14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

घान्द्रुकको यात्रा

नियात्रा अमोल आचार्य January 6, 2010, 10:07 am

१० अक्टोबर, शनिवार, बिहान नै उठेर, पदयात्राकै लागि भनेर किनेको ‘ट्रेकिङग् ब्याग’ बोकें। पदयात्रा जाने जोशले होला ब्यागमा कोची-कोची राखिएका कपडाहरु, साबुन-स्याम्पुहरु केहीको पनि तौल थाहा भएन। विहान ७:०० बजे जमल पुगेर ‘टुरिष्ट’ बसमा चढेर पोखरा जाने निधो भएको थियो। सबै कुरा निधो गरेझैं भयो। ‘नेपाली टाइम’को परम्परागत प्रवृति भत्किदैगएकोमा खसी लाग्यो। नेपालीहरुले समयको महत्तव बुझ्न थालेको थाहा पाउँदा कुन नेपाली हुनुमानै गर्व गर्ने नेपालीलाई सुखदायक हुँदैन र?

काठमाडौंदेखि मुङलिङ, मुङलिङदेखि पोखरा। विच-विचमा खाना र खाजा। त्रिशुली, पहिरो गएको ढुङ्गे डाँडाहरु, केवुलकार, झोलुङ्गे पुलहरु। यत्तिमात्र वर्णन गर्छु काठमाडौँदेखि पोखरा छिर्नु अघिको यात्राको बारेमा, है। विषेशणहरु भुरुन्दी खोला, पुनहिल, घान्द्रुक, हिमालहरुका लागि बचाउन मन लाग्यो क्या।

हामी पोखरा उप-महानगरपालिका छिर्दा सेती खोला पोखरा घमेर बाहिर निक्लिरहेको थियो। ‘सेती खोलालाई त्यसको पानीले गर्दा सेती भनिएको हो’ पाँच कक्षामा पढ्दा शिक्षिकाले सेतीको वर्णनगर्दा भनेको कुरा याद आयो। पानी साच्चिकै सेतो थियो। कर्णालीले कोइला बगाएको भन्थे, सेतीले सायद चुनदुङ्गा बगाएको होला भनेर सोच्दा देशले सदुपयोग गर्न नसकेको प्राकृतिक सम्पदाका बारेमा चिन्ता लाग्यो। घुम्न आएको मान्छे, आफ्नै झोला भारी हुने डर थियो त्यहि भएर चिन्तालाई बोकिन र तत्कालको लागि चिन्ता बिसाइदिएँ।

गाडि बेगसँग अगाडि बढिनै रहेको थियो। पोखरा नजिकै रहेको आभास बाटोको दुईपट्टी नै देखिएका फाटफुट घरहरुले गराइरहेको थियो। यसो उठेर गाडिको अगाडिको सिसाबाट बाहिर हेर्दा साना-ठुला घरहरुले उभ्भिएर हाम्रै गाडितिर आखाँ लगाइरहेकोझैँ लाग्यो। पहिलो पटक पोखरा आउन पाउँदा आफू निकै खुसी भएको मलाई आफैंलाई थाहा भइरहेको थियो।

पोखराको बस-बिसौनीबाट लेकसाइड पट्टीको सस्तो लज- लुगा फेर्ने कार्यक्रम- खाजा खाने आतुरता। यस्तै त हो नि लामो यात्रापछि।

फेवातालको वर्णन गर्न मन छैन मलाई। फेवाताल नराम्रो लागेकाले हैन। विशेषण बचाउन पनि हैन। कत्ति गर्नु वर्णन फेवातालको। पुग्ने गरि वर्णन भइसकेको छ पोखराको, पातले छाँगोको, सारङ्गकोटको, बेगनास तालको, महेन्द्र गुफाको, शान्ति स्तुपाको, तालबाराहीको, चमेरे गुफाको, विन्दवासिनीको अफ भयो। पोखरा वर्णन नगर्नुको अर्को कारण पनि छ- म पोखरा घुमेको पनि त छैन। फेवातालको किनारमा उभ्भिएर जे देखें त्यत्ति मात्र त हो मैले पोखरा देखेको। जे भएपनि, जतिभएपनि टुङ्ग्याउँछु अब- सुन्दर पोखरा।

पहिले दिन

आइतबार, उठेर खाजा, नास्ता खाएपछी ९:४५ बजे बाग्लुङ्ग बसपार्क पुग्यौँ। बाग्लुङ्ग पोखरामै भएको बाग्लुङ्गको लागि बस पाउने बसपार्क हो। हाम्रो यात्रा बसपार्क देखि नयाँपुलसम्मको मात्र थियो। नयाँपुलबाट हाम्रो पदयात्रा सुरु हुने तय थियो। म पदयात्राको लागि आफूलाई मानसिक रुपमा तयार गर्दै थिएँ।

बसमा चढियो। दुई घण्टामा नायाँपुल पुग्दैथियौं हामी। बस डाँडाको जीऊभरि बनाइएको बाटोमा कुद्दै उकालो चढ्दै थियो। एक घण्टाजतिको यात्रा पछि हो मलाई हावाको चिसोपन बढिरहेको भान भयो। एकछिनमै हावा साह्रै चिसो भइसकेको थियो। म ज्याकेट निकालुँ कि ननिकालुँ भनि मनसँग सिँगौरी खेल्दै थिएँ। हावा किन त्यति चिसो भएको होला भनि गम्दै थिएँ म। सायद हिमाल हाम्रो नजिकै भएर होला- दिमागले तर्क गरिहाल्यो। एकैछिनपछि म चढेकै बसमा भएका अपरिचित यात्रुबाट थाहा भयो, हामि लुम्ले आइपुगेका रहेछौं। एक्कासि मन-मस्तिष्कमा ‘मुटु छुने लुम्लेको हावाले….मनै छुने लजालु मायाले’ भन्ने परिवेश साङ्गीतिक समुह (ब्याड) ले गाएको गीत याद आयो। पोखरा नेपालमा सवैभन्दा धेरै बर्षा हुने ठाँउ हो भन्ने थाहा थियो तर पोखराभित्र पनि लुम्लेमा चाहिँ धेरै वर्षा हुँदो रहेछ। नेपालमै अत्याधिक बर्षाहुने ठाउँको हावासँग परिचय साटियो। नयाँ कुराको ज्ञान भयो। सायद सामान्यज्ञान पढेर नेपालमा सर्वाधिक बर्षाहुने ठाउँ लुम्ले हो भनि याद गर्नु परेको भए मस्तिष्कले निकै संघर्ष गर्नु पर्थ्यो तर आफैं लुम्ले पुग्दा मस्तिष्कले थाहा नै नपाई लुम्लेलाई मनमा बसाएछ। यहाँनेर विश्व साइकल यात्री पुष्कर शाहालाई सम्झन मनलाग्यो मलाई। पुष्करले भर्खर आफ्नो ११ बर्षे विश्व साइकल यात्रा पुरागरेका छन्। नाइल नदी देखेपछि पुष्करले भनेका थिए- ‘सायद अब मैले फेरि परिक्षामा नाइल नदीको बारेमा लेख्नुपर्यो भने २-४ नम्बर बढीनै ल्याउँछु होला’। सुन्नु र भोग्नुको सायद यहि भिन्नता छ, तृप्तीको भिन्नता।

मेरो मन लुम्लेमा रोकिए पनि बस रोकिएनछ। हामी गाडीले ओराल्दिने नयाँपुल पुगिसकेका थियौँ। गाडीबाट ओर्लेर सच्चा नयाँपुल पुग्न करिब आधा घण्टा लाग्यो। थाहै नपाई पदयात्रा सुरु गरिसकेछौं हामीले। केहि अगडी अर्थात वीरेथाँटीबाट अन्नपूर्ण संरक्षण क्षेत्र सुरु भएको थियो। वीरेथाँटीमा विदेशी पर्यटकले विवरण भर्नुपर्ने रहेछ। प्रेम छिरिङग्लाई चाइनीज भनेर चेक पोष्टका कर्मचारीले राहधानी माग्दा रमाइलो ठट्टा भएको थियो। मेरो दिमागमा नयाँपुल भनेको पक्की पुल होला भर्खर बनेको भन्ने थियो। तर पुल त उही पुरानै रहेछ, झोलुंगे पुल। मोदी खोलामाथि तुर्लुग झुन्डिरहेको।

नयाँपुल काट्ने बित्तिकै बाटो दुईतिर लागेको देखियो। दायाँ पट्टीको बाटो जाँदा एकैदिनमा घान्द्रुक पुगिने र बायाँ पट्टी लाग्दा चाहिं तिखेढुङ्गा, घोरेपानी, टाढापानी हुँदै घान्द्रुक पुगिने रहेछ। हाम्रो पदयात्रा पाँच दिनका लागि तय भएकाले हामीले लामो बाटो घान्द्रुक पुग्ने निधो गरि बायाँ पट्टीबाट पहाडको उचाई नाप्न थाल्यौं। पहिलो दिनको बास तिखेढुङ्गामा बस्ने निधो थियो। मेरो दिमागमा तिखेढुङ्गा कस्तो होला भनेर चित्रहरु कोरिन थालिसकेका थिए। एउटा तिखो ढुङ्गा जस्तो पहाडमा भएको गाउँहोला तिखेढुङ्गा भनि मनले ठम्यायो। पाइलाहरु अगाडि बढीरहेका थिए। एकपछि अर्को पाइला गर्दै म दिनको गन्तब्यका लागि अगाडि बढिरहेको थिएँ।

हिजो पोखरा बसेकोले होला पोखराको याद आयो। फेवाताल याद आयो। गीत सुनेको ठाउँ ‘बिजी बी’(Busy Bee) को याद आयो। ‘बिजी बी’ भनेको एउटा होटल/रेष्टुरेन्टको नाम हो। नेपाली तथा विदेशी पर्यटकहरु उल्लेख्य मात्रामा उपस्थित भई ‘बिजी बी’मा गीत सुनेर रमाइलो गर्दा रहेछन्। गीतचाहिं स्थानीय गायन समुह (ब्याड) ले गाउँदा रहेछन् बेलुका ७:०० बजे देखि राति ११:०० बजे सम्म। हामी ‘बिजी बी’ गएको दिन, मात्र अङ्ग्रेजी गीत गाइयो। अङ्ग्रेजी गीत सुन्न मन नपर्ने भएकाले खासै रमाइलो लागेन मलाई। तर अरु मानिसहरुले ‘हेड ब्याङ्ग’ (जीउ निहुराएर टाउको हल्लाउने काम) गरेको देख्दा चाहिँ रमाइलो लाग्यो। ‘कस्तो घाँटी नदुखेको होला?’ मनले भनिरहेको थियो।

हिजो राति पैसा धेरै खर्च गरिएछ। झन्नै २००० रुपैयाँ उडाइएछ। धन्न जाँड, रक्सी खाइएन नत्रभने घान्द्रुक यात्रा पोखरामै टुङ्गीने थियो। जाँड नखाएपनि २००० रुपैयाँ सकिनुबाट पोखरा महङ्गो शहर रहेछ भनेर अड्कल काट्न सकिन्छ। ‘पर्यटकसँग पैसा लिने बानी परेका होटल ब्यवसायीहरु हुन’ भन्यो मनले।

पाइला निरन्तर अगडि बढिरहेका थिए। मोदी खोलामा मिसिन गइरहेको भुरुन्दी खोलाले सुसेलेको आवाज मिठो सङ्गीत बनि वातावरणमा मिसिरहेको थियो। भूरुन्दी खोलालाई देख्दा लाग्यो उ वेगसँग आफ्नो लक्ष्य भेट्टाउन अघि बढीरहेको छ। बाटोमा कतै, केहीबेरका लागी बाङ्गीएपनि लक्ष्य भेट्टाउने उसको उत्कट अभिलाषा प्रेरणादाई छ।

छेउमा खोला, वरिपरी हरियाली, पहाडको उकालो-ओलारो, हिड्न रमाइलो लागिरहेको थियो। अचानक फेरी मनमा हिजो खर्च गरेको पैसा याद आयो। छ भन्दैमा फजुल खर्च गर्यो भने कुवेरको भण्डारपनि रितिन्छ भन्ने कुरा थाहा हुँदा-हुँदै अनावश्यक पैसा खर्च गरेकोमा आफैसँग रिस उठ्यो। ‘काठमाडौं फर्किउन्जेललाई पैसा पुगेन भने के हुन्छ?’ भनि दिमागले तेर्साएको प्रश्ननको तगारोलाई बाँकि पैसा उपयोगी तरिकाले खर्च गर्छु भनि हटाएँ। बल्ल मलाई पदयात्रा भनेको आफ्नो निउन पुँजी र समयलाई सहि सदुपयोग गर्दै नयाँ ठाउँका बारेमा जानकारी लिन सिकाउने विधि रहेछ भन्ने थाहा भयो।

मन पोखरामा पाइला पदयात्रामा। दिन यसरि नै वित्यो। कहिले काहिँ आफूले पदयात्राको सम्पूर्ण मज्जा लिन नसकिरहेको आभास हुन्थ्यो तर मनको चिन्ता पदयात्रासँग नै सम्बन्धित रहेको र पदयात्राले सुरुमै ठुलो पाठ सिकाएको सम्झेर खुसी पनि लाग्यो। अब चाहिँ पैसाको सहि उपयोग गर्छु भनि मन एकचित्त गरें र सारा ध्यान यात्रामानैं केन्द्रीत गराउन थालें।

बाटोमा अनेकौं झरनाहरु देखिए। कोही लामा, कोही ठुला, कोही पातला। जे जस्ता झरना भएपनि सवै झरना समान थिए। पानि सबैको समान तत्व थियो। झरनाहरु आफूलाई भूरुन्दी खोलामा मिसाएर आफ्नो समुन्द्र भेट्ने लक्ष्यलाई अझ मगबुत बनाइरहेका थिए। कहीँ त पुरा खोला झरना जस्तो भएर उचाइबाट झरिरहेको देखिन्थ्यो। नेपालमा जलबिद्युतको सम्भावना र खेर गइरहेको पानि दुवै विचार एकैपटक मनमा आयो। नेपाल प्रकृतिको ठुलो निगाहा बक्स भएको देश हो तर एउटा लायक छोरो पाउन सकिनन् नेपाल आमाले। म त्यो लायक छोरो हुनसकुँ। यहि इच्छा भयो मलाई।

साथीहरु बाटोको हरियाली, डाँडाकाँडा, सुन्दर झरनाहरु सबैलाई क्यामराको सहयोगबाट कैद गर्न ब्यस्त देखिन्थे। सबैको अनुहारमा चमक थियो पदयात्राले दिएको।

वीरेथाँटीबाट माताथाँटी, लाम्दुवाली, रामघाई, दाङसिङ, सुदामे हुँदै हामी हिले पुग्दा साझको ४:५५ बजिसकेको थियो। हामी वीरेथाँटीमा खाना खाएर १:१५ बजे दिउँसो, उकालो लागेका थियौं। तिखेढुङ्गा पुग्न अझै कति बाँकि छ भन्ने कुरा हामीलाई हिलेमै प्रप्त भएको पदयात्राको नक्साले बताइदियो।

हिलेपछि तिखेढुङ्गा आउँछ भन्ने थाहा पाएपछी साथीहरु धेरै खुसी भएका थिए। सायद उनीहरुलाई तीन घण्टाको नियमित यात्राले थकाएको थियो होला। आधा घण्टापछी अर्थात ५:३० बजे हामी दशै जना तिखेढुङ्गा पुग्यौँ। निला घरहरु भएको एउटा सानो गाउँ रहेछ तिखेढुङ्गा। तिखेढुङ्गामा होटल पाउन गाह्रो भएन हामीलाई। फेरी सस्तो होटलपनि पायौं हामीले। होटल खोज्दा ‘सादा खानाको कति?’ ‘एउटा खाटको कति?’ भनेर टुङ्गो लगाएर मात्र बस्ने निधो गरेका थियौं हामीले। पैसा सबै कुरा नभएपनि चाहिने कुरा चाहिँ रहेछ।

बेलुका भरी साथीहरु सबै गफिंदै बस्यौं। एक-अर्कालाई गिज्याउने, आफ्ना बारेमा साथीहरुलाई थाहा नभएको कुरा भन्ने सुनौलो अवसर भयो तिखेढुङ्गाको वास। राति भने खाना खाने बित्तिकै सबैजना सुति हाल्यौं। तीनवटा खाटमा पाँच जना। केटीहरुपनि त्यसरीनै सुते।

दोस्रो दिन

विहान खाजा खाएर सबै जान घोरेपानि यात्राको लागी तयार हुँदा ८:०० बजिसकेको थियो। होटलमा आफूले खाएको र सुतेको पैसा तिरियो। पोखरामा २००० रुपैयाँ खर्च भएको थियो। तिखेढुङ्गामा रु.२०० मात्र खर्च भयो। खर्च भएको पैसाको भिन्नता देख्दा हासो लाग्यो। सबै प्रकारले सर्वसुलभ पोखरा र नयाँपुलबाट एकदिनको खच्चर ढुवानीबाट सामान ल्याउनु पर्ने तिखेढुङ्गा। अच्चमको भिन्नता।

तिखेढुङ्गाबाट घोरेपानी ६ घण्टाको ठाडो उकालो हो भन्ने थाहा थियो मलाई। समुन्द्र सतहबाट १५४० मिटर उचाईमा रहेको तिखेढुङ्गाबाट २७५० मिटरमा रहेको घोरेपानि पुग्दै थियौं हामी। उकालो जति भएपनि घोरेपानि हाम्रो गन्तब्य भएकाले हामी उकालो चढ्न तर्फ लाग्यौं। ढुङ्गा छापेर बनाइएको सिंडी जस्तो बाटोभरि सामान ढुवानीका लागि प्रयोग गरिएका खच्चरको मलमूत्र देखिन्थ्यो। कहिले काहिँ उकालो चढ्दै गर्दा ओरालो झरिरहेका खच्चरलाई बाटो छोड्दा ‘जनावर’को बाटो नछेक्नुनै उत्तम हो भन्ने पाठ सिकियो। उकालो ठाडो थियो। अगाडी बढ्न निकै गाह्रो भइरहेको थियो। मलाई बल्ल आफूले भारि झोला बोकिएछ भन्ने भान भयो। झोलालाई कर्तब्य ठानि बोकेर हिडिरहें म। कहिं थकाई मार्थे, कहिँ पानि खान्थें। हिड्दा जति दु:ख भएपनि गन्तब्यको नजिक पुगिरहेको आभास मात्रले पनि मनभरि आनन्दको अनुभुति प्रवाह हुन्थ्यो। निधारबाट थोपा-थोप गरि निस्किएको पसिनाले मलाई म पैरख गर्न सक्षम छु भन्ने भान गराइरहेको थियो। जीवनको यात्रामा पनि म मेहनत, पैरख गरेर सफल हुन्छु भन्ने आत्मविश्वास मन भित्र प्रगाढ भइरहेको थियो। उकालो ओलारोमा परिणत हुने क्रम जारी थियो। पहाडको टुप्पोलाई छोएर उडेका बादलहरु नजिकै देखिन थालिसकेका थिए। बादलहरु त्यति नजिकै देख्दा कसको मनमा आनन्द आउँदैन होला र?

हामी हिडिरहेको उकलोलाई उल्लेरीको उकालो भन्दा रहेछन् स्थानिए ब्यक्तिहरुले। उल्लेरी मात्रचाहिँ त्यस ठाउँको नाम रहेछ। करिब २ घण्टाको उकालो यात्रापछि हामीले उल्लेरीको उकालोलाई उल्लेरीको ओरालो बनायौं। अझै करिब ४ घण्टाको यात्रा बाँकि रहेपनि अब बाटो सरल छ भन्ने थाहापायौं हामीले। मेरो लागि उल्लेरीको उकालो उक्लीनु एउटा जीत थियो। मेरो आफ्नो मनमाथिको जीत। मलाई यस्तै लाग्यो।

घोरेपानिको होम्रो यात्रा एउटा पसलमा आफैंले लगेको दालमोट चिउरा खाएपछि फेरी प्रारम्भ भयो। अर्काको पसलमा बसेर आफैंले लगेको खाजा खायौं हामीले। तर चिया चाहिँ पसलकै खाएका थियौं। चुरोटपनि किनियो त्यही पसलमा। ए साँच्ची, फोनपनि गरेका थिए साथीहरुले घरतिर, त्यहि पसलको सि.डि.यम.ए फोनबाट। एक कलको रु.१० मात्र।

केहि खानुपर्दा, कुनै निर्णय गर्नपर्दा सबै साथीहरु भेला हुन्थ्यौं हामी। अघिको पसलमा जस्तै। अनि यात्राको समयमा चाहिँ दुईदेखि तीन जनाको समुहमा हिड्थ्यौं। कहिले एक्लैपनि हिडिन्थ्यो। एक्लै हिड्दापनि कहाँ एक्लै हुइन्थ्योर। मनसँग अनेक कुराहरु गर्थें म। कहि भूतकालका कुरा, केहि भबिष्यका कुरा। योजनाहरु बुनिन्थ्यो जीवनको। कहिलेकाहिँ अनायासै खित्का छुट्थ्यो कुनै रमाइलो घटना सम्झँदा अनि कहिले आफैंले गरेका गल्तीहरु सम्झँदा दु:ख लाग्थ्यो। म वरिपरिको प्रकृतिको मनोरम दृश्य, पहाड, अलिअलि देखिन थालेको हिमाल सबैले मेरो खुसीलाई अझ बढाइरहेका थिए भने मेरो जीवनका नरमाइलो घटनाहरुको असरलाई कमपनि गराइरहेका थिए। जीवन भनेको सुख र सन्तुष्टि बाड्ने एउटा मञ्न न हो। त्यहि गर्नु छ मलाईपनि। यही नै मेरो लक्ष्य हो।

हिड्दा हिड्दै अब त आफूले झोला बोकेको छु भन्ने यादपनि हराउन थाल्यो। झोला त जीउकै एउटा अभिन्न अङ्गै जस्तो भइसकेको थियो। मान्छेको जीउलाई जे गरेपनि हुनेरहेछ। काम गराए काम गर्छ, अल्छी लगाए सुतेर बस्छ। मानिसको जीउ हैन; मन, मनोबल र इच्छा महत्त्वपूर्ण हो भन्ने पाठलाई अझै प्रष्टसँग बुझ्न सहयोग गर्दै थियो घान्द्रुक पदयात्राले मलाई।

दिउँसो १:१० बजेतिर नाङ्गेथाँटी पुगें म। मसँग प्रेम र गैरब थिए। हामी नाङ्गेथाँटी पुग्दा साथीहरु सबै त्यहाँ पुगिसकेका रहेछन्। कोही १० मिनेट अगाडि त कोही १५ मिनेट अगाडि। झरनामा फोटो खिच्नलाग्दा हामीलाई केही ढिलो भएको थियो। नाङ्गेथाटीमै दिनको खाना खाने निधो भएकाले र खाना नपाकिसकेकाले हामीले नाङ्गेथाँटीमा केहीबेर बस्नुपर्ने भयो। खाना पर्खदा हाम्रो भेट केही नेपाली गाइडहरुसँग भयो। उनीहरुले बताए अनुसार घोरेपानि अब १ घण्टाको पैदल दुरिमा थियो। त्यसैले समयको चिन्ता नगरि हामी ती नेपाली गाइडसँग कुरा गर्न थाल्यौं।

नेपाली पदयात्रीहरु देख्न पाउँदा उनलाई निकै खुसी लागेको रहेछ। ‘आठ बर्षअघि गाइडको पेसा सुरुगर्दा पदयात्रामा हिड्ने नेपालीहरु विरलै भेट्टाउथें मैले तर आजकाल नेपालीहरुले पनि पदयात्राको महत्त्व बुझेछन्। पदयात्रा भनेको बरालिएर हिड्नु हैन शारिरिक र मानसिक कसरत हो’ भन्दै थिए ती गाइड। दिनको १५-२० डलर कमाउँछु भन्दैगर्दा उनले पर्यटनले धेरैलाई रोजगारी दिएको छ नेपालमा भनेर भन्न छुटाएनन्। ‘अझै नयाँ रुट र गन्तब्यहरु बनाउनुपर्छ र पर्यटकलाई आकर्षित गर्नुपर्छ’ उनले आफ्नो धारणा सुनाए। खाना पाकिसकेको थियो। हामी खाना खान थाल्यौं। ती गाइड टुरिष्ट लिएर घोरेपानि गए।

नाङ्गेथाँटीबाट तीन बजेमात्र हामी घोरेपानिका लागि रवान भयौं। घोरेपानि हाम्रो पदयात्राको रुट मध्येको सबैभन्दा उच्च ठाउँ थियो। त्यसैले हामी घोरेपानिसँग नजिकहुँदै जादा चिसो बढ्न थालेको अनुभव भइरहेको थियो। हिमालसँग संङ्गत गरेर आएको हावाले हामीलाई न्यानो लुगा लगाउन आदेश दिइरहेको थियो। हावासँग जुँगा लडाई गर्दागर्दै हामी ४:३० बजे घोरेपानि पुग्यौं।

घोरेपानीमा हामीलाई थाहाभयो विदेशीले साच्चैनै नेपालीले भन्दा धेरै पैसा खर्च गर्दारहेछन। यसको उदाहरणका लागि होटेल साकुराकी भाउजुले हामीसँग कुरा गर्दा-गर्दै आफूले चिनेको विदेशी पाहुँनालाई, हामीलाई नै विर्सेर गरेको स्वागतबाट थाहा भयो। त्यतिहुँदा पनि हामीले होटल साकुरामानै बस्ने निधो गर्यौ। अरुतिर ठाउँ खोज्न जाँदा अहिले पाएको ठाउँपनि गुम्ने डर थियो हामीलाई र थकाइपनि मज्जाले लागिसकेको थियो।

तिखेढुङ्गाजस्तै घोरेपानिमा पनि हामी खाना नखाउन्जेलसम्म कुरा गरेर बस्यौं र खाना खाएपछि सुत्न गयौं। सुत्न जाँदा करिब १० बजेको थियो होला। भोलि विहानै उठेर सूर्योदय हेर्न पुनहिल जाने कार्यक्रम थियो। त्यसैले मैले ४:०० बजेको समयसुचक आवाज मोबाइलमा लगाएको थिएँ। पदयात्राभर मोबालले संचार यन्त्रको काम नगरेपनि घडिको कामचाहिँ गरेको थियो।

तेस्रो दिन

विहानको ४:०० बजे लगाइएको समय सुचक आवाजले ब्युँझाउनु भन्दा तीन धण्टा अगाडीनै मेरो निर्दा खल्बलि सकेको थियो। रातभरी जाडो, गर्मी दुवै भइरह्यो; कहिले सिरक कम भएर त कहिले धेरै भएर। मलाई घोरेपानीमा बसेको ठाँउ अझै राम्रो लागेको थिएन। जेहेन-तेहेन ४: ५० मा म र शेखर भएर अरु साथीहरुलाई पछाडी नै छाडी सूर्योदय छुट्ला भन्ने डरले पुनहिल तिर हिडिहाल्यौ। विशेष गरेर मलाई र शेखरलाई सूर्योदय कुनैपनि हालतमा छुटाउन मन थिएन। त्यसैले अलि अल्छी गरिरहेका साथीहरुलाई छाड्नु पर्यो। रात पुरै नसकिएकाले उज्जयालो भइसकेको थिएन। हामीसँग बाटोमा चाहिने वा भनौ अध्यारोमा चाहिने बत्ति केहीपनि थिएन। तर हाम्रो यात्रा जुनको प्रकाशले सजिलो बनाइदियो। घोरेपानिमा तेसैत जाडो बढी हुने अझ तेसमापनि हामी हिमालतिरै लम्किरहेकाले होला जाडो एकदमै बढी भइरहेको थियो। जाडोले मेरा दाँतहरु बजिरहेका थिए। केही समयको उकालो चढाइपछि भने जाडो कम हुन थाल्यो, जीऊ तातेकाले। अलिमाथि पुगेपछि मानिसका हुलहरु सलबलाएको देखिन थाल्यो। सबै उकालो चढीरहेका थिए। हामी लम्किरहेको दिशाको ठ्याक्क पछाडी आकाशमा लाली लाग्न सुरु भइसकेको थियो। लाली बढ्दै जाँदा मलाई पुनहिलबाट सूर्योदय हेर्न नभ्याइने भयो जस्तो लागिरहेको थियो। पुनहिल तिरको आफ्नो वेग मैले अझै बढाएँ। झोलाहरु होटलमानै राखेर आएकाले होला मलाई उकालो चढ्न गाह्रो भएको थिएन।

पुनहिल तिरको मेरो वेग बढीनै रहेको थियो। शेखरले मलाई राम्रो साथ दिइरहेको थियो। लम्कदा लम्कदै हामी पहाडको टुप्पो पुग्यौं जहाँ करिब ४००-५०० जना पर्यटकहरु आकाशमा लाली देखिएको दिशातर्फ टाउको एकाग्र बनाएर हेरिरहेका थिए। बिश्वकै ठुलो लालीगुराँसको जंगल अनी समाजसेबी लाहुरे टेकबहादुर पुनले पुनहिलको टुप्पामै निर्माण गरी दिएको भ्यूटावर त मैले देखें तर यी सबै भन्दा महत्त्वपूण हामीले, १६ वटा हिमालले श्रृङ्खला बनाएर हामीलाई अगाडीबाट छेकिरहेको पायौं। श्रृङ्खला बनाउने हिमालहरुमा अन्नपूर्ण हिमश्रृङ्खला, धौरागिरी हिमश्रृङ्खला, नीलगिरी, हिमचुली, माछापुच्छ्रे आदी थिए। आकाशमा लाली अझै बढ्दै थियो। म घरी टावरबाट त घरी भुईंबाट लाली लागेको आकाशलाई हेरिरहेको थिएँ। यत्तिकैमा हामीले होटलमै छाडेका साथीहरुपनि आइपुगे। वातावरण अझ रमाइलो भयो। हामी नेपालले प्रकृतिबाट पाएको वरदानहरुको कुरा गर्न थाल्यौं।

मलाई कुनै हालतमा सूर्योदय नछुटोस भन्ने थियो। तर हो-हल्ला भएर, मानिस जम्मा भएर कराउँदैमा सूर्यकहाँ आउँदो रहेछ र? करिब दुई घण्टाको कुराई, त्यसमा पनि ५०-५० रुपैयाँको कालो चिया खाएपछि बल्ल सूर्यनारायणको आगमन होला जस्तो भयो। सूर्यको किरण सर्वप्रथम अन्नपूर्ण हिमालमा गएर ठोक्किएको देख्दा मलाई अलौकिक आनन्द प्राप्त भएको थियो। अलौकिक आनन्दलाई लौकिक शब्दहरुले वर्णन गर्न सकिदैन भनेर ऋषिमुनिहरुले भनेकाछन्। म पनि सक्दिन। तर म ऋषिमुनि हुनसकेको मानिसचाहिँ होइन। खाली यतिमात्र भन्छु- ‘सूर्यको किरण सेतो हिमालको शिरमा गएर ठोक्किदा स्वर्ग त्यहीँ बन्दोरहेछ’।

आफ्नो आगमनको पूर्व सूचना अन्नपूर्ण र धौरागिरीलाई पठाएका सूर्यनारायण एकछिन स्वयंनै हाम्रा सामु उपस्थित भए। सधै देखिरहेको सूर्य भएपनि आज उसको महत्त्व बेग्लै थियो।

हामीले पुनहिलमा करिब तीन घण्टा बितायौं। हिमाललाई छोएको जस्तो गरी फोटोहरु पनि खिचियो। मैले हवाईजहाजहरु आउँदै फरी एकैछिन पछि फर्केर जाँदै गरेको देखिरहेको थिएँ। सधै टाउको माथिमात्र उड्ने हवाईजहाजहरु आज पैताला भन्दा तल उडिरहेको देख्दा सुरुमा त मलाई पत्यार लागेन, मैले देखेको हवाईजहाजनै हो भनेर तर पछि साथीहरुसँग कुरा गर्दा थाहा पाएँ ‘माउण्टेन फ्लाइट’ भनेको त्यही हो।

पुनहिलबाट साकुरा होटल फर्किएर साथीहरुले खाजा, नास्ता खाएर घोरेपानिबाट घान्द्रुकको लागि हिड्दा विहानको ९:०० बजेको थियो। मलाईचाहिं खाजा खान मन नलागेकाले मैले खाजा खाइन।

पुनहिलको ‘वेस क्याम्प’ घोरेपानिबाट गुरुङ्गहिल हुँदै टाढापानिमा खाना खाएर घान्द्रुक पुग्ने हाम्रो योजना नयाँ थियो। पुरानो योजना अनुसार आज हामी टाढापानि बसेर भोलिमात्र घान्द्रुक जाने निर्णय भएको थियो। तर पैसाको कमीले गर्दा सबैजना पुरानो निर्णय बदल्न राजी भएका थियौं।

झरना, खोला, अग्ला पहाड, फेदी, देउराली, स्वच्छ हावा सबैको सङ्गत र सत्सङ्ग गर्दै हामी पदयात्रामा निरन्तर अघि बढीरहेका थियौं। घान्द्रुक पुग्ने उत्साहले यात्रालाई सरल र सरस बनाइरहेको थियो। मलाई जीवन झन धेरै रमाइलो, झन धेरै उत्साहपूर्ण लागिरहेको थियो। जीवनका लक्ष्यहरुलाई पनि पदयात्राको दैनिक गन्तब्य जस्तै स्पष्ट देख्न थालेको थिएँ मैले। अब फेरी जोस-जाँगरका साथ आफ्नो लक्ष्यको बाटोमा निरन्तर पाइला चाल्ने बाचा आफैंसँग गरे मैले।

घोरेपानिबाट देउराली, बानथाँटी हुँदै हामी टाढापानि पुग्दा दिउँसोको १:३० बजेको थियो। पूर्व योजना अनुसार हामी टाढापानिमा खाना खाँदै थियौं। सस्तो खानाको खोजमा एउटा कमसल देखिने दोकानमा खाना खाने निधो गर्यौं। बाहिरी आवरणमा दोकान कमसल भएपनि दोकाने दिदिको मन कमसल थिएन। दोकानको आवरण कमसल भएकाले होला दोकाने दिदिले खाना खाने ग्राहकको अपेक्षानै गर्नुभएको रहेनछ। भात, दाल, तरकारी सबैनै पकाउनु पर्यो। टाढापानिमा हामि ३:२० बज्दासम्म खाना खाइरहेका थियौं। खाना खाइसक्ने वित्तिकै म र प्रेम घान्द्रुक पुग्न ढिलो भयोभने कोठा नपाइने डरले घान्द्रुक हिंडिहाल्यौं।

टाढापानिबाट घान्द्रुकको दुरी तीन घण्टाको पैदल यात्रा हो। तर हामी एक घण्टा पैंतिस मिनेटमा नै घान्द्रुक पुगेका थियौं। ओरालो बाटो सुरु भएर होला हामीलाई घान्द्रुक पुग्न आधा समय कम लागेको। फेरी समयमा नै घान्द्रुक नपुगे कोठा नपाइने डर पनि थियो जसले हामीलाई निरन्तर चाडो हिडायो। घान्द्रुक पुगेर खाने, बस्ने सबै निधो गरेपछी बल्ल हामीले घान्द्रुकको बनोटमा आँखा डुलायौं। मलाई घान्द्रुक भनेको गुरुङ्गहरुको बसोबास भएको प्राचीनतम गाउँ हो भन्ने मात्र थाहा थियो। जे भएपनि घान्द्रुक घुम्ने कामलाई भोलीको पोल्टामा छाडि म र प्रेम चिया खान थाल्यौं। बिस्तारै साथीहरु आइपुग्न थाले। हामीले छानेको होटल बाटो छेउमानै परेकाले साथीहरुले अलमलिनु परेन हाम्रो खोजीमा।

रात पर्दै जाँदा हामी सवै, आगो बालेर, आगोको वरिपरी बसेर यात्राको बारेमा कुरा गर्न थाल्यौं। मलाई ‘मानिस र खोला दुवै सहर पुगेर मात्र प्रदुषित हुन्छ कि क्या हो?’ भनेर प्रश्न सोध्न मनलागेको थियो तर सोधिन। सबैलाई यात्राले भरपुर आन्नद प्रदान गरेको प्रतिकृया आयो। केही क्षण गौरबको कोकिल कण्ठका गीतहरु सुनेर खाना खायौं हामीले। निरन्तर ८ घण्टाको यात्राले थकाएपनि पदयात्राको प्रमुख गन्तब्य आइपुग्दा म उत्साहित थिएँ। कतिलाई भोलि पोखरा पुग्ने कुराले पनि उत्साहित बनाएको थियो होला। जे भएपनि पदयात्रा सफल हुन सकेकोमा हामी सवै खुसी भयौं र सुत्न आ-आफ्नो कोठा तर्फ लाग्यौं।

चौथो दिन

बिहान मेरो आँखा खुल्दा साथीहरु हल्ला गरिरहेका थिए। हल्ला किन भएको रहेछ भनेर बाहिर निक्लदा लम्जुङ हिमाल, माछापुछ्रे, गङ्गापूर्ण, हिमचुली, अन्नपूर्ण हिमालहरु होटल अगाडि नै हाँसिरहेको देखेँ। हिमाललाई आफ्नो त्यति नजिक मैले पहिला कहिलेपनि देखेको थिइन। जता हेर्यो त्यतै लोभलाग्दो रमाईलो। समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा रहेको कास्कीको घान्द्रुक गाउँ वास्तवमै एउटा स्वर्गको टुक्रा जस्तै रहेछ। पर्यटनलाई नेपालको आर्थिक विकाशको मेरुदण्ड बनाउन सकिन्छ भन्ने त सुनेको थिएँ तर किन भनेका रहेछन भन्ने कुरा मलाई घान्द्रुक पदयात्राले प्रष्टसँग बुझाइदियो।

आज घान्द्रुकबाट पोखरा पुग्ने निर्णय भएको थियो। सोही निर्णय अनुसार हामीले विहानको खाजा, नास्ता खाएर करिब ११:३० बजेतिर घान्द्रुक घुम्दै नयाँपुल जाने यात्रा प्रारम्भ गर्यौं। भाङ्ग्रा लगाएका गरुङ्गहरु कमै देखिए घान्द्रुकमा। पदयात्राको अन्तिम दिन थियो आज। बाटामा पर्ने गुरुङ्ग संग्राहलय र विभिन्न किसिमका पुराना घरहरु हेर्दै हामी ओरालो झर्न थाल्यौं नयाँपुलतिर। घान्द्रुक उकालोबाट मोदी पारिको लान्द्रुक गाउँका घर-गोठहरू हरियो चौरमा थुप्रेर बसेका च्याङ्ग्राको बथान जस्तो लाग्थ्यो। घान्द्रुकलाई मनमा सजाउँदै पोखरालाई गन्तब्य मानेर म फटाफट नयाँपुलतिर लम्किरहेको थिएँ।……………

धुलिखेल, काभ्रे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।