19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आखिर तिमी को हौ

कविता हेमन्त परदेशी February 13, 2010, 5:50 pm

तिमीले मलाई बहिरो भन्यौ

नसुने झैँ गरेरै सहेँ मैले

तिमीले मलाई कानो भन्यौ

त्यसलाई पनि खपेँ मैले

अर्थात,

लुलो,लङ्गडो, डुँडो, खोरन्डो जे जे भन्यौ तिमीले

ती सबैलाई त्यसरी नै पचाएँ मैले

तर आज फेरि पनि तिमी मलाई

तिनै अनेक कनिष्ठ नाम र उपनामले पुकारी रहेकाछौ

अर्थात, तिमी प्रतिको मेरो सम्मान र सहनशीलतालाई

एउटा कम्जोर छात्तीको उपज ठानेर

मेरो स्वाभिमानमाथि नै धावा बोलिरहेकाछौ

तर पनि म त्यसरी नै सहिरहेकोछु

खपिरहेकोछु अनि पचाइरहेकोछु

अर्थात,

तिमी प्रतिको अब्यक्त बिद्रोहलाई दबाएर

शालीनता र सहनशीलताको पर्याय बन्न खोजिरहेकोछु म

तर थाहा छैन,

संयमता र धैर्यताका यी बाँधहरु कतिन्जेल टिक्ने हुन्

अथवा

शालीनता र सहनशीलताले कहिले सम्म धान्ने हुन्

त्यसैले, हाइब्रीड् र कोलोनिङ् नगरिएको

एउटा बिशुद्ध प्रजातिको मान्छेको मनबाटै भन्दैछु म

मसँग त केवल बिरासतमा मिलेका

साधारण मानव क्रोमोजमहरु मात्रै छन्

अर्थात,

मेरा क्रोमोजमहरु तिम्रा जस्ता हाई-ब्रीडियन् र बिकशित छैनन्

त्यसैले त,

रङ्गीताहरु ब्रम्हपुत्र उकालो बगिसक्दा पनि

म भने आफ्नो पुरानै धारमा बग्न विवश बनिरहेकोछु

अर्थात,

उकालो बग्नुको कठिनाई र चुनौतिहरुलाई थेग्न सक्ने

सामर्थ्यता अझै पनि जुटिसकेको छैन मसँग

त्यसैले म तिमीलाई आग्रह् गर्छु

जो जसरी र जता बगे पनि

उसले स्वच्छन्द र उन्मुक्तसित बग्न पाउनुपर्छ

अर्थात,

ऊ 'ऊ' नै हो र म 'म' नै हो को साश्वत सत्यलाई

मन खोलेर पचाउनु सक्नुपर्छ

नत्र एक दिन,

अवश्य त्यो दिन आउनेछ

कि तिम्रो श्रेष्ठताको बिरुद्धमा पनि

असङ्ख्य चोर औंलाहरु ठडिनेछन्

र, तिमीलाई प्रश्न माथि प्रश्न गर्नेछन्

कि दुनियाँलाई आफू जस्तै सर्बश्रेष्ठ हुनुपर्छ भन्ने

आखिर तिमी को हौ?

पाँचथर, हाल: दोहा, कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।