अनुहारहरू
मृगतृष्णाको रापमा जल्दै
तासको पत्ति फिट्छन्
एक्का, दुक्की, बास्सा अनि जोकर
लोभले च्याँखे थाप्छ रहरहरू
दाउ बल्झिन्छ घाउ भएर अतितहरू
पन्ना पन्नामा लिप्सिएका मसिका रेखांकित दागहरू
हावामा उड्छ बाफ भएर
प्रत्येक घुम्तीमा ब्रेक दाब्न खोज्यो
अनि कच्याक-कुचुक हुन्छ
यी प्लास्टिक र कागजका अनुँहारहरू
भाग्यको कोलमा पेल्छ उद्देश्का तोरीहरू
प्रत्येक घानमा तोरी पेलिन सक्दैन
पिना डढेर खरानी हुन्छ,
माटोको डल्लाले सोसेर
अनुरागका पानीहरू !
बर्षाउछ बिरक्तीको घामहरू
अनि छाम्छ
त्यो थोत्रे निधार सुँक्सुँक् गर्दै
यी बासी अनुहारहरू
लंगुरबुर्जा जित्छ कुनै समय
तास चाहनाको फिट्छ समय
हार्छ आफैसित अनि
चाउरिन्छ नशानशामा खुम्चिएर
प्रायश्चितले
सडेका निलो र कालो अनुँहारहरू
क्षणक्षण कलेटी बोकेर ओठमा
लाली किन्न हतारिन्छु कस्मेटिक पसल
जीवनको लोकसेवा आयोगको परिक्षा दिन
झुन्डिन्छु कम्प्युटरको किबोर्डमा
अनि देख्छु छर्लङग
स्क्रिनमा कैद भएका
यी फुंग रंग खुईलिएका
रक्त अल्पताले ग्रसित
मनोभावनाका भिखारी
बेचैन म जस्ता थुप्रै अनुहारहरू ।
तपेश्वरी १, उदयपुर
हालः ईजरायल