यसपटक मैले भित्तामा नयाँ पात्रो झुण्ड्याएको छु । नयाँ लोसे पात्रो अर्थात् लोड सेडिङ्ग पात्रो । लोडसेडिङ्ग भन्नासाथ हाम्रो जलश्रोत (?लोसे) मन्त्रीको कन्पारो तात्दो हो, आलो घाउमा नुन चुक ग¥यो भनेर । आशा छ विद्युत लाइसेन्स वापतको कमिशनले यो रिस मत्थर पार्दो हो । जे कुरामा पनि राम्रा नराम्रा पक्ष त भई हाल्छ नि जलश्रोत सरी सरी लोडसेडिङ्ग मन्त्रीज्यू , जस्तै कि गुलाफमा काँडा, कमलमा हिलो ।
अँ म भित्ते पात्रो होइन होइन लोसे पात्रोको कुरा गर्दै थिएँ, म त अर्कै तिर पो बहकिएँ । भित्ते पात्रो भन्ना साथ उ बेलाँ भद्रपुर जाँदा खेरिको एउटा घटना सम्झिँदा अहिले पनि निकै हाँस उठ्छ । कुरा के हो भने त्यहाँ माउसुली लाई भित्ते भन्दोरहेछ , सम्भवतः भित्तामा हिँड्ने भएर त्यसो भन्या होला । नेवारीमा त चोकम्हुलु भनिन्छ, बेला कुबेला मान्छेको मुखमा पिसाब गर्ने भएर त्यसो भनेको होला ।
ल फेरि बहकिएँ, हाम्रा नेताहरु जस्तै । संविधान बनाउने जिम्मा लिएर गएकाहरु कुर्सी र भागबण्डामै झगडा गरिरहे जस्तै । अब भने लोसे पात्रोको मात्र कुरा गर्छु ।
लोडसेडिङ्ग अर्थात् जनमुखी सरकारको अनुपम एवं अमूल्य उपहार । सत्ताधारीहरुको कृपाले हाम्रा बाजे बराजुहरु कसरी अँध्यारोमा पनि जिविकोपार्जन गर्दा हो हामीलाई पनि अनुभूति भयो । धन्य अग्रगामी सरकारको ।
भित्ते पात्रो त वर्षमा एक पल्ट फेरे पुग्थ्यो । तर यो लोसे पात्रो त महिनामै कैयौं पल्ट, कहिले कहिले त हप्तैमा दुईपल्ट फेर्नुपर्दछ ।
उ बेलाँ परीक्षाको बेला बत्ति गएको निहुँ पारी मज्जाले भुस्स सुतिन्थ्यो, भोलीपल्ट परीक्षामा लेख्न नसक्दा पो बिजुलीलाई सत्तोसराप गरिन्थ्यो । नेपालीहरु त्यसै त लोसे छ, त्यसमाथि झन् सत्र पल्ट्याछ नेपालीहरुलाई लोडसेडिङ्गले अर्थात् लोसेले ।
अँध्यारो, निष्पट अँध्यारो । श्रृजना, सीप, उद्यमशीलता, पढाई, लेखाई, उत्पादन सब ठप्प । बिहान बेलुका हात पोको पा¥यो, लोसेलाई गाली ग¥यो, बस्यो लोसे बन्यो । बेलुका पनि खाना खायो, सुत्यो, छामछाम छुमछुम ग¥यो । मैनको भर छैन, मट्टितेल (जनताको तेल) त छोइ नसक्नु महँगो, इन्भर्टर किन्ने सबैको ह्याउ पनि हुँदैन अनि के गरोस् त ? मनोरञ्जनको नाममा केही छैन । सुन्दैछु क्युरेट गर्ने, बच्चा पाउनेहरुको संख्या ह्वात्तै बढ्या छ रे । कारण तपाईंलाई नै थाहा होला नि ।
मध्य मस्र्याङदीको उद्घाटन पछि यति प्रतिशतले लोसे घट्ने रे, कोशीले बगाएको पोलको पुननिर्माण पछि उति प्रतिशतले लोसे घट्ने रे । रत्नपार्कमा बसेका ज्योतिषीहरु भन्दा गए गुज्रेका छन् विद्युत प्राधिकरणका कर्मचारी देखि जलश्रोत हैन हैन लोसे मन्त्रालयका मन्त्री । ऐ स्वाँठ हो, सक्छौ भने गरोस् चौबिसै घण्टा लोडसेडिङ्ग ।