ठमेल काठमाडौँको करोडौँ मोल पर्ने घर अंशदावीको मुद्दामा जिल्लापछि पुनरावेदन अदालतले उसको विपक्षमा फैसला जाहेर गरेको केही दिन ओइलाएको हितमानको फूर्ति एक्कासी भल पानीजस्तै गड्गडाएर, बिजुली जस्तो चम्किँदै, दौड―धूपमा व्यस्त भयो। यतिसम्म कि हरसाँझ जाने उसको सोमरस पसलमा मुस्किलले हप्तामा पुग्न भ्याउँथ्यो।
“अब मात्र मैले थाह पाएर ल्यायो। .....उहिल्यै थाहा पाएको भए पनि दुःखै नहुने, मुद्दा जित्न। ....यस पल्ट पनि मुद्दा जितिन भने मेरो नाकैमा थुक्नू। ....त्यसपछि चाहीँ खाइँदैन है साउनी ...।” हितमान खुसी र नशा दुवैले भरिँदै थियो।
“सौतेनी आमा नै हो ..., किन झगडा मुद्दा गरिरहनु? घर–सल्लाह गरेर मिल्दा भइहाल्यो नि।” रक्सीभन्दा सस्तो र चासो नभएको सल्लाह बाँढिन् भट्टी साउनीले।
“भन्या त हो....नि आफ्नो त जतैबाट नि त्यही आधा नै हो। ....तर यस पल्ट–अगाडि २/२ पल्ट हारेको नापो–सापो मिलाएर मुद्दा जितियो ....जितियो । सयौँ हन्ड्रेट परसेन्ट भन्छु मुद्दा जितेरै देखाउँछु।”
सर्वोच्च अदालतले डेढ वर्ष पुरानो मुद्दामा हितमानको भविष्यवाणी सदर गर्दै–उसलाई कर्राबाट वाइन, सडकबाट–गाडी, झुपडीबाट महल चढायो। उसले न्यायाधीशलाई सयौँमुरी धन्यवाद चढायो र जत्था लगेर घर खाली गरायो।
“हितमान दाइ, घरमा केही समय तपाईँ नै बस्दै गर्नू। पछि दुवैको सल्लाहमा बेचिदिनुपर्छ। कुचककुचक भाडा उठाएर फाइदै छैन।” न्यायाधीशको सालोको कुरा सुनेर हितमानले आशय र भावशून्य टाउको हल्लाउँदै बोल्यो....
“जे गरे पनि मैले पाउने त्यही आधी नै हो।”