14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

महत्वाकांक्षीहरूको भीड

निबन्ध एम.पी. खरेल February 12, 2010, 7:20 am

कैयौं दिनहरू गुज्रेका छन्, वर्षहरू गुज्रेका छन् मान्छेका व्यक्तित्व विकासका लागि। डटेका छन्, घोरिएका छन्, आफ्नो सम्पूर्ण वर्कत खन्याएका पनि छन् यसका लागि। व्यक्तित्व विकास गर्नु नराम्रो होइन, राम्रो हो, तर आज भोलि म देखिरहेको छु व्यक्तित्व विकासका नाममा हरेक क्षेत्र महत्वकांक्षीहरूको भीड बनेको छ। गीत संगीत क्षेत्र हेर्नुहोस्, पत्रकारिता क्षेत्रतर्फ हेर्नुहोस्, चिकित्सक, राजनीति, साहित्य र लेखनका हरेक क्षेत्र हेर्नुहोस् जता कतै मान्छेहरूको महत्वकांक्षा चरम छ।

हरेक क्षेत्र मान्छेहरूको महत्वाकांक्षाले शिखर नाघिसकेको छ। विद्यमान समाज कुरूप छ। कुरूप समाजका लागि विकृति र विसंगतिहरू गहना हुन्। विकृति र विसंगती चरम छ, समाजमा। मलाई लाग्छ यो कुरूप समाज बनाउन मान्छेहरूको चरम महत्वकांक्षाले अहं भूमिका निर्वाह गरेको छ। व्यक्तिगत महत्वांकाक्षा पूरा गर्ने नाउँमा मान्छेले गलत प्रकारका संस्कारको विकास गरेको छ।

एक दिन म एक प्रख्यात गायक कहाँ पुगेको थिए। मैले उनलाई सोधेकेा थिएँ, “तपाई गायन क्षेत्रमा किन लाग्नु भयो?” उनले सहजै भने, “आफ्नो क्यारियर बनाउनका लागि।” मैले पुनः सोधे, “तपाई आफ्नो व्यक्तिगत क्यारियर के का लागि बनाउनुुहुन्छ?” उनले भने, “गायन क्षेत्रमा म वरिष्ठ गायक बनुँ, अनि मलाई सबै लोकले मेरो जय जयकार गरोस्। त्यो दिन मेरो जीवनका सबै महत्वाकांक्षाहरू पूरा हुनेछन्। जनु दिन मेरा यी महत्वाकांक्षाहरूपूरा हुनेछन्, तब म मेरो जीवनको चरम आनन्दमा रमाउनेछु।”

“अनि तपाई गायन क्षेत्रमा लाग्नु भएको छ, कमसेकम तपाईले दुःखी गरीबहरूको पक्षमा गीत गाउनुहोस् न। ऐश र आरामको चरम भावनाहरूबाट निस्केका गीत छोड्नुहोस्, गाउन। यसले नै तपाईको बौद्धिकता र श्रमको सही उपयोग हुनेछ।”

“जनता भनेका भेडा हुन्, यिनका पक्षमा गाएर हुनेवाला केही छैन, ऐश आरामका मनोरञ्जन दिने खालका गीत गाए सरकारले पनि सम्मान दिन्छ। दुःखी र गरीबको पक्षमा गाएर मेरो जय जयकार हुँदैन, मेरो महत्वाकांक्षाहरू पूरा हुँदैनन्।”

देश र समाजले मानिआएको प्रख्यात गायकको हातल यस्तो छ। विचारमा कति दरिद्रता छ? साह्रै उदेक लाग्दो छ। उसले जे जति श्रम गरेको छ, दुःख गरेको छ सबै आफ्नो व्यक्तिगत क्यारियर बनाउन र महत्वाकांक्षा पूरा गर्न रे।

म एकदिन एक वरिष्ठ राजनीतिक कार्यकर्ता कहाँ पुगेको थिएँ। उनी पार्टी र संगठनका निम्ति डट्ने र खट्ने व्यक्ति हुन्। उनको लगनशील, खटनपटनलाई देखेर म तीनछक पर्छु। घर परिवार त्यागेका छन्। कैयौं व्यक्तिगत अवसरहरू गुमाए, जिन्दगीमा र म तिनीकहाँ पुगेको बेला प्रश्न गरेको थिएँ कि – “तपाई राजनीतिमा किन सक्रिय हुनुहुन्छ?” उनले भने, “आफ्नो व्यक्तिगत क्यारियर बनाउन।”मैले पुनः सोधे, “तपाई कस्तो व्यक्ति, जसले घर परिवार त्याग्नु भएको छ। पार्टी र संगठनका निम्ति धेरै दुःख कष्ट झेल्नु भएको छ। कैयौं व्यक्तिगत अवसरहरू गुमाउनु भएको छ, जिन्दगीमा। राजनीतिक कार्यकर्ता हुनु सामाजिक कार्यकर्ता हुनु हो। सामाजिक भावना भनेको व्यक्तिले पनि व्यक्तिगत क्यारियरका लागि सोच्नु हुन्छ त?” उनले भने, “व्यक्तिगत नसोचेर के सोच्ने? मेरो जीवनको धोको भनेको नै सांसद र मन्त्रीको पद हो। म जे गरेर हुन्छ, मेरो भित्री इच्छा पूरा गर्ने हिसाबले म लागेको छु।”

राजनीतिक कार्यकर्ताको भित्री आकांक्षा पनि तल्लो दर्जाको छ। उदेक लाग्दो रहेछ दिक्क लाग्दो रहेछ। उनका खोक्रा भाषण र क्रियाकलाप केवल हात्तिका देखाउने दात रहेछन्। यस्तो महत्वाकांक्षीहरूको भर्तिकेन्द्र बनेको संगठनले देशलाई उभो लगाउला त? उनको राजनैतिक संगठन त्यस्तै महत्वाकांक्षी कार्यकर्ताहरूको भीड बनेको छ। अनि कसरी उभो लाग्न सक्छ त देश?

म एउटा साहित्यिक कार्यक्रममा पुगेको थिएँ। जहाँ एउटा लेखकको साहित्य रचनाको विमोचन कार्यक्रम थियो। त्यस विमोचित रचनाको बारेमा बोल्ने जति पनि साहित्यकारहरू थिए, तिनले रचनाले दिन खोजेको सन्देशका बारे बोलेनन्, रचनाको भाव बारे बोलेनन्। लेखकको व्यक्तिगत जीवनको गुणगानमा नै समय खर्चे। बरू बोल्ने क्रममा उनीहरूले आफ्ना रचनाहरूको संक्षिप्त टिप्पणी गरे। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं एउटा साहित्यकारको रचनामा टिप्पणी गर्नुछ, आफ्ना कृतिका विज्ञापन पो गर्छन्। प्रकाशित भएका रचनाको होइन, भविष्यमा प्रकाशमा आउने आफ्ना रचनाको पो। कार्यक्रमका सभापतिले समय सकिएको चिट कैयौं पटक दिए, तर तिनीहरूले बेवास्ता गरें। मौका यही हो मनको धोको फेरेर बोल्ने भनेर आफ्नो ध्यान मोडेनन्।

बोल्ने क्रममा टिप्पणीकारहरूले विमोचित रचनाका लेखकको कुनै दोष छैन भन्ने हिसाबले गुणगान गाए। टिप्पणीकारहरूले उनलाई दिएको प्रसंसाका उपाधिहरू सुनेर मैले जिब्रो टोकें। बीच बीचमा म उठेर कोठाबाट भागुँ कि जस्तो पनि लाग्यो। कतिपयले भन्नुहोला, एउटा श्रष्टालाई प्रोत्साहन त दिनु पर्‍यो नि। प्रोत्साहन दिनु राम्रो हो, तर प्रोत्साहन दिने नाममा उसका सम्पूर्ण कमजोरीहरू बिर्सेर सकारात्मक पक्षको मात्र वकालत गर्ने बानी साह्रै नराम्रो। प्रोत्साहनको पनि आफ्नै विधि र परिधि छ। प्रोत्साहन समालोचकीय रूपमा हुनुपर्छ। एकपक्षीय प्रोत्साहनले त्यस्ता श्रष्टाहरूलाई चरम महत्वाकांक्षीको श्रेणीमा पुर्‍याइदिन्छ।

आजको समाज कुरूप छ। कुरूप समाजका पछाडि अनेकन कारण छन्। त्यसमध्ये मान्छेको महत्वाकांक्षी प्रवृत्ति मुख्य कारण हो। व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने नाउँमा मान्छेले जघन्य अपराध गरेको छ। हिंसा बढाएको छ, अशान्ति निम्त्याएको छ। सारा संसारलाई कुरूप बनाएको छ। केवल व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न।

कुनै मान्छेले कुनै व्यक्तिगत चाहना र ईच्छा राख्नु नराम्रो हुँदैन, तर व्यक्तिगत चाहना र इच्छाहरू पूरा गर्ने नाउँमा निर्लज्ज र निरीह तरिकाले लाग्नु र सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउनु स्वयंमा अपराध हो।

अहिलेको राज्यसत्ता र शैक्षिक पद्दतिबाट जति पनि जनशक्ति निर्माण भएको छ। सबै व्यक्तिगत चाहना र आकांक्षामा डुब्ने खालको छ। स्कुलमा प्रत्येक विद्यार्थीलाई सोध्दा प्रायः विद्यार्थीले भन्छन् म डाक्टर बन्छु, इन्जिनियर बन्छु, वकिल बन्छु, साहित्यकार बन्छु, पाइलट बन्छु, प्राध्यापक बन्छु .... आदि तर यी पेशा जनताको सेवाका लागि होइन केवल व्यक्तिगत जीवन सुखमय बनाउनु। आज देशको हरेक क्षेत्र व्यक्तिगत महत्वाकांक्षीहरूको भीड बनेको छ। राज्यसत्ताले नै त्यही सिकाएको छ। सामूहिक वा सामाजिक जीवनको चिन्ता छैन। केवल चिन्ता छ व्यक्तिगत जीवनको।

धेरै साहित्यकारहरू साहित्य रचना गर्छन्। तर सोच्छन् आफ्नो व्यक्तिगत क्यारियर बनाउन। मेरो रचना हरेक श्रमजीवी जनताको मुक्तिको मार्ग निर्देशक बनोस् भनेर होइन, मेरो कृति प्रकाशमा आए मेरो नामले देशभरिका पत्रपत्रिकाहरू रंगिनेछन्, मेरो सम्मान समाजमा बढ्ने छ भन्ने उद्देश्यले अभिप्रेरित हुन्छ। राजनीतिक कार्यकर्ताले पनि मैले राजनीतिक गरेको छु म व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न होइन, सामाजिक भावनाका लागि हो मैले राजनीति गरेको भन्नै पाईदैन। यसको ठीक उल्टो जवाफ पाइन्छ। अनि राजनीति समाज सेवा होइन, कमाइखाने भाडो बनेको छ। अनि कसरी बन्छ, देश।

सामूहिक जीवनको चिन्ता छैन मान्छेहरूमा। केवल व्यक्तिगत सुखमय जीवनको चिन्ता मात्र छ। कुरूप समाजले यही सिकाएको छ। समाज परिवर्तनशील छ। समयले अवश्य कोल्टे फेर्छ। कुरूप समाज यथास्थितिमा रहन सक्तैन। अवश्य कुनै दिन कुरूप समाजको भष्म भएर न्याय र समानताको पक्षमा उभिएको समतामूलक समाजको उदय हुनेछ। जुन दिन हरेक क्षेत्रमा व्यक्तिगत महत्वाकांक्षीहरूको भीड होइन, सामूहिक जीवनको चिन्ता लिएका मान्छेहरूको भीड हुनेछ। हामी सट्टामा मार्क्सवादी, लेनिनवादीहरूको विश्वास र सपना हो यो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।