14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मुक्तिदाता

लघुकथा कृष्ण बजगाईं January 20, 2010, 1:02 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

“जब जब संसारमा पापी र अधर्मिहरुको संख्या बढ्नेछ तब तब तिनीहरुलाई संहार गर्न म बिभिन्न अवतार लिएर आउनेछु ।” भगवानको यो बाणी के पढेको थियो एक्कासी उसको मनमा पनि मुक्तिदाता तथा संहारकर्ता हुने बिचार आयो ।

एक दिन ठूलो शभामा ऊ एक्कासी देखियो र भन्यो – “अन्यायी, अत्याचारीलाई नाश गर्न र तपाईंहरुको दुःख हरण गर्न मेरो जन्म भएको हो ।” भगवानको जस्तै उसको दिब्य वाणी सुनेर गरिब तथा दुःखी जनमानस कतै आफ्नो मुक्तिदाताको जन्म त भएन भन्ठाने ।

“यो मान्छे कसरी हुन सक्छ मुक्तिदाता ?”

“यो त कलियुग हो । भगवानको अवतार लिन सम्भवै छैन । ”

“यो पनि हामी जस्तै मानिस हो ।”

“.............”

केही मानिसहरुले त्यहीं औंलो ठड्याएर त्यसको बिरोध गरे ।

उसले भन्यो– “हेर्नुुस मैले धर्म, दर्शन तथा राजनितिका पुस्तकहरुको खुब् अध्यन गरें । ति मध्ये राजननीतिको पुस्तकले मुक्तिदाता तथा संहारकर्ता हुने छोटो र छिटो बाटो देखायो । म मुक्तिदाता र संहारकर्ता हुँ ।”

आमशभामा कुर्लि–कुर्लि भाषण गर्ने त्यो मानिस एउटा राजनैतिक पार्टीको ठूलो नेता थियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।