19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हलीदाइ र खेत

कविता मनोज बोगटी January 10, 2010, 6:09 pm

बिहानको पहेंलो भजन जस्तो

घामकिरणले टल्केको तरूणी खेतको जीउको पसीना

अनि त्यहॉंबाट धुवॉंजस्तो उड़ेको त्यसको कुमारीगन्ध

कुन्नि कसरी थाह पाउँछ हलीदाइले।

दिनभर हलगोरूको पुरूषसित खेलेर थाकेको खेतले पनि

कुन्नि कसरी थाह पाउँछे

हलीदाइको निधारमा भिजेको कोमल सपनाको स्वर्गसुगन्ध।

खेतको अनुहार

पहिलोपल्ट गर्भ बोकेकी दुलही जस्तो सिनित्त छ।

हेर्दै जानू

केही दिनपछि

खेतलाई टेकेर कसरी उभिनेछन्

‌दुइपाते अक्षरहरूले।

त्यसपछि पढ़्‌नू फेरि

खेतको नयॉं शास्त्र।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।