14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अरनिकोले बनाएको स्तूप घुमेर फर्कदा

नियात्रा कृष्ण बजगाईं January 16, 2010, 8:41 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

चीनमा पाईला टेकेदेखि नै प्रसिद्ध नेपाली कलाकार बलवाहु अर्थात अरनिकोले बनाएको कुनै वास्तुकला त होला नि ! त्यो हेर्न पाए हुन्थ्यो जस्तो लागिरहेको थियो । दुईसाता चीनमा भ्रमण गरिने ठाउँहरु र अन्य औपचारिक कार्यक्रमको विवरण हातमा परिसकेको थियो । त्यो हेरेपछि आयोजक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली विभाग प्रमुख श्रीमती छाङ् होलाई सोधेँ–“अरनिकोले बनाएको कुनै कला कृति हेर्ने कार्यक्रम मिलाउन सकिन्न ?”

“त्यो पनि छ तर तपाईहरुको एक साताको तिब्बत भ्रमण सकाएर फर्केपछि ।” ठेट नेपालीमा जवाफ फर्काएको सुन्दा गज्जब रमाईलो लागेको थियो ।

सन् १९९४ सेप्टेम्बरको तेस्रो सातामा तिब्बतको ल्हासा र सिगात्सेमा पोतला दरवार, नोर्बुलिङ्खा, पञ्चेनलामाको दरवार र अन्य साना–ठूला गुम्बा र दरवार घुमेर आएको धङ्धङी सकिएकै थिएन । फेरि तुरुन्तै बेईजिङ्खमा गुम्बा तिरै घुमाउने त होईनन् भन्ने मनमा लाग्दै थियो । नभन्दै भोली नै “स्वेत स्तूप” घुम्न जाने कार्यक्रम छ भन्नुभयो यु फुङ्जीले ।

विहानको ब्रेकफाष्ट बेइजिङ्गको हामी बसेको ‘मिन्जु’ होटेलमा गरेर म र मेरा दोभाषे मित्र यु फुङ् होटेलको लबिमा बसिरहेका थियौं । हामीलाई लिन छाङ हो हस्याङ्फस्याङ् गर्दै आईपुग्नु भयो । बाहिर रेडियोको दुईवटा गाडीमा नेपाली विभागका सबै पत्रकार तथा कार्यक्रम सञ्चालकहरु, रेडियोमा नेपाली भाषा विशेषज्ञको रुपमा कार्यरत बरिष्ठ भाषा शास्त्री डा. बल्लभमणि दाहाल पनि आउनु भएको रहेछ । हामी दुई पनि त्यही गाडी भित्र कोचियौं ।

गाडी तिब्र गतिमा हुँइकिदै थियो सडकको जञ्जाललाई छिचोल्दै । पहिलो चक्रपथबाट बाहिरिएर गाडी दोस्रो चक्रपथमा छिरिसकेको थियो । यस अवधिमा गाडी आकाशेपुल, सुरुङ मार्ग र जमिनको सतह हुँदै तिब्र गतिमा हुँईकिंरहेको थियो ।“हामी स्वेत स्तूप नजिकै पुग्न आँट्यौ”– सु हाउले भन्नु भयो । रेडियोमा साह्रै मिठो नेपाली बोल्ने उहाँको आवाज म प्रत्यक्ष रुपमा सुन्दै थिएँ पहिलो पटक । उहाँ बोल्दाखेरि खुब् निपातहरु प्रयोग गर्नुहुन्छ । उहाँको यो बोल्ने कला मलाई साह्रै मनपर्दथ्यो पहिले देखिनै ।

उहाँले बताउनु भए अनुसार बेइजिङ्ग निक्कै ठूलो छ रे । “कत्रो ?” भनेर मैले सोधेँ ।

“आकार र क्षेत्रफल त म अहिले तत्कालै बताउन सक्दिन । बेइजिङ्गभित्र छवटा त चक्रपथ छन् । आफै अनुमान गर्नुहोस् कत्रो होला भनेर”– सु हाउले भन्नु भयो ।

अरनिकोले बनाएको ‘स्वेत स्तूप’ बेइजिङ्गको प्रसिद्ध पर्यटकिय स्थल ‘फरबिडन सिटी’को उत्तर तथा बेइजिङ्गको मध्यभागमा पर्दोरहेछ । तत्कालिन युवान वंशका सम्राट कुब्ला खाँले विशाल चिनलाई आफ्नो अधिनमा पादै बेइजिङ्गसम्म आई पुगेका रहेछन् । त्यतिबेला तिब्बत तथा चिनमा बुद्धधर्मको ठूलो प्रभाव रहेको र बौद्ध लामा–भिक्षुहरुको राजनीतिमा समेत प्रभाव देखेर उनीहरुलाई पनि आफ्नो पक्षमा पार्न उनले स्वेत स्तूपको निमार्ण गराएका रहेछन् । श्वेत स्तूपको निर्माणका लागि तत्कालिन समयमा बेइजिङ्गको चारैतिरबाट देख्न सकिने अग्लो ठाउँमा स्थान छनौट आफै गरेका रहेछन् । ३६ मिटर अग्लो त्यो स्तूप अहिले आधुनिक बेइजिङ्गको गगन चुम्वी घरहरुका कारण टाढाबाट देख्न सकिदैन ।

यस स्तूपलाई प्रशिद्ध नेपाली कलाकार अरनिकोले तेह्रौं सताब्दीको पुर्वाद्ध तिर आफैले डिजाईन गरि निर्माण गराएका रहेछन् । विभिन्न समयमा आगलागी, भूकम्प आदिबाट क्षति हुँदा चिनका विभिन्न राजवंशको समयमा यसको विस्तार, निर्माण तथा पुर्ननिमार्ण भएको रहेछ । चिनको राजधानी बेइजिङ्गमा रहेको यस स्तूपमा बौद्ध धर्म सम्बन्धी सबै भन्दा पुराना सामाग्रीहरु सुरक्षित रहेछन् । यसलाई हेर्न पर्यटकहरुको सँधै ताँती लाग्दोरहेछ । यस स्तूपलाई चिनियाँहरु नेपाल र चिनको लामो र घनिष्ट मित्रताको प्रतिकको रुपमा सम्मान गर्दा रहेछन् ।

एउटा ठूलो तालको किनारा नजिकै अवस्थित त्यो स्वेत स्तूप अलि अग्लो ठाउँमा बनाइएको रहेछ । बाहिरबाट पवित्र माटो ल्याएर त्यहाँ स्तूप निर्माण गरेको रे । त्यो माटोको अग्लो ढिस्को सबै बाहिरबाट ल्याएको माटो हो अरे । झट्ट हेर्दा पोखरा फेवातालको बराही मन्दिर रहे जस्तै गरि अवस्थित थियो त्यो स्तूप । जसको प्रतिविम्ब निलो पानीमा जहीँबाट हेरे पनि प्रष्टै देख्न सकिन्थ्यो ।

हामी स्तूपको मुलद्धारबाट भित्र प्रवेश गर्यौं । त्यहाँ दायाँतिर र बायाँ तिरको स–साना घरलाई क्रमशः घण्टा घर र ढोल घर भनेर चिनाईयो । त्यसको अगाडि सानो घर चाहीं सिंगहाङ दरवार अरे । त्यसको वरिपरिको घर लामा तथा भिक्षु बस्ने घर भनेर सुहाउजीले बताउनु भयो । तर त्यहाँ त लामा तथा भिक्षु कोही पनि थिएनन् । पुस्तकालय र विभिन्न चित्रहरुको प्रदर्शनी पो देखियो त्यहाँ ।

हामी मुलद्धार अगाडि पुग्यौं । त्यसको अगाडि एउटा अलि ठूलो घर देखियो । त्यसलाई “हल अफ द ग्रेट इन्लाइटन्ड वान्स” अर्थात “महान आलोकितहरुको कक्ष” भनिँदो रहेछ । त्यसको दायाँ र वायाँ गाडिएका दुई खम्वामा बौद्ध मन्त्र लेखिएको ध्वजापताका टांगिएको थियो । नेपालका बौद्ध गुम्वामा देखिने रंगीचंगी ध्वजा पताकालाई टांगिए जसरी नै त्यहाँ टांगिएको थियो । त्यसको बिचमा ठूलो धुपौरो राखिएको थियो । धर्ममा आस्था राख्नेहरु त्यहीं धुप जलाउँदा रहेछन् ।

हामी विस्तारै “महान आलेकितहरुको कक्ष” भित्र प्रवेश गर्यांै । अचम्मको कुरा सुनाए त्यहाँका लामाले । त्यहाँ त बुद्धका दशहजार मुर्ति पो छन् रे । यसो गन्न सुरु गर्ने नै हो भने घण्टौं लाग्ला जस्तो थियो । त्यहाँका मूर्तिमाथि मूर्ति थियो । अलि ठूलो मूर्तिको कुनै टाउको माथि, कुनै काँधमा त कुनै खुट्टामा । त्यहाँ भएका मूर्तिहरुमा सबै भन्दा अग्लो करिव डेढ मिटरको तथा सानोमा सुपाडिको टुक्रो जत्रो थियो । मञ्जुश्री, बज्ररत्न, मैत्रय, अमिताभ, बज्रधारा आदि प्रमुख बुद्ध मूर्तिहरु थिए त्यस कोठामा । त्यही कोठामा भएको एउटा मूर्ति स्रङ्घचङ्घ गम्पोकी महारानी नेपाली तारा भृकुटीको मूर्ति हो भनेर सुहाउजीले बताउनु भयो ।

त्यस कक्षबाट हामी बाहिर निस्कियौं । दरबारको अगाडि दायाँ तर्फ टेको लगाएर अड्याईराखेको एउटा रुख थियो । त्यो लड्ला वा भाँचिएला कि भनेर सुरक्षित राखिएको थियो । त्यो पाँचसय वर्ष पुरानो रुख अरे । त्यो रुखको त्यस स्तूपसँग धार्मिक सम्वन्ध रहेको कुरा त्यहाँका लामाले बताए । कथंम्कदाचित त्यो रुख ढलेमा ठूलो अनिष्ट हुने विश्वास रहेछ । त्यसैकारण त्यस रुखको सुरक्षाको लागि विशेष उपाय लगाईएको देखियो ।

विस्तारै हामी त्यस दरबारको पछाडि पुग्यौं । त्यहाँ पनि अर्को दरबार रहेछ । त्यस दरबारको एउटा ठूलो कोठा भित्र प्रवेश गर्यौं । त्यसलाई “हल अफ द सेभेन बुद्धज” भनिदोरहेछ । तर त्यहाँ त बुद्धका पाँचवटा मूर्ति मात्रै देखियो । किन “हल अफ द सेभेन बुद्धज” भन्न खोजिएको हो बुभ्mन सकिएन ।

हामी त्यहाँबाट अगाडि बढेर तीनकालका बुद्धहरु नामक कक्षमा पुग्यौं । त्यहाँ शाक्यमुनी बुद्ध र अन्य दुई बुुद्धको मूर्ति देख्न पायौं । त्यहाँका लामाले बताए अनुसार ति बुद्धहरुलाई तीन कालको बुद्ध भनिदो रहेछ । ‘भूतपूर्व बुद्ध’, ‘अहिलेको बुद्ध’ र ‘भविष्यको बुद्ध’ । नेपालको चैत्य, विहार र गुम्वामा जस्तै त्यस कक्षका चारैतिर सुन्दर तथा कलात्मक धार्मिक थाङ्का सजाईएको थियो ।

नेपाली कलाकारले बनाएको कालिगढीको प्रशंसा गर्दै डा. बल्लभमणि दाहाल, म, यु फुङ, छाङ हो, च्या लगायत रेडियोका अन्य पत्रकारहरु स्वेत स्तूपसँगै रहेको “पेहाई पार्क” तिर लाग्यौं ।

त्यो पार्कमा अवस्थित तालमा मोटरबाट चल्ने डुङ्घा प्रसस्तै रहेछन् । पार्कमा रमाउने मानिसहरुको भिडभाड सहरमा देखिने चिनियाँहरुको भिड जतिकै थियो । त्यो तालमा हाम्रो कार्यक्रमको लागि भनि एउटा ठूलो डुङ्घा पहिले नै भाडामा लिईसकिएको रहेछ । चिनको एकमात्र ठूलो सरकारी टेलिभिजन च्यानल सि.सि.टि.भि.का क्यामरामेन तथा पत्रकार हामी भन्दा अगाडि त्यहाँ पहिले नै पुगिसकेका रहेछन् । हामी त्यता लाग्नासाथ क्यामरा हामी तिर तेर्सीन थालिसकेको थियो । वास्तवमा त्यहाँ भएका मध्ये

डा. बल्लभमणि बाहेक हामी सबै पत्रकार नै थियौं ।

त्यो टिभिका पत्रकारहरु खासगरि मसँग अन्तर्वार्ता लिन आएका थिए । चिन भ्रमणको अनुभव र तिब्बत सम्बन्धी बेस्सरी प्रश्न सोधे टिभिका पत्रकारले । भर्खरै एक साताको तिब्बत भ्रमण सकेर आएकोले पनि हुनुपर्दछ अन्तर्वार्ता त्यसैमा केन्द्रित थियो । तिब्बत चिनको अभिन्न अंग हो भन्ने हामी नेपालीको परम्परागत धारणलाई मैले पनि प्रष्टसँग राखे ।

त्यसपछि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाले पनि त्यहीँबाट एउटा अन्तर्वार्ता लियो । अन्तर्वार्ता दिने कार्यक्रम सकियो । त्यसपछि अलग–अलग तथा सामूहिक नाँचगानको कार्यक्रम सुरु भयो । अन्तमा मेरो पनि नाच्ने पालो आयो । त्यस भन्दा अघि कहिल्यै ननाँचेको म लण्ठु मान्छे । सबैले नाँच्न जोड गरे । भो भो नाच्दिन भन्दै टार्दै थिँए ।

रेशम फिरीरी.....

उँडेर जाउँ कि डाँडामा बसौँ

रेशम फिरीरी.....

अब चिनियाँहरुले नै नेपालीमा गित गाउन थालेपछि मैले नाच्नै पर्ने भयो । म नाँच्न थाले, रक्सिले मातेको जँड्याहा हल्ले जसरी नै ।

भोलीपल्ट साँझमा टेलिभिजनमा मेरो अन्तर्वार्ता प्रशारण भयो । एउटा जँड्याहा हल्ले जस्तोलाई पनि नेपाली नृत्य भनेर प्रशारण गरेर देखायो । नेपाली नृत्यको बेईज्जत नै गरेर आएँ जस्तो लाग्यो । त्यो दृष्य टेलिभिजनमा आफैले हेर्दा लाजले भुतुक्कै भएँ ।

नेपाल फर्केर आएपछि केही समय नेपाल टेलिभिजनमा हेरेर खुट्टा चाल्न र हात हल्लाउन सिँके । यति सिकिरहे बाहिर कतै कहिलै काम लाग्छ, बेईज्जत त हुँदैन भनेर ढुक्क भए । आजकल यतिले नै काम चलाई रहेको छु परदेशमा ।

गरिमा २०६६

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।