18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अघोषीत पागल

कविता भाष्कर काजी February 16, 2010, 10:14 pm
भाष्कर काजी
भाष्कर काजी

बिहानीको पहिलो प्रहरसँगै शुरु हुन्छ

उ उभिएको भूगोलको कथा

फिल्मको पर्दामा फेरिने दृश्यहरु झैँ

गाडी गुड्ने सडकभरी तिनै गाडीका टायर बल्छन्

सडकहरुबाट धूवाँको मुस्लो निस्कीरहेको छ

झुपडिका चूलाहरु चिसा छन्

खाली पेटहरु कराउँदैछन्

आश्वासनले मात्र कहाँ भरिन्थे र ति

पटुकाले कम्मर कसेर अर्को विहानी कुर्छन् भोका वस्तिहरु

नेताहरु —

नाङ्गा जीउहरु र भोका पेटहरुलाई

मृगतृष्णामा भुलाएर सपना बाँड्दै

उद्घोष गर्दैछन् फेरी अर्को अस्थिरताको

जालो बुन्दैछन् कुनै कुनामा बसेर।

सँधै लाचार एउटा मान्छे मात्र

यथार्त खोज्दै कराउँछ

भोका पेटहरुको कुरा गर्छ सपनाको साटो

सडकमा गाडीको कुरा गर्छ धूवाँको साटो

तर ऊ एक्लै छ —

सुकरात जस्तै, ग्यालीलीयो जस्तै ।

अन्यथा,

राम्रो समय जुरेको छ पाखण्डीहरुलाई

मौका छोपेकाछन् जान्नेहरुले

रातारात मूल्य बढेको छ

कामचोरहरु,

पार्टि फेर्दै हिँडेका छन्

नारा जुलुश उछाल्दै ढुङ्गामुढा गर्छन्।

तर ऊ... धर्म कर्ममा विश्वास गर्छ

र त पाण्डवहरु झैँ

चुपचाप सकुनीको जालोभीत्र

कौरवहरुको अत्याचार

द्रौपदिमाथी खनीदा पनि

लाचार आँशु खसाउन बाद्य छ उ।

ठूलो — ठूलो स्वरले कराउँछ ऊ अचेल त झन्

भागबन्डाको लागी प्लटीङ भो मेरी आमाको छाती

आमा लुट्छौ नालायकहरु... .... ....???????

भन्दै रातदिन छट्पटिनु

उस्को लागी नियमीत कर्म बनिसक्यो

नियतिको खालभीत्र

जिवनको कहरहरुका पालभीत्र

त्यसैले त,

अचेल उ मातृशोकमा परेँ भन्दै

श्राद्ध गर्न खोज्दैछ उ आफ्नो भूगोलको

यस्तै यस्तै गर्छ ऊ

हरेक खोटमा खवरदारी

यसर्थ पनि—

ऊ स्वभावैले अरुभन्दा बेग्लै देखिन्छ

अनौठो छ उ आफैमा

आँखाले हेर्नेहरुको लागी

भ्रष्ट र देशमा अस्थिरता चाहने

चालबाजहरुको लागी ... .... ... ऊ

पागलै हो तर अघोषित ।

रुँघा– ७, रुकुम,हाल: त्रि. वि. कीर्तिपुर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।