14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पूजा

लघुकथा हरिप्रसाद भण्डारी February 9, 2010, 7:06 am

ऊ गाउँमा जन्मे हुर्केको भए पनि सहरमा पसेपछि छिटै उन्नति ग¥यो— धेरै धन कमायो र सहरमा ठूलो घर बनायो ।

सबै कुराले सम्पन्न भएपछि बा–आमाको सम्झना भयो । सहरमै ल्याएर पाल्ने विचार गरेको थियो, तर बा–आमाले सहरमा भन्दा गाउँमै बस्न जाति माने । ‘पछि बलबर्कत घटेपछि आउँला, अहिले हात पाखुराले काम गरुन्जेल यतै बस्छौँ’ भनेर खवर पठाए ।

बा–आमाको साक्षात् सेवा गर्न नपाएपछि पूजाकोठामा रहेका अन्य देवताका मूर्ति तथा तस्विरसँगै बा–आमाको तस्विर राखेर पूजा गर्न थाल्यो । उसको भक्तिभाव देखेर उसका आफन्त, छिमेकी र स्वास्नी छोराछोरीहरूले पनि उसको प्रशंसा गर्न थाले । ऊ कतै गएको बेला उसकी श्रीमतीले पनि उसलेजस्तै भक्तिभावले पूजाआजा गर्थिन् । यो क्रम निरन्तर चलिरह्यो ।

‘छोरा !, बुबालाई पनि सन्चो छैन । मेरो पनि ढाड दुख्न थालेको छ । अब यहाँ बसेर दुःख गर्न सकिएलाजस्तो छैन । ओखतीमूलो पनि त्यतै राम्रो हुन्छ, त्यसैले त्यैँ सहरतिरै आउनुपर्छ कि जस्तो छ ।’ एकदिन आमाले खबर पठाइन् । ऊ खुसी भयो । फोटाका भगवानको सट्टा साक्षात् भगवान्को पूजा गर्न पाइने आशाले रमायो ।

बा–आमा आएपछि घरै उज्यालो भयो । छोराछोरीहरू पनि रमाए ।

‘बुबालाई चिल्लो खान पनि नहुने, नुन पनि कम हाल्नु पर्ने, कस्तो गाह्रो भइरहेको छ ।’ हप्ता दिन नबित्दै श्रीमतीले गुनासो गरी ।

‘ड्याड, हजुरका बा–आमा आएपछि ट्वाइलेट पनि कस्तो दुर्गन्धित भएको छ । राति खोकेर राम्ररी पढ्न पनि दिनुहुन्न ।’ छोराले असन्तुष्टि व्यक्त ग¥यो ।

‘छोरीले यस्तो कपडा लगाउन हुन्न रे । हेर्नोस् न ड्याड । कस्तो पुरानो सोचाई !’ छोरीले दुःखेसो पोखी ।

उनीहरूका कुरा सुनेपछि उसको मुटु चसक्क चस्कियो । तर केही बोलेन ।

‘म भोलि उतैबाट माइत जान्छु । भाइले जरुरी काम छ भनेर बोलाएको छ ।’ एकदिन श्रीमतीले भनिन् ।

‘तिमी गएपछि भान्साको काम कसले गर्छ त ।’ उसले चिन्ता व्यक्त ग¥यो ।

‘सधैँ त मैले गरिरहेकै छु नि, कहिलेकाहीँ तपाईहरूले गर्नुहुँदैन ?’ उनको आसय सासू तिर थियो ।

‘आमाले ग्यासचुल्हो जलाउन पनि जान्नुहुन्न । छोरीको परीक्षा आइरहेको छ । मेरो पनि कार्यालयमा कामको चापाचाप छ ।’ उसले लामो सास फे¥यो ।

‘के मैले मात्रै यस घरको ठेक्का लिएकी छु र !’ उसले जिन्दगीमा पहिलोचोटि यस्तो वाक्य बोली ।

ऊ किंकर्तव्यविमुढ भयो । केही सोच्न सकेन ।

केही दिनपछि—

‘बाबु ! हामी आएको पनि धेरै दिन भइसक्यो । अब बर्खा पनि लाग्न थाल्यो । खेतीपाती लगाउने बेला पनि भयो । गाउँ फर्कने विचार ग¥र्यौँ हामीले त ।’ आमाले भनिन् । बुबा सँगै थिए, भने– ‘हो बाबु, अब हामी जान्छौँ । औखतीमूलो पनि भइहाल्यो । बाँकी ओखती उतै गएर खान्छौँ ।’

उसले सुन्यो मात्र केही बोलेन ।

बुबा–आमा हिडेपछि घर सुनसान भयो । साँझ खाना खान पनि मन लागेन ।

अर्को दिन बा–आमाको सट्टा उनै पुराना तस्विर पूजा कोठामा राख्यो र पूजा गर्न थाल्यो । श्रीमतीले धूप बाली, आरती जलाई र घण्ट बजाउँदै अरू द्यौतासँगै बा–आमाका तस्विरमा पनि आरती उतारी ।

‘साच्चैका देवता भन्दा तस्विरका देवता धेरै जाती ।’ शायद उनको मन यसै भनिरहेको थियो ।

गुल्मी ।

साभार: मधुपर्क, फागुन २०६६

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।