डा.ज्ञानू पाण्डे वर्तमान नेपाली साहित्यको एक स्थापित नारी हस्ताक्षरको नाम हो । उहाँको जन्म माता तीर्थकुमारी तथा पिता पोषण पाण्डेका साहिलीसुपुत्रीका रूपमा काठमाडौंको इन्द्रचौकमा २०१८ सालको असार महिनामा भएको हो । गुञ्जन साहित्यिक संस्थाका संस्थापक सदस्य डा. पाण्डे नेपाली साहित्यको खास गरी समालोचना जस्तो नारी उपस्थितिको अत्यन्त न्यूनता रहेको फाँटमा विशेष सक्रियता देखाइ आफ्नो कलमको विशिष्ट कौशलले चर्चित बन्न सफल हुनुभएको छ । समालोचनाका अतिरिक्त कविता एवं समसामयिक लेखमा पनि सक्रियता देखाउदै आउनु भएको डा. पाण्डे हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्रमकन्या बहुमुखी कलेजमा सहप्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ । ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद’ विषयमा विद्यावारिधि गर्नुभएका डा. पाण्डेसँग वीपीको साहित्य तथा नेपाली नारी लेखन विषयमा केन्द्रित रहेर समकालीन डट कमका लागि सम्पादक कृष्ण बजगाईंले इमेलमार्फत गर्नुभएको कुराकानी :
१. तपाई सुरुमा साहित्यमा लाग्न कसरी प्रेरित हुनभयो ? आफ्नो पहिलो रचना र पहिलो प्रकाशनका बारेमा केही बताइदिनुहन्छ कि ?
साहित्यतर्फ मेरो अभिरुचि पल्लवित हुनुमा मेरो बुबाको ठूलो हात रह्यो । साहित्यकार पोषण पाण्डे मेरो बुबा, म सुरुमा उहाँबाटै प्रेरित भएकी हु यतातिर लाग्न ।
‘म समाजको मानिस हुँ ’ शीर्षकको कविता मेरो पहिलो रचना हो । यो कविता मैले २०२८ साल तिर रेडियो नेपालको बालकार्यक्रममा पाठ गरेकी थिएँ । त्यतिबेला मेरो बुबाले मलाई हात समाएर रेडियो नेपालमा लग्नुभएको थियो । उहाकै पहलमा मेरो त्यो कविता बालक भन्ने पत्रिकामा छापियो । म अझै सम्झन्छु – मेरो लेखक जीवनका प्रेरणापुञ्ज मेरा पूूज्य बुबाले त्यतिबेला उक्त पत्रिकामा मेरो कविता छापिएको देखाउदा हर्षले पुलकित भई म उफ्रेको थिए । त्यस घडीमा मैले अनुभव गरेको त्यो अनुपम खुशी मेरो मनको एउटा कुनामा अझै सुरक्षित छ । बुबाको त्यो प्रेरणाको स्पर्श मभित्र अझै ताजै छ ; सधै मभित्र त्यो ताजै रहिरहेने छ ।
२. साहित्य लेखनको क्षेत्रमा तपाइको संलग्नताको प्रमुख विधा भनेको कविता र समालोचना नै हो, होइन त ?
हो, तपाइले ठीक भन्नुभयो ।
३.यतिखेर नेपाली साहित्यको खास गरी समालोचना क्षेत्रमा नै तपाइ बढी सक्रिय देखिनु भएको छ । यो विधा रोज्न तपाइ कसरी प्रेरित हुनुभयो ? कहिलेदेखि कलम चलाउन सुरु गर्नुभयो यतातिर ?
पहिलो कुरा त, अध्ययन र अनुसन्धान कार्यमा मलाई विशेष रुचि छ । मेरो यही रुचिले पनि मलाई समालोचक बन्न प्रेरित गरेको हुन सक्छ । अर्को कुरा, नेपाली समालोचना क्षेत्रको आवश्यकताले पनि मलाई यतातिर लाग्न प्रेरणा मिलेको हो । सर्वविदितै छ, नेपाली साहित्यममा समालोचना क्षेत्रमा नारीहरूको उपस्थिति अझैसम्म पनि औलामा गन्दैमा सकिने संख्यामा रहेको पाइन्छ ।
समालोचनालेखन तर्फ मैले ४० को दशकबाट कलम चलाउन सुरु गरेकी हु । २०४४ सालमा गरिमा (५/१०) पत्रिकामा छापिएको ‘निर्वन्ध उपन्यास : एक दृष्टिकोण’ शीर्षकको लेख नै मेरो पहिलो समालोचना हो ।
४.हाम्रो समाजमा समालोचक भन्ने बित्तिकै एउटा पुरुष छवि अगाडि आउँछ । तपाईं समालोचना जस्तो चुनौतिपूर्ण क्षेत्रमा प्रवेश गर्दा अवश्य नै सुरुका दिनका विभिन्न अव्ठरोहरू बेहोर्नु परेको थियो होला । यस बारेको आफ्नो सुरुको तितामिठा स्मरण बताईदिनुहोस्न ।
हो, तपाइले ठीक भन्नु भयो । अझै सम्म पनि हाम्रो समाजमा अलिबढी चुनौतीपर्ण क्षेत्रको कुरा आयो कि त्यो नारीको क्षेत्र होइन भन्ने सोच पाइन्छ । यो सोच सही होइन । चुनौतीपूर्ण काम , गाह्रो काम वा अप्ठ्रो काम सबै किन जहिले पनि पुरुषको भागमा मात्र पारिदिन खोज्छ यो हाम्रो समाज ? के गारो र गर्हुगो जत्ति काममा सधैभरि पुरुष मात्रै एक्लैले भिडिइरहनु पर्ने ? नारीले चाहिँ त्यस्तो काममा कहिल्यै अग्ररसता देखाउन नपर्ने ? गाह्रो ठानिएका जत्ति सबै कामहरू पुरुषमै मात्र किन लाद्न खोज्छ हाम्रो यो समाज ? त्यस्तो काममा नारीले पनि त जिम्मेवारी लिन अघिसर्नुपर्छ, होइन र ? मलाई लाग्छ नारी र पुरुषको क्षमता र जीवनमा तिनले बहन गर्नुपर्ने जिम्मेवारीबारे समाजमा जस्तो किसिमको धारणा प्रचलित रहँदै आएको छ, त्यो आफैमा एकदम त्रुटिपूर्ण छ ।
मलाई आश्चर्य लाग्छ र साथसाथै मनमा दुःख पनि लाग्छ । हाम्रो समाजमा अन्त त अन्त, साहित्यजस्तो विशुद्ध प्रागिक–बौद्धिक क्षेत्रमा समेत नारी र पुरुषको क्षमता र दायित्वबारे धारणा बनाउँदा अझैसम्म पनि उही रूढ चिन्तनलाई महत्व दिइने गरिएको पाइन्छ ।
जहाँसम्म म आफू समालोचना क्षेत्रमा लाग्दा आरम्भमा के कस्तो तीतामीठा अनुभवबाट गुज्रन परेको थियो भन्ने सवाल छ , त्यसमा मेरो त्यस्तो खासै उल्लेखनीय अनुभव रहेन । सामान्यतया सुरुमा नयाँ लेखकहरूले पत्रपत्रिकाको पहुँचबाट आफू पर रहेको कारण भोग्नुपर्ने कष्टबाट म पनि नगुज्रेको होइन । तर नारी भएको कारणले वा नारी भएर पनि समालोना क्षेत्रमा लाग्न खोजेको कारणले आफ्ना लेखहरू नछापिएर पिरिनुपर्ने अवस्था मैले बेहोर्नु परेन । सुरुमा गरिमामा मेरो समालोचना छापाउन मलाई बुबाको नामले सजिलो पर्यो । त्यतिबेला गरिमामा विष्णुविभु घिमिरे दाइ सम्पादक हुनुहुन्थ्यो । बुबाले नै मलाई पहलोपल्ट उहाँसित चिनाइदिनुभएको हो र बुबाले नै मेरो लेख छापिदिन उहाुँलाई भनिदिनु भएको हो । समालोचनामा त्यतिबेला म नयाँ नाम भए तापनि बुबाका कारण मेरो लेख छापिन सजिलो भएको हुनसक्छ । त्यसपछि अरु अरु पत्रिकाहरूमा पनि मैले आफ्नो लेखहरू पठाउन थालेँ । ती छापिदै पनि गए ।
५. तपाईंले “विश्वेश्वर प्रसाद कोईरालाको उपन्यासमा अस्तित्ववाद” मा विद्यावारिधि गर्नुभयो । त्यस क्रममा अस्तित्ववादी दर्शनका बारेमा तपाइले गहिरो अध्ययन गर्नुभएको छ । छोटकरीमा अस्तित्ववादलाई चिनाउनपर्दा तपाइ के भन्नु हुन्छ ?
अस्तित्ववाद आफैमा एक विषद् विषय हो । यो अत्यन्त गहिरो जीवन दर्शन हो । मानवजीवनलाई व्यक्तिगत अस्तित्वको अर्थमा, जीवनको व्यक्तिगत अनुभवका आधारमा मात्र बु¤न सकिन्छ भन्ने उक्तिबाट अस्तित्ववादको नामकरण भएको हो । existence precedes essence भन्ने मूल मान्यता बोकेको यो दर्शनले व्यक्तिलाई जीवनमा सम्पूर्ण भ्रमबाट मुक्त पार्न चाहन्छ र एउटा शून्यको बिन्दुबाट व्यक्तिले आफूलाई खोज्नु पर्छ, आफ्नै प्रयासले उसले आफूलाई प्राप्त गर्न सक्नुपर्छ भन्छ अस्तित्ववादले । निख्खर आफूबाट नितान्त नौलो ‘आफू’ लाई प्राप्त गर्न व्यक्तिले जीवनमा जाँगर गरोस् , साहस गरोस् भन्ने चाहन्छ यो दर्शन । छोटकरीमा भन्नुपर्दा हरेक व्यक्तिले जीवनको निस्सारता र विसंगति–असंगतिप्रति पूर्ण सजगता राख्दै तर त्यसबाट निरासिएर होइन, त्यसैलाई आशाको प्रमुख आधार स्वीकार्दै जीवनमा आफ्नो कर्म आफै रोज्नुपर्छ , आफ्नो मूल्य आफै प्राप्त गर्न प्रयास गर्नुपर्छ भनी वैयक्तिक जीवनलाई नयाँ सन्दर्भ, अर्थ र मानवीय मूल्यमा प्रतिष्ठापित तुल्याउन खोज्नु नै अस्तित्ववादी दर्शनको मूल अभीष्ट हो ।
६.वीपी कोइरालाका साहित्यको तपाई गहन अध्येयता हुनुहुन्छ । वीपीलाई यौनवादी साहित्यकार भनिन्छ । उनको साहित्यबाट यौन हटाईदिए के बाँकी रहन्छ ?
हो धेरैले वीपी कोइरालालाई यौनवादी साहित्यकार भन्ने गरेको सुनिन्छ । तर बुझ्नुपर्ने कुरा के भने यौनवाद मात्र वीपी कोइरालाको साहित्यको सम्पूर्णता होइन , त्यो त एउटा पक्ष मात्र हो उनको साहित्यको ।
वीपीको साहित्यको गहिरो अध्ययन गर्दा त्यसमा यौनमनोविज्ञानका अतिरिक्त अरु पनि कयौं पक्षहरूलाई उनले विशिष्ट महत्वका साथ अगाडि सारेका तथ्य बोध गर्न सकिन्छ । जस्तो : वीपीको साहित्यमा युद्धको भत्र्सना र मानवताको प्रवद्र्धन, आत्मिक नैतिकताको पाठ, मनुष्यजीवनको नियतिप्रति उच्च संवेदनशीलता, व्यक्ति अस्तित्वको समस्या र शक्तिको गहिरो परख, लैङ्गिक विभेद तथा जातीय भेदभाव जस्ता सामाजिक समस्याहरूको गहिरो अभिव्यञ्जना, जातीय एवं क्षेत्रीय सम्मीलनको ध्वनन, व्यक्तिसत्ताको पैरवी, नारीचेतनाको स्वर पक्षले पनि उल्लेख्य स्थान पाएको भेटिन्छ । यी सब विशिष्ट शक्ति हुन् वीपीको साहित्यको । आस्थाप्रतिको चरम निष्ठा र कर्मप्रतिको गहिरो प्रतिवद्धताको ठूलो पाठ हो वीपीको साहित्य । आफ्नो साहित्यमा वीपीले पश्चिमी तथा पूर्वीय दुवैतिरको दर्शन र ज्ञानका विभिन्न पक्षहरूका साथसाथै हाम्रो आफ्नै राष्ट्रिय परिवेशका पनि कतिपय सन्दर्भ र आवश्यकताहरूलाई उच्चकलात्मकका साथ संबोधन गरेका छन् । वीपीको साहित्यिकताको मापन गर्दा उनले उठाएका यी सबै पक्षप्रति न्याय गर्न सक्नुपर्छ हामीले भन्ने मेरो धारणा हो ।
७.तर नेपाली साहित्यमा त वीपीलाई मूल रूपमा यौनवादी साहित्यकार भनेर नै सम्झिने गरिएको पाइन्छ त ?
हामीकहाँ कुनै पनि स्रष्टाको नाममा सुरुमा कुनै पनि एउटा अलि नाम चलको समालोचकले जे बिल्ला भिराइन्छ, त्यही नै त्यो स्रष्टाको मूल परिचय हो भने झैं ठानी उसको मूल्यांकन गर्न तत्पिरिने चलन छ अझैसम्म पनि । त्यसो त वीपीलाई यौनवादी साहित्यकारको विल्ला भिराइरहनुमा तत्कालीन राजनीतिक परिस्थितिको पनि भूमिका रह्यो । नेपाली साहित्यमा प्रवेश गर्दा आरम्भमा यौनमनोविज्ञानको प्रयोग गरिएको रचना लिएर अगाडि आएका वीपीले समयक्रममा आफ्नो साहित्यमा अरु पनि धेरै महत्वपूर्ण पक्षलाई वाणी दिएका भए तापनि उनको बारेमा गहिरो अध्ययन मनन गरी विचार दिनसक्ने माहौल थिएन उतिबेला । हामी सबैलाई थाहा छ, पंचायती राजमा वीपीको नाम मात्र लिनु पनि अपराध गरे झैं ठानिन्थ्यो मुलुकभित्र । त्यसैले पनि होला, २०४६ साल भन्दा अघिसम्म त वीपीको साहित्यबारे कुरा गर्दा खालि उही यौनमनोविश्लेषणको पक्षको मात्र बढ्दा चर्चा गर्ने गरिएको भेटिन्छ । २०४६ यताको समयमा आएपछि नै हो बल्ल उनको साहित्यिकताको बारे अलि विस्तृतमा अधययन गर्न थालिएको । तर हेरेर ल्याउदा के देखिन्छ भने अझै सम्म पनि वीपीको साहित्यमा अटाएका कतिपय गहन पक्षहरू केलाइनबाट ओझेलमै परिरहेका छन् ।
८. तपाइको मतलब वीपीको साहित्यबारे अझै पूरा अध्ययन भैसकेको छैन भन्ने हो ?
अवश्य नै । मैले भन्न खोजेको कुरा यही हो । वीपीको साहित्यबारे नेपालीमा थुप्रै पुस्तकहरू छापिएका छन् । तर पनि सािहत्यकार वीपीको सिंगो र समग्र अध्ययन अझै भइसकेको छैन । वीपीका साहित्यभित्र अटाएका अनेक पक्ष र अनेक कोणप्रति अझै हामीले न्याय गर्न सकेका छैनौं । उनलाई अझै खोतल्नु छ, उनको साहित्यका कतिपय पक्षहरू अझै अध्ययनबाट ओझेलमै परिरहेका छन् भन्ने मेरो भनाइ हो ।
९.विद्यावारिधिको क्रममा तपाइले वीपीका उपन्यासहरूको गहिरो अध्ययन गनुभयो । तपाइको मूल्यांकनमा वीपीको उपन्यासकारिताको प्रमुख प्राप्ति के हो ?
पूर्वीय तथा पाश्चात्य चिन्तन, साहित्य, कला संस्कृति आदिको गहिरो अध्ययनबाट प्राप्त ज्ञान तथा सामाजिक–पारिवारिक परिवेशको अनुप्रेरणा ग्रहण गरी र आफ्नै जीवनभोेगाइबाट प्राप्त अनुभवलाई समेत आधार स्वीकारेर आफ्नो जीवनदर्शनलाई मौलिक स्वरूप प्रदान गर्नसक्ने सामथ्र्यका धनी वीपी कोइराला वास्तवमा एक सफल र सशक्त अस्तित्ववादी उपन्यासकार हुन् भन्ने मेरो ठहर हो । कोइरालाका प्रकाशित छओटै उपन्यासहरूमा जीवनप्रति अनन्त आस्थाभाव प्रकट भएको पाइन्छ र कर्म नै जीवन हो भन्ने स्वरप्रतिको उच्चसमर्थनभाव ध्वनित भएको बोध गर्नसकिन्छ । आफ्ना प्रकाशित ६ वटै उपन्यासमा कोइरालाले मानवजीवनका यावत् दुर्बलताहरूलाई नियतिको नाममा स्वीकार्दै मानवजीवनको सकारात्मक र सशक्त पक्षप्रति आशावादी बनेर हरेक मान्छेले आफ्नो जीवन बाँच्न खोज्नुपर्छ : बाँच्न सक्नुपर्छ भन्ने स्वरको उच्च वकालत गरेका छन् । यौन र प्रेमका बारेमा नितान्त नौलो परिभाषा अगाडि सारेका छन् कोइरालाका उपन्यासले । अस्तित्ववादी मान्यताका प्रमुख पक्षहरूलाई नेपाली समाजसापेक्ष रूपमा अभिव्यक्ति दिन सक्नु उनका उपन्यासका मुख्य शक्ति हुन् । उनका उपन्यासमा अस्तित्ववादी स्वरप्रतिको उनको समर्थनभाव जति प्रस्टसित ध्वनित भएको पाइन्छ , नेपाली समाज परिवर्तन भएको हेर्ने उनको अन्तर्कामना पनि उस्तै टड्कारोसित प्रकट भएको बोध गर्न सकिन्छ ।
उपन्यासहरूमा मानवअस्तित्वको समस्या र जीवनका अनेक अबोधगम्य पक्षपट्टि विशेष चिन्तनशील देखिएका कोेइरालाले नेपाली सामाजिक–सांस्कृतिक धरातलको प्रभावलाई पनि स्वीकार्दै आफूलाई अभिव्यक्त गरेका छन् । यस्तो लाग्छ कि वीपीले आफ्ना उपन्यासमा अस्तित्ववादको प्रयोग गर्नुको उद्देश्य केवल प्रयोग गर्नुमै मात्र सीमित थिएन, नेपाली समाजमा प्रचलित यावत् रूढ मूल्यमान्यतामा परिवर्तनको कामना गर्नु पनि उनको मुख्य ध्येय थियो । कोइरालाका उपन्यासहरूमा खास गरी नारीअस्तित्वको समस्याले केन्द्रीय स्थान पाउनु, नारीको मातृत्वको रहर र प्राप्तिलाई उच्च मूल्यांकन गरिनु, आस्तिक अस्तित्ववादी स्वरले प्रश्रय पाउनु आदिजस्ता विशेषता विद्यमान हुनुलाई यिनको अस्तित्ववादमा नेपाली परिवेशको प्रभावको प्रमाण मान्न सकिन्छ ।
१०. वीपी कोइराला आफ्नो जीवनमा साहित्य र राजनीति मध्ये के मा बढी सफल भए भन्ठान्नु हुन्छ तपाई ?
साहित्य र राजनीति दुवै क्षेत्रमा उच्चसफलता हासिल भयो वीपीलाई । जसरी आधुनिक नेपाली साहित्यको इतिहासबाट वीपी कोइरालाको नाम झिकिदिने हो भने त्यो अपूर्ण बन्दछ त्यसरी नै नेपाली राजनीतिक इतिहासमा पनि उनको नामको विशिष्ट वर्चस्व रहेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासको उनी नै केन्द्रीय धूरी हुन् ; सर्वोच्च शिखर हुन् । हामीसबैलाई थाहा छ, आज उनी दिवगंत भएको यतिका वर्ष वितिसके पनि उनको योगदानको उचाइ र उनको नामको प्रभावलाई नाघ्न सक्ने अर्को कुनै राजनीतिज्ञको नेपालमा जन्म हुनसकेके छैन ।
आफ्नो साहित्यिक जीवन होस् या राजनीतिक जीवन, वीपी कथनी र करनी दुवै दृष्टिले आफ्नो आत्मिक नैतिकताको दर्शनलाई पुष्टि गर्न साचचै नै सफल भएका छन् ।
११.वीपीको आत्मिक नैतिकताको दर्शनबारे अझै प्रस्टसित केही बताइदिनु हुन्छ कि ?
वीपीको आत्मिक नैतिकताको दर्शनबारे भन्नुपर्दा म यहाँ सुरुमै वीपीको अन्तिम अन्तर्वार्ताको एउटा सन्दर्भ उल्लेख गर्न चाहन्छु । भारतबाट निस्कने The Teligraph भन्ने पत्रिकाका लागि अन्तर्वाार्ता लिने क्रममा उतिवेला पत्रकार भोला चटर्जीले जब वीपीका अगाडि प्रश्न तेस्र्याए – “आफ्नो अधिकांश जिन्दगी अनवरत रूपमा घुमिरहेको संघर्ष, मुद्दा, जेल, अभियोग, देश निकाला इतयादि चक्रमा बारम्बार फसिरह्यो भन्ने विचार कहिल्यै मनमा आयो कि ? राजनीतिक जीवनमा आफू असफल भएँ भन्ने भाव पो तपाइको मनमा कुनैबेला पलायो कि ? ” पत्रकार चटर्जीको उक्त प्रश्नको उत्तर दिने क्रममा त्यतिबेला वीपीले उल्टै प्रतिप्रश्न गरे उनी सित यसरी –“ जीवनमा आफूले रोजेको आस्था प्राप्तिका लागि पूर्ण निष्ठाभावका साथ अन्तिम क्षणसम्मै आफूले सक्ने जत्ति सम्पूर्ण बाजी लगाइयो भन्ने कुरा अन्तर्आत्माले इमानदारितासाथ स्वीकारेको छ भने त्यो स्थितिमा एउटा व्यक्तिलाई कसरी असफल व्यक्ति भन्न सकिन्छ ?”
हो, व्यक्तिलाई ऊ जीवनमा सफल भयो कि असफल भयो भन्ने कुरा अरुले भनिदिएको भरमा आत्मिक सन्तुष्टि हुन्न, उसको आफ्नै मनले उसलाई भन्नुपर्छ तँ सफल भइस् ! भनेर । त्यो अवस्थामा मात्र वास्तविक सन्तुष्टिको अनुभव हुन्छ व्यक्तिलाई । आत्मिक सन्तुष्टि नै व्यक्तिको जीवनको सफलताको मानक हो । अरुलाई ढाट्न सक्छ व्यक्ति तर आफैलाई कहाँ ढाट्न सक्छ र ऊ ! वीपीको आत्मिक नैतिकताको दर्शनले भन्छ – कसैले पनि जीवनमा आफूलाई ढाँट्न हुन्न । जसले आफूलाई ढाँट्दैन उसले आफ्नो आस्थाप्राप्तिका लागि जीवनमा प्रयास गर्न कुनै पनि कसर बाँकी राख्दैन । वास्तवमा सफलता भनेकै प्रयास हो । इमानदार प्रयास । यही हो वीपीको आत्मिक नैतिकताको अर्थ ।
आत्मिक नैतिकताले व्यक्तिलाई जीवनमा आत्मबञ्चनामा बाँच्नुपर्ने बाध्यताबाट मुक्त पार्छ । त्यसले व्यक्तिलाई स्वयंप्रति पूर्ण इमानदार बन्दै जीवनमा आफ्नो आस्था प्राप्तिका लागि निरन्तर कर्म गर्न प्रेरित गरिरहन्छ । हामीले अरुका आँखामा आफू सफल देखिइन होइन, आफ्नै दृष्टिमा आफूलाई इमानदार प्रमाणित गर्न प्रेरित हुनुपर्छ । वास्तवमा वीपीको जीवनी आफैमा त्यो आग्रहको वाणी हो भन्ने मलाई लाग्छ । उनका साहित्यमा पनि, खास गरी उपन्यासहरूमा जताततै त्यो आग्रहले सशक्त अभिव्यक्ति पाएको हामी बोध गर्न सक्छौं ।
१२. अब नेपाली साहित्यको नारी लेखन बारे अलिकति कुरा गरौं । अझ पनि नेपाली साहित्यमा नारी हस्ताक्षरको उपस्थिति एकदमै कम छ र गुणात्मक हिसावले पनि उनीहरू पुरुषहरूभन्दा कमजोर छन् । नारीस्रस्टालाई पुरुषसमकक्षीसम्म पुग्न के ले बाधा पुर्याएको होला ?
हो, तपाइले सही भन्नु भयो । नेपाली साहित्यमा अझै पनि नारी हस्ताक्षरको उपस्थिति तुलनात्मक रूपमा एकदम कम छ । साहित्यलेखनमा थोरै मात्र संख्यामा नारीस्रष्टाहरू सक्रिय रहेको कारणले गर्दा पनि हो हामीकहाँ गुणात्मक लेखन लेख्ने नारीको संख्या पनि पुरुषको तुलनामा निकै कम रहेको स्थिति छ अझैं । साहित्यमा मात्र होइन, हाम्रो समाजमा जुनसकै क्षेत्रमा पनि पुरुषको तुलनामा नारीहरूको अवस्था पछाडि रहेको पाइन्छ । नारी हरेक क्षेत्रमा पुरुषसरह अगाडि आउन नसक्नुको मुख्य कारण अरु केही होइन, सिवाय विभेदकारी संस्कारको प्रभुत्व । समाजमा सदियौंदेखि प्रचलित रहदै आएको लैङ्गिकविभेदकारी समाजशास्त्रको प्रभुत्वको कारण नारीले जीवनमा दोहोरो तेहरो जिम्मेवारीको बोझ उठाउन बाध्य हुनपर्नु, परम्परागत लैङ्गिक भूमिका निर्वाहको क्रममै नारीको अधिक समय व्यतीत हुनु, परिवारभित्र छोरीलाई हुर्काउदा–बढाउदादेखि नै उसको व्यक्तित्व निर्माण गर्न तर्फ महत्वदिनुभन्दा पनि घरपरिवारभित्रको काममा पोख्त पार्ने आशयले उसको सामाजिकीकरण गरिनु लगायतको पक्षपाती परम्पराको निरन्तरताले नै नारीलाई पुरुषसरह जीवमा अगाडि बढ्न बाधा पुगिरहेको हो ।
हम्रो समाजको हरक्षेत्रमा लैङ्गिकविभेदकारी परम्पराको प्रभुत्व जसरी हावी छ, साहित्य क्षेत्र पनि त्यो प्रभावबाट कहाँ मुक्त हुनसकेको छ र अझै ! साहित्य लेखनमा मनग्य समय दिन नभ्याउनु, अध्ययनका लागि मनग्य समय नपाउनु, लेखेका रचनाहरू झट्टै प्रकाशित गरिहाल्न विभिन्न कारणले गर्दा असक्षम हुनु, साहित्यिकवृत्तमा नयाँ नारीप्रतिभालाई हत्तपत्त पत्याउन मन नगर्ने दोषी मानसिकता हावी हुनु, नारी आफैमा पनि आत्मविश्वासको कमी पाइनु यी आदि थुप्रै कारणले गर्दा साहित्यमा पुरुषबराबरको हैसियतमा पुग्न नारीसर्जकहरूलाई गारो परेको हो भन्ने बुझिन्छ ।
म यहीँनिर २० औ शताब्दीकी विश्वप्रशिद्ध साहित्यकार, समालोचक, तथा नारीवादी चिन्तक Virginia Woolf को A Room of One’s Own (१९२९) पुस्तकको थोरै सन्दर्भ उल्लेख गर्न चाहन्छु । परिवार–समाज सर्वत्र लैङ्गिक विभेदकारी समाजशास्त्रको प्रभुत्वका कारण नारीलेखकहरूले बेहोर्नुपरिरहेको प्रतिकूलताप्रति उच्च संवेदनशीलता दर्शाउदै उक्त पुस्तकभित्र एक ठाउ“मा Virginia Woolf ले स्पष्टैसित भनेकी छन् – कुनै पनि एउटी नारी यदि जीवनमा लेखक बन्न चाहन्छे भने उसको आफ्नो एउटा छुट्टै कोठा हुनु जरुरी छ र साथमा उससित पैसा हुनु पनि जरुरी छ (पृ.४) । निकै सांकेतिक भाषामा व्यक्त गरिएको छ यी हरफमा नारीलेखकका पीडा । यद्यपि Virginia Woolf ले यो कुरा उहिले नै भनेकी हुन्, तर के हाम्रो समाजमा अझै पनि नारी लेखकहरू (केही अपवादलाई छोडेर) त्यस्तै नियतिमा गुज्रन बाध्य भइरहेका छैनन् र ?
१३. के नेपाली नारी स्रष्टाका सिर्जना विश्व साहित्यसित दाँज्न मिल्ने खालका पनि लेखिएका छन् ?
छन् नि ! किन नहुनु ? तपाइको यो प्रश्न सुन्नासाथ मैलै ऐले झट्टै सम्झिहालेँ पारिजातको शिरीषको फूल उपन्यासलाई । त्यसै गरी प्रेमा शाह, बानिरा गिरी लगायतका स्रष्टाहरूको लेखनीको पनि मलाई बेस्सरी सम्झना भयो । यी नामहरूलाई नेपाली साहित्यको नारी लेखनीको कोणबाट मात्र होइन, सिंगै नेपाली साहित्यको परिप्रेक्ष्यमा विशिष्ट उपलब्धिको रूपमा सम्झन सकिन्छ । वास्तवमा नेपाली साहित्यको नारी लेखनको स्तरीयताको कुरा गर्दा र खास गरी अन्तर्राष्ट्रिय साहित्यसित दाँज्न मिल्ने खालका लेखनीको लेखाजोखा गर्नुपर्दा अझै किटेर भन्न सकिने अवस्था छैन । किनकि देशभित्र नारी स्रष्टाका सिर्जनाहरूको त्यस ढंगले खोई र अध्ययन विश्लेषण गरिएको ?
१४.तपाईं गुञ्जन साहित्यिक संस्थाको संस्थापक सदस्य । नारी स्रष्टाहरू मिलेर खोलेको यो संस्थाले नारीलेखकका समस्यालाई कत्तिको संबोधन गर्न सकेको छ त ? साहित्यमा नारीको संख्यात्मक र गुणात्मक सहभागिता अभिवृद्धिका लागि यो संस्थाले के कसरी पहल गर्दै आएको छ ?
नारीस्रष्टाहरू मिलेर खोलेको संस्था भए पनि गुञ्जन केवल नारीस्रष्टाहरूको समस्यमा मात्र चिन्तनशील छैन । नारीस्रष्टाहरूले भोग्दै आएको समस्या यथार्थमा नारीको मात्र समस्या होइन, त्यो सिंगो नेपाली साहित्यको समस्या हो भन्ने यथार्थप्रति मुलुकको साहित्यक्षेत्रलाई सजग गर्न लागिपरेको छ यो संस्था । साहित्यिक वृत्तमा व्याप्त लैङ्गिक अन्धताको अवस्थालाई चिर्न चाहन्छ यो संस्था । यसका लागि यसले आफ्ना औपचारिक तथा अनौपचारिक दुवै थरिको कार्यक्रमहरूमा यो विषयबारे बारम्बार कुरा उठाउदै आएको छ । नेपाली साहित्यको इतिहासमा नारीस्रष्टाले पुर्याएको योगदानको गहन अध्ययन गर्न चासो देखाइयोस् भन्नाका लागि यसले सम्बन्धित क्षेत्रलाई रचनात्मक दवाव पुर्याइरहेको छ । यसका लागि यस संस्थाबाट नेपाली साहित्यको कथा उपन्यास र निबन्ध विधामा संलग्न नारी लेखकहरूको नालीबेली उल्लेख गरिएको पुस्तक नारी साहित्यकारहरूको विधागत इतिहास (२०६१) प्रकाशित भएको कुरा पनि यहाँ स्मरण गराउन चाहन्छु । यस देखि बाहेक नेपाली साहित्यको नारी लेखनलाई अन्तर्राष्ट्रिय पाठकको पहुँचसम्म पुर्याउने हेतुले यस संस्थाले २०६३ सालमा BEYOND THE FRONTIERS (women’s stories from nepal) र २०६४ सालमा DAUGHTER OF THE EARTH (cotemporary nepali poems ) जस्ता पुस्तकहरू पनि प्रकाशित गरेको सर्व विदितै छ । नयाँ नारी प्रतिभाहरूलाई प्रोत्साहित र प्रेरित गर्ने आशयले गुञ्जनले बर्षेनी नब प्रतिभा पुस्करले एकजना प्रतिभालाई पुरस्कृत गर्दै आएको छ । यसका अतिरिक्त गुञ्जनले आरम्भदेखि नै गर्दै आएको मासिक कोठे साहित्यिक गोष्ठीको निरन्तरता त अफ्नो ठाउँमा छँदैछ । बरिष्ट देखि कनिष्ट सम्मका नारी तथा पुरुषहरूलाई आमन्त्रण गरिने त्यस्ता कोठे गोष्ठीहरूको आयोजना गरिनुले गर्दा नारी स्रष्टाहरूलाई आफ्ना कृतिका बारेमा चर्चा र विमर्श गराउनका लागि त प्लेटफर्म मिलेको छ नै, साथै आफ्नो लेखनको गुणात्मकतामा अभिवृद्धि गर्न पनि त्यसबाट तिनलाई केही हदसम्म मद्दत पुगिरहेको छ भन्न लाग्छ ।
नेपाली साहित्यको नारी सहभागिताको अवस्था (संख्यात्मक र गुणात्मक दुवै दृष्टिले) मा बढोत्तरी ल्याउनका लागि तत्काललाई केही रणनीतिक पहल गरिनु आवश्यक देखिन्छ । समानता नै सभ्यताको द्यौतक हो । आखिर सबै साहित्यकार जन्मदै देवकोटा भएर कहाँ जन्मेका हुन्छन् र ? अंग्रजीमा एउटा भनाइ छ नि – Practice makes one perfect !! आखिर अभ्यासले नै व्यक्तिको प्रतिभा क्रमशः निखारिदै जाने हो ।
१५.तपाईका प्रकाशित कृतिहरू के कति छन् ? छरिएर रहेका फुटकर रचनाहरू कति छन् ? कुनै कृति प्रकाशोन्मुख पनि छ कि ?
प्रकाशित कृति:
(क)
–विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद ( अनुसन्धानात्मक समालोचना ग्रन्थ ) वि.सं.२०६२
–नारी साहित्यकारहरूको विधागत इतिहास, २०६१ (सहसम्पादन),
–विभिन्न साहित्यिक तथा अन्य गोष्ठीहरूमा कार्यपत्रहरू प्रस्तुति,
–गरिमा, मधुपर्क, उन्नयन, शारदा (नयाँ), मिर्मिरे, रचना, रत्नश्री, लगायत विभिन्न साहित्यिक पत्रपत्रिकाहरूमा केही सिर्जनात्मक रचनाहरू तथा थुप्रै समालोचनात्मक लेखहरू प्रकाशित ।
–नेपाली उपन्यासमा लैंगिक विभेदीकरणका सामाजिक समस्याको अभिव्यञ्जना
(प्रकाशोन्मुख समालोचनात्मक ग्रन्थ)
(ख)
–सञ्चारकर्मी महिलाको अवस्था : अनुसन्धान पुस्तक ,२०६२ ( प्रमुख अनुसन्धाता एवं लेखन तथा सम्पादन )
–केही गैर साहित्यिक पुस्तक तथा पुस्तिकाहरू प्रकाशित
–विभिन्न राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्रपत्रिकामा समसामयिक विषयका थुप्रै लेखरचनाहरू प्रकाशित
१६.तपाईंका कुनै कृति वा तपाईं आफैले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?
(क) महेन्द्र विद्याभूषण विशिष्ट श्रेणी
(ख) विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासमा अस्तित्ववाद ग्रन्थका लागि
सैनध्वज–नन्दकुमारी विद्वत्वृत्ति पुरस्कार २०६२
१७.अन्त्यमा, समकालीन साहित्य डट कम मार्फत् विश्वभर रहेका नेपाली साहित्यका लेखक तथा पाठकहरू लाई केही भन्नु छ कि ?
नेपाली साहित्यको ओज दिनपर दिन बढ्दो छ । देशभित्र बस्नेले मात्र होइन, देश बाहिर रहेका नेपाली लेखक तथा पाठकहरूले समेत नेपाली साहित्यको यो उन्नतिमा प्रत्यक्ष र विशिष्ट ढंगले योगदान पुर्याइरहेका छन् । यसले सधै निरन्तरता पाइरहनुपर्छ ।
विश्वआकाशमा नेपाली साहित्यको उज्यालो फैलाउन र नेपाली साहित्यको उचाईलाई अभिवृद्धि गर्न सबैतिरबाट हामी सबै नेपाली अझै मिहिनेतका साथ डटौं । ग्लोवलाइजेसनको यो युगमा अबको हाम्रो आवश्यकता भनेको विश्वसािहत्यको पठनमा तमाम नेपाली लेखकहरूको सहज पहुँच कसरी बढाउने भन्ने हो , अनि कसरी नेपाली साहित्यलाई अन्तराष्ट्रिय पाठकको रुचिको विषय बनाउने भन्ने पनि हो । यस वीच आफ्नो मौलिक गरिमा र विशिष्टताको पहिचानलाई जोगाइराख्नुपर्ने खाचो पनि छ । नेपाली साहित्यलाई विश्ववजारमा फैलाउनु छ, विश्वसाहित्यलाई नेपालभित्र सहज पठनको विषय तुल्याउनु छ । यसका लागि अनुवादको माध्यम अवलम्बन गर्नुका अतिरिक्त यस्ता विषयमा केन्द्रित भई राष्टिय तथा अन्तर्राष्ट्रिय स्तरको विमर्श, गोष्ठी ता अन्तरक्रिया लगायतका गतिविधिहरूको निरन्तरताको खाचो छ । यो राष्टिय आवश्यकतालाई हामी सबैले आआफ्नो ठाउँबाट संवोधन गरौं ।