19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

धरतीको हरेक कुनामा

कविता अशोक पार्थिव तामाङ January 4, 2010, 4:09 pm

बिम्व नमिलेर टुक्रिएका केहि धरतीका सिसे-गमलाहरूमा

मानवताका आस्थाहरू रंग हालेर फुल्थेहोलान्

सिरानी राखेर सुतेका अल्छे रहरहरू !

संगठित भएर भालेबास्नु अघि नै जागीसक्थेहोलान्

घृणालाई स्नेहले गोड्दै

आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।

शताब्दी निदाएका केहि मानवियताका मुर्चुङगा अनि बिनायोहरू !

ट्याउँ-ट्याउँ,टिउँ-टिउँ भाकामा आफै सित बिभाजन भएको आँगनको ईतिहाँस आत्मकथा रूँदै गुन्जाउँथेहोलान्

उष्णताले सेपिएका धरतीका कापमा पलाएका लेउहरू !

बुट्याँन बनेर मानव बस्तीकाहरूका बगैंचामा फक्रिन्थेहोलान्

चट्टान फोरेर मन रोप्दै

आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।

हुस्सुको अग्नीमा तापिएको श्रृजनशील मनका हाँगाहरू !

बसन्तको कोपिला बनेर लहलहाउँने थिएहोलान्

कुलो नभेटेका गैरीखेतहरू, रातामाटे डाँडाका प्लाँङ्खर भुमीहरू !

अनाजबृष्टी गर्दै सुडानका भोकहरू भर्नेथिएहोलान्

मानिसको सामुहिक प्रयासमा

आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।

आकाश बाँड्ने मान्छेको होडबाजीहरू !

धरती चिरा-चिरा पार्ने धर्म बिशेषका रंग र जातियताहरू !

सिङान पुछेर मान्छेले बिसर्जन गर्नेथिएहोलान्

बैरीमा दरिएका मानवताका साईनोहरू !

मित्रताको हात फैल्याउँदै मुसुक्क मुस्काउँथेहोलान्

युद्द त्यागेर शान्ती डाक्दै

आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।

एक अर्कोमा चिनारी हुँदा-हुँदै जानी-जानी निर्मित तिता क्षणहरू !

पुनर्मिलनको आँधीबेरीले उडाएर पत्कर उडाएसरी लाने थिएहोलान्

ईन्द्रेणीहरू फुलेर क्षितिजभरी अभाव काटेर धेरै सल्लेरी र मानेभञ्ज्याङहरू !

बिश्व ब्रम्हाण्ड नै बयस्क यौवन फक्रिएकी नव दुलही जस्तै देखिन्थिहोलिन्

एकको पिडा अर्कोले बुझ्दै

आहा! धरतीको हरेक कुनामा यो जखमले घामहरू पुरयाउँन पाए त ।

तपेश्वरी १, उदयपुर हालः ईजरायल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।