19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आउ एउटा संकल्प गरौ

कविता हेमन्त परदेशी December 27, 2009, 12:36 pm

सुनौलो बिहानीको स्वागतार्थ

बस्तीहरुमा गुन्जिएको भालेको डाकसंगै

धर्तीलाई छाद हाल्न आइपुग्ने

उषाको पहिलो किरणसँगै

उठ्ने जमर्को गरौ

अधुरो यात्रा पुरा गर्नको निम्ती

अनि जुट्ने संकल्प गरौ

राष्ट्रिय एकता र सामाजिक मुक्ति सहितको

संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणको निम्ती

नत्र हाम्रा यी ब्युझाईहरु

फेरी पनि कुम्भकर्णकै निंद्रामा परिणत हुनेछन्

कहिल्यै अन्तिम बन्न नसकेका हाम्रा यात्राहरु

गन्तब्यमा पुग्न नपाउदै बीचैमा अधुरो बन्नेछन्

किनभने, ऊ, तँ र म को राजनीतिबाट बिखन्डित हाम्रा मानसिकताहरु

अझै पनि हामी र हाम्रो भावनाहरुमा अनुवाद हुन सकिरहेकाछैनन्

अस्तित्वबिहीन हाम्रा मुर्दा जिन्दगीहरु

जन्तीको जमात अथवा मलामिको ताँतको सार्थकता भन्दा

अलिकति पनि माथि उठ्न सकिरहेकाछैनन्

त्यसैले आऊ सहयात्रीहरु हो!

अन्तरआत्माबाटै एउटा यस्तो संकल्प गरौ

पूर्णिमाको जून नउदाएको रातमा पनि

यात्राको निरन्तरार्थ हातेमालो गरेर बामे सर्ने हिम्मत गरौ

चुक घोप्टिएका घनिभूत अँध्याराहरुलाई चुनौती दिन

सुषुप्त बनिरहेका हाम्रा चेतनाका दीपहरुलाई

एउटा ज्युँदो र जाग्दो ज्वालामुखिमा पारिणत गरौ

हो, लक्ष्य चुम्न निश्चय नै भने जस्तो सजिलो हुनेछैन

तर असम्भव भन्ने कुरा पनि

लाछी र कायरहरुको मनमा बाहेक

संसारमा अन्त कही छैन

हाल: दोहा, कतार

[email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।