14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मेरो हुम्ला यात्रा

नियात्रा डा. सुमन राज ताम्रकार January 21, 2010, 8:06 am

मेरो यो हुम्ला यात्रा मेरो दाई प्रति श्रद्धार्पित गर्दछु । करिब ५ वर्ष अगाडि मेरो दाई रुपराज ताम्राकार हुम्लाको विकट गाउँ लिमी जाने सिलसिलामा उच्च लेक (हाई अल्टिच्यूड सिकनेस) लागी २०६२ साल जेठ ३ का दिन असामयिक र अप्रत्याशित निधन भएको थियो ।

मेरो यो यात्रा बारे मेरा अभिभावकहरुलाई पूर्व जानकारी गराएको भए शायदै अनुमती पाउने थिएँ, त्यसैले यो कुरा गोप्य राखी निस्किएँ हुम्ला यात्रामा । मेरो परिवारले किन हुम्लीहरुलाई आफ्नो विषयगत सेवा (दाईले ईन्जिनियरिङ्ग र मैले स्वास्थ्य सेवा) पु¥याउन लेखेको छ थाहा भएन । तर मेरो दाईले हुम्लीहरुलाई सेवा पु¥याउने क्रममै आफ्नो ज्यान गुमाएको कारण उहाँ प्रति, उहाँको ईच्छा प्रति भावुक हुँदै यो यात्राका लागि बिना हिच्किचाहट सहमति जनाएको थिएँ ।

मेरो दाई तीन दिनको पैदल यात्रा पछि पुगिने हुम्लाको उत्तर पश्चिमी अति विकट गाउँ लिमी जानुभएको थियो भने मेरो गन्तव्य हुम्लाको दक्षिण पूर्वी गाउँ सर्केगाडमा रहेछ । हुम्ला जिल्लाको सिमकोट पछि दोश्रो सदरमुकाम भनिए पनि सर्केगाड पनि विकट नै रहेछ । फरक यति हो कि म सँगैको स्वास्थ्य टोली विश्व खाद्य कार्यक्रमको हेलिकप्टरबाट गएको कारण बासस्थान र स्वास्थ्य शिविर स्थल पुग्न हेलिप्याडबाट केवल २० मिनेट मात्र लाग्यो । सिमकोट बाट ४९ किमी टाढा रहेको यस सर्केगाडमा पुग्न हामी लाई पैदलमा दुई दिन लाग्ने रहेछ ।

यात्रा भन्ने बित्तिकै मनमा कौतुहलता, जिज्ञासा, कठिनाई सबैको सम्मिश्रण हुन्छ । त्यसमाथि यो टोली सँगको यात्रा पहिलो पटक गर्दै थिएँ, त्यो पनि त्यति टाढाको लागि । तर काठमाण्डौ एअरपोर्ट पुग्ने बित्तिकै मेरो जिउ आधा हलुको भयो । किनकी यो टोलीका नेता त मैले चिनेकै व्यक्ति रहेछ । म एमबीबीएस पढ्ने बेलामा चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्जका तत्कालीन परीक्षा शाखा प्रमुख वियोगी बुढाथोकी नै टोली नेता रहेछ । हाल उहाँ नेपाल मेडिकल कलेज, जोरपाटीमा कार्यरत हुनुहुन्छ । उहाँ सिद्धहस्त साहित्यकार पनि हुनुहुन्छ । र, नियमित रुपमा शिवपुरी सन्देश नामक साहित्यिक पत्रिका पनि प्रकाशित गरिरहनु भएको छ ।

उहाँ सँगै यसपटकको टोलीमा डा. छेकी शेर्पा, डा. बिना गुरुङ्ग, नरेन्द्र बस्ताकोटी, रवि पौडेल, राजदेव मण्डल, कञ्चन दिक्षित, सुशिल खनाल, पवन ज्ञवाली, अनुराधा अधिकारी, तिर्थ जोशी, निर्मला गुरुङ्ग र म थिएँ । गणतन्त्रात्मक नयाँ नेपालमा एकपक्षीय रुपमा भटाभट संघीय राज्य घोषणा भईरहँदा हाम्रो टोली भने अनुकरणीय एवं उदाहरणिय थियो । भौगोलिक, समावेशी, लैङ्गिक, जातीयता मेलमिलाप जुनसुकै हिसाबले पनि ।

यतिका वर्ष पछि (करिब १६ वर्ष पछि) पुगेको थिएँ सुर्खेतमा यो वर्ष । तर यो वर्ष भने पटक पटक नै जाने मौका मिल्यो सुर्खेतमा, दशैं अघि र तिहार पछि मात्र गएको थिएँ । फेरि त्यहि बाटो भएर जाने मौका जु¥यो । यो पटकको गन्तव्य सुर्खेत भन्दा निकै उत्तर र विकट ठाउँमा थियो । सडक यातायातले नछोएको जिल्लामा पहिलोपटक जान लागेको थिएँ । हुम्ला कर्णाली जिल्लाको शिर भनेनी हुन्छ । हामीले सोच्ने अति अभावग्रस्त ठाउँको पनि पिछडिएको जिल्ला । नेपालको मानचित्रमा भौगोलिक हिसाबले ठूला जिल्लाहरु मध्ये एक हो हुम्ला । विकास एवं मानव सूचाङ्कमा पुछार तिर छ हुम्ला ।

सुर्खेतबाट हुम्ला आउन जान युएन अन्तर्गत विश्व खाद्य कार्यक्रमको हेलिकप्टरको व्यवस्था गरिएको रहेछ । सुर्खेत एअरपोर्टमा उक्त संस्थाका सहचारी विमल शर्मा सँग भेट भयो । प्लेनमा त थुप्रै पटक यात्रा गरिसकेको थिएँ तर हेलिकप्टरमा पहिलो अनुभव थियो तर सुर्खेतबाट बिहान ९ बजे उड्नुपर्नेमा बादल धुम्म परेका कारण दिउँसो २ बजे बल्ल उड्न पायौं । यस्तै अनिश्चित मौसमका कारणले होला हेलिकप्टर उड्ने बेलामा विमलजीले सर्केगाडमा २, ३ दिन थप बस्न मानसिक रुपमा तयार हुनुहोस् भन्दा त्यहाँबाट नफर्केसम्मै मन अमिलोे भैराख्यो । दैलेख, कालिकोट, बाजुरा, मुगु लगायतका जिल्ला पार गरी पुग्यौं हुम्लाको सर्केगाड ।

सर्केगाडमा ३ दिनको मात्र स्वास्थ्य शिविर भएपनि थुप्रै अनुभव सँगाल्न पाइयो । तिनीहरु पनि नेपाली नै हुन् तर ..... । तैपनि कतिपयले आफ्नो जुनीमा पहिलो पटक डाक्टरको अनुहार हेर्न पाएका थिए, कतिपयलाई पाठेघरको मुखमा साधारण चक्का राखेकै भरमा बर्षौं देखिको आङ् खस्ने समस्याबाट छुटकारा पाएका कारण अनुहारमा खुशी छाएको थियो, काटिएको घाउ लिइ आएको बच्चालाई तत्क्षण विशेषज्ञ डाक्टरबाट घाउ सिलाउन पाएको थियो (विचार गर्नुस त सुर्खेत पुग्न पैदल सात दिन लाग्छ, सिमकोट पुग्न २ दिन त्यसमाथि हप्तामा एक दुई पटकको हवाई उडानमा भन्ने बित्तिकै टिकट पाइएला नपाइएला, पाइएपनि निकै महँगोमा मात्र) भने कतिपयको बाँझोपन, तारन्तार गर्भ खेर जाने समस्याको समाधान थाहा भएपनि त्यहाँ सम्भव नहुँदा मन राम्ररी कुँडियो । त्यसमाथि ग्यास्टिक, पेटको अल्सरको हुने पिडा बाट बच्न बाह्य पेटमा आगोले पोल्ने गरेको कुरा सुन्दा हा दैव मात्र भन्न सक्यौं ।

सिँचाईको सुविधा भएको, धान पाक्ने गह्रा भएको, संचार र शिक्षाको सुविधा भएको सर्केगाड नजिकैको अर्को गाउँको नाम डुल्ली भएपनि त्यहाँका लागि सुख सुविधा भएको कारण त्यहाँका बासिन्दाहरुले दिल्ली भन्ने गरेको रहेछ । हुम्लामा निराशा, अभाव मात्र छैन प्लस टु सम्मको पढाई हुने स्थानिय हिमज्योती उच्च मा वि छ, सोलारबाट घरघरमा बत्ती बाल्ने व्यवस्था छ, पब्लिक टेलिफोन पनि छ, सरकारबाट कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत चामल वितरण हुन्छ, स्थानिय अगुवाहरुको पहलमा थुप्रै सामाजिक एवं विकासका कामहरु भैरहेको छ । त्यसमाथि फराक मन भएका हंस ऐडी (गोच्या), गोबन ऐडी, धनमल ठगुन्ना, सीएमए भक्त ऐडी जस्ता व्यक्तिहरुको उपस्थिति छ ।

सरकारले चामल दिएपनि पहिले जस्तै आफ्ना पाखापखेरा खनजोत गरेर बाली अन्न उब्जाई वस्तु विनिमय गरेको भए, सिमकोट देखि मुगुको गमगढी सम्मको तेर्सो बाटो अलि फराक पारेर मज्जाले गाडी कुदाएको भए, पुरुष भनाउँदाहरुले दिउँसै रक्सी तन्न धोकेर आईमाईलाई मात्र घरायसी काममा नजोताएको भए, त्यहाँ बाट निर्वाचित भएर आएका सभासद्ले थोरै मात्र भएपनि विकास निर्माणमा ध्यान पु¥याएको भए हुम्ला यो अवस्थामा रहन्थेन । जे होस् हामी बाहिरियाहरुले यति छोटो अवधिमा गर्न सक्ने जति ग¥यौं ।

यो पटक बुधबार हिँडेको भएर हो कि यात्राभर सबै तिर डिले (अर्थात् ढिलो) नै भयो । काठमाण्डौ बाट उड्न, सुर्खेतबाट सर्केगाड जान, त्यहाँबाट फर्किन र अन्त्यमा नेपालगंजबाट काठमाण्डौमा फर्किन सबै ठाउँमा ढिलो भयो । यो सबैको रिस नेपालगंज विमानस्थलका यती एअरलाइन्सका कर्मचारीहरु माथि पोखियोे । बिहान १० बजे फ्लाईट भनेको थियो । त्यसमाथि जनमोर्चाले भेरी कर्णाली बन्द भनेका कारण थप पैसा तिरी रिक्सामा राँझा स्थित नेपालगंज एअरपोर्टमा आएका थियौं । दिउँसो २ बजेसम्म पनि फ्लाईट नभएपछि त मेरो मात्र हैन धेरैको कन्सिरी तात्यो । हामी भन्दा पछाडिको बुद्ध एअरको प्लेन काठमाण्डौ बाट आईकन फर्केका कारण पनि हाम्रो धैर्यता बाँध टुटेको थियो । त्यसमाथि त्यहि दिन म सहभागी भएको एउटा प्रोजेक्टको रिपोर्ट छलफलको कार्यक्रम पनि थियो काठमाण्डौमा, त्यसैले पनि काठमाण्डौ फर्किन हतारेको थिएँ तर ... खुईय गर्दै, कर्मचारी सँग झगडा गर्दै बस्नुप¥यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।