19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो देश हरायो

कविता प्रा. डा. माधवप्रसाद पोखरेल February 20, 2010, 1:32 pm

‘तेरो जन्म कहाँ?’ भन्दा ‘धरान’ आइहाल्दछ,

‘तेरो जन्म कहाँ?’ भन्दा ‘नेपाल’ आइहाल्दछ ।

अनेक चोक्टामा मेरो देश टुक्र्याउने अरे !

झगडा गर्न जान्नेकै भागमा सिद्धिने अरे !

म जन्मेको घडेरी नै अर्काकै राज्यमा पर्‍यो !

मेरो आङनको बारी अर्काकै राज्यमा पर्‍यो !

मेरो पाटो कतै छैन पाखो, बगर, प्याङ्खर

मेरो माटो कतै छैन, सुकुम्बासी म बेघर ।

पैतालो म कहाँ टेकूँ मेरो मुलुक भित्रमा ?

जहान म कहाँ राखूँ कुन ओढार भित्रमा ?

इस्कुल जाँदा नातिले भिसा पो लिनुपर्छ कि !

आफ्नै जन्म थलो पुग्न राहदानी बनाऊँ कि !

मेरो भाखा भयो पाखा बोल्ने धेरै भए पनि

लाखापाखा भयो धर्म मान्ने धेरै भए पनि

मेरा साथीहरू बेग्ला बेग्लै मोर्चा बनाउँदै

आँखा तरेर बस्तैछन् हतियार उजाउँदै

मेरो पोसाक च्यात्तैछन् धुजाधुजा हुने गरी

आफू चिनाउने झन्डा खोसिएला त्यसै गरी

एक-ता-का सबै मूर्ति फोरिँदैछन् खुरुखुरु

हातमा ताल मार्नाले मूर्ति रुन्छन् धुरुधुरु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।