17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार मोमिलासँग साहित्यिक कुराकानी

वार्ता कृष्ण बजगाईं January 10, 2010, 7:23 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

वि.सं. २०२४ सालमा धनकुटामा जन्मनुभएकी युवा पुस्ताकी सक्रिय र चर्चित नारी साहित्यकार मोमीला जोशी परिचित नाम हो । उहाँले प्रज्ञापदक २०५५, शताब्दी युवा सम्मान २०५७, युवा वर्ष मोती पुरस्कार २०६३, देवकोटा शताब्दी काव्य पुरस्कार २०६६ लगायत थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ । पैयुँ फुल्न थालेपछि (कवितासङ्ग्रह), २०५२,नीलो–नीलो आकाश र दुई थोपा आँसु (निबन्ध–कवितासङ्ग्रह), २०५२, सहलेखन, जूनकीरीहरू ओर्लिरहेछन् (कवितासङ्ग्रह), २०५५, दुर्गम उचाइमा फूलको आँधी (कवितासङ्ग्रह), २०६०, ईश्वरको अदालतमा आउटसाइडरको बयान (निबन्धसङ्ग्रह), २०६३ प्रकाशित उहाँका प्रकाशित कृतिहरु हुन् । हाल कलाश्री साहित्य वार्षिकी, नोबेल साहित्य वार्षिकी, www.nepalikalasahitya.com(विशुद्ध साहित्यिक वेब पत्रिका) सम्पादन गरिरहनु भएको छ । "सगरमाथाको नृत्यमग्न आत्मा" (प्रतिनिधि आधुनिक नेपाली कविता) उहाँको सम्पादनमा प्रकाशित भएको पछिल्लो कविता संग्रह हो । प्राध्यापन पेशामा संलग्न रहेर पनि थुप्रै साहित्यिक तथा सामाजिक संघसंस्थामा उहाँको सक्रियता देख्न सकिन्छ । उहाँसँग समकालीन डट कमका लागि सम्पादक कृष्ण बजगाईले गर्नु भएको कुराकानी ।

१.तपाईको सम्पादनमा पछिल्लोपटक प्रकाशित भएको “सगरमाथाको नृत्यमग्न आत्मा” कविहरूका कविता संग्रहले निकै चर्चा बटुल्यो । नेपाली कविता भण्डारमा यो कोसे ढुङ्गा हो । त्यसमा तपाईँले गर्न नसक्नुभएको, नभ्याउनुभएको वा छुटेको केही छ कि ?

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा प्रकाशित “सगरमाथाको नृत्यमग्न आत्मा” नामक स्रष्टा र सृष्टि उपनाम भएको गोपालप्रसाद रिमालदेखि श्रवण मुकारुङ्सम्मका १३५ जनाका ३०६ ओटा कविताहरू सङ्कलित प्रतिनिधि आधुनिक नेपाली कविताग्रन्थले कोसे ढुङ्गाको उपमासहित निकै चर्चा बटुल्यो । यद्यपि सम्पूर्णता कहीँ पनि प्राप्त गर्न नसकिँदो रहेछ । यथार्थतः जति नै हिँडे पनि कहीँ पुगेजस्तो नलाग्नु, अनुभूतिको विस्तारमा अन्तिम सिमाना कोर्न नसक्नुजस्ता यथार्थहरू नै कहीँ पनि सम्पूर्णता प्राप्त गर्न नसकिने सत्यका बहुरङ्गी प्रकाशन हुन् । यसैले यो कृति पूर्ण छ म भन्न सक्दिनँ । केही छुटेको हुन सक्छ, केही नभ्याएको हुन सक्छ । फेरि म जे बुझ्छु, अर्काले त्यही नबुझ्न सक्छ; मलाई जुन कुरा सुन्दर लाग्छ, अर्कालाई सुन्दर नलाग्न सक्छ । त्यतिमात्र होइन आज हराएको मेरो प्रिय बस्तु भोलि बिहान भेट्दा मेरै प्रियताको रङ्ग बदलिसकेको हुन सक्छ । अर्थात् जे नै गरे पनि, जसो नै गरे पनि, जति नै गरे पनि प्रश्नहरू त बाँकी नै रहन्छन्; र... त सभ्यता गतिशील बगिरहन्छ । यसर्थ म कृतिगत सम्पूर्णताको दाबी गर्न चाहन्नँ तर अधूरोपन कोट्याएर राष्ट्रका लागि त्यसको समष्टिगत उपलब्धिलाई धमिल्याउन पनि चाहन्नँ किनकि यसकार्यसँग सम्बद्ध सबैजनाले यथासम्भव त्रुटिहीन बनाउने प्रयास गरेका छौँ । बरु, हर आगामी क्रियाशीलतामा अझ सम्पूर्णताको प्रयास जारी रहनेछ ।

२. तपाईँ साहित्यका धेरै विधालगायत अन्य क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । आफूलाई के भनेर चिनाउन चाहनुहुन्छ ?

वास्तवमा जीवनको रङ्गमञ्चमा जस्तोसुकै भूमिका होस्, यदि इमान्दारिताका साथ आफ्नो भूमिका निर्वाह गरिन्छ भने अन्जानमै सम्बद्ध अभिनेताले सगर्व विधिको दस्तुर तिरिरहेको हुन्छ । यसर्थ मभित्रको ईश्वरको अदालतमा उभिएर भन्नुपर्दा जम्मामा म कलासाधक, कलापारखी, कलाप्रेमी र कलासेवी भनेर चिनाउन चाहन्छु ।

३. तपाईँका कुनै कृति वा तपाईँ आफैले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?

मेरो ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ निबन्ध सङ्ग्रहका लागि सम्पदा राष्ट्रिय अवार्ड प्राप्त भएको छ भने अन्य सात ओटा साहित्यिक पुरस्कारहरू पनि प्राप्त भएका छन् ।

४. एउटा साहित्य सिर्जना गर्न सजिलो कि सम्पादन ?

चाहे सिर्जना होस् चाहे सम्पादन होस् विशिष्ट गुणस्तरको कार्य गर्ने हो भने दुवै सजिलो छैन । दुवैका लागि साधनाले विशेष ओज प्रदान गर्न सक्छ भन्ने कुरामा म विश्वस्त छु ।

५. तपाईं साहित्य सिर्जना गर्दा सन्तुष्ट हुनुहुन्छ कि सम्पादनमा ? किन ?

आजसम्मको सिर्जना र सम्पादन दुवैमा मेरो सन्तुष्टिको पूर्णविराम लागेको छैन । सायद, यसभन्दा पर मैले अझ उत्कृष्ट सिर्जना र सम्पादन गर्नु छ ... ।

६. तपाईँ नेपाली कला साहित्य डट कमको सम्पादक हुनुहुन्छ । यसले समेट्ने विषयहरू के के हुन् ?

www.nepalikalasahitya.com(www.nepaliartnliterature.com) मा समेट्न खोजिएको मुख्य विषयहरू साहित्य, सङ्गीत र चित्रकला हुन्, तर हाल साहित्य, चित्रकला र फोटोकला समेटिएका छन् ।

७. किन तपाईँले वेब पत्रिकाको सुरुवात गर्नु भएको हो ?

नेपाली साहित्यलाई विश्वसाहित्यमा प्रवेश गराउने धावनमार्गको खोजी गर्दै नेपाली र अङ्ग्रेजी दुवै भर्सनमा संसारका कुनै पनि कुनामा बसेर पढ्न सकिने, सुन्न सकिने, हेर्न सकिने वेब–पत्रिका सुरुवात गरिएको हो ।

८. साइवर साहित्य भनेको के हो ?

जुनसुकै भूगोलमा बसेर पनि अत्याधुनिक सूचनाप्रविधिको सञ्जाल इन्टरनेटमा पढ्न सकिने, विचरण गर्न सकिने साहित्य नै साइबर साहित्य हो ।

९. साइवर साहित्य र मुद्रण साहित्यको स्वादमा के फरक हुन्छ ?

साइबरसाहित्य र मुद्रणसाहित्यको स्वादमा जरुर फरक छ । उद्देश्य दुवैको आनन्द भए पनि माध्यम फरक भएकाले यसको सुल–तालमा नै फरक छ भन्नुपर्ला !

१०. नेपाली साहित्यलाई साइवर साहित्यमा कसरी उपस्थित गराउनुपर्ला ?

नेपाली साहित्यलाई साइबर साहित्यमा उत्कृष्टताका आधारमा उपस्थित गराउन सके बढी फलदायी हुने थियो कि !

११. अझ पनि नेपाली साहित्यमा मात्र होइन साइबर साहित्यमा नारी हस्ताक्षरको उपस्थिति एकदमै कमजोर छ । पुरुष समकक्षीसम्म पुग्न केले बाधा गरेको छ ?

मेरा विचारमा चाहे साइबरमा होस् चाहे मुद्रणमा होस् नारी हस्ताक्षरको उपस्थिति कमजोर भन्नुभन्दा पनि न्यून छ भन्नुपर्ला । फेरि पुरुष समकक्षी सङ्ख्यामा पुग्नुलाई म त्यति महत्त्व दिन चाहन्नँ, तर स्तरीयतामा अर्थात् विशिष्टतामा हेर्ने हो भने नारीलेखन पुरुष समकक्षी छैन भन्न मलाई कदापि मञ्जुर छैन । यसैले बाधाको के कुरा भो र ! जब कि राष्ट्रकवि माधव घिमिरेले भन्नुभएको छ—

ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल

सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल

१२. उनीहरूलाई तपाईँको कुनै सुझाव छ कि ?

यदि दुःखहरू नै बाधक बन्छन् भने दुःखलाई नै प्रेम गरौँ अर्थात् दुःखदेखि भागेर दुःखबाट मुक्ति मिल्दैन । यसैले भागेर होइन दुःख छिचोलेर नै दुःखबाट मुक्ति मिल्दछ र सफलताको शिखर चुम्न सकिन्छ । म यही आग्रह गर्न चाहन्छु, तर सुझाव होइन ।

१३. नारीवादी साहित्य भनेको के हो ?

संसारमा रहेका मान्छेको प्रमुख दुई ओटा जात नारी र पुरुषमध्ये नारी जातिको स्वाभिमान, आदर्श, पीडा, त्याग, समर्पण आदिलाई सजातीय अनुभूतिका आधारमा आस्तित्विक रङ्गलाई महत्त्व दिएर सिर्जना गरिएका साहित्य नै मेरो विचारमा नारीवादी साहित्य हो ।

१४. नेपालमा नारीवादी साहित्यिक आन्दोलनको आवश्यकता कत्तिको देख्नुभएको छ ? किन ?

नेपालमा आन्दोलनभन्दा पनि नारीवादलाई गम्भीर ढङ्गले बुझेर नारीवादको सही व्याख्या गर्नु या व्याख्या हुनु जरुरी देखिएको छ । किनकि गलत बुझाइबाट समाजको आधा हिस्सा नारीप्रति नै गलत धारणा र गलत परिणामको सञ्चारण हुन सक्छ ।

१५. भविष्यको कुनै विशेष लक्ष्य ?

आफैसँग आफ्नो अस्तित्वको प्रश्न र खोजी ।

१६. नेपाली कविताविधाका वर्तमान प्रवृत्ति र आयामहरूबारे केही बताइदिनुहुन्छ कि ?

नेपाली कविताविधाको प्रवृत्ति सरलता र गहनतातर्फ उन्मुख रहेको पाउँछौ तर कतै दुई नेपालीको मृत्यु हुन्छ त कतै हामी निर्धक्क दुइटा माला लगाइरहेको हुन्छौँ । वरिष्ठ कवि ईश्वर वल्लभले भन्नुभए जस्तै यसरी हामी मानौँ आफ्नै मृत्यु उत्सव मनाइरहेछौँ । यस्तो परिवेशमा विसङ्गतिको चरम उत्कर्षमा नेपाली कविताको आयाम जीवनको गहिराइ खोज्दै, पीडाको सामान्यीकरण गर्दै पीडाकै विविध वान्कीहरूमा विसंरचित हुँदै गइरहेछ ।

१७. तपाईँ आफ्ना कविताहरूमा एवं निबन्धहरूमा वैचारिक आग्रह लेख्नुहुन्छ या अनुभूतिको सम्प्रेषणमात्र गर्नुहुन्छ ?

पारिजातले भन्नुभएको छ— साहित्यमा विचार मात्र भएर हुँदैन, कला पनि चाहिन्छ र कला मात्र भएर हुँदैन, विचार पनि चाहिन्छ । यसर्थमा अनुभूतिको सम्प्रेषण भनेको संचेतनाको प्रथम तह हो, जसबाट केही पर विचार छ, अझ पर चिन्तन छ र त्यसपछि दर्शन रहेको छ । जो साहित्यमा निश्चित धर्मका साथ संरचित भएर आउँछ यद्यपि त्यहाँ कला पहिलो शर्त हुनुपर्छ अर्थात् अनुभूतिका नाममा पागलप्रलाप होइन र त्यसभन्दा माथिको सम्प्रेषण सन्देशका रूपमा होइन । लाग्छ, चेतनाले भ्याएसम्म म आफ्नो लेखनमा आफ्नो मान्यताप्रति इमान्दार छु ।

१८. तपाईँले चित्रकलामा आधारित कविताहरू पनि सिर्जना गर्नुभएको छ । चित्रकला र काव्यकलामा के समानता पाउनुहुन्छ ?

शब्दहोस्, रङ्ग होस्, धुन होस् या कुनै भङ्गिमा होस्, जुनै रूपमा अभिव्यक्त भए पनि त्यहाँ आधारभूत मानवीय संवेदना जीवित रहन्छ अर्थात् कुनै पनि कला मान्छेको गहनतम अन्तर्चेतनाको मुलभूत ढाँचामा संरचित हुन्छ । यसैले कुनै पनि कलाकृति निश्चित सीमा र समयबद्ध छैन र जुनसुकै समयमा पनि त्यत्तिकै सान्दर्भिक र प्रासङ्गिक बन्छ । जम्मामा रङ्गधर्मी चित्रकला या अन्य कला र शब्दको जादुगरी उन्मादमय काव्यकलाबीच मुलभूत अन्तर भन्नु नै माध्यम वा साधन र समानता भन्नु नै साध्य र मूलभूत संवेदना हो ।

१९. समाज अहिले सङ्क्रमणकालीन विसङ्गतिहरूले पीडित छ, आफ्नो लेखनबाट समाधान खोज्ने सोचमा हुनुहुन्छ कि !

हो, समाज अहिले सङ्क्रमणकालीन विसङ्गतिहरूले पीडित छ र म यो समाजमा लेखकीय अभिनेता बनेको छु, जुन भूमिकामा म इमान्दार छु । निश्चय नै मेरा लेखनहरू त्यस्ता विसङ्गतिहरूका सूचक हुन् तर समाधान होइनन् । किनकि सिर्जना तिर्खा हो, प्यास हो तर पानी होइन । यद्यपि प्यासको बोध गराउनु र पानीको आवश्यकता महसुस गराउनु पनि ठूलो प्राप्ति हो । यसर्थमा कि राजनीतिले शब्द र बोली परिवर्तन गर्न सक्छ तर साहित्यले मान्छेको हृदय नै परिवर्तन गरिदिन सक्छ । मेरो लेखकीय सोच यसै सत्यमा केन्द्रित छ ।

२०. तपाईंको पछिल्लो सिर्जना ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ बारे भन्नुपर्दा ?

ईश्वरको अदालतको कठघरामा उभ्याइएको आउटसाइडर मेरो उत्कर्ष प्रिय पात्र; जो आफूभित्रका सारा वजनहरूलाई जलाउन चाहन्छ, आफूलाई आफूभित्रै रित्याउन चाहन्छ, ता कि रित्तिएको देह मृत्युलाई सहर्ष अर्पण गर्न सकियोस्, मृत्युको अफसोसलाई सहज वरण गर्न सकियोस् र मृत्युपछि चिता जल्नुमा आफैबाट कुनै प्रतिवाद नहोस्; जहाँ जलाउनका लागि कुनै बोझ चितालाई बाँकी नरहोस् । आज म पनि उनै आउटसाइडरमा अनूदित भएर सम्पूर्णतः रित्तिन चाहन्छु । क्रमशः सम्पूर्ण रित्तिएर आफूभित्र यस्तो महाशून्य सिर्जना गर्छु; जतिखेर मलाई मृत्युपछिको शून्य सम्झेर कहाली लाग्नेछैन; जतिखेर कलामा सम्पूर्णतः रित्तिइसकेर संसारकै सबैभन्दा हलुका वस्तु हुनेछु र ब्रह्माण्डको अनन्त यात्रामा उड्नेछु । अन्ततः जिन्दगीको यही उपसंहारमा या यही मोक्षयात्रामा समाधिस्थ हुनेछु ।

हुन सक्छ, यहाँ बाँच्नु नियमबद्ध छैन किनकि प्रकृतिको÷अस्तित्वको कुनै लिखित संविधान छैन । जिन्दगी बडो तान्त्रिक छ, सुरुचिपूर्ण छ । कुनै पनि ग्रन्थहरूमा नभेटिइने रहस्यजस्तो यो जादुमय छ । यसैले त कसैको श्राप सुनेर झन जिन्दगी जिउने रहर जाग्दछ । उनलाईजस्तै मलाई पनि जिन्दगीको यही बहुलट्टीपन मन पर्छ । यसको रूप, रङ्ग, गीत, सङ्गीत, भाव, भङ्गिमा, चित्रकारिता, नृत्य, अहम्, हठ मन पर्छ ! हो, मलाई फूल मन पर्छ, फूलभन्दा कता–कता भूल मन परिदिन्छ । यसैले कि भूलको बोधपश्चात् नै आगामी फूलको जिन्दगी नृत्यमग्न र सुरक्षित रहन सक्छ । मलाई जिन्दगीको मौनता सबैभन्दा मन पर्छ । यसैले म मेरै मौन जिन्दगीको खुला लुटेरा हुँ । भ्यानगगको मौन चित्र अनि मौन चिहानशाला मन पराउने नजरमा म पनि एक आउटसाइडर हुँ ।

यसरी पितृसत्ताको सामाजिक नजरमा छोरीमान्छे भएर मजस्तै जिन्दगीलाई गजबसित, मस्तसित हाँसेरै उत्सवमय बनाई बाँचेकोमा आउटसाइडरलाई अपराधीका रूपमा ईश्वरको अदालतको कठघरामा उभ्याइएको न हो ! तर, केही छैन उनीमाथि अर्थात् ममाथि लगाइएको यी र यस्ता गजबका रोचक अपराधका आरोपहरू सहर्ष स्वीकृत छन्; सारा बकम्फुसे आरोपहरू बेहिसाव स्वीकृत छन् । सबैलाई अवगत भएकै कुरा हो; यस जगत्मा सम्पूर्ण कुराहरू नाशवान् छन् । सम्पूर्ण कुराहरू आफैमा पूर्ण छैनन्; सब सापेक्षिक छन् । सम्पूर्ण पदार्थ, सम्बन्ध, आवेग, ज्ञान, समय, सत्य क्षणिक छन् । यौवन, अहङ्कार, धन, प्रतिष्ठा सबै अस्थायी अतिथि हुन् । यसैले म परम्परागत पात्रजस्तो आदर्श, सिद्धान्त, विचार, मान्यता, पद इत्यादिलाई च्यापेर स्थिर हुन चाहन्नँ । बगिरहेको पहाडी नदीजस्तो छङछङी रोमाञ्चकारी यात्रामा हिँड्न चाहन्छु र हिँडिरहेछु; आफ्नै गतिमा सङ्गीतमय बग्न चाहन्छु र बगिरहेछु । यावत् दर्शनशास्त्र, नीतिशास्त्र, मान्यता, परम्परा, आदर्श इत्यादिहरू च्यापेर पन्छिएको एकोहोरो किनाराजस्तो त्यसको अनुयायी होइन, फलोअर (follower) होइन बरु आफ्नै मोसन र सदाबहार गतिमा फ्लो(flow) हुन चाहन्छु ।

यसरी ठोक्करबाट निस्केको सङ्गीतमय निष्कर्षजस्तो जीवनका दुःख, पीडा, यातनाहरू र विशृङ्खलताहरूद्वारा सारगर्भित म यस्तै कवितात्मक जीवनको प्रमोच्चारणमा झङ्कृत हृदयवादनसँगै पुलकित छु; सायद, मोक्षयात्रामा छु ...!!

२१. अन्त्यमा, समकालीन साहित्य डट कम मार्फत् विश्वभर रहेका नेपाली साहित्यका पाठकहरूलाई केही भन्नु छ कि ?

म आफ्नो लेखकीय अस्तित्वमा तपाईँहरूमाझ दयाको होइन मायाको पात्र बन्न चाहन्छु । सम्भव भएसम्म सच्चा श्रद्धाको आँखा लगाएर मलाई पङ्क्तिका बीच–बीचमा पनि पढिदिनुहुनेछ । सदा मेरै सच्चा भावकबीच मेरा संवेदनाहरू जीवित रहनेछन् । र अन्त्यमा मेरा लागि अवसर बनेको समकालीन साहित्य डट कम अझ बढी मौलाउँदै जाऊन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।