19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत कृष्ण वस्ती December 24, 2009, 1:09 pm

हृदयको पँधेरीमा पानी भर्दाभर्दै ।

परेलीमा लुक्नखोज्ने नानी चोर्दाचोर्दै ।।

गीत मैले तिमीलाई छोएँ एकैपल्ट ।

सम्झनामा आफैंलाई धोएँ धेरैपल्ट ।।

फूलजस्तो रुप तिम्रो बास्ना मग्मगाउँदो ।

रात चिरी जून्कीरीको ज्योति जग्मगाउँदो ।।

हत्केलाले घाम छेकी हेरिराखें पैले ।

गीत तिम्रो सिउँदोमा नाम लेखें मैले ।।

बाँसुरीको धुन तिम्रै लागि गुन्गुनाउँछ ।

कल्पिकल्पी यो मन मेरो उसै रुन्झुनाउँछ ।।

गीत मैले तिमीलाई दोबाटोमा छेकी ।

राखिदिएँ तिम्रो हातमा तिम्रै गीत लेखी ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।