14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सुर्खेतमा प्रि दशैं ट्रिप

नियात्रा डा. सुमन राज ताम्रकार February 15, 2010, 7:44 am

‘सुर्खेत बुलबुले ताल माया मै सानी हुनाले छुट्यो माया जाल’

..........................................

एक ताका सुर्खेत सम्बन्धी यो गीत खुब फेमस थियो । हजुर, १६ वर्ष अगाडि काम गरेको ठाउँ सुर्खेतसंग यस पालीको दशैं अगाडि पुनः नाता गाँसेर काठमाडौं फर्किने क्रममा नेपालगंज एअरपोर्टमा अत्याधिक प्यास लागेर मिनेरल वाटर किन्ने क्रममा मिनेरल वाटरको नाम पनि बुलबुले रहेछ र त्यसमा पनि यहि गीतको पंक्ति लेखिराखेको रहेछ ।

२०६६ सालको दशैं पूर्व कहिँ जान तुलबुल तुलबुल भैरहेको बखत धादिङ्ग र रामेछाप जाने साईत जुरेपनि नेपालगंज भई सुर्खेत जाने काम चाहिँ आँखा चिम्लेर रोजें । सुर्खेत मेरो लागि माईती जस्तै थियो । आज भन्दा १६ वर्ष अगाडि अर्थात् २०४८ साल चैत्रमा हेल्थ असिस्टेण्टको कोर्स सकिने बित्तिकै जिन्दगीको पहिलो जागिर खान घर देखि निकै टाढा सुर्खेत गएको थिएँ । त्यहाँ करीब डेढ वर्ष बसेको थिएँ । र, सुर्खेत छाडे देखि उता भेरीमा र यता रोशीमा धेरै पानी बगिसकेको छ । सुर्खेत छाड्दा मनमा डाक्टर बन्ने सपना साँचेको थिएँ भने अहिले यस बीच डबल डाक्टरेट गरी सुर्खेत गएको थिएँ ।

सुर्खेत लाग्ने क्रममा बुद्ध एअरको एटीआर बिमानमा एनाउन्स (उद्घोषण) गरिएको थियो ‘यात्रु महानुभावहरु, बुद्ध एअरको यस विमानका चालक क्याप्टेन पी बी श्रेष्ठ र उसको टिम यहाँहरुलाई स्वागत गर्दछ र विमान १६००० को फिटबाट उड्ने छ र हाम्रो नेपालगंज सम्मको यात्रा करीब ५५ मिनेटको हुने छ र यस्तै यस्तै ...’

नेपालगंजको प्रसङ्ग उठ्ने बित्तिकै थाई एअरवेजको विमान नुवाकोटको घोप्टेभिरमा दुर्घटना भएको याद आउँछ । यसको आफ्नै कहानी छ । छोटकरीमा, दुर्घटना भएकै दिन म जिन्दगीमा पहिलो पल्ट विमान चढी काठमाडौं आउने क्रममा थिएँ । नेपालगंज विमानस्थल पुगेको मात्र के थिएँ, सो विमान हराईरहेको र एकछिन पछि दुर्घटना भएको खबरका साथै हाम्रो फ्लाईट पनि क्यान्सिल भएको थाहा पाएँ । भोलीपल्ट निकै करजोर पछि विमान उड्यो र काठमाडौं एअरपोर्ट ओर्लिंदा सो दुर्घटना पछि काठमाडौंमा विमानबाट अवतरण हुने हामी नै पहिलो रहेछौं । विमानस्थलमा पुग्दा सब सशंकित थिए ।

त्यसो त यस पटकको यात्रा गर्भावस्थामा वा गर्भको कारणले उत्पन्न हुने उच्च रक्तचापको कारणले कम्पन छुट्दा दिइने ‘म्याग्नसियम सल्फेट’ नामक औषधि सम्बन्धी देशव्यापी रुपमा गरिएको सर्वेक्षणको क्रममा नेपालगंज र सुर्खेत जाने जिम्मा मेरो भागमा परेको थियो । आवश्यक चाँजोपाँजो मिलाई बुद्ध एअरको विमानबाट नेपालगंज पुगें र एअरपोर्टमा नबिल बैंकका रवि आचार्यसँग लिफ्ट मागी नेपालगंज बजार पुगें र सिधै भेरी अंचल अस्पतालमा हान्निएँ । त्यहाँ एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका साथीको सहयोगले काम फत्ते गरें । त्यही दिन साँझ नै सुर्खेत जानको लागि उनले मारुती कार रिजर्भ गरिसकेको रहेछ । नेपालगंजको धम्बोजी चोक नजिकैको होटल किचेनट गार्डेनमा हल्का नास्ता अर्थात् बिहानको र दिउँसोको खाना एकैपल्ट (ब्रन्च) गरी नेपालगंज छोड्दा साँझको पाँच बजिसकेको थियो ।

कोहलपुर, चिसापानी, देउराली, बबई, हर्रे, छिन्चु, भेरी, सुब्बाकुना गर्दै १०७ किमी दुरी तय गरेर सुर्खेत बजार पुग्दा रातीको आठ बज्नै लागिसकेको थियो । त्यसो त सुर्खेत काठमाडौंबाट ६०० किमी पश्चिम उत्तर पर्दछ । सुर्खेत बजारको सिरानमा रहेको होटल टिस्टामा खाना बस्नको ईन्तजाम भैसकेको थियो । दिनभरको भोकप्यासले लखतरान ज्यानलाई हल्का फ्रेस गराई खाना खाएर ओछ्यानमा पल्टेको मात्र थिएँ, भुसुक्कै भएछु । देवेन्द्र भट्टराईकृत ‘स्रष्टा र समय’ नामक पुस्तक साथै बोकेको भएपनि पढ्ने जमर्को, सामथ्र्य रहेन । मेरो नोकिया मोबाईल सेट बिग्रेर टेन्सनै भयो बाँकी यात्राभर ।

भोलीपल्ट बिहान नुहाई धुआई गरी हजुरबुबालाई सम्भेंm किनकि सोह्र श्राद्ध चलिरहेकै समयको यसै दिन मेरो प्यारो हजुरबुबा स्व. रत्न बहादुरको वार्षिक तिथि पनि पर्दछ । अनि होटलवालालाई मोटरबाईक वा ट्याक्सी भाडामा पाईन्छ कि भनि सोधें तर सकारात्मक जवाफ नपाएपछि पैदलैसुर्खेतको कुना कुना चहार्न लागें । १६ वर्षमा भएको अन्तराल थाहा पाउन मेरो आँखा व्याकुल थिए । पहिलो गाँसमै ढुँगा भनेभैंm सुर्खेत बजारको सिरानमा रहेका तत्कालीन राजा विरेन्द्रको शालिक त उडाईसकेको रहेछ । अब त विरेन्द्रनगरको नाम अनामनगर राख्नुपर्ने कि जस्तो लाग्यो । अनि पहिले म काम गरेको अफिस (बालबचाउ कोषको क्लिनिक रहेको भवन), अफिस, क्वाटर सब हेरें । क्लिनिकको हविगत देखेपछि चाहिँ फेरि मन कुँडियो, कठै । बजार एक चक्कर लगाएर होटल फर्कें ।

सुर्खेतका दर्शनीयस्थलहरु बुलबुले ताल, काँक्रेविहार र देउती बज्यैको मन्दिरबारे कुनै दिन लेखुँला । होटलबाट हरि चालिसेको बाईकमा बुलबुले तालमा घुमी त्यसदिनको कामको लागि लागें कालागाउँमा जहाँ सुर्खेत क्षेत्रीय अस्पताल थियो । उक्त अस्पताल त्यहाँ सरेको पुग नपुग चार वर्ष भएछ, २०६२ फागुन ७ गते सरेको रे । त्यहाँ तथ्यांक संकलनको क्रममा सिनियर डाक्टरहरु न्हुछेमान डंगोल, गणेश थापा, मिथिला शर्मा संग भेट भयो । अस्पतालको भ्रमण गरें, त्यहाँ कार्यरत नर्सहरुलाई गर्भावस्थामा वा गर्भको कारणले उत्पन्न हुने उच्च रक्तचाप र यसको कारणले कम्पन छुट्दा दिइने ‘म्याग्नसियम सल्फेट’ नामक औषधि बारे छोटो परिचयात्मक कक्षा लिएँ र काम फत्ते गरी सुर्खेत बजारमा आएँ ।

हरि चालिसे भाईकै बाईकमा लाटीकोइली स्थित काँक्रेविहार र त्यसपछि मेरो निकै समय अगाडि देखिको भाकल देउती बज्यैको दर्शन गर्न गएँ । र, पौने तीनको माइक्रोबसमा चढी कोहलपुरमा फर्कें । कोहलपुर स्थित नेपालगंज मेडिकलमा मेरा सर्जन डाक्टर मित्र अनुप शर्माको मा पाहुना लागें । राती निकै बेर सम्म मणिपाल भारतमा पोस्टग्राजुएट पढ्दा ताकाको र कर्नाटकको लाईफ स्टाईलको पुनःसंस्मरण गरियो । सुत्न जाँदा गोमन सर्पको औधी डर लागेको थियो । तर यस दिन पनि दिनभरको थकाईले ३३ डिग्री तापमान भएको ठाउँमा एसी जडित कोठामा एकै छिन निद्रादेवीको शरणमा पुगेछु ।

भोलीपल्ट बिहानै नुहाईवरी फर्किने टिकट कन्फर्म गरी लागियो, नेपालगंजको राँझा विमानस्थल तिर । एक मन त नेपालगंज अझ रुपेडिया छिरीवरी दशैंको लागी हल्का किनमेल गरुँ कि जस्तो लागेको थियो । तर करीब तीन महिना अगाडि बीरगंजबाट सिमरा हुँदै काठमाडौं फर्किने क्रममा विमान छुट्नै लागेको कुरा सम्झी त्यही मुर्खता दोहो¥याउन चाहिनँ । बरु अलि चाँडै नै विमानस्थलमा आई जहाज ढुकेर बसें ।

कोही न कोही त कसो भेट नहोला जस्तो लागेको थियो, नभन्दै मैलै पढाएका दुई जना विद्यार्थी अहिले डाक्टर बनिसकेकी जेट्री रेग्मी र छेकी शेर्पा भेट भो नेपालगंज विमानस्थलमा, तिनीहरु रुकुमबाट नेपालगंज हुँदै दुई महिनापछि काठमाडौं फर्किंदै रहेछ । उनीहरुको काम र उनीहरुले तय गरेको यात्रास्थल सुनेर ईष्र्या पो लाग्यो । फर्किने बेलामा पनि उही विमान नै थियो तर यस पटक भने पाईलट रहेछ पी बी थापा । गौचरणमा उत्रेर कोटेश्वर हुँदै घर फर्किने क्रममा भक्तपुर पलाँसेको घुम्तीमा म चढेको भाडाको मिनिबसको छटबाट एउटी केटी टाउको बज्रिने गरी खसेको पनि स्मरणीय रह्यो । घरमा पुग्दा भोली देखिको त्यही मोनोटोनस काम सम्झेर टाउको भारी भयो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।