14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भित्री जाडो

लघुकथा कृष्ण बजगाईं February 19, 2010, 4:05 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

लुगलुग कमाउने जाडोमा मोटा–मोटा स्वीटर, ज्याकेट, टोपी, गलबन्दी तथा पञ्जा लगाएर हिँड्ने महिलाहरुको भीडमा एउटा खाईलाग्दो लक्का जवान सामान्य सर्टमा उभिएको देख्दा उनीहरुलाई दया लाग्यो ।

एक महिलाले आफूले लगाई राखेको टोपी दिईन । अर्की महिलाले आफ्नो पञ्जा खोलेर उसलाई लगाई दिईन । तेस्री महिलाले हातमा बोकि राखेको स्वीटर दिईन । त्यो सबै लियो उसले ।

अर्को दिन फेरी त्यो युवक महिलाहरुकै छेउछाउ मुटु कमाउने जाडोमा पहिलेकै अवस्थामा देखा पर्यो । फेरी केही दयालु महिलाहरुले पहिले जसरी नै आफूले लगाई राखेको कपडा दिए ।

तेस्रो दिनको जाडोमा पनि पहिले दिएका सबै लुगा फालेर उही सर्ट पाईण्टमा देखा पर्यो त्यो युवक । पहिले दुईपटक कपडा दिईसकेकि महिला उसलाई पहिले कै अवस्थामा देख्दा छक्क परिन । यसपटक भने ती महिलाले त्यस युवकको हात च्याप्प समातेर उसैसँग गईन ।

त्यसपछि त्यो युवक कहिल्यै देखापरेन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।