निस्पट्ट अन्धकार छ । पुर्णिमाको रात हो तर मडारिंदो बादलको अगाडि चन्द्रमाको केही चलेन । ल्याम्प पोष्ट पनि मधुरा छन् । बाटाहरु धुमिल भएका छन् ।
बिस्मात ! आधारातलाई पनि आँधिबेहरीले भाँजो हालेको छ । अन्तर्द्वन्द चलेको हिजो साँझदेखि नै । कसैगरी छोड्नु छ उसले ओछ्यान । जीवनसाथी सपना देखिरहेछ सधैं झै ।
लोग्नेको भारी हात पन्छाउँदै उठ्छे ।
निर्दयि प्रकृति ! “कस्तो हुरी चलेको ! खालबाट रित्तिएर निस्किएको जुवाडेको पर्याय हुनुपर्छ ”– मनमनै भन्छे । त्यसपछि सरलाले भ्यालबाहिर चिहाई । मुसलधारे पानी पर्छ जस्तो छ आकाश हेर्दा । खडेरी परेर केहीमा प्राण छैन । जीवन चाहिएको छ सबलाई ।
क्षण–क्षणमा यस घरमा आफ्नो औचित्य छैन भन्ने नलागेको होईन । बाध्य छ । मुलगेट नै नखुलेपछि के गरोस् ? ऊ यहाँ छे तर अरुका लागि । उतार–चढाव धेरै भए । बेला–बेलामा खण्डहर जीवनको अनुभूति नभएको पनि होईन । परिवर्तनको पर्खाई थियो उसलाई । तर परिवर्तन भएन केही । आत्मासम्मानलाई मण्डीवाला भाउ दियो त्यस लोग्ने मान्छेले । आफ्नो भने हिरामोतिको भाउ तोक्यो जुन कहिल्यै घटेन । दिनानुदिन बढिरह्यो ।
दैनिकी छ उसको – चिया उमाल्नु । मिनेटको फरक नपारी डाईनिङ्ग टेवल ब्यञ्जनाले भर्नु । पाईन्टको धार लाग्ने खुकुरी बराबर पार्नु । दाह्री काट्ने रेजरदेखि मोजासम्म हत्केलामा थमाईदिनु । उसका आफन्त–ईष्टमित्रसँगको सम्बन्ध दुरुस्त राख्नु । साथसाथै जागिरे दैनिकीलाई पुरा गर्नु । तर पनि त्यो लोग्नेमान्छेले असन्तुष्टि दर्शाउन आजसम्म छोडेको छैन । मानौ उसले जीन्दगी यसरी नै टुङ्घयाउने सम्झौतापत्रमा हस्ताक्षर गरेकी छे ।
आँधी रोकिने छाँट छैन । बढ्दो छ । घण्टाघरले मध्यरातको घण्टी बजाई सक्यो । हतारिन्छे ऊ । उता आकाशमा गड्याङ्गगुडुङ्ग शुरु भो । बिजुली चम्कियो । मुलगेटको ढोका खोल्न सक्ने अवस्था झट्टै छैन ।
“हरे ! यो घरको अधिनायक ब्युँझियो भने ......?” अदृष्य अल्पबिराम खोज्दैछे ऊ । त्यसैले भयभित हुनुपरिरहेछ । डरैडरमा बाँच्न बाध्य भएको अनुभूति भएकै हो सधै पनि । एक्ली छ र एक्लो छ परिवेश । साथीसङ्गी को कहाँ गए के थाहा उसलाई । मन साट्न पाउँदिन । भेटिएका केही पनि लोग्नेको बिश्लेषणमा अपाच्य भए । छोडिदिई उसले सब ।
तर एकाएक मनले उसलाई घच्घच्यायो । धुमिल दृष्यले केही भनेर गयो । मस्तिष्कका रेशारेशामा त्यही आवाजको अनुगुञ्जन छ । अन्त्य खोज्नु छ त्यसको ।
पानी दर्किन शुरु भो । मुसलधारे । क्षणमै भिजेर निथ्रुक्क भैसकी ऊ । पछाडिबाट ठुलै आवाज आयो । पक्कै बडेमानको बस्तु फुटेको हुनु पर्छ । यता बेस्सरी अठ्याएर राखे जस्तो भैराखेको छ गेटको फलामे साङ्गलो । जति हतारिए पनि जति बल गरे पनि खोलिदैन । कसरी निस्कनु उसले ?
“कोठाको भ्याल फुटेर बर्बाद छ भित्र यहाँ भने मुलगेटमा के को धन्दा हो ?” लोग्ने रिसाउँदै निस्कियो ।
“सत्यानाश होस् ।” सरला आत्तिन्छे ।
“निन्द्रा सब चौपट भो । ख्याल गर्नु पर्छ नि कहाँ के भैराखेको छ ।” ऊ बर्बराउँछ ।
“हैन कत्तिबेर लगाई राखेको ?” भन्ने बित्तिकै हुनुपर्ने आदत लागेको छ त्यसलाई ।
तर ऊ पुन पछाडी फर्किन चाहन्न । दृढता हो । निस्किसकेकी छ ऊ ।
निन्द्रा र ब्युँझाईको यार्सागुम्मा भएर त्यो नजिकै आईपुगेको छ । सरलालाई थाहा छ ।
“शिशा छरिएर ओछ्यानभरि छ । फटाफट हटाईदेउ ।” आदेश दिन्छ र भित्रिन्छ ।
आदेश मान्न मन छैन । घृणा लाग्छ । जीवनसाथी हो तर मात्र आदेश दिन्छ । त्यसैले त उसलाई न जीवन छ न त साथी नै । सुझाव दिदैन, धम्की दिन्छ । गल्ति त त्यो पण्डितको हो । बाबुआमालाई घण्टौ पानी खन्याउन लगायो मन्त्र पढिपढी । दान गरेको भन्ने स्पष्ट पारिदियो । किन नदियोस् त आदेश ! दानमा पाएको बस्तु मेहनतले कमाएको ऐश्र्वय जस्तो कहाँ हुन्छ ?
कसलाई थाहा ? संझौता थियो त्यो उसको । आमाबाबुको संस्कारसँग मानसिकतासँग अनि समाजको ढोगी संयन्त्रसँग । के खराबि थियो उसको राोजाईमा ? केही थिएन । मानेनन् स्वीकार्न कसैले । झोली भिरेर आयो अरे । झोले देशका मान्छेले झेला नभिरेर के भिर्ने त ? फर्काईदिए । त्यो फर्कियो लाचार बनेर । उसले केवल हेरिरही । पीडा छ आजसम्म । आफूले नरोजेको मान्छे । कस्तो–कस्तो हीनताबोध हुदाहुदै जिम्मा लगाएर पठाए । एक पटक सोध्दासम्म सोधेनन् । म्यारिनियोटलाई जस्तो ओल्टाई–पल्टाई सिंङ्गारे अनि थुमथुम्याउँदै पठाए । बैरी परेछ यो विद्वान ! परिस्थिति स्वीकार्न कहिल्यै सिकाएन । स्नेह,कोमलता र शहनशिलता केही सिकाएन । कसरी सक्नु बिर्सन ? त्यो त शान्त थियो बढेमानको बुद्ध जस्तो ।
“आधा रातसम्म बाहिरै बस्नु पर्ने कारण ?” पुनः बाहिरिन्छ र जवाफ तेस्र्याउँछ ।
जीन्दगीसँग हरेक प्रश्नको जवाफ हुदैन । कैयौ प्रश्नहरु नाजवाफ हुन्छन् । कैयौ प्रश्नका जवाफ भावनामा खोज्नु पर्ने हुन्छ । तर त्यो भाव जान्दैन या जानाजान हरेक प्रश्नको मौखिक जवाफ चाहन्छ ? सरलालाई थाहा छैन ।
“कारण, म गणतन्त्रको खुशीयाली मनाउने तरखरमा छु ।” बेतुकको जवाफ दिन्छे । हो नि त ! मुलुकमा गणतन्त्र भर्खरै आएको छ । खुशीयाली ढिलोचाँडो सबैले मनाउन पाउँछन् । यसमा अस्वभाविक के छ त ? ऊ पनि आफ्नै पाराले गणतन्त्रको खुशीयाली मनाउँदै छ ।
त्यो हाँस्छ बेसुरले लामो गरेर । उदण्ड हाँसो, उपहासको हाँसो ।
“गणतन्त्र पुरानो भैसक्यो । यो कस्तो बासी खुशीयाली ? मेरी श्रीमती .....गणतन्त्र......खुशीयाली .. ! हा..हा... त्यो हाँसिरहन्छ ।
“राष्ट्रपति ! प्रथम महिला राष्ट्रपति ! सपना बन्नु रातभर । छिटो सुत्ने अनि भावी राष्ट्रपतिको सपना देख्ने ।” व्यङ्गय गर्छ ।
“ढोंगी घटिया हाँसो हाँस्छ म माथि । दाम्लोले बाँधेको पशु संझदो हो ।” क्रुद्ध हुन्छे ऊ ।
‘यो राष्ट्रपतिको अर्थ परिवर्तन हो । अझ यो त पहिलो र ऐतिहासिक राष्ट्रपति ! यसले जागरण र स्वतन्त्रतालाई जनताबीच उजागर गरेको छ । बुभ्नु सक्नुपर्छ परिवर्तन । मुलुकले अधिनायकवादबाट छुटकारा पायो । घर–घरभित्रको अधिनायकवाद किन ? समानतामा झर्नुपर्छ यो अधिनायकत्वले पनि ।’ मनोवाद गर्छे सरला ।
पानी रोकिएको छैन । बादल मडारिदो छ । निष्पट्ट अँध्यारो छ । बिजुली चम्कन्छ उसै गरी घरिघरी ।
“साँच्चै प्रथम महिला राष्ट्रपति भए तिमी भने के गर्छौ ?” सरला त्यसलाई प्रश्न गर्छे ।
ठिङ्ग उभिएको छ सामुन्ने । अन्धकारमा हेर्दा बुख्याँचा जस्तै देखिएको छ त्यो । डरलाग्दो ! भागिहालौ जस्तो लाग्छ सरलालाई ।
“यो मध्यरातमा बेतुकका तर्क गर्ने फुर्सद छैन मेरो । ऊ अनि प्रथम महिला राष्ट्रपति .......” फेरी बेजोडको हाँसो हास्छ त्यो ।
“कुनैपनि परिवर्तनको शंखनाद यस्तै मध्यरातमा, अन्धकारमा, कुनाकाप्चाबाट,अफ्ठ्याराहरुबाट नै हुने गर्छ ।” ऊ तर्क अघि सार्छे ।
“राष्ट्रपति हुनेले नेतृत्व गर्न सक्नु पर्छ । त्याग गर्नु पर्यो , बाधा–बन्धन तोड्नु पर्यो, जेलनेल थेग्न सक्नु पर्यो । अझ मुख्य त असमानताको पर्खाल भत्काएर सम्याउने हिम्मत गर्नु पर्यो ।” मजाकमा ब्याख्या गर्छ त्यसले ।
“ठीक भन्यौ । मध्यरातमै भएपनि तिमीले पहिलो पटक केही त ठीक भन्यौ । बास्तवमै, त्याग गर्नु पर्छ । असमानता भत्काएर सम्याउन सक्नु पर्छ । ठीक भन्यौ ।” आवेगमा बोल्छे ऊ ।
भिक्षुणी बन्न निस्किएकी । अचानक आदेश, प्रश्न, राष्ट्रपति, जवाफ, आँधीबेहरीको जमघट । अपत्यारिलो संगम । क्षीण भएको विश्वास, आँट, आत्मविश्वासको प्रत्यारोपण । घात गरेर संझिरहेकी थिई त्यसैलाई । त्यो बढेमानको बुद्धलाई । घिनलाग्दैथियो आफ्नै आकृति एकैछिन अघिसम्म । मिराकल भैरहेछ खुलेआम आँखा अगाडी । ह्यारीपोर्टरको जादुको छडी पर्दामा चाख मानिमानि हेरेको हिजै त हो । यहाँ पनि जादु भैरहेछ । कही यतै कतै ह्यारीपोर्टर छडी घुमाउँदैछ ।
सरला आँखा फर्काउँछे । त्यो ठिङ्ग खडा छ । दरबारको ढोको जस्तो ।
“राष्ट्रपति हुने पहिलो कदम म यहींबाट शुरु गर्दैछु । तिम्रो सामुन्नेबाट । यही मध्यरातमा यो मुलगेट खोलेर म निस्कदैछु । आन्दोलन गर्नु छ । हर दैलोबाट एक–एक कार्यकर्ता निकाल्नु छ । धुरीहरुमा आगो बालेर सडक तताउनु छ । विद्रोह मध्यरातमै हुन्छ । हर गल्ली–गल्लीहरुमा विद्रोह भैरहेको हुनुपर्छ । पक्कै पनि ।” ऊ केही बोलेर मुलगेटतिर हानिन्छे ।
त्यसले हस्पिटलको इमर्जेन्सीलाई फोन घुमाउँछ– ‘मानसिक समस्या आउट अफ कन्ट्रोल......।’
सुनसान छन् गल्लिहरु । विद्रोह टरिसक्यो वा विद्रोहलाई दबाईयो ? या कफर््यु जारी गरियो ? यसै भन्न सक्ने स्थिति छैन । एकोहोरो भुस्याहा कुकुरहरु भुकिराखेका छन् । चिसो पस्छ मनमा ।
“ए सेठकी छोरी ! तेरो बाउ कति पानी माथि छ मलाई थाहा छ । तेरो नपुंसक बिद्या भोलि बिहान तेरै बिद्यार्थीलाई सुनाउनु ।” लरबराएको आवाज छ त्यसको । पिएको हँुदो हो । जवाफमा सँुक्क–सँुक्क मात्र सुनिन्छ ।
अर्को एक विद्रोहको विजारोपण हो यो । एक, दुई, तीन दिनमै नभएपनि तीनसय पैसठी दिनभित्रमा कसैगरी छेडिने विद्रोह हो यो । किनकी लोग्ने मान्छेमा एक, दुईले मात्र आत्माआलोचना गर्न सिकेको हुन्छ ।
ऊ पाईला सारिरहेकी छ । बुद्धलाई भेट्नु छ उसले । उसको बुद्ध । कतै एकान्तमा आलङ्कारीक भैरहेको हुँदो हो । सधै सभ्य र आलङ्कारीक कुरा गथ्र्यो ।
छेउबाट किचौला जस्तो गरी गाडी हुँईकिन्छ र सडक किनारामा रोकिन्छ । नारी आकृति उत्रिन्छे । पुरुष जस्तो लाग्ने आकृति गाडीभित्रैबाट वकालत गरिरहेको देखिन्छ ।
“पाएको वस्तु प्रयोग गरेको हो मैले । घरमा स्वास्नी छ । छोराछोरी छन् । जति भेटिए त्यत्तिलाई भित्रयाउन सक्ने न घर छ मेरो न त देशको कानून । एक बर्षको सम्बन्ध कम रोमान्चक रहेन । धन्यवाद ! बाटोमा अर्को राजकुमार पक्कै भेटिनेछ ।” एकै सासमा वाक्यांश बोल्छ र फरार हुन्छ दोषी ।
यौवना एकोहोरिन्छे सडक मध्यको शालीक भएर ।
“मुर्ख ! एकैचोटी दुई–दुई विद्रोहको बिज रोपेर गयो ।” सरलालाई विद्रोहै–विद्रोहको झुण्ड चाहिएको छ । यो सब सकारात्मक छ । नेतृत्व चाहिएको छ यी सबलाई । अदृष्य ढाडस दिने शक्ति चाहिएको छ ।
यी गल्लीहरु सधै उसले बिहानीमा मात्रै हिडेकी । थाहा थिएन रातमा कस्तो बाँच्छ भनेर । निरस–निरस लाग्थे बिहानहरु । थकानले सुस्ताए जस्ता मलीन–मलीन नारी अनुहारहरु । फुङ्ग उडेका पहिरहन । हातमा पुजाका थाली लिएर पनि अशान्त बने जस्ता । थाहा थिएन यी चिटिक्क परेका सुन्दर घरहरुभित्र केले सताउँछ भनेर । यहाँ धोवी, दर्जी, पसले, कामदार भन्दा पनि प्रोफेसर, साहित्यकार, पत्रकार, डाक्टर, ईन्जिनियर, वकिल, सिपाहीं, नेता, अभिनेता, समाजसेवीको बसोबास छ । यस्ता गल्लीका नारी अनुहारहरुमा चमक नभेटिनु ! उदेक मान्थि ऊ ।
चौबाटो आयो । सही दिशा छान्नु छ । दिशाबोध गराउने कम्पास छैन उसँग । दाँयापट्टि मोडिन्छे । एक आकृति जोडले ठोक्किन्छ । निथ्रुक्क भिजेकी छ । सास धावकको जस्तो बेतोडले बढेको छ । मधुरो उज्यालोमा रक्ताम्य अनुहार र लतपतिएको सिउँदो देखिन्छ । त्यो ज्यान जोगाउन भागेकी जस्ति छे ।
सरला त्यसको हात अँठ्याएर तान्छे ।
“बाटो यता छ । हामीले सिधा यही बाटो पछ्याउनु पर्छ । छाती निर्जीव बनाएर ।” सरला हिम्मत जुटाईदिन्छे ।
“ज्यँुदै जलाउन खोज्यो त्यो पापीले । भ्यालको सिसा फुटालेर त्यसकै कोठा छेउबाट भागें । स्वास्नीले आत्माहत्या गर्न लागि भनेर पुलिसलाई खबर गर्दै थियो त्यो । अब ज्यँुदै त्यसलाई जलाउने पालो मेरो । यो रात कटोस् ।” त्यो आगो जसरी दन्किनछे बदलाभावले ।
सरला अगाडी बढिरही । प्रत्येक मोड, घुम्ती, दोबाटो अनि चौबाटाहरुमा एक पछि अर्को गर्दै बिद्रोहहरु ठोकिन आईपुग्छन् । विद्रोहको लामो ताँती भैसक्यो । उसले सम्पूर्ण छरिएका विद्रोहहरुको नेतृत्व गर्नुछ । एकमुष्ट पारेर ठोस रुपमा रुपान्तरण गर्नुछ । हैकमवादलाई परास्त गरेर साझा समझदारीमा आत्मसम्मानको हक सुनिश्चित गर्नु पर्नेछ । धेरै छ गर्न ।
“त्यो बुद्धले त यतै हुन्छु भनेको थियो । यही गल्लिको उचाईमा । उचाईबाट गरेको शंखनादले पुरै धरातल गुञ्जिन्छ भनेर उसले यो उचाई देखाईदिएको ।” सरलाको बुद्ध साक्षात छैन त्यहाँ ।
अलमल्ल पर्छे । बुद्धले धोका दिन सक्दैन । बुद्ध भनेको धोका होईन विश्वास हो । शिवजीको जस्तो छल गर्दैन बुद्धले । दृढ छ ऊ । बुद्ध भेटिन्छ । आँखा मिच्छे र बिस्तारै नियाल्छे । उचाईको मध्य बिन्दुमा त्यो बुद्ध ध्यानमग्न छ । उही शान्त र शालीन । धैर्यताको समुन्द्रभित्र उसरी नै पौडिरहेको । थोरै फरक भएछ । निधारमा थकानका धर्साहरु बसेछन् । हर्षबिभोर ऊ पछाडी फर्किन्छे सयौ नारी विद्रोहको प्रतिनिधित्व छ ।
“मेरो बुद्ध भेटियो । बाँकी रह्यो महिला राष्ट्रपतिको कुरा । म राष्ट्रपति हुन विद्रोह गरेर निस्किएकी हुँ । हामी सबै अधिनायकबादका बिद्रोही हौ । उदेश्य एउटै छ । हातेमालो गरौ संरचना बदलौ ।” सरला विद्रोहको नेतृत्व गर्छे । प्रत्येक विद्रोही आवाज थप्छन्– ‘विद्रोहलाई अन्तिम बिन्दुमा पु¥याउन साथ छ ।’ आकाश गुञ्जिन्छ स्वरहरुले । रोलमोडल बुद्धको ध्यान भङ्ग हुन्छ । पर–पर एम्बुलेन्स र पुलिस भ्यानहरुका साईरनको कोकोहोलो सुनिन्छ ।
ब्रसेल्स, बेल्जियम
मधुपर्क माघ २०६६