18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तारेभीरमा राम राम

कथा स्वामी राजिबानन्द February 1, 2010, 11:16 pm

भानु उफ्रिदै आयो । बाको छेउमा गएर भन्यो, मैले आज ५०००० जिते, यसरी जित्दै गए भने म छिट्टै नै लखपति हुन्छु । १२ बर्षे केटाको त्यस्तो कुरा सुनेर बाले चासो जनाएर सोधे -"त्यो जित्न चाहि कसरी जित्ने रहेछ भन त भानुभक्ते?" जवाफमा आयो -"कम्प्युटर चलाउन जान्नु पर्छ बा, त्यतिकै जितिदैन।" भानुको बाले सोच्न थाले, साला यो कम्प्युटर नसिकि भएन । यो सानो छोरोले त लाखको कुरो गर्छ म त झन् जमानाको खप्पिस जुवाडे । मैले त्यो कम्प्युटर सिके भने म पो करोडपति बन्छुकि क्या हो? हाम्रो जमानामा यो कम्प्युटर भन्ने बस्तु थिएन । त्यसैले तास खेलेरै चित्त बुझाउनु पर्थ्यो। हुन त तास पनि रमाइलो कुरा हो, गाँठे अस्तिको तिहारमा सबै खर्च मैले तासमा जितेरै उठाएको। यो माहाबीर पुनले यहा कम्प्युटर हालेदेखि चमक-धमक नै कम्प्युटर भएको छ। हुन पनि कसरी नहोस । निरौला बाको छोरी सृजना कसैले बिहा गरेनन् भनेर हाट लाग्ने ठाउको रुखमा झुन्डिएर मरेदेखि यो ठाउको नाम सृजनानगर भएको थियो । तर जब माहाबीर पुनले त्यो भिरको ठुलो रुखमा केही उपकरण जोडेर तारले बाधे, त्यस दिनदेखि यो ठाउँको नामपनि तारेभीरमा बदलियो। त्यो मुला कसैले बिहा गरेनन् भनेर मरेकि केटीको शोकमा भन्दा देशमै पोहिलो चोटि आएको यस्तो उपकरणको नाममा ठाउँको नाम भयो भने सुन्दानि खुशी लाग्छ। आहा ! कस्तो राम्रो नाम । तारेभिर । निरौला बालाई मर्नु भयो होला । तर के गर्नु अब गाउँमा कम्प्युटर आइ सक्यो तिन्को हकीम कस्ले सुन्ने यहाँ।

पोखरा पढेर फर्केर निरौला बाका छोराले कम्प्युटरमा खै के खोलेका छन रे। गाईभैंसी डट कम। यसमा उनले गाई, भैंसि, खसि, बाख्रा र कुखुरा समेत किनबेच गर्ने खाले बनाएका छन भन्ने हल्ला छ । आफूलाई त चलाउन आउदैन नभए पोटिला भैंसीहरु त्यहाँ हेरेर किन्ने थिए होला नि त्यो कम्प्युटरमा जितेको पैसाले। कम्प्युटर चलाउन सिक्नु भन्दा अगाडि गाउँमा माहाबीर पुनका मान्छेले गाउँलेलाई सजिलो होस भनि प्रौढ शिक्षा दिने गर्थे। आफू त्यो कक्षामा कहिले गैएन। फेरि कम्प्युटर अंग्रेजीमा हुन्छ अरे। आफूलाई अंग्रेजीमा तासको एक्का देखि बास्सा भन्दा बेसि आउँदैन। कम्प्युटर कसरी सिक्ने भनेर दोधारमा परेको बेला भानुको बुवाले फेरि सोच्छ । आ त्यो मुला कम्प्युटर मैले किन सिक्ने नि? गाउँमा सबैले कम्प्युटर सिक्छन अनि फेरि त्यो मुला १० वटा कम्प्युटर चलाउन सबैको तछाड मछाड् । त्यो भन्दा त नसिक्नुनै जाती। त्यहि पनि पैसा कसरी जितिदो रहेछ भनि भानुलाइ सोध्न जाँदा भानुले मोबाईल फोनमा साथीसँग कुरा गरि रहेको हुन्छ । “मेरो फेसबूकमा त ३ वटा कमेन्ट आयो, तेरोमा दुइटा मात्रै”, फोनको अर्कोतर्फबाट केही आवाज आईसकेपछि भानुले फेरि भन्छ - "उफ्फ् दोन्ट लाई मि, आइ विल चेक योर प्रोफाइल वान्स अगेन"। तैले मेरो प्रोफाइलमा कमेन्ट गरिस त्यसैले मैले तेरो पनि प्रोफाइलमा कमेन्ट गरेको । तर अघिसम्म हेर्दा मेरोमा तिनवटा कमेन्ट तेरोमा दुइटा मात्रै थियो। छोराको कुरा सुनेर भानुको बा छक्क पर्दै थिए । ७ बर्ष भयो स्कुल हालेको कहिले अंग्रेजी बोलेको सुनेको थिइन । यो माहाबीर पुनले गाउँमा कम्प्युटर ल्याएको ८ महिना भएको छैन मेरो छोरा त अंग्रेजी प्याररर बोल्दो रहेछ।

छोराले फोनमा कुरा गरिसकेपछि बाले भानुलाई भन्छन् -"हैन यो मोबीलबाट फोन नगर पैसा तिर्नुपर्छ भनेको होइन, फेरि त्यहि रबि सित गफ गरेको त होला नि हैन? दिनभरि संगै भएपछि पनि फेरि मोबिलबाट कुरा गरि राख्नु पर्छ? मोबील हैन बा मोबाईल हो । यो उपकरण मन्छेको सुबिधाको लागि बनाएको हो त्यहाँ त्यस्को घर गै रहनु भन्दा यहि बसेर कुरा गर्न कस्तो सजिलो।

भानुका बा जँगिए- "हो हो पैसा तैले तिर्नु परेको भए थाहा हुन्थियो।" नकराउन बा तिमीलाई नि फेसबूक अकाउन्ट खोलिदिउँला - भानुले भन्यो । मैले नि नेपाल बैंक लिमिटेडले तल बेसि सहरमा कार्य संचालन गरेदेखि त्यो बैंकमा पैसा जम्मा गर्न बैंक अकाउन्ट खोलेको थिएँ पछी बैंकले न्युनतम धितो ५०० बाट २००० बनाएपछि पैसा जम्मा नगरेकोले त्यो अकाउन्ट बन्ध गर्नु पर्यो। तर त्यो अकाउन्ट खोल्न त नागरिक्ता सागरिक्ता सबै चाहिएको थियो । यो मुलाले कसरी फेरि अकाउन्ट खोल्यो भनेर छक्क पर्दै भानुको बाले प्रश्न गरे। बाको के हो त्यो फेसबूक भन्ने प्रश्नको जवाफमा भानुले त्यो भनेको संसारका सबै मान्छेहरुको जमघट हुने ठाउँ हो क्या । त्यहाँ फोटो, भिडिओ, सबै थोक राख्न अनि हेर्न पाइन्छ अनि त्यहि पोकर खेलेर पैसा पनि जित्न सकिन्छ। तेरो त्यो कम्प्युटरबाट जितेको पैसाले मोबील फोनको पैसा तिर्न मिल्छ त? भानुले जवाफ दिन्छ, मिल्छ होला नि तर सोध्नु पर्छ मलाई राम्ररी थाहा छैन। लु हिड त त्यसो भए कम्प्युटर चलाउन भनेर भानुका बाले भन्छन् । भानुले जवाफ दिन्छ -जति बेला मन लाग्यो त्यति बेला चलाउन पाउँछ र? आजको मेरो पालो सकियो अब भोलि जानु पर्छ । त्यो मुला कम्प्युटर चलाउनपनि पालो पर्खिनु पर्ने कस्तो वाइहात ! म कसरी चलाउँदो रहेछन् भनि हेर्न लाग्छु भनेर भानुको बा कम्प्युटरहरु राखिएको स्कुल तर्फ लाग्दै हुन्छन । बाटोमा कसैले उसलाई पछाडिबाट सोध्छ, कम्प्युटर तिर हिडेउकी क्याहो भानुको बाउ? भानुको बा झनक्क रिसाएर पछाडि फर्किदापनि नफर्किकन जवाफ दिन्छ, हो त नि। उसको रिसको कारण उसले आफै भत्भताउँछ । सानो छँदा रघुरामको छोरा भनेर सबैले बोलाउथे । ऐले मेरै नामले बोलाउनु पर्ने मेरो छोराको नामले बोलाउँछन् सालेहरु! मेरा बाले यस्तो राम्रो नाम राखी दिएका छन किन फेरि भानुका बा भनेर बोलाउनु पर्ने ।त्यो भानुलाई मेरो छोरो भनेर बोलाउन सक्दैनन् र? यो सबै कम्प्युटरकै खेल हो।

कम्प्युटर चलाउने ठाउँमा गएर एकछिन रमिता हेरेपछि भानुका बा घर फर्किए । भोलिपल्ट छोरासंगै फेरि कम्प्युटर चलाउन स्कुल पुगेका भानुका बाले छोराले फेसबूक चलाएको हेरे । भानुले भन्यो -"हेर्नुस् बा हिजो रबिले गफ् दिदै थियो । हेर्नु त त्यस्को स्टाटसमा २ वटा कमेन्ट मत्रै, मेरोमा त ३ वटा छ । अझ एउटा लाइक्स पनि छ । भानुका बाले त्यो अंग्रेजी के बुझ्नु र? बोरु तासमा भएको ३ चाँही चिने अनि ए हो रहेछ भनेर किच्च हाँसे। फेसबूकमा एक् दुई जनाको फोटो देखाएपछि भानुले पोकर सुरु गर्यो ।अनि भन्यो यहि हो बा मैले हिजो ५०००० जितेको। कम्प्युटर चलाउदा चलाउदै एउटा पेज खुल्यो, पार्टी पोकर भन्ने, यो के हो भनेर भानुको बाले सोध्दा भानुको जवाफ थियो यो पनि त्यहि मैले खेलेको पोकर जस्तै होला, पर्खिनु म हरिदाईलाई सोध्छु। हरिदाईले भनेको त्यो खतरा पैसाको जुवा खेल्ने साईट हो रे, त्यो नचलाउनु भनेको छ ।

भानुका बा तम्सिए । तेरिमा म जस्तो खप्पिस् जुवाडेलाई जुवा नखेल्नु भन्छ । लु त बस् या अब मैले जानेको छ पैसा कसरी जित्ने भनेर। भानु कम्प्युटर चलाउन बस्छ अनि बालाई छेउमा बसेर सिकाउदै हुन्छ । पार्टी पोकरमा रेजिस्टर गरेर पोकर खेल्न लाग्दा वेबसाइटले पैसा जम्मागर्न माग्छ। अब पैसा कसरी हाल्ने त त्यो वेबसाइटमा, भानुका बाको दिमागमा झट्ट निरौला बाको नाम आउँछ। निरौला बाका छोराले वेबसाइट खोलेदेखि घरकै नाम निरौला निवासबाट परिवर्तन गरेर गाई भैंसी डट कम भनेर राखेका थिए । गाउँलेहरु नझुकिउन भनि घरको अगाडि ठूलो अक्षरमा नेपाली र अंग्रेजी दुबैमा लेखेका पनि थिए। भानुका बाले भानुलाई गाई भैंसी डट कममा गएर निरौला बाको छोरालाई कम्प्युटरबाट उस्को पार्टी पोकरको नाममा पैसा हालिदिनु भन्छ । उसको सोच थियो जिति सकेपछि त्यो सबै पैसा तिरिदिन्छु भनेर। तर गाई भैंसी डट कममा तरिका अलिकति फरक थियो । त्यो वेबसाइट्ले गाउँमा भएका गाई भैंसी किनबेच गर्ने गर्थ्यो। यो कुरा थाहा पाएर भानुका बाले आफ्नो भैंसी बिक्रिमा रखिदेन त अहिलेको लागि पछि पैसा जितेर अर्को एउटा भैंसी नि थप्छु भनेर छोरालाइ भन्छन्।

चाहिने सबै थोक भैंसीको उमेर, रंग, कति चोटि बिहाएको, दूध कति दिने, आदि खालका प्रश्न सोधेपछि गाई भैंसी डट कमले भानुको बाको भैसीको दाम १६००० निकाल्यो। ७ दिन अघाडी तल्लो घरे काइलाले २२००० दिन्छु भनेको भैसीको मुल्य १६००० मात्र निस्किद भानुका बा अलिक रिसाए। त्यहि पनि भैसीलाई दाउमा राखेर जुवा खेलेर अर्को भैंसी थप्छु भन्ने सोच बनाएको भानुका बा केही बोलेनन्। भैंसीलाई बेच्ने कुरालेखि सके पछि त्यो वेबसाइटले बेच्ने ब्यक्तिको बारेमा सोध्यो । भानुका बा भन्दै गए अनि भानु लेख्दै गयो। अन्तिममा वेबसाइटले पैसा पठाउनको लागि बैंक अकाउन्ट नम्बर माग्यो । अब पहिला नै बन्द गरिसकेको बैंकको अकाउन्ट काम लाग्दैन ।फेरि नेपाल बैंक लिमिटेडमा कम्प्युटर कस्ले चलाउने र? त्यहि पुरानो खाता हेर्ने तरिका । भानुका बालाई अब के गर्ने के नगर्ने भन्ने भयो। उता भैंसी बेच्छु भनेर भनि सकेको छ, यता पोकर खेल्न कम्प्युटरमा पैसा आएको छैन ।कम्प्युटरमा पैसा मगाउनको लागि बैंक अकाउन्ट चाहिने रहेछ । भानुका बाको छटपटीमा अर्को समस्या थप्न हरिदाइ आउँछन् र भन्छन्-तिम्रो आजको समय सकियो भानु। आज त भएन भोली चाँही केही गर्नु पर्ला भनेर सोच्दै भानुका बाले हरिदाईलाई सोध्छन् । यो कम्प्युटरमा पोकर चाँही कसरी खेल्ने हँ। हरिदाईले जवाफ दिन्छ- त्यसको लागि त भिसा कार्ड अथवा मास्टर कार्डको नम्बर चाहिन्छ । त्यो पनि नेपालको बैंकले दिदैन । नेपालको बैंकले भिसा कार्ड त दिन्छ तर त्यो नेपाल र ईन्डियामा मात्रै चल्छ । यो पोकर अमेरिकन वेबसाइट हो । यसमा नेपालको बैंकको भिसा कार्ड काम गर्दैन। बिदेशकै बैंक अकाउन्ट चहिन्छ। अब तारेभीरबाट ति तल बेसि सहरमा भएको नेपाल बैंकको अकाउन्ट खोल्न जान त टाढा भएको महसुस् गर्ने भानुका बाले कताबाट बिदेश गएर अकाउन्ट खोल्ने। आ यो कम्प्युटर भन्ने कुरा पनि हाउडे रहेछ । वाइहातमा समय खेर गयो भनेर बर्बरौदै भानु र भानुका बा घर तिर ओरालो लाग्छन्।

घरमा पुग्दा खेरि त निरौला बाले पालेका दुइटा भुस्तिग्रेहरु बसि रहेका रहेछन्, आउन साथ सोधे भैंसीको कोड कति? कम्प्युटरमा भैंसी बिक्रि गर्ने निर्णय भए पछी गाई भैंसी डट कमले एउटा कोड दिएको थियो, भानुलाइ कोड कन्ठ भएकोले प्याच्च मुख् खोल्यो “तारेभीरमा राम राम”, त्यो सुनेर एउटा भुस्तिग्रेले १६००० पैसा निकालेर दियो र गोठमा बाधेको भैंसी फुकाएर लग्यो। केही बोल्यो भने भुस्तिग्रेले कुट्ला भन्ने डर, भानुको बालाइ अत्यन्तै पीडित भएको महसुस् भयो, २२००० मुल्य भएको भैंसी १६००० मा आफ्नै आँखा अघाडी फुकाएर लग्दा बोल्न पनि सकिएन, कम्प्युटरले गर्नु गर्यो । अब मलाइ न्याय चाहिन्छ भनेर भानुका बा त्यो ठाउँका माओवादी कमान्डरलाई भेट्न भनि लागे।

माओवादीका खुंखार नेता श्यामकुमार थापाका आफ्नै मामाको ज्वाई भएका कारण प्रकाश घर्ती त्यस ठाउँका माओवादीका कमान्डर थिए। भानुका बाको कुरा सुनि सकेपछि प्रकाशले निरौला बाको छोरासँग छलफल गर्ने निधो गरे। निरौला बाको घरमा तिनिहरुको ठूलो लामो छलफल पछि कुनै उपलब्दी मूलक निस्कर्ष निस्किएन । निरौला बाको छोराले भैंसी फिर्ता लाने भए २६००० पैसा मागे, भानुका बाले अघि भर्खर १६००० मा त्यहि भैंसी बेचेका थिए। अनि माओवादीहरुले भानुका बालाई २२००० सम्म दिनु भनेर सम्झाउन पटी लागे। निरौला बाको छोराको तर्क थियो । संसार्रको किनबेच गर्ने नियम पालना गर्दा खरीद गर्ने ब्यक्तिले सामान किनि सके पछि मन परेन भनेर फिर्ता गर्न पाउँछ । तर समान बेच्नेले समान बेचि सकेपछी त्यो बेचेको सामान किन्नेलाइ फिर्ता गर भन्न मिल्दैन। मैले यो वेबसाइट ब्यापारको लागि खोलेको । भैंसी किन्ने भए मेरो कम्प्युटरले निकालेको मुल्य २६००० हो। र त्यसमा बार्गैनिङ हुदैन। माओबादी हरुलाई आफ्नो पार्टीको दबाब दिएर गरीबलाई सहयोग गर्न त्यो भैंसी २२००० मा फिर्ता दिलाउनको लागि निकै कसरत गर्दै थिए। भानुका बा जँगिए -यो साला सबै दोष माहाबीर पुनको हो । न त तिनीले हाम्रो ठाउँमा कम्प्युटर ल्याउथे, न त यो ठाउँको नाम सृजनानगरबाट तारेभीर हुन्थ्यो, नत आज मैले मेरो भैंसी बेच्नु पर्थ्यो। यो माहाबीर पुनले गर्दा हाम्रो गाउँनै बिग्रियो। सबै जानाको ध्यान कम्प्युटरमै मात्रै छ । गाउँ घरमा खाने लाउने समस्या छ । धान खेतमा काम गर्न छाडेर मान्छे कम्प्युटर चलाउन जान्छन् । के त्यो कम्प्युटरले खेतमा धान फलाउछ? के त्यस्ले मन्छेलाई कपडा दिन्छ? शिक्षा लिन त स्कुलमा पढ्नु पर्छ । के कम्प्युटर चलाएर मान्छे शिक्षित बन्छ? यो सब गाउँमा भै रहेको नाटक हो। मेरो छोरा कम्प्युटरमा जुवा खेलेर यति जिते भनेर सुनाउदै आउँछ । अब कम्प्युटरले मान्छेलाई कतिसम्म बनाउँदो रहेछ । मेरा बाले राखिदिएको नाम भन्दा मलाई आजकाल सबैले भानुका बा भनेर बोलाउछन् । मैले भनेको मान्नु हुन्छ भने हाम्रो गाउँमा कम्प्युटर चाहिदैन । निकालेर फ्याकी दिनुस त्यो तारेभीरमा भएको तारले बाधेर राखेको वाइहात उपकरण! यसरी बर्बरौदै भानुका बा त्यहाँबाट हिड्छन् । माओवादी कमान्डर प्रकाशलाई भानुका बाको कुरा निकै घतलाग्दो लाग्छ । एकछिन् सोच्छ -"हाम्रो पार्टीको लागि भोट ल्याउन भएपनि गरीबको कुरा सुन्नु पर्छ ।" अनि आफ्ना माओवादी साथिहरु लिएर त्यो उपकरण जोडिएको तारे भिरको ठुलो रूखनै काटी दिन्छन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।