19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आँसु

कविता विश्व सिग्देल January 27, 2010, 3:34 pm

कुनै समय

आँसु हाम्रो शृङ्गार थियो

हामी धुन्थ्यौं आफूलाई

सफासँग

र हामीबीच खुल्दथ्यो

एउटा घमाइलो दिन

दिन, महिना, वर्ष बित्दै गए

हामीले सिक्यौं धेरै कुरा

हाम्रो संसारबाट

हाँस्न सिक्यौं

नाच्न सिक्यौं

बाँच्न सिक्यौं

अनि सिक्यौं

मनमा कुरा साँच्न

बादल, वर्षा, घाम, जुन खपेर बस्ने

चट्टानको रुप परिर्वतन भएजस्तै

बिस्तारै

हामीले नजान्दै

हामीलाई पखाल्ने पवित्र पानी

आँसु–हाम्रो शृङ्गार

हाम्रो हतियार भएछ

र हतियारले शान्ति ल्याएको

इतिहास छैन

धेरै वर्षपछि

मैले मेरो आँसुको पोखरीमा फुलेको

पहिलो नीलो लीली टिपेँ

र मेरो मनको शिलामाथि राखेँ

जहाँ खोपिएको थियो तिम्रो नाम

हालः मसुरी, देहरादुन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।