19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बिदाइको बेला

कविता रमेश गौतम December 27, 2009, 3:14 pm

उभिएको छु

गतिहीन

एउटा उष्ण बगरमा

नियालिरहेछु

माछाहरुको क्रीडा

उष्णता र पीडा!

स्थिर पानी

र पानीको स्थिरता!

सामुन्नेको झाडीका

चराहरुको चिरी-बिरी!

गोमन चालहरु!

न्याउल पीडाहरु!

एक साथ हेरिरहेछु

मूल्यांकनका नयनहरुले

सुस्ताएको छु

निस्ताएको छु

जीवन बँचाइको

सायद् नियमितता-

नीसताहरु

मार्गहीनताहरु

निकाशहीन गुम्स्याइहरु

आत्मदाहका सीमाहीन पीडाहरु

पोखिएका छन्

एक साथ

भूगोलहीन अस्तित्वमाथि।

लामो समयको तपस्यापछि

प्राप्त वरदान-

नमीठो जीत

जीवनका भोगाइमा

उन्माद-उमंगमाथिको आक्रमण

दीर्घकालीन हारहरु!

आत्मसमर्पण गरेको एउटा गुरिल्लाजस्तै

निन्याउरो अनुहार लिएर

आक्रमण्कारीका सामु

निदाएको छु एउटा जर्जर निद्रा-

दिवास्वप्नमा निमग्न बनेर

हर क्षण भिज्ने गरेका अभिशप्त रातहरु

सडकजस्तै पीडाहरु

आत्मग्लानिहरु

एक साथ

पोखिएका छन्

जीर्ण-रुग्ण मानसिकतामाथि।

उडिरहेछन्

चिल र गिध्दहरु

गुन्जिरहेछन्

निर्मम बाघ-गर्जनहरु

बर्बर छन् पाइलाहरु

जर्जर छन् सपनाहरु

अग्निपरीक्षाहरु

पूर्वघोषित असफलताहरु

अट्टाहस गरिरहेछन्

एक साथ

व्यंग्यपूर्वक।

शिवालायका शंखध्वनिहरुबाट

मन्दिरका घण्टआवाजहरुबाट

चर्चका मंगलकामनाहरुबाट

त्रसित-त्रसित एउटा विस्तृति

बाँचिरहेछ

शताब्दि-सन्दर्भहरु।

थिचेको छु

कैयन चोटि आफैंलाई

लघुताभासले

च्यतेको छु

कैयन चोटि आफ्नै हृदय

परीक्षाका कठोरताहरुले

यद्यपि

बाँचेको छ एउटा पल

मरुभूमिको एक ग्लास पानी

एउटा अमुर्त मुस्कान

अगम्य-अस्पष्ट स्वर्ग सुखानुभूतिहरु

दूर क्षितिजमा चम्कने तारा-सुन्दरताहरु

खण्ड-खण्ड बाँचेका छन्।

अद्यापि बगेको छैन त्यो पानी

म एक्नाश नियालिरहे छु

माछाहरुको क्रीडा

एउटा उष्ण बगरमा उभिएर

सुनिरहेछु भ्यागुताहरुको ट्वार्र-ट्वार्र

र हेरिरहेछु गोमन सर्पका चालहरु।

यही समय

शंख बजेकोछ एकोहोरो

सायद् कसैको म्रृत्यु भएको हुनु पर्छ-

म तर्सन्छु-

मेरी आमाको क्रन्दन सुनेर

म आत्तिन्छु-

मेरी दिदीको रोदन सुनेर

म डराउँछु-

मेरो भाइको चिच्चाहट सुनेर

सयद्

मेरै म्रृत्यु भएको हुनु पर्छ………

उही बगरमा उभिएर नियाल्छु-

पानी अझै बगेको छैन

त्यो स्थिरता उस्तै छ

यति बेला

विदाइको अन्तिम हात हल्लाउँछु

त्यस बगरलाई

सधैँकालागि ।

नर्वे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।