19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सिमाना कटाउने बेला

कविता हरिहर दाहाल January 2, 2010, 3:41 pm

गाउँ,शहर र बस्तीहरु

अनाधिकृत रुपमा मिचिएको बेला हो यो।

बुद्धी नभएका स्वाँठ भुसतिघ्रेहरुबाट

निर्बलहरु किचिएको बेला हो यो।

घरभित्र चोर छिरेको खुशीयालिमा

सर्वस्व लुटिदा पनि

सर्बाङ नाँचिएको बेला हो यो।

शोषणको पनि हद हुन्छ

सहनशिलताको सिमा जाँचिएको बेला हो यो।

एता टुक्र्याएर, उता भत्काएर

विकासका नाममा

बिनास रोपिएको बेला हो यो।

यता मारेर, उता चिथोरेर

उपचारका नाममा

बिषमय सुई घोपिएको बेला हो यो।

उन्मुक्तिको सपना बाँडेर

बाँच्न पाउने अधिकार खोसिएर

स्वतन्त्रताका नाममा

निरंकुशता लादिएको बेला हो यो।

बोल्न-गर्न क्यै नदिएर

देश र जनतालाई दलदलमा

खाँदिएको बेला हो यो।

जाति, भाषि र क्षेत्रीयताका नाममा

एक-अर्कामा शत्रुता बढाईएको बेला हो यो।

संबन्ध र नाताहरु टुक्र्याईएर

मानवताको धज्जी उडाईएको बेला हो यो।

घर, परिवार, इष्टमित्र र छिमेकिका बिच

गौरबमय आत्मियतामा

फाटो हालिएको बेला हो यो।

भाइ-भाइ फुटाएर देश टुक्र्याउने

षड्यन्त्रको जालो फालिएको बेला हो यो।

भाँडहरुबाट होसियार है हजुर!

स्वाबलम्बी ,पौरखी र इमान्दार

नेपाली -नेपालीका बिच

बैमनष्यता,शत्रुता र तिक्तता हटाउने बेला हो यो।

देश टुक्र्याउने पाखण्डीहरुलाई

जुत्ताको माला पहिराई

सिमाना कटाउने बेला हो यो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।