको परिचायक र प्रतीक हो । हामीले अन्तर्राष्ट्रिय जगतमा देखिने यस्ता अनेक सूत्र र सम्बन्धको सहयोग लिनु आवश्यक छ ।

(घ) अन्तर्सञ्जालकोे व्यापक बिस्तार

सिर्जनाको परिभाषा बदलिएको छ, लेखन, प्रकाशन, वितरण सबै प्रक्रियाको । यतिखेर विश्वसाहित्यको ठूलो अंश साइबरमा छ, साइबर स्पेसमा । यो अन्तर्सञ्जालीय महापथको भाषा अर्कै छ । लेख्ने भनेको किबोर्ड हान्ने; पढ्ने भनेको स्क्रिनमा आ“खा जुधाउने । पठन क्रियामा दृश्य र ध्वनि पनि मिसिएका छन्— विधा बदलिए । त्यो कल्पवृक्षमा विश्व ब्रह्माण्ड बिसाएको छ, दौडिएको छ ।

हामी अरूको देखेर बुझेर, ढिलोढिलो पसेको प्रविधि समातेर कुद्न थालेको छौ“ ।

नेपाली साहित्यले अब तीव्र गतिमा अनलाइन लिटरेचरतिर जाने समय आएको छ । अहिलेको मानिसलाई समय छैन, पुस्तकालय घुम्न धेरैबेर खोज्न, पाना पल्टाउन ऊ चाह“दैन । त्यसैले ऊ आवश्यक सूचनाको लागि साइटहरू घुम्छ । रचना लेख्न, छाप्न र प्रेषित गर्न पनि सिधै त्यही“ बस्छ । एक भिन्न संसार निरन्तर बिस्तार हु“दैछ । यस्तो नयॉ समयको मागलाई बुझेर खोलिएका साइटहरूमध्ये नेपालबाहिरका केन्द्रबाट सञ्चालित नेपाली साहित्यघर डट कम, फ्रि नेपाल डट कम र समकालीन साहित्य डट कमले नेपाली साहित्यलाई साइबरीय महापथमा पु¥याउन ठूलो सहयोग पु¥याएका छन् । तिनले लाखौँ यात्री कमाइसके, युवापुस्ता त्यतै छन् । विभिन्न देशबाट विभिन्न उद्देश्यले खोलिएका साहित्यक साइटहरू दिनानुदिन बढ्दै छन् । यता नेपालभित्र पनि यस्तो उत्साह बढेकै छ । अबको इ–लिट्रेचर नेपाली साहित्यको एक महङ्खवपूर्ण वैकल्पिक केन्द्र बन्दैछ । नेपाली कलासाहित्य डटकमजस्ता साइटले ठूलो योगदान पु¥याइरहेका छन् । दुई वर्ष अघि खुलेको कलासाहित्य डटकम आज विश्व साहित्यतिरको चिन्ता लिई एक सुदृढ संस्थाको रूपमा विकसित भएको देख्ता ज्यादै खुसी लाग्दछ ।

साइबर प्रविधि सर्वसुलभ र सर्वव्यापी हुने हुनाले धेरै साहित्य इलेक्ट्रोनिक मिडियामै जा“दैछन् । नेपाली साहित्यले पनि विश्वव्यापी बन्न अब त्यतै लाग्नु पर्दछ । नेपाली साहित्य र सर्जकबारेको समग्र जानकारी, विधागत, विषयगत, कालगत, क्षेत्रगत सारा परिचयहरू वर्गीकृत रूपमा त्यहा“ आइरहनु पर्दछ । विश्वसाहित्यका हरेक भाषा त्यहा“ पसिसकेका छन् ।

१८. पाठकको सङ्ख्याको दृष्टिकोणले हेर्ने हो भने मुद्रण साहित्य पढ्ने भन्दा साईबर साहित्य पढ्नेको सङ्ख्या धेरै छ । साईबर साहित्य सञ्चालनमा गरिरहेका सम्पादक तथा प्रकाशकहरूलाई तपाईंको केही सुझाव छ कि ?

हजारौँ वर्षको साहित्यलाई गुटेन्वर्गको छापाखानाले चार वर्षमा विश्वभरि पु¥यायो, चारसय वर्षमा गुटेन्वर्गले गरेको कार्यलाई चारदशकमा उछेनेर साइबर संस्कृतिले कहाँ पुग्यो ।

यस्तो गतिलाई यो साइबर विश्वको तरङ्गलाई पक्रेर सोही अनुसार कार्य गर्न खोज्ने साइबर साहित्यका अग्रणी नेपाली वाङ्मयका क्रान्तिकारी अगुवा हुन् । सय वर्षको छापाले गर्न नसकेको कार्य यिनीहरूले दश वर्षमा गरेका छन् । नेपाली विश्व जोड्दै छन्, विश्वसाहित्यमा प्रवेशको लागि हाम्रो आधार तयार गर्दैछन् । टाइम र स्पेस भत्काएर नेपाली साहित्यलाई सर्वव्यापी बनाउँदै छन् ।

भर्खरै रुसमा फ्रि नेपाल डट कमले दशौँ वार्षिकोत्सव मनायो । नेपाली साहित्यघर डटकमले अन्तर्राष्ट्रिय वेव क्याम कविता प्रतियोगिताका दुई वर्ष बितायो, यसको आर्काइव अत्यन्त विशाल छ । त्यसैगरी समकालीन नेपाली साहित्य, खसखस डटकम लगायतका अन्य साइटतिर पस्ने गर्छु । यस्ता वेव प्रकाशनहरू पुरस्कृत पनि भएका छन् । देशभित्रभन्दा बाहिर तिनीहरूको सेवा अझ महत्वपूर्ण छ । छापा पुग्न नसक्ने ठाउँमा नेपाली वाङ्मय पुगेको छ । यो अकल्पनीय क्रान्ति हो । अन्य विकसित विश्वसँगै नेपालीको उपस्थिति जनाउन प्रयत्न गर्ने यसता व्यक्तित्वलाई मेरो हार्दिक बधाइ छ । म यहाँ विश्वासदीप तिगेला, कृष्ण वजगाईं, मधुकृष्ण श्रेष्ठ, खसखस डटकम, मोमिला आदिको नाम दिन चाहन्छु ।

नेपालमा भन्दा बाहिर ती बढी सक्रीय र उपयोगी छन् तर नेपालमा तिनको उपयोगिता कम छैन । यो कुरा सम्झाउनु आवश्यक छ । भोलिको पेपरलेस विश्व बढ्दै गरेको स्थितिमा हामी साइबर लिट्रेचरप्रति अनभिज्ञ रहँदै गयौँ भने अरू उन्नति गर्न नसक्ने र प्रविधिसँग जीवन चलाउन नजान्ने हुनेछौँ ।

१९. अन्तमा समकालीन साहित्य डट कम मार्फत विश्वभर रहेका नेपाली साहित्यका पाठकहरूलाई केही भन्नु छ कि ?

एउटा कुरा भन्नु छ— साइबरीय विश्वमा इलेक्ट्रोनिक माध्यमद्वारा मेरा विचार प्रवाहित गरिदिने भाइ कृष्ण बजगाईंको यो सत्प्रयासको म ऋणी छु । म उहाँकै सक्रियतामा समकालीन साहित्य डट कम चलेको छ भन्ने ठान्दछु । यसले ठूलो सेवा गरेको छ । स्थापनाकालमा साइबर लिटरेचरको जग बनाउँदै छ । यसको निमित्त यो पुरस्कृत प्रशंसित पनि छ ।

विश्वभरका नेपाली साहित्यका पाठकलाई म भन्दछु— विश्वसाहित्य पढौँ, नेपाली साहित्यको गुणात्मकतालाई त्यस अनुकुल उचाल्ने प्रयत्न गरौँ, हामी किन पछि प¥यौँ— चिन्ता गरौँ, कसरी अघि बढ्न सक्छौँ चिन्तन गरौँ, बद्लिएको विश्वपरिस्थितिलाई आत्मसात् गरौँ अनि सबैभन्दा ठूलो कुरा स्तरीय नेपाली साहित्यलाई अनुवादद्वारा विश्वसमक्ष पु¥याऔँ, साइबर लिट्रेचरले त्यसलाई बुझाऔँ ।

धन्यवाद ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।