नेपालमा जनआन्दोलन भाग — दुई चलिरहेछ । तर म कर्मस्थल पढाइको सिलसिलामा दक्षिण भारत जानेक्रममा झाँसीमा, ट्रान्जिटमा छु ।
हो हो त्यहि झाँसी, जुन एक वीरङ्गना नारी संग सम्बन्धित छ । जुन बोर्डिङ्ग स्कुलको किताबमा पढ्नुपर्छ, नपरोस् पनि कसरी आखिर नेपालमा छापिने भए पो ? विदेशका ऐतिहासिक व्यक्तित्वबारे जानकारी राख्नुपर्छ तर पाठ्यपुस्तकमै चाहिं अलि चित्त बुझेन है ।
ट्रान्जिट अलि लामै छ, कसरी समय कटाउने थाहा छैन । झाँसी बजार घुम्न जाउँ कि जस्तो कहाँ नलागेको हो र ? जाउँ त भनि रेल्वे स्टेशन बाहिर पाइला मात्र के हालेको थिएँ, टेम्पो ट्याक्सीका दलालहरुले तानतुन गर्न आए । तिनिहरुको हरकट देखेर फर्केर आई रेल्वे स्टेशनको मेचमा बसें । त्यहिं समय कटाउने निधो गरें ।
उक्त रेल्वे स्टेशनका भवनहरुको उचाई अग्लै थियो । यसो नजर माथि पु¥याएको त एक जोडी भँगेरा गुँड बनाउन तल्लिन रहेछन् । दुईटा दलानको कापमा गुँड बनाउन लागेको दृश्य मलाई रमाइलो लाग्यो । थप रमाइलो त भाले चाहिं भँगेराले आफूभन्दा तेब्बर लामो सिन्का गुँडमा लान पटक पटक प्रयास दृश्यले भयो । पोथी चाहिं अलि नखरमाउली र काम ठग्ने रहिछन् । भालेको नजर छुपाइ पटापट खान्की मात्र टिप्दिरहिछन् । भालेले हेरेको बेलामा हलुको प्वाँख, पराल जस्ता हलुको चीज च्यापे जस्तो गर्दा रहिछन् ।
मलाई तिनिहरुको चालचलन झनै रोमाञ्चकारी लाग्न थाल्यो । मेरो अनुमानमा गुँड लगभग तयार भैसकेको हुनुपर्छ । किनकि तिनिहरु नरम चीज छान्न, ओसार्नमै व्यस्त थिए ।
हेर्दाहेर्दै तिनिहरुले रमाइलो पो गर्न थाले । मैले अघि नै भनेंनी पोथी चाहिं अलि नखरमाउली छे भनेर । भाले चाहिं फकाउन भरमग्दुर प्रयास गरिरहँदा पोथी चाहिं भाउ खोज्दै थिइन् । अन्ततोगत्वा पोथीको मन न हो, आगो अगाडि मैन पग्ले झैं पोथी लत्राकलुत्रुक परिहालिन् ।
भाले चाहिं माथि चढ्ने, काम गर्ने, तल ओर्लने क्रम चल्न थाल्यो । भँगेराको संसर्गको दृश्य जतिको रमाइलो अन्य कुनै जिवजन्तुको हुँदैन । कतिपटक त अब गन्छु भने पनि गन्नै भ्याइन । अब थाकेर हो वा कसैले हेरिरहेको चाल पाएर हो केहि नभए जस्तो केहि नगरे जस्तो दुबैले पखेटा खर्रर मिलाए र एकैक्षणका लागि मेरो दृश्यपटलबाट टाढा भए । एकै क्षणमै फेरि देखा परे । अब भने अर्कै भोक लागेछ क्यारे चारो टिप्न नै व्यस्त थिए ।
त्यति लामो ट्रान्जिट समय एक पलमै काटिएछ भँगेरा जोडीको क्रियाकलाप हेरेर । यतिकैमा दक्षिण भारत तर्फ जाने म चढ्ने ट्रेन पटरीमा आइपुगेको र यात्रुहरुलाई आ—आफ्नो सीटमा बस्न माइकबाट अनुरोध गरिरहेको थियो । म पनि लागें वातानुकुलीत डिब्बातर्फ भँगेरा जोडी संग बिदा मागेर । र छिकछिक आवाज संगै ट्रेन चल्न शुरु भयो ।