19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नदेख नलेख भन्नेहरु

कविता होमर श्रेष्ठ January 17, 2010, 1:38 pm

ए नयनलाई नदेख भन्नेहरु

ए कलमलाई नलेख भन्नेहरु

खै म हजुरहरुलाई

कुन भाषामा सम्बोधन गरुँ !

हिउँदको बर्फिलो मौसम

जमेको खयरमसी

वासन्ती उत्सवसँगै पग्लिएको छ

तरङ्गित भइरहेछ श्वेत कागजमा

लाखौँ सशक्त वर्ण बनेर

तिनलाई म कसरी नदेखेझैँ गरुँ

ए नयनलाई नदेख भन्नेहरु !

भर्खरैको शल्यक्रियापछि

अनगिन्ति अन्धनयन

स्वस्थ दृष्ट बनेका छन्

घामका रङ देखेका छन्

फराक आकाश हेरेका छन्

कति चम्किलो प्रकाश !

कति चाचल बतास !

टुसाउँदै छन् नयाँ पालुवा

कोपिलाउँदै छन् फूलका थुँगा

कसरी म तिनलाई

देखे पनि नदेखेभैष गरुँ

ए नयनलाई नदेख भन्नेहरु !

यो सुन्दर धर्तीभरी

चिन्ताग्रस्त शोकग्रस्त

अनुहारहरु बग्रेल्ती रहेछन्

हेरिरहेछन् तिनले मलाई

म कसरी नदेखेझैँ गरुँ

ए नयनलाई नदेख भन्नेहरु !

एकपल्ट देखिएको दृश्य

फेरि कसरी नदेख्न सकिन्छ र

आजभोलि कता-कता

म अँध्यारोमा हिंड्ने गरेको छु

हिंडदा हिंडदै दिगमिगाउँदो

खाल्डोमा झरेको छु

जहाँ मान्छे मान्छे जस्ता छैनन्

कीरा फट्याङ्ग्रझैँ

घस्रँदै र उफ्रदै छन्

म तिनलाई कसरी नदेखेझैँ गरुँ !

ए नयनलाई नदेख भन्नेहरु !

म ओहोरो दोहोरो गर्ने गरेको छु

नागेश्वरीको लौरी टेकेर

अन्धकारसित खेल्ने गरेको छु

टोलटोल गल्ली-गल्ली

म भौँतारिइरहेको हुन्छु

जहाँ कुकुरहरु भुकिरहेका हुन्छन्

दाहिने खुट्टो उचालेर

बिजुलीको पोलमा तुर्क्याउँदै

आकाशका जूनतारालाई भुकिरहेका हुन्छन्

गीत गाउने कण्ठ छैनन् तिनका

भुकिरहून् विचराहरु !

ए पृथ्वी नघुमोस् भन्नेहरु

ए कलम नलेखियोस् ठान्नेहरु

अक्षरको नशाले मातेर

म अन्धकारमा फर्कँदा

अनेकपल्ट भुकिएको छु

बिजुलीको पोलमा ठोकिएको छु

बायाँ खुट्टोमा टोकिएको छु !

त्यो निस्पट्ट रात

ब्रेख्त र चेखभ

संवाद गरिरहँदा

परेड खेल्दै थिए साँगुरो सडकमा

मेरा जुत्ता र पाइतलाहरु

अट्टहास गर्दै थिए उल्लूहरु

जीर्ण घरको छानुमा

तिनका ठूला हिँस्रक आँखा

एम्बुलेन्सका बत्तीझैँ

२७०० डिग्रीमा घुमिरहेका थिए

म तिनलाई कसरी नदेखेझैँ गरुँ

ए नयनलाई नदेख भन्नेहरु !

एकपल्ट देखिएको दृश्य

फेरि कसरी नदेख्न सकिन्छ र !

यो मनमा छापिएको परिदृश्य

कसरी नलेख्न सकिन्छ र !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।